सम्झौता कार्यान्वयन नभए सेभेन थ्री स्पोर्टस्‌सँगको सहकार्य टुट्छ : क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता कार्यान्वयन नगरे सहकार्य तोडिने बताएका छन्।

काठमाडौँ- नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता पूर्णरूपमा कार्यान्वयन नभए आगामी सिजनबाट सहकार्य टुट्ने बताएका छन्।

उनले नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीका लागि क्यानसँग भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्‌ले गरेको सम्झौता अक्षरशः पालना नभए रद्द गर्ने बताएका हुन्। 

अध्यक्ष चन्दले साझेदार कम्पनीले प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौताअनुसार क्यानलाई उपलब्ध गराउनुपर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए।

सेभेन थ्री स्पोर्टस्‌का मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौती भएको भन्दै सोमबार भारत गएका थिए। 

नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने जिकिर गरे। 

सेभेन थ्री स्पोर्टस्‌ले पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ता बापत १ करोड २० लाख दिइसकेको र बिहीबार एक करोड पठाएको अध्यक्ष चन्दले बताए। सम्झौता अनुसारको बाँकी रकम पनि ल्याउने उनले बताए। फ्रेन्चाइज टिमहरू खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको दाबी चन्दको छ। 

त्यस्तै, उनले केही टोलीको पारिश्रमिक मालिकहरूले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधिभर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूरा हुने दाबी गरे।

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चारमाध्यममा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौँ टीकाटिप्पणी हुन थालेका छन्।