७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।
काठमाडौँ– “छोरी र म दुवैलाई बचाउनुभयो… धन्यवाद डाक्टर।”
७९ वर्षीया गोमा भण्डारीले चिकित्सकप्रति आभार प्रकट गरिरहँदा छेउमै बसेकी ४६ वर्षीया सीता पाण्डेको अनुहारमा चमक छायो।
उनी, आमा गोमा र किड्नी ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुसालबीचको कुराकानी ध्यानपूर्वक सुनिरहेकी थिइन्। उनको मुहारमा मन्द मुस्कान छाइरहेको थियो। त्यही बेला डा. भुसालले उनको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखे, “कस्तो छ अहिले, तपाईंलाई?”
“पहिलेजस्तो शरीर दुख्दैन, पिसाब र निद्रा मज्जाले लाग्छ, ज्यान हलुको भा’छ,” हात जोडेर उनले भनिन्, “अब त बाँच्छु होला केही वर्ष... आमाले दोस्रो जन्म दिनुभयो।”
“अब स्वास्थ्यको ख्याल गर्नुभयो अझ धेरै वर्ष बाँच्नुहुन्छ, बचाउनलाई त किड्नी दे’को नि!” डा. भुसालको सान्त्वनाले सीताका आँखा रसाए।
आँसु पुछ्दै उनले भनिन्, “बाँचुम्ला जस्तो लागेको थिएन, यो त चमत्कारै भयो।”
डा. भुसाल, गोमा र सीताबीचको संवादकै क्रममा उनीहरूसँगै ओपीडी कक्षमा रहेकी नेफ्रोलोजिस्ट डा. सिर्जु वैद्यले करिब एक वर्षअघिको घटना सम्झिन्। त्यो दिन गोमा, छोरीलाई मिर्गौला दिएर बचाउँछु भन्दै अस्पताल आएकी थिइन्। शुरूमा त उनलाई गोमाको कुरामा विश्वासै लागेको थिएन। उनले ‘साँच्चै हो त आमा?’ भनेर सोधेकी पनि थिइन्।
“दिन मिल्ने/नमिल्ने स्वास्थ्य जाँच गरेपछि थाहा भइहाल्थ्यो, तर यति धेरै उमेरको आमा नै छोरीलाई किड्नी दिन्छु भन्दै अस्पताल आउनु हाम्रा लागि अनौठो कुरा थियो,” एक वर्षअघिको घटना सम्झिँदै डा. वैद्यले भनिन्।
उनको कुरा सुनेपछि डा. भुसालले गोमासँग जिज्ञासा राखे, “यो बुढेसकालमा छोरीलाई किड्नी दिन किन मन लाग्यो त आमा?”
त्यसपछि उनको प्रतिक्रिया थियो, “मेरा लागि छोरी पनि यही हो, छोरा पनि यही। उसका साना नानीहरू छन्, उनीहरूकी आमा बाँच्ली भनेर दिएकी हुँ।”
डा. भुसालसँगको कुराकानीमा उनी मुस्कुराउँदै प्रतिक्रिया जनाउँथिन्। डा. भुसालका अनुसार विगत एक वर्षदेखि अस्पताल आउजाउ गरेकाले गोमा आफूसँग सहज रूपमा कुराकानी गर्छिन्। उनी प्रायः छोरीको स्वास्थ्यबारे चासो व्यक्त गरिरहन्छिन्।
“उहाँ निकै फुर्तिली हुनुहुन्छ, छोरी बचाउन एक वर्षदेखि अस्पतालमा कुरेर बस्नुभयो.. छोरीप्रति उहाँको समर्पण देख्दा हामी चकित छौँ,” डा. भुसाल भन्छन्।

चिकित्सक, अंगदाता र बिरामीबीचको यो कुराकानी किस्ट अस्पतालको हो, जहाँ ७९ वर्षीया गोमाले आफ्नी छोरी सीतालाई मिर्गौला दिएर दोस्रो जन्म दिएकी थिइन्। चिकित्सकका अनुसार ६५ वर्षभन्दा माथिका मानिसबाट अंगदान दुर्लभ र जोखिमपूर्ण हुन्छ। तर गोमाको दृढता र छोरीप्रतिको मायाअघि सबै कुरा गौण बने। यो केबल सफल प्रत्यारोपण मात्र होइन, छोरीप्रति आमाको असाधारण समर्पणका साथै नेपालमा अंगदान र प्रत्यारोपणबारे नयाँ सम्भावना र आशा पनि हो।
दुई वर्षअघि
गोमा अहिले ७९ वर्ष ९ महिनाकी भइन्। उनी म्याग्दीको रघुगंगा गाउँपालिकाको बासिन्दा हुन्। छोरी सीता मात्रै उनको सन्तान हुन्। श्रीमान् बितिसकेका छन्। उनी गाउँमा छोरी–ज्वाइँसँगै बस्छिन्। गाउँमा हिँडडुल गर्ने, करेसाबारीमा तरकारी उमार्ने र खाना पकाएर खुवाउने उनको दैनिकी थियो। कुनै जटिल तथा दीर्घरोग नभएकाले उनी फुर्तिली थिइन्।
छोरीज्वाइँ र नातिनातिना कृषि काममा थिए। सीता प्रेसर र कोलस्ट्रोलको औषधि नियमित खान्थिन्। शरीर आवश्यकताभन्दा मोटो थियो। गाउँघरमै खेतीपाती गर्ने मान्छेले के बार्नुपर्ला र जस्तो लाग्थ्यो। नियमित खाइरहनुपर्ने औषधि सकिँदा पनि कलिलेकाहीँ दुई हप्तापछि लिएर खान्थिन्। औषधि छुटाउनु हुन्न भन्ने चेतनासमेत थिएन।
त्यो पटक पनि त्यस्तै भयो। औषधि सकिएको एक महिना पुग्न लाग्दा पनि उनले औषधि ल्याएको थिइनन्। बजार गएको मौका पारेर ल्याउँला भन्ने सोच्दै बसेको थिइन्। तर, अचानक समस्या आयो। उनको शरीर एकाएक सुनिन थाल्यो। रिँगटा लागेर बेहोस् हुन थालिन्। त्यसपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल ल्याइयो। उपचारको क्रममा स्वास्थ्य परीक्षणपछि चिकित्सकले भने, “मिर्गौलाले काम नगर्ने भएछ।”
बल्ल उनले नियमित खाने औषधिको महत्त्व बुझे पनि यति बेलासम्म धेरै ढिलो भइसकेको थियो। चिकित्सकले सुझाए, “अब बाँच्नका लागि कि त जीवनभर डायलिसिस गर्नुपर्छ कि त प्रत्यारोपण।”
उनले पहिलो विकल्प रोजिन्। शुरूको एक महिना मणिपालमै डायलिसिस गराइन्। उनलाई डायलिसिस गर्न श्रीमान्सँगै ढुक्कले पोखरा बस्नुपर्दा पारिवारिक समस्या हुन थाल्यो। त्यसपछि पर्वतको कुस्मा अस्पतालबाट डायलिसिसलाई निरन्तरता दिइयो। त्यहाँ बस्न पनि समस्या भएपछि बागलुङको धौलागिरि अस्पताल हुँदै म्याग्दीको बेनी अस्पतालमा पुर्याइयो। यो क्रम करिब एक वर्षसम्म चल्यो। तर, नियमित डायलिसिस गराइरहे तापनि दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था जटिल बन्यो।
उनलाई निद्रा लाग्न छाड्यो। शरीर सुनिएर सहन नसक्ने गरी दुख्न थाल्यो। पटक–पटक रिंगटा लागेर बेहोस हुने क्रम बढ्यो। पिसाब नआउने समस्या थपिएपछि उनलाई बाँचिन्छ भन्ने लाग्नै छाड्यो। त्यसपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल ल्याइयो। त्यहाँ चिकित्सकले भने, “अब मिर्गौला प्रत्यारोपणको विकल्प छैन।”

हरेक दिनजस्तो अस्पताल चहार्दाचहार्दै कमजोर बनेकी छोरीको अवस्था देखेर गोमालाई असह्य भइरहेको थियो। बिमारी छोरीको पीडा प्रत्यक्ष महसुस गरिरहेकी थिइन्। यो दुई वर्षमा घरव्यवहार पनि लथालिंग भइसकेको थियो। सीताको श्रीमान् पनि कलेजोसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए।
उनको कलेजो पनि प्रत्यारोपण गर्नैपर्ने गरी बिग्रिएको थियो। छोरी–ज्वाइँ दुवैलाई जटिल रोग लागेकाले उनी नातिनातिनाको बिजोक हुन्छ भन्ने सोचेर चिन्तित थिइन्। उनी बेलाबेला गुनासो गर्थिन्, “यस्तो रोग छोरीको सट्टा मलाई लाग्नु नि!”
सीताका दुई छोरी र एक छोरा पढ्दै छन्। परिवारको सदस्य बाहिरका आफन्त अंग दिन तयार भएनन्। गाउँघरमा हल्ला फैलियो– ‘अब सीता चाँडै मर्दैछे।’ आफूभन्दा चाँडै ‘छोरी मर्छे’ कि भन्ने पीडाले गोमालाई असह्य भयो। आफ्नो एक मात्र सन्तान सीतालाई उनले भनिन्, “मेरो मिल्छ भने म दिन्छु, म बचाउँछु तँलाई।”
शुरूमा सीतालाई विश्वास लागेन। बुढी आमाले अंग दिन मिल्छ भन्ने कुरासमेत उनलाई थाहा थिएन। अंग दिन मिले तापनि आफ्नो कारणले आमाको ज्यान तलमाथि होला कि भन्ने डर उस्तै थियो। तर, आमाको जिद्दीअघि उनको केही लागेन। गोमाले पटक–पटक भन्न थालिन्, “मैले दिन मिल्ने रैछ भने तँ किन रोक्छेस्, मेरो छोरा भने पनि तैँ छोरी भने पनि तैँ, तँ केटाकेटीको आमा बाँचिनस् भने म बुढी बाँचेर के काम।”

त्यसपछि सीता र उनको श्रीमान् गोमालाई लिएर काठमाडौँ आए। उनीहरू वीर, त्रिवि शिक्षण अस्पताल र भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र पुगे। तिनै अस्पतालले वृद्ध महिला देखेपछि स्वास्थ्य जाँच नगरी मिल्दैन भनेर फर्काइदियो। त्यसपछि उनीहरू निराश भएर गाउँ फर्कन लागेका थिए। त्यही बेला गाउँतिरकै एक व्यक्तिले ललितपुरस्थित किस्ट अस्पतालमा सम्भावना रहेको सुनाए। किनकि, यसअघि त्यहाँ ७२ वर्षका मानिसले किड्नी दिएको ती व्यक्तिले सुनेका रहेछन्।
उनीहरू झिनो आस बोकेर किस्ट अस्पताल पुगे। चिकित्सकले शुरूमा त आमाबाहेक अन्य विकल्प खोज्न सुझाएका थिए। तर, अंग दिने कोही नदेखेपछि उनीहरू गोमाको स्वास्थ्य जाँच गर्न तयार भए।
समस्याग्रस्त परिवार भएकाले मानवताका नाताले एक पटक स्वास्थ्य जाँच गरि हेरौँ न भन्ने मानसकितामा पुगेको डा. भुसाल बताउँछन्। नभन्दै आमाको स्वास्थ्य ठिकठाक देखियो। विभिन्न तहको स्वास्थ्य जाँच र फलोअपको लागि करिब एक वर्ष लाग्यो। एक वर्षसम्म आमाछोरी लगातार अस्पताल धाइरहे।

गोमाले गत भदौ २२ गते छोरीलाई मिर्गौला दिइन्। अहिले फलोअपका लागि उनीहरू गोंगबुस्थित कोठाबाट अस्पताल धाइरहेका छन्। डा. भुसालका अनुसार, अझै केही समय उनीहरू फलोअपका लागि अस्पताल धाइरहनुपर्छ। “सबै परीक्षण हेर्दा अंग झिक्दा केही समस्या नहुने देखेपछि हामीले यो निर्णय लिएका हौँ,” डा. भुसाल भन्छन्।
दुर्लभ प्रत्यारोपण
चिकित्सकहरूका अनुसार, अंग दिनका लागि ६५ वर्षभन्दा कम उमेर उपयुक्त मानिन्छ। यद्यपि, संसारका विभिन्न देशमा ७० वर्षभन्दा माथिका दाताबाट प्राप्त मिर्गौला पनि सफल प्रत्यारोपण भएका छन्।
साइन्स डाइरेक्टर जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, ७० वर्ष वा सोभन्दा माथिका राम्रोसँग छानिएका स्वस्थ दाताको मिर्गौला दान सुरक्षित देखिएको छ। शल्यक्रियापछि दाता र प्राप्तकर्ताको स्वास्थ्य सामान्य हुन्छ। त्यस्तै, मिर्गौला फेल हुने गम्भीर जटिलता देखिएको छैन, तर उमेरका कारण मृत्युदर भने तुलनात्मक रूपमा बढी पाइन्छ।
डा. भुसाल परिवारका सदस्य सबै राजी भएपछि गोमाले मिर्गौला दिन मिल्ने कि नमिल्ने भनेर विभिन्न स्वास्थ्य जाँचसमेत गरिएको बताउँछन्। उनका अनुसार मिर्गौला दान गर्दा गोमाको मुटु र अन्य अंगमा पर्ने असरबारे, साथै एउटै मिर्गौलाले उनको स्वास्थ्यमा पार्ने जोखिमबारे पनि जाँच गरिएको थियो।
एउटा मिर्गौला निकाल्दा जटिल समस्या नपर्ने रिपोर्ट आएपछि प्रत्यारोपणको तयारी गरिएको थियो। “शुरूमा त हामीले जोखिम नउठाउनूस् भनेर सुझाएका थियौँ, स्वास्थ्यले साथ दियो भने हामी दिन्छौ भनेपछि हामीले प्रक्रिया अघि बढायौँ,” उनले भने, “प्रत्यारोपणपछि भन्दा पनि सर्जरीको बेला जोखिम होला कि भन्ने डर थियो तर त्यस्तो भएन।”

डा. वैद्य अब अंगदाता र प्राप्तकर्ता सामान्य जीवनमा फर्कने बताउँछिन्। उनको भनाइमा प्रत्यारोपण गरेकै आधारमा दाताको आयुमा कुनै फरक पर्दैन। त्यस्तै, मिर्गौला दाता पनि राम्रो जीवन बिताउन सक्ने उनको भनाइ छ। “किड्नी दिएकै हिसाबले उहाँको स्वास्थ्यमा केही फरक पर्दैन,” उनले भनिन्।
अस्पतालमा फलोअपमा गएको बेला गोमा अझै छोरीको स्वास्थ्यबारे चासो राखिरहन्छिन्। तर उनको अनुहारमा अब पीडाभन्दा सन्तुष्टि झल्किन्छ। छोरी सीताको आँखामा फेरि चमक फर्किएको छ। सीता भन्छिन्, “बाँच्न सकिएला भन्ने आशा नै थिएन, आमाले दोस्रो जुनी दिनुभयो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
