नेताको घरमा नोटको ‘जखिरा’

देउवा निवास मात्र होइन, हावामा नोट उडाइएको भिडियोका कारण तत्कालीन उर्जामन्त्री दीपक खड्का पनि चर्चामा रहे। ढिलोगरी निस्केको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली ती दुई ठाउँमै पुग्यो।

गएको होलीको रात, दिल्ली हाइकोर्टका न्यायाधीश यशवन्त बर्माको सरकारी आवासमा आगलागी भयो। आगो निभाउन पुगेका दमकल र पुलिस स्टाफहरूले न्यायाधीशको निवासमा अर्द्ध जलेको अवस्थामा नोटहरूको भण्डारण फेला पारे। नोटका बिटा बोरामा कोचिएका थिए, जहाँ १५ करोड भारु थियो भन्ने अनुमान गरियो। ती नोट यहाँ शेरबहादुर देउवा–डा. आरजु देउवाको घरमा फेला परेजस्तो पूरै नजलेकाले आँकडा निकाल्न महाभारत भएन।

अरूले समेत प्रयोग गर्ने ठाउँमा फेला परेको भन्दै नोट आफ्नो हुँदै नभएको बयान दिई न्यायाधीश पन्छिन खोजे। प्रथम दृष्टिमै न्यायाधीशको ‘लोचा’ देखिएपछि सर्वोच्च अदालतले राजीनामा गर्न भन्यो। तर राजीनामा गर्न दिइएको आदेश नै अटेर गरेपछि दिल्ली उच्च अदालतमा काजमा रहेका न्यायाधीश बर्माको काज फिर्ता गरी दरबन्दी रहेको इलाहाबाद उच्च अदालतमै पठाउने निर्णय भयो। फेला परेको नोटको भिडियो पनि सर्वोच्च अदालतले आफ्नै वेबसाइटमा राख्दिएको थियो। उनीविरुद्ध त्यहाँको संसद्मा महाभियोग प्रस्तावसमेत दर्ता भएको छ।

भारतमा सार्वजनिक पदमा रहेकाहरूको घर/आवासमा बेलाबखत यस्तै नोटको ‘जखिरा’ बरामद भएका खबर पढी–हेरी आइयो। सन् १९९६ मा तत्कालीन सूचना तथा प्रसारणमन्त्री पण्डित सुखरामको दिल्ली र हिमाञ्चल प्रदेशको घरमा ३ करोड ६१ लाख नगदका साथै बहुमूल्य जवाहरात बरामद भएको थियो।

असममा मुख्यमन्त्रीको विशेष सतर्कता सेलले असम निजामती सेवा (एसीएस)का अधिकृत नुुपुर बोराको घरबाट १ करोड २ लाख भारु नगद बरामद गरेको घटना तरोताजा हो। सन् २०२२ मा झारखण्डमा खानी र उद्योग सचिव पूजा सिंघलको अनियमितताउपर अनुसन्धान गरिरहेको प्रवर्तन निर्देशनालय (ईडी)ले उनका दुई निकटस्थहरूबाट १९ करोड ३१ लाख भारु बरामद गरेको थियो, जसमा १७ करोड त उनको चार्टड एकाउन्टेन्टबाट बरामद भएको थियो। 

सन् २०२२ मै ईडीले पश्चिम बंगाल सरकारका मन्त्री पार्थ चटर्जीका घनिष्ट अर्पिता चटर्जीको दुईवटा अपार्टमेन्टमा ४९ करोड ८ लाख भारु बरामद गरेको थियो। उनको एउटा अपार्टमेन्टबाट २७.९ करोड (नोट गन्ने मसिनसमेत) र ६ किलो सुन पनि बरामद भएको थियो। त्यसअघि, अर्को अपार्टमेन्टमा २१.९ करोड नगद, गरगहना र ७६ लाख विदेशी विनिमय बरामद भएको थियो। बंगाल सरकारले शिक्षक नियुक्तिमा ठूलै गडबडी गरेको उजुरीमा अनुसन्धान थालेको ईडीले सो जखिरा बरामद गरेको हो।

जब भारतमा नोटको जखिरा बरामदका समाचार आउँथे, हाम्रोमा यस्तो जखिरा क–कसको घरमा होला भन्दै गम खाइन्थ्यो। साथीसँगी, व्यवसायीसँग जिज्ञासा पनि राखिन्थ्यो। ठूल्ठूला ठेक्कापट्टामा मात्रै होइन नियुक्ति, बढुवा, सरुवामा समेत अधिकांश नेताहरूले नगद लेनदेन गरेकै सुनिन्थ्यो। निजामती, सेना, पुलिस, न्यायालयमा पनि केहीको कमाइ घरमा नोटका जखिरा बरामद हुनेखाले छ भन्ने अनुमान गर्न सकिन्थ्यो।

राजदूत नियुक्तिमै नगद लेनदेन सुनिन थालेको पनि वर्षौं भयो, त्यो पनि बतासे हल्ला हैन। गैरआवासीय नेपालीहरूको संस्थामा समेत सक्रिय भएका एकजनाले राजदूत नियुक्त भएपछि बधाई दिने निकटस्थहरूलाई सधैँ ‘कांग्रेस भएर हिँड्दा पनि नियुक्ति लिन पैसा नदिई भएन’ भनेको कुरा उनकै मुखबाट सुन्नेहरूले सुनाएका थिए।

डा. बाबुराम भट्टराईको कोटामा एकथान राजदूत (परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार रहेका बेला) परेको थाहा पाएपछि एकचोटि राजदूत भइसकेकी मान्छेले २ करोड अफर गरेको अनि भट्टराईले इन्कार गरेपछि तिनै महिला कांग्रेसको कोटामा राजदूत भएको पनि डाक्साबको सहयोगीमध्येकै एकजनाले सुनाएका थिए। डा. भट्टराईले त्यति बेला पैसाको प्रस्ताव इन्कार गरेर शायद नवराज सुवेदीलाई राजदूत बनाएका थिए।

नेता र कर्मचारी (सेना/पुलिस, न्यायाधीशसमेत)ले कालोधन व्यवस्थापन कसरी गर्छन् भन्ने जिज्ञासा धेरै अघिदेखि रह्यो। यसलाई चाहिँ थाहा हुनसक्छ भन्ने लागेको मान्छे भेट हुँदा जिज्ञासा राखिन्थ्यो नै। व्यवस्थापन एकदमै सजिलो छैन, शायद। एकजना प्रधानन्यायाधीशले छोरीका लागि टुँडालदेवीतिर घर किन्दिने भएछन्, ९ करोडमा। २ करोड चेक, बाँकी नगदै लिनपर्ने शर्त सुनेपछि घरधनी तर्सिएछन्, घर खरिदबिक्री भएन।

सेनाका एकजना जर्नेलले धोबिघाटतिर एउटा घर औधी रुचाएछन्। १२/१३ करोड पर्ने घरलाई १८ करोड दिने भएछन्– शर्त नगदै बुझ्नपर्ने। नगद व्यवस्थापन सजिलो छैन। अरूका नाममा लगानी गर्दा शक्ति र पदमा नरहेपछि पच पारिदिएका किस्साहरू पनि बेलाबखत सुनिन्छ। ब्याजमा लगानीगर्ने एउटा अभ्यास प्रचलित छ।

ठूल्ठूला लेनदेन चाहिँ विदेशमै हुने बुझिन्थ्यो। नियुक्ति, सरुवा–बढुवाका खुद्रा ‘उगाही’ यतै घर वा निकटस्थकहाँ भण्डारण भई बिस्तारै वितरण वा लगानीका लागि बजारमा निस्किने सुनिन्थ्यो। यही भौतिक लेनदेन भएको नगद व्यवस्थापन गर्न समय लाग्ने भएकाले लिनेकै घर वा निकटस्थकहाँ ‘डम्प’ हुने बुझिन्थ्यो। व्यवस्थापन (ब्याजमा, लगानी आदि) हुँदै जाने र नयाँ–नयाँ बिटा, अझ बिटाका बोरा नै थपिँदै जाने हुन्छ भन्ने विश्लेषण गरिन्थ्यो।

शीर्ष नेताहरूले पार्टीका बफादारदेखि आफ्नो क्षेत्र/भेगकालाई औषधोपचार, विवाह आदिमा आर्थिक सहयोग गर्न पनि नगदै राख्ने गर्छन् भन्ने सुनिँदै आएको थियो। देउवा निवासमा स्वकीय सचिव भानु देउवाको प्रातःकालीन काम नै आर्थिक सहयोग (औषधोपचार, बाटो खर्च, बिहेबटुलो आदिका लागि) मा बित्थ्यो भन्ने त्यहाँ धाउने धेरैबाट सुनिएको हो।

भारतमा त अनुसन्धान निकायहरूले (सीबीआई, ईडी आदि) ले बेलाबखत नोटको जखिरा बरामद गर्थे नै, नरेन्द्र मोदी नेतृत्वको सरकार बनेपछि चाहिँ विपक्षी दलका नेतामात्र होइन, चन्दादाता व्यापारी लक्षित कारबाही पनि तीव्र पारिएको थियो। यसैले हाम्रोमा पनि कम्तिमा सरकारले विपक्षी नेताउपर यस्ता कारबाही गरे विपक्षी सत्तामा आउँदा पुरानो सरकारपक्षीय नेताको पोल पनि खुल्थ्यो नि बरु भन्ने चर्चा पनि हुन्थ्यो।

रवि लामिछाने दोस्रोचोटि गृहमन्त्री हुँदा प्रतिशोध नै साँध्ने कारबाही शुरू नगरेका होइनन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाउपर कारबाही प्रतिशोध नै थियो। सिरोहिया छुटेको झन्डै करिब दुई महिनासम्म मुद्दा दायर गर्न नसक्नुले नै यसको पुष्टि गर्छ। डा. आरजु देउवालाई एक रातकै लागि सही, थुन्न सुरक्षा निकायका प्रमुखलाई उनले दबाब दिएकै हुन्। फेरि पनि घरमै ‘रेड’ गराएर नोटको जखिरा बरामद गर्न उनले पनि चासो दिएको देखिएन।

भदौ २४ गते नोटको जखिरा हेर्ने पुरानै सपना साकार त भयो, देशै दन्दनी बलिरहेका बेला। र ८० वर्षीय देउवा र पत्नी आरजुउपर क्रूर आक्रमणसहित। देउवा दम्पतीउपर क्रूर आक्रमण भए पनि सहानुभूति देखाउने कमै देखिए। सहानुभूति देखाउनेले पनि शेरबहादुरउपर आक्रमण भएकोमा देखाए, डा. आरजुप्रति त्यही पनि देखाएनन्। ‘हिप रिप्लेस’ गरेको महिलाउपर पुरुषले त्यहीँ किक हान्दा पनि ‘च्व च्व’ गरेनन्, मैले कुरा गरिरहेकाहरूले। बरु, स्थापित मिडिया हाउसहरू नेताका घरमा देखिएका जलेका नोटबारे किन रिपोर्टिङ गर्दैनन् भन्ने प्रश्न सामाजिक सञ्जालमा उठिरह्यो।

बढी चर्चा देउवा दम्पतीकै घरको छ। भोलिपल्ट ‘सिधाकुरा’ले स्थलगत रिपोर्टिङका क्रममा ‘नोटै जलेका हुन्’ भन्ने सबुत बाँकी रहेका टुक्राटाक्री असरल्ल भएको चोटाकोठा चहार्दै देखायो। जलेर झन्डै खरानी भइसकेका थुप्राहरू पनि नोट जलेकै खरानी भएको दाबी गरियो। आँगनमै छरपस्ट नोटका बण्डल उठाउँदै मान्छेहरूले भिडियो बनाएका छन्। माथिबाट जलेका नोट आँगनमै हुर्‍याउँदै गरेको भिडियो बनेका छन्।

उनीहरूका भिडियो एआईद्वारा छेडखानी गरिएको भनेर नपत्याउन त हुन्थ्यो, तर टेकपानाको तथ्यजाँच देउवा दम्पतीको घरका नोट (जलेका समेत) का अधिकांश भिडियो सक्कली हो (एआईद्वारा छेडखानी गरिएको छैन) भनेर भन्दियो। देउवाको घरका नोटको जखिरामा ५०औँ भिडियो बनेका छन्।

जवाफदेही हुन नपर्ने मिडियाहरूले खर्ब–खर्ब भन्देरै ठोक्दिए, खर्ब रुपैयाँको चाङ कति हुन्छसम्म ख्याल नगरी। तैपनि ५० हाराहारी भिडियो हेरेका राष्ट्र बैंकको नोट विभागकै एक कर्मचारीले देउवाको घरको कोठामा नोटको परिमाण जिब्रो टोक्नपर्ने अवस्थाकै दाबी गरे। “यतिउति भनेर अनुमानै गर्नचाहिँ सकिन्न,” उनले भने, “जलेका र जल्न बाँकी बसेका नोटहरू हेर्दा परिमाण ठूलो हो।” उनले एकाध महिनामा बजारमा नोटको आपूर्ति विश्लेषण गरी देशैभरि कति बराबरका नोट जले भनेर अनुमानित आँकडा निकाल्न सकिने सुनाए।

देउवा निवास मात्र होइन, हावामा नोट उडाइएको भिडियोका कारण तत्कालीन उर्जामन्त्री दीपक खड्का पनि चर्चामा रहे। ढिलोगरी निस्केको भए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली ती दुई ठाउँमै पुग्यो।

वर्ल्ड टीभी नामको युट्युब च्यानलले प्रचण्डको घरमा पुगेर जल्न बाँकी टुक्राटाक्री र भष्म भएका फोहरहरू देखाउँदै सबै नोटहरू नै भएको दाबी गर्छ। प्रत्यक्षदर्शी भनिएकी एकजनाले ‘मैले नै नोटका बण्डलहरू देखेको हुँ’ भन्छिन्। गंगा दाहालको घरमा मृत भेटिएका खत्री थरका व्यक्तिले पैसा भरिएको झोला समातेकै अवस्थामा देहत्याग गरेका रहेछन्। भोलिपल्ट शव उठाउँदा खिचिएको फोटो त आफैले देखियो। जल्न बाँकी हजारका टुक्राटाक्री र जलेको वस्तु हेर्दा २५–३५ लाख अनुमान गरियो।

‘हजुरबाको पालाको नेता नाति पुस्तामा पनि उही’ भनेर नागरिक आक्रोशित छन्। हजुरबादेखि नातिसम्म अचल, अजर बनाउने प्रमुख शक्ति तिनै नोटहरू हुन्। नोटमा बफादारी किनिएको छ, पद दिएर पनि बफादारी किनिएको छ। बफादारी पैसामा किनिएका कारणले पनि देउवा वा उनीजस्तै अरू कोहीका बफादारले नेतालाई पार्टीभन्दा मात्रै होइन, देशैभन्दा माथि ठानिरहेका हुन्छन्। अहिले देउवालाई नेतृत्वबाट ‘एक्जिट’ गर्न दबाब दिनेहरूलाई दाह्रा किटेर गाली गर्नेहरू त्यस्तै किनुवा बफादार नै हुन्। प्रचण्डको हकमा त्यही हो, ओलीको हकमा पनि त्यही।