नेपाल टी-२० लिग : काठमाडौँविरुद्ध फारवेस्ट ८३ रनले विजयी

फारवेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो।

तस्वीर : क्यान

काठमाडौँ– ओपनरद्वय हशमतुल्लाह शाहिदी र विनोद भण्डारीको शतकीय साझेदारीमा फारवेस्टन युनाइटेडले नेपाल टी-२० लिगमा दोस्रो जित निकालेको छ। बिहीबार सम्पन्न दिनको दोस्रो खेलमा फारवेस्टले काठमाडौँ नाइट्समाथि ८३ रनको जित निकालेको हो।

फारवेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो। काठमाडौँका कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाए। उनले २१ बलमा २ छक्का प्रहार गरे।

कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले १७/१७ रन बनाए। सुनम गौतम १६, ओपनर वीरनदीप सिंह १४ र सन्तोष कार्की १२ रनमा आउट भए।

फारवेस्टका करण केसी, दुर्गेश गुप्ता र हसमतुल्लाह शाहिदीले २/२ विकेट लिए। शेर मल्ल, प्रकाश जिसी र मिलिन्दा श्रीबर्द्धनाको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो। फारवेस्टका कप्तान तथा ओपनर हशमतुल्लाह शाहिदीले सर्वाधिक ७६ रन बनाए। उनले ५७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्कासहित ७३ रन बनाए।

उनीहरूले पहिलो विकेटका लागि १५७ रनको साझेदारी गरेका थिए। करण केसी २२ रनमा अविजित रहे। काठमाडौँका बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए।

अभिनाश बोहोराको नाममा १ विकेट रह्यो। जारी प्रतियोगितामा दोस्रो जित निकालेको फारवेस्टले ८ खेलमा ४ अंक जोडेको छ। फारवेस्टको क्वालिफायरमा पुग्ने गणितीय सम्भावना जीवितै रहेको छ।

पराजित काठमाडौँ ९ खेलमा ४ जितसहित ८ अंक बनाएर तालिकाको तेस्रो स्थानमा यथावत् छ।