पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

“करिब ५० प्रतिशत दलित विद्यार्थी बिचमै कक्षा छाड्थे ”,  सिरहाको तेनुवापटी आधारभूत विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह भन्छन्, “अहिले नियमित विद्यालय आउनेको संख्या  बढेको छ।”

तस्वीर : रासस

लहान– बिहान सबेरै उठेर ‘ट्युसन क्लास’ भ्याउनु, अनि १० नबज्दै विद्यालय पुग्नु। सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ।

केही समय पहिले पढ्न र स्कुल जान भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दंग छन्, उनका बुबा भरोसी र आमा निलमदेवी। बाबुआमा मात्रै होइन, पढाइप्रतिको लगाव र नियमित विद्यालय आउने उत्साह देखेर विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह पनि खुसी छन्।

यस्तै निखलेसकुमार सदाय र विष्णुकुमार सदाय पनि स्कुल जान औधी मन गर्छन् अचेल। उनीहरू तेनुवापटी आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत छन्। राधना, निखलेस र विष्णुलाई मात्रै होइन, सिरहाका चारवटा बस्तीका १५३ विद्यार्थीमा यस्तै परिवर्तन आएको छ। दलित बस्तीका यी बालबालिकालाई रमाइलो मानेर स्कुल जाने र ट्युसन पढ्ने वातावरण बनाई दिएको हो, दलित जनकल्यान युवा क्लब, लहानले।

विविध समस्याका कारण विद्यालय जान र पढ्न खासै रुचि नगर्ने दलित समुदायका बालबालिकालाई ‘फ्रिडम फण्ड’को आर्थिक सहयोगमा पठनपाठनदेखि शैक्षिक सामग्री सहयोग गरेको क्लबका अध्यक्ष उमेशकुमार बिसंखेले जानकारी दिए। कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान रुचि नगर्ने गुनासोपछि क्लबले हरवाचरवा, सुकुम्वासी, भूमिहीन दलित समुदायका बालबालिकालाई स्कुल पोसाक, स्टेशनरी र झेला वितरण गरेको उनले बताए।

“विद्यालय बाहिर रहेका, नाम लेखाएर पनि स्कुल नजाने बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य थियो”, उनले भने, “सानो सहयोग गर्दा पनि विपन्न दलित बस्तीका बालबालिकामा पढ्न र नियमित विद्यालय जान केही सहयोग पुगेको छ।” विद्यालय बाहिर रहेका दलित बालबालिकालाई विद्यालय भर्ना गराउने, निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने, अभिभावकलाई बालबालिकाको पढाइप्रति चासो राख्न उत्प्रेरित गर्न शिक्षाको महत्त्वबारे जानकारी दिइएको क्लबका कार्यक्रम संयोजक बहादुर सदायले बताए।

स्कुलमा खेलकुद सामग्रीको उपलब्धता, दिवा खाजा कार्यक्रम, छात्रवृत्तिमा पहुँच, विद्यालय पोसाक, झोला र स्टेशनरीको उपलब्धता तथा बस्तीमा गठन भएका हरवाचरवा महिला समूह एवम् तीनको परिचालनले पनि दलित बालबालिकालाई विद्यालय जान आकर्षित गरेको हो। विद्यार्थी निखलेसकुमार सदाय पनि घरमा ट्युशन र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेकाले आफूलाई नियमित स्कुल जान सहज भएको धारणा राख्छन्।

कक्षा ६ मा अध्ययनरत विष्णुकुमार सदायलाई पनि त्यस्तै लाग्दछ। “म अचेल सकेसम्म कुनै दिन स्कुल छुटाउँदिन। स्कुल पढ्न अनि खेल्न रमाइलो लाग्छ” उनले भने, “मलाई फुटबल खेल्न मन लाग्छ। सधैँ ‘टिफिन’मा साथीहरूसँग खेल्छु।” दैनिक गुजाराका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यताका कारण छोराछोरीको पठनपाठनमा लगानी गर्न समस्या अभिभावकको दुखेसो छ। राधनाका बुबा भरोसी सदायले आफूले नपढेर दुःख पाए पनि छोराछोरीले पढेर आफ्नो सपना पूरा गर्ने विश्वास व्यक्त गरे।

“हामीलाई कालो अक्षर भैँसी बराबर छ। उहिले पढ्न पाइन”, उनले भने, “अबको पिँढीले यस्तो दुःख नपाउँन्।” राधनाले पनि पढेर भविष्यमा ठुलो मान्छे बन्ने सपना रहेको बताइन्। भन्छिन्, “धेरै पढेर डाक्टर बन्छु, अनि आमा बाबु सबैको उपचार गर्छु।” प्रायजसो दलित बस्तीमा अशिक्षाका कारण कुलतमा फस्ने र चाँडै विवाह गर्ने समस्या छ। सहयोगी संस्था र सरकारसमेतले बालबालिकाको पठनपाठनमा सहयोग गरिरहेको अभिभावक ककुलदेवी सदायले सुनाइन्। उनका चारजना सन्तानमध्ये तीन जना पढिरहेका छन्।

जेठी छोरीको कक्षा ९ बढिन सक्दै विवाह भइसकेको छ। बाँकी तीन सन्तानलाई नियमित स्कुल पढाइरहेको उनले सुनाइन्। दलित समुदायका बालबालिका सकेसम्म स्कुल नआउने र आए पनि बिचमै कक्षा छाड्ने समस्या कम हुन थालेको प्रधानाध्यापक सिंहले बताए। “करिब ५० प्रतिशत दलित विद्यार्थी बिचमै कक्षा छाड्थे ”, उनले भने, “अहिले नियमित विद्यालय आउने संख्या  बढेको छ।” उनी अभिभावकले नै विद्यालय जानभन्दा गरिबीका कारण ज्याला मजदुरीको लागि भारत जान प्रोत्साहन गर्ने गरेको तीतो विगत स्मरण गर्छन्।

सो विद्यालयमा कक्षा १ देखि ७ सम्म २९९ विद्यार्थीमध्ये दलित विद्यार्थीको सङ्ख्या १२३ छ। इँटाटाराको दलित बस्तीबाट दुई जनाले मात्र १२ कक्षासम्म अध्ययन गरेका छन्। बरियापट्टि गाउँपालिका–३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरबल यादवले केही सुधार भए पनि मुसहर बस्तीबाट नियमित विद्यालय नआउने र बिचमै पठाइ छाड्ने समस्या कायमै रहेको बताए। उनले दलित विद्यार्थीलाई लक्षित गरी ‘किशोरी शिक्षा’ र ‘निःशुल्क ट्युसन कक्षा’ सञ्चालन गर्दा पनि अपेक्षित सुधार हुन नसकेको बताए।

“दलित बालबालिकामा ४/५ कक्षा नपुग्दै छाड्ने प्रवृत्ति छ”, यादवले भने। यस वर्षको एसइईमा यस विद्यालयबाट एक जना मात्र दलित विद्यार्थी उत्तीर्ण भएका थिए। प्राध्यापक डा. विजयप्रसाद मिश्र गरिब दलित बस्तीका बालबालिकामा विद्यालय जानुपर्छ भन्ने भावना विकास हुँदै गए पनि अझै धेरै समस्या विद्यमान रहेको बताउँछन्।

यो समस्या समाधान गर्न दलित, गरिब, हरवाचरवा, सुकुम्वासी, भूमिहीन समुदायका अभिभावकमा बालबालिकालाई पढाउने इच्छा जागृत गराउने उपायको खोजी गरिनुपर्ने उनको भनाइ छ। “दलित बस्तीमा पढेर के हुन्छ र ? जति पढे पनि जागिर पाइँदैन भन्ने मानसिकता छ। यसलाई चिर्नका लागि स्वरोजगार मूलक शिक्षण गतिविधि हुनु आवश्यक छ”, उनले भने। गरिब बस्तीमा परिवारको दैनिक गुजारा टार्ने आधार नबन्दासम्म शिक्षाको लक्ष्य पूरा गर्न कठिन हुने भएकाले यसतर्फ ध्यान दिन सरकार र सरोकारवालालाई उनको आग्रह छ।

मधेश प्रदेशका बालबालिकाको पढाइमा धेरै समस्या छन्। यस्ता समस्याको पहिचान गरी समाधानको प्रयास गर्न सके लहानका यी बालबालिकामा आएको परिवर्तन जस्तै अरू ठाउँमा पनि आउँनसक्ने उनले बताए।