आठ महिनादेखि काठमाडौँ बसिरहेका दार्जिलिङका नासिब मुखिया र उनका नेपाली साथीहरू शुक्रबार र शनिबार साँझ जडीबुटी क्षेत्रमा सिठी फुकिरहेका थिए, अटेर गर्ने चालकलाई हात पनि जोडिरहेका थिए।
काठमाडौँ– जेनजी आन्दोलनपछि शुक्रबार अवस्था केही सामान्य थियो। सेनाले साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा खुकुलो बनायो। त्यही बेला उपत्यकाका तीनै जिल्लामा सवारी साधनको चाप बढ्यो। सडकमा ट्राफिक प्रहरी थिएनन्।
उपत्यका प्रहरी कार्यालयले सबैलाई काममा फर्कन अनुरोध त गरेको थियो, तर प्रहरीहरू जलेका आफ्ना कार्यालय व्यवस्थापनमा बल्ल जुट्दै थिए। बानेश्वर, तीनकुने, कोटेश्वर क्षेत्रमा सवारी साधन अस्तव्यस्त भइरहँदा जडीबुटी क्षेत्रमा ट्राफिक व्यवस्थापन सहज भइरहेको थियो।
त्यहाँ पाँचजना युवा ट्राफिक व्यवस्थापनमा खटिएका थिए। उनीहरूले सुन्तला रङको ज्याकेट लगाएका थिए। हातमा सिठी थियो। सिठी फुक्दा पनि सवारी साधन बिस्तारै अघि बढाउनेलाई सामुन्ने गएर हातै जोडेर अनुरोध गरिरहेका थिए। यसरी हात जोड्नेमध्येका एक थिए नासिब मुखिया।
उनी दार्जिलिङका हुन्। ‘एक्टिङ स्टार’ नामको ‘रियालिटी सो’मा भाग लिन आठ महिनाअघि काठमाडौँ आएका हुन्। आफू उक्त सोको सेमिफाइनलसम्म पुगेको उनले बताए।
आन्दोलनले यस्तो उग्र रूप लिन्छ भन्ने सोचेका थिएनन्। “आन्दोलन चर्किएको दिन हामी थापाथलीमा अभ्यास गरिरहेका थियौँ। एकाएक लफडा शुरू भएपछि बानेश्वर निस्कियौँ,” नासिब भन्छन्, “गोली चलिरहेको थियो। कति घाइते थिए, कति भुईंमा लडेका थिए।”
त्यस दिन उनले घाइतेलाई अस्पताल पुर्याउन सहयोग गरे। “एकजना त प्रहरीको ब्यारिकेटमै ढलेका थिए। शरीर लत्रिएको थियो। उनलाई पनि अस्पताल लैजान सहयोग गरँे,” उनले भने।
त्यसदिन घर फर्किएपछि उनलाई निद्रा लागेन। सम्झनामा गोली लागेका र घाइतेहरू आइरहे। भोलिपल्ट झन् ठूलो आन्दोलन भयो। उनी नजिकैका मेडिकलमा घाइतेको उपचार सहयोगमा लागे। कतिपयलाई अस्पताल पुर्याउन सहयोग पनि गरे।
अर्को दिनबाट सेनाले कर्फ्यु लगायो। शुक्रबार दिउसो पनि निषेधाज्ञा जारी थियो। साँझ निषेधाज्ञा खुलेपछि उनी भ्लग बनाउन बाहिर निस्किए।
यसअघि पनि उनी भ्लग बनाउँथे। “शुक्रबार पनि भ्लग बनाउँदै हिँड्दा जाम देखेँ। जडीबुटीमा चारतिरका गाडी आएर जाम भएपछि झगडा गर्दै थिए। त्यो देखेपछि मलाई व्यवस्थापन गर्नुपर्छ भन्ने लाग्यो,” उनले भने।
त्यसपछि नासिबले साथी रमेश बुढाथोकीलाई कल गरे। उनी नजिकै थिए, पुगिहाले। अरू साथीहरूलाई पनि फोनबाट खबर गरे।
तर आफूहरूलाई चालकले टेर्छन् कि टेर्दैनन् भन्ने द्विविधा भएको रमेश बताउँछन्। “अनि मैले तुरुन्तै जोरपाटी पुगेर पाँच वटा ज्याकेट र सिटी लिएर आएँँ। त्यस बेला सबै साथीभाइ भेला भइसकेका थिए,” रमेशले भने।

उनीहरूसँग लोकेन्द्र भण्डारी, सौगात गौतमलगायत साथी पनि जोडिए। उनीहरूले करिब ५ बजेदेखि साढे ७ बजेसम्म सवारी आवतजावतमा सहजीकरण गरे।
पहिला एकातर्फका सवारीसाधन पठाउन अर्को तर्फबाट आएकालाई रोक्दा चालकहरू रिसाए। बेस्सरी हर्न बजाए। त्यसपछि उनीहरूसँग हात जोडेर नासिबले भने, “पर्खनुहोस्, देश भर्खर ब्युँझदैछ। अझै बाँच्नुपर्छ।”
उनको आग्रहले चालकहरू मुस्कुराए। एकातर्फका सवारी साधन पठाएपछि अलि सहज भयो। त्यसो त, नासिबलाई ट्राफिक व्यवस्थानको केही ज्ञान भने थियो।
दार्जिलिङमा स्कुल पढ्दा नेसनल क्याडेट कर्प्स (एनसीसी) तालिम अनिवार्य लिनुपर्थ्यो। त्यस तालिममा बन्दुक चलाउनेदेखि ट्राफिक व्यवस्थापनसम्म सिकाइन्थ्यो। त्यो ज्ञानलाई उनले धेरैपछि नेपालमा प्रयोग गर्न पाए।
शुक्रबार राति प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भइन्। शनिबार आवातजावत खुला भइसकेको थियो। साँझ उनीहरू फेरि जडीबुटी पुगे।
त्यहाँ एक जना ट्राफिक प्रहरी मात्र खटिएकी थिइन्। अनि उनीहरूले फेरि सुन्तला रङको ज्याकेट लगाए र ट्राफिक प्रहरीलाई सहयोग गरे।
यो काम गरिरहँदा धेरैले उनीहरूलाई धन्यवाद दिए। “आन्दोलन भइ त गयो। तर अब बचेका चिजलाई जोगाउन सहजीकरण गरौँ भन्ने हो,” उनले भने।
नासिब दार्जिलिङमा जन्मिएका नेपालीभाषी हुन्। उनका धेरै आफन्त अहिले पनि नेपालमै भएकाले आउजाउ भइरहन्थ्यो।
उनले साथीहरूसँग मिलेर झापामा मेडिकल पनि सञ्चालन गरेका छन्। “ठूलोबुबाहरू यतै हुनुहुन्थ्यो। आउजाउ गरिरहँदा आयुर्वेदमा नेपालमा राम्रो स्कोप देखेँ। मैले आयुर्वेद पढेको छु। कम्पाउन्डर पनि हुँ। त्यसकारणले यता व्यवसाय शुरू गरेँ,” उनी भन्छन्।
कोभिडका बेला लकडाउन भएदेखि उनी अभिनयमा समेत सक्रिय हुन थाले। आफूले अभिनय गरेर बनाएका भिडियो सामाजिक सञ्जालमा हाल्थे। तिनै भिडियोका कारण केही ‘सर्ट मुभी’हरूमा खेल्ने मौका पाए।
उनको अभिनयलाई देखेरै एन्जिला फिल्ममा अफर पाए। तर भूमिका छोटो थियो, होटेलको साहु बनेका थिए। पहिलो सिनेमा भएको कारण उनी खुशी थिए। एन्जिला प्रदर्शन भएपछि अन्य केही फिल्ममा पनि अहिले अफर आएको छ।
रमेश र उनको चिनजान पनि कलाक्षेत्रमा लागेदेखि नै भएको हो। रमेश कलाकारितामै छन्। एन्जिला फिल्ममा उनको पनि अभिनय छ। यसबाहेक उनी निर्माणको काम पनि गर्छन्। विभिन्न सामाजिक सेवाका काममा पनि जोडिन्छन्।
“हिजो सबैजना मिलेर सवारी आवतजावत सहजीकरण गर्यौँ। नयाँ साथीहरू पनि जोडिएर सहयोग गर्नुभयो। अब ट्राफिक प्रहरीहरू काममा फर्किसकेपछि हामी पनि आफ्नो काममा लाग्छौँ,” रमेश भन्छन्।
नासिबले चाहिँ एक्टिङ स्टारबाट नबाहिरिएसम्म वा फाइनल नतिजा नआएसम्म काठमाडौँमा रहने बताउँछन्। त्यसपछि दार्जिलिङ गएर आफन्त भेट्ने अनि, साइन भएका फिल्म खेल्न फेरि काठमाडौँ आउने उनको योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
