स्त्रीद्वेषी भएका कारण हाम्रो समाजले नेताको बेइमानी, भ्रष्ट आचरणमा श्रीमती वा छोरी आदि स्त्रीलाई नै देख्छ, जो श्रीमान्/पिताको राजनीतिमा चासो राख्छन्।
आमचुनावको मुखमा सपत्नी सिंगापुर गएका शेरबहादुर देउवा हङकङमा लामो समय रहेर बैंकक हुँदै साढे पाँच महिनापश्चात् बिहीबार स्वदेश फिर्दा पत्नी आरजु देउवा साथमा थिइनन्। जबकि, साउन २८ गतेभित्र दुवैजना नेपाल आइसक्ने प्रतिबद्धता देउवा दम्पत्तिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई इमेलमार्फत असारको पहिलो हप्ता गराएका थिए।
देउवा दम्पत्तिको त्यही प्रतिबद्धताकै कारण हुनुपर्छ, कांग्रेसको इतर पक्षले राष्ट्रिय भेलाका लागि साउन २९ गते शुभ साइत देखेको। विभागसमक्ष प्रतिबद्धताको कारण निकटस्थहरूले देउवा दम्पत्ति काठमाडौँ रहँदा पक्राउ नगर्ने सुनिश्चितताका लागि सत्तासमक्ष ‘लबिइङ’ गरेका थिए। कांग्रेस थप कमजोर हुने देखेर हुनुपर्छ, देउवालाई धरपकड नगर्ने सुनिश्चित गरिदिए पनि श्रीमतीको हकमा त्यस्तो सुनिश्चितता दिएनन्। फलस्वरूप उमेरले ८० नाघेका देउवा श्रीमतीलाई उतै छाडेर आए। बयानका लागि विभागले अब कहिले देउवालाई बोलाउँछ अनि श्रीमती देउवाको अनुपस्थितिबारे के भन्छ, प्रस्ट भइसकेको छैन। पत्नीलाई उतै छाडेर आउन परेकैले हुनुपर्छ, उनी हङकङ फर्किने टिकटसहित घर आएका छन्।
शेरबहादुरलाई नथुन्ने सुनिश्चितता दिने सत्तापक्षले डा. आरजुको हकमा त्यस्तो सुनिश्चितता नदिनुमा उनीहरूको आफ्नै रणनीति पनि होला, समाजमा व्याप्त स्त्रीद्वेषी चरित्र टड्कारो देखिन्छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट लिएको पक्राउ पुर्जीविरुद्ध दिएको निवेदनमा सर्वोच्च अदालतले जेठ ११ गते पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। वैशाख १८ गते जारी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको अध्यादेशले विभागले विशेष अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था गरेका कारण जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी निष्क्रिय भएको आधार देखाई अन्तरिम आदेश दिएको थियो।
कानून परिवर्तन भएको कारण उक्त अन्तरिम आदेश दिइएको हो। विभागलाई विशेष अदालतबाट पक्राउ पुर्जी लिन सो आदेशले रोक्दैन। देउवा दम्पत्तिले साउन २८ गतेभित्र नेपाल आई अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएकाले अर्को पक्राउ पुर्जी नलिइएको अनुमान गरौँ। सत्तामा निर्णायक भूमिकामा रहेका केही व्यक्तिहरूले शेरबहादुरको फिर्तीलाई स्वीकार्दा उनकी पत्नीलाई स्वीकार्न सकेनन्। समाजमा ‘शेरबहादुर त ठीक हो, श्रीमती खराब परिन्’ टाइपको भाष्य हिजो पनि थियो, आज झन् छ। पीडादायी घटनाहरूबाट गुज्रिँदै देशबाहिरै बसोबास गरिरहेको अवस्थामा छोटो स्मरणशक्ति रहेको पनि भनिने समाज देउवाप्रति अलि नरम हुँदै गए पनि श्रीमती देउवाप्रति क्षमाशील सुनिँदैन।
अझ सुदूरपश्चिमे समाज त भेगीय भावनाका कारण हिजो पनि देउवाप्रति त्यति असन्तुष्ट थिएनन्, जति अन्यत्रका थिए। भदौ २४ गतेको त्यो पीडादायी घटनापछि त उनीप्रति सहानुभूति सुनिन्छ, तर आरजुप्रति अहिले पनि अपमानजनक शब्दहरू नै सुनिन्छ। के शेरबहादुर असल अनि आरजुचाहिँ खराब हुन् त? वास्तवमा यस्तो भाष्य ‘बकचोदी’ मात्र हो।
पहिलो कुरा त, यदि श्रीमतीले भनेकै आधारमा कसैले कुनै बेइमानी वा गलत निर्णय गर्छ भने त्यो नेता असल कहलाउन योग्य ठहरिँदैन। तर स्त्रीद्वेषी भएका कारण हाम्रो समाजले नेताको बेइमानी, भ्रष्ट आचरणमा श्रीमती वा छोरी आदि स्त्रीलाई नै देख्छ, जो श्रीमान्/पिताको राजनीतिमा चासो राख्छन्। पछिल्लोचोटि देउवा प्रधानमन्त्री हुँदा कांग्रेसनजिकका केही पूर्वकर्मचारी–पढालिखाको सानो समूह भेट्न पुग्दा ‘हामी सरकारलाई सघाउन चाहन्छौँ, कसरी गरौँ?’ भनी सोधेछन्। देउवाले ‘भाउजुलाई भेट्नु, भाउजुलाई भेट्नु’ भन्दै कुरा रफादफा गरेछन्। पछिल्ला वर्षहरूमा उनले सरुवा, नियुक्ति, ठेक्कापट्टा आदिका लागि भेट्न जानेलाई भाउजुतिर ‘रेफर’ गरिहाल्थे।
‘झ्याल नम्बर १ (जाउलाखेल) मा पुगेर भेटी चढाई रिझाएको जानकारी झ्याल नम्बर २ (बुढानीलकण्ठ) लाई भएपछि झ्याल ३ (सिंहदरबार) बाट काम फत्ते हुन्छ’ भनेर काठमाडौँमा यस्तै पनि सुनिन्थ्यो।
जे–जे भए पनि आखिरमा भएको त श्रीमान्कै निर्देशन वा सहमति/संरक्षणमै भएको हो नि, देउवाको जानकारीबेगर भएको त होइन। अनि, श्रीमतीलाई ‘नफरत’ गर्ने पनि श्रीमान्प्रति किन नरम छन्? श्रीमती चुलो–चौकोमै सीमित भए ठीक छ, ‘पोथी बास्न थालेचाहिँ अनिष्ट हुन्छ’ भन्ने दिमागमा गढेर बसेको छ। जबकि, देउवाको नेतृत्वमा सांसद किनबेच, प्राडो/पजेरो आदि काण्डदेखि प्रजातन्त्र राजाको पाउमा सभक्ति अर्पण गरिदिने हर्कत हुँदा श्रीमती देउवा श्रीमान्को राजनीतिक मामिलामा सहभागी हुन्नथिन्। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आकर्षक जागिरमै व्यस्त थिइन्।
आरजुले गरेको भनिएका काम त परराष्ट्रमन्त्रीका रूपमा उनले गरेका निर्णय नै त होलान्, जसप्रति उनी नै जवाफदेही हुनुपर्ने। बाँकी त श्रीमान्कै शक्तिको आडमा गरिएका हुन्। जसमा उनीभन्दा श्रीमान् देउवा नै जवाफदेही हुनुपर्ने हो। परराष्ट्रमन्त्रीका रूपमा उनले गरेका निर्णयमा उनी थुनिनुपर्ने केही पत्तो लागेको छैन। प्रधानमन्त्री कार्यालयकै दबाबमा दायर गरेको ठानिएको पासपोर्ट ठेक्काको मुद्दामा पनि उनलाई प्रतिवादी बनाउनुपर्ने ठाउँ भेटेन अख्तियारले। तर स्त्रीद्वेषी समाजमा वाहवाही लुट्न पनि सरकारलाई देउवाभन्दा देउवापत्नी थुन्न रुचि छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दोस्रोचोटि गृहमन्त्री रहँदा रवि लामिछानेले प्रहरीलाई श्रीमती देउवालाई थुन्न दबाबै दिएको प्रहरी उच्चपदश्थहरू सुनाउँथे।
स्त्रीद्वेषी समाजमा सत्ताविरुद्धका आन्दोलनहरूमा जनतालाई तताउन श्रीमती/छोरीलाई भ्रष्टाचारको प्रतीक बनाउनेसम्म हुँदै आएको छ। ०४६ सालको पञ्चायतविरोधी जनआन्दोलन शुरूमा त हात्ती आयो–हात्ती आयो फुस्सा झैँ भएको थियो। शुरूमा हल्का तातेर सेलाउन थालेको आन्दोलनमा प्राण फुक्न पम्फादेवी नामले पनि काम गरेको थियो। रानी ऐश्वर्यका लागि त्यो नाम प्रयोग भएको थियो। ‘राजा त असल नि, रानी खराब भइन्’ वाला भाष्य बनेको थियो। सबैतिर पैसा भ्याउँछिन् वाला गफ राजधानीबाट हाम्रै गाउँ–ठाउँसम्मै विस्तारित भएको थियो। चिया/चौतारोतिर रानीका कुरा काटिन्थे। हिमाल सिमेन्टकै उत्पादनमा प्रतिबोरा निश्चित रकमका हिसाबले एकमुष्ट रकम रानीसमक्ष जान्थ्यो भन्नेसम्म सुनियो।
भदौ २३ गतेको प्रदर्शनमा पनि श्रीमती देउवाको फोटोमा ‘भ्रष्टाचारकी कुलदेवी’ उल्लिखित प्लाकार्डहरू देखिएका थिए। त्यसको अलि अघिदेखि नै श्रीमती देउवाबारे यस्ता प्लाकार्डहरू देखिन थालेका थिए।
गिरिजाप्रसाद कोइरालालाई पनि छोरी सुजाता र भाउजू नोना कोइरालाले बिगारेको भाष्य पनि गजबसँग चलेकै थियो। कांग्रेस मन नपराउने हुन् वा कांग्रेसमा विवाद चुलिँदा सुजाता/नोना निशानामा परिहाल्थे। प्रचण्ड प्रधानमन्त्री हुँदा छोरी गंगा दाहाल जुन भूमिकामा देखिन्थिन्, निधनअघि त्यो भूमिकामा छोरा प्रकाश हुने गर्थे। तर प्रकाशको त्यति आलोचना भएन होला, जति गंगाको भयो। बालेनको उदय गराउन सिर्जना सिंहको उम्मेदवारीलाई निर्णायक ठान्नेहरूले सभापतिमा सघाउँदाको पुरस्कारस्वरूप श्रीमतीका लागि टिकट माग्नेलाई भन्दा लिनेलाई नै दोषी ठान्छन्।
स्त्रीद्वेषको यो शृङ्खला रोकिनेवाला पनि छैन। श्रीमान्को राजनीतिक गतिविधि/कार्यक्रममा सहभागितासँगै निकिता पौडेल, सविना काफ्ले, डा. अञ्जना केसीहरूले पनि आलोचना सामना गर्नुपर्ने नै हुन्छ। राजनीतिबाट दश हात परै बसेचाहिँ भन्न सकिन्न।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
