आगोझैँ फैलन्छ झुटो खबर, निभाउने अति थोरै छन्

सञ्चार माध्यमको अभावमा अफवाह फैलिएर मान्छे गलत सूचनाका शिकार हुन्थे पहिले। सामाजिक सञ्जालबाट भ्युज बटुलेर धन्दा गर्नेहरूका कारण जनमानस व्यापक रूपमा गलत सूचनाका शिकार भइरहेका छन्।

‘संसद् भवनभित्र ३२ जना बच्चा मारेर फालेको रहेछ, हे भगवान्!’ कुनै इन्फ्लुएन्सर वा सञ्जालको कुनै पेजले फैलाएको अफवाह मंगलबार कोही आफन्तले आफ्नो फेसबुक पेजमा साभार गर्नुभयो। धेरैले कमेन्टमा गएर श्रद्धाञ्जली र ‘रिप’ लेखे। त्यस्तो पोस्टमा नागरिक उत्तेजित हुने नै भए, जो बानेश्वर हत्याकाण्डबाट पहिल्यै द्रवीभूत थिए। (स्मरणीय छ, बानेश्वरस्थित संसद् भवनको मूल गेट अगाडि र आसपास नै भएको थियो झन्डै १९ जना प्रदर्शनकारीको हत्या।) 

झन्डै ३० वटा कमेन्ट पढ्दा एक जनाले मात्रै त्यो समाचार भ्रामक रहेको लेखेका थिए। सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ता ‘जे आउँछ मजाले पचाउँछ’को शैलीमा जेसुकै क्वाप्पै निलिहाल्छन्। कसैले मिलाएर बोलिदिए या लेखिदिए मात्रै भो, तिनले अफवाहलाई एकै झमटमा सत्य ठान्छन्। कसैले त्यसको सुझबुझ खण्डन गरिहाले पनि उनीहरू आफूले निलिसकेको अफवाह ओकल्न तिनलाई सहज हुँदैन।

बेलुकी एक आफन्तले पनि त्यही कुरा दोहोर्‍याउनुभयो, ‘बरबाद भएछ नि है! बानेश्वरभित्रै मान्छेहरू मारेर राखेको रहेछ नि!’ सामाजिक सञ्जालमा एक्स (ट्विटर) प्रयोगकर्ता विष्णु पोखरेलले फैलाउन थालेको यो अफवाहलाई आधार मान्दै गायक शिव परियारले लेखे, ‘हिजो बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?’ युट्युबर भाग्य न्यौपानेले त्यसैलाई पच्छ्याए, 'हिजो बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत भेटिएको भन्ने समाचार आएको छ' लेखे। 

नाम चलेका र धेरै फलोअर्स भएका जोकोहीले जेसुकै लेखिदिए पनि बिस्तारै फेसबुक, टिकटक र युट्युबमा सो अफवाह फैलिन भ्यायो। केही पेजहरूले विदेशतिरको मृतकहरूको जलेको शवको फोटो तानेर समाचारलाई ‘थप विश्वसनीय’ बनाउन खोजे। टेकपाना नामको प्रविधिसम्बन्धी समाचार लेख्ने साइटले भने यसलाई चिर्ने प्रयास गर्‍यो, तर आगोसरी मंगलबार साँझ फैलिएको त्यस अफवाहको खण्डन नेपाल प्रहरीले बुधबार ११ बजेतिर मात्रै गर्‍यो।

न्यौपाने तिनै व्यक्ति हुन्, जसले मंगलबारको आन्दोलनमा आगजनी र तोडफोडका लागि उक्साए। केपी ओली समर्थित कुनै पालिका अध्यक्षको घरमा ५० किलो सुन भेटिएको भन्दै उनले फैलाएको अफवाह अहिलेसम्म पुष्टि हुन सकेको छैन। न्यौपानेको फेसबुकमा १७ लाख, टिकटकमा ९ लाख बढी फलोअर र युट्युबमा झन्डै ३० लाख सब्सक्राइबर छन्।

सोमबारको बानेश्वर काण्डमा एक कलेज विद्यार्थीको मृत्यु भएको भन्दै कलेज पोसाक र टाई लगाएको एक जनाको तस्बिर सहितको सामग्री सञ्जालमा फैलिरह्यो। त्यस्तो विद्यार्थीको तस्बिर कुनै पनि भरपर्दो मिडियामा भने देखिएको छैन अहिलेसम्म। एक विद्यार्थीको भनिएको सो तस्बिर सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरूले भावुक बन्दै शेयर गरिरहे। पछि सो खबर गलत भएको र मृत्यु भएका व्यक्ति सकुशल रहेकोले भ्रम नफैलाउन आग्रह गरिएका पोस्टहरू पनि भेटिए। तर त्यसबारे यसै भन्न सकिएन।

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारबारे केही ‘चलेकै’ अनलाइनले त्यस्तै अफवाह फैलाए। त्यही अफवाहलाई पत्याए। कतिपय पत्रकार र सम्पादकहरूले नै त्यसलाई पत्याइरहे। तर उनी यी पङ्क्ति लेख्दा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा उनी गम्भीर घाइते भएकी थिइन्।

मंगलबार साँझतिर पशुपतिबारे सञ्जालमा अर्को अफवाह फैलाइयो। एक जना आफन्तले फोनमा भने ‘पत्रकारले समेत शेयर गरेका छन् फेसबुकमा। त्यो पक्कै सत्य हो।’

बेलुका पशुपति मन्दिरनजिकै, गौरीघाट अगाडीको चोकमा पुग्दा त्यही हल्लाका कारण केही युवाबीच गलफती भइरहेको रहेछ। एक पक्ष भन्दै थियो, ‘म अघिदेखि पशुपतिनाथ जोगाउन आएको।’ अर्को भन्दै थियो, ‘तँ किन यति राती पशुपतितिर आइस्? नियतमा शंका देखियो।’ यो लफडामा बसिरहनु खतरापूर्ण देखियो र भागियो।

घर पुगेर सामाजिक सञ्जालमा हेर्दा ‘धुरन्धर समाजसेवी’को पहिचान बनाएका चितवनका अर्जुन भुसालले पशुपतिबारेको अफवाहलाई बल पुग्ने खालको सन्देश फैलाएको भेटियो। युट्युबमा २ लाख बढी सब्सक्राइबर, फेसबुकमा ४ लाख ३५ हजार र टिकटकको फरक फरक एकाउन्टमा गरेर ८ लाखजति फलोअर छन् भुसालका। यति सोसल साइट पहुँच भएका उनको हावा खबर एकै छिनमा धेरैमाझ पुगिहाल्यो। कतिसम्म भने अफवाहलाई पत्याएर, साँझको समय दंगाका बीच नै कतिपय श्रद्धालु हतारिँदै राती नै पशुपतिनाथ मन्दिर पुगेका थिए।

पछि भुसालले आफ्नो पेजबाट सो सामग्री हटाए। न कुनै क्षमा याचना, न कुनै प्रस्टीकरण। सजिलो छ सामाजिक सञ्जाल, आफैँ मालिक, आफैँ रिपोर्टर, आफैँ सम्पादक। ‘सेन्सेसनल सामग्री’मा ‘भ्युअर भीड’ले जबाफदेहिता पनि नखोज्ने! 

संजालमा ‘राजा आएर सत्ता ल्याउँछन्’देखि ‘भारतीय सेना नेपाल छिरिसक्यो’ भन्ने खालका अफवाहहरू पनि यसबीच नै आए। हिंसा, तोडफोड, आगजनी र त्रासका कारण धेरै मान्छेले संयमपूर्वक खबरको सत्यापनबारे सम्भवतः सोच्न पनि भ्याएनन्।

पहिले चिया चोक, चौतारा, मेलापात र सहरका गल्लीमा अफवाहका रोचक र काल्पनिक कथाहरू रचिन्थे। सञ्चार माध्यमको अभावमा अफवाह फैलिएर मान्छे गलत सूचनाका शिकार हुन्थे पहिले। सामाजिक सञ्जालबाट भ्युज बटुलेर धन्दा गर्नेहरूका कारण जनमानस व्यापक रूपमा गलत सूचनाका शिकार भइरहेका छन्। षड्यन्त्र सिद्धान्तको उर्वर जमिन बनेको छ सामाजिक सञ्जाल।

अलिअलि लेख्न, बोल्न र मिलाएर फोटा र भिडियो खिच्नेहरूले आफ्नो रुचि र स्बार्थअनुसारका समाचार बनाएर हाल्दै जाँदा ती स्वयं ‘शक्तिशाली मिडिया’ र इन्फ्लुएन्सर बनेका छन्। जसको धेरै सब्सक्राइबर, उही शक्तिशाली इन्फ्लुएन्सर। सामाजिक सञ्जालका भाइरल कन्टेन्टबाटै ती समाजसेवीसमेत बनेका छन्। बेलाबेला तिनले साँच्चै स्तुत्य काम पनि गरेका छन्, पुरस्कार र तक्मा थापेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीहरूबाट दोसल्ला र स्याबासी आदि पाइसकेका छन्।  आफ्ना सामग्री भाइरल बनाएर दर्शकबाट सहानुभूति बटुल्न कतिले त वृद्धवृद्धालाई हातहातै नगदसमेत दिन्छन्। अनि त्यसैलाई भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर वाहवाही बटुल्छन्। एकातिर वाहवाही, अर्कोतिर सामाजिक सञ्जाललाई मुद्राकरण गरेपछि त्यस सञ्जालले नै तिनको खातामा सिधै पठाइदिने डलर। दुवै हातमा लड्डु छ यस्ता अफवाह र सनसनी फैलाउनेहरूको। 

धेरै नाम छन्। केही ‘शक्तिशाली’ नामबारे टिप्पणी गर्दा फलोअरहरूबाट भरमार गाली खाइने डर छ। श्रद्धा यति धेरै छ कि उस्तै परे भौतिक आक्रमणमा उत्रँदा हुन् फलोअर्स/फ्यानहरू। त्यसको अर्थ हो–सामाजिक सञ्जालका शेयर, भ्युज र फलोअर्सले केही मान्छेलाई झन्डै तानासाहझैँ बलियो बनाएको छ। त्यसैबाट कतिपयले पैसासमेत कमाएका छन्। ‘भ्युअर भीड’को बलमा यी झन्डै लगाम विहीन छन्। 

र, केही हजार र लाख फलोअर्स भएकाहरूले अलि सनसनीपूर्ण सामग्री हाल्दा सत्य अत्तालिन थाल्छ। त्यसै भनिएको होइन रहेछ, ‘सत्यले जुत्ता लगाउँदै गर्दा झुटले आधा संसार घुमिसकेको हुन्छ।’

दुःखको कुरा, सामाजिक सञ्जालमा अफवाह फैलिइरहँदा त्यसको खण्डन गर्ने संस्थागत प्रयास एकदमै कम छ। केही मेहनती पत्रकार र अनलाइनहरूले फ्याक्टचेक (भ्रमहरूलाई चिरेर सत्य पहिचान गर्ने काम) गरिरहेका छन्, तर त्यति महत्त्वपूर्ण प्रयासलाई फैलाउन नेपाली जन साधारणमा रुचि छैन। धेरैजसो सर्वसाधारणले त अफवाह र सनसनीपूर्ण सामग्रीमा मजा लिएको देखिन्छ।

कतिसम्म भने कतिपय व्यक्ति त आफूले एक पटक सामाजिक सञ्जालमा साभार वा शेयर गरेको झुटपूर्ण सामग्रीको तथ्य खुलिसकेपछि पनि त्यसलाई सञ्जालबाट हटाउन चाहँदैनन्। अनि कुन सामग्री कहिले पोस्ट भएको वा शेयर भएको भनेर थाहा नपाउनेहरूले त्यस्तै अफवाह निरन्तर फैलाइरहन्छन्। दशकौं पुराना अफवाह सञ्जालमा घुमिरहेकै हुन्छन्। 

र, धेरै जनसाधारणलाई उद्वेलित गराएर धनजनको क्षति गराउन सक्छ यस्ता भ्रमपूर्ण सामग्रीले। त्यस्तै अफवाह फैलिएकै कारण झन्डै २०५७ सालमा ऋतिक रोशन प्रकरण घटेको थियो, जसमा पाँच जना व्यक्तिको ज्यान गएको थियो। गत मंगलबारको आगजनी र तोडफोडलाई पनि यस्ता अफवाहले पर्याप्त मलजल गरेकै छन्।

सूचनाले मान्छेलाई सशक्तीकरण गर्छ, अफवाहले वरवादी। अझ एआइको उछालसँगै अफवाहको बाढी चलिरहेछ। अफवाह र कन्स्पिरेसी थेरी (षड्यन्त्र सिद्धान्त) हरूको मार कतिखेर कसले र कतिले झेल्नुपर्ने हो, अनुमान गर्न गार्‍हो छ।