वैदेशिक रोजगार न्यायाधीकरणबाट फैसला भएर सर्वोच्चमा पुनरावेदन भएका मुद्दाका मिसिल जलेका छन्। अहिलेसम्म ३०० मुद्दाका मिसिल सर्वोच्च गएको पाइए पनि संख्या योभन्दा धेरै हुनसक्ने न्यायाधीकरणले जनाएको छ।
काठमाडौँ– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले विभिन्न सरकारी संरचनासहित सर्वोच्च अदालतमा पनि आगो झोसिदिए। पछिल्लो दिन बिहान जलेको भवनबाहिर असरल्ल अनेकथरि मुद्दाका फाइलहरूबीच वैदेशिक रोजगारीसँग सम्बन्धित कागजात पनि थिए।
केही जलिसकेका र केही जलिरहेका ती फाइल रहेछन्, वैदेशिक रोजगार न्यायाधीकरणबाट पठाइएका मुद्दाका मिसिलहरू। बबरमहलमा रहेको न्यायाधीकरणको भवन जोगिए पनि पुनरावेदनका लागि सर्वोच्च अदालतमा पठाइएका मुद्दाका मिसिल भने जोगिएनन्।
वैदेशिक रोजगार विभागले अनुसन्धान सकेपछि विशेष सरकारी वकिलको कानूनी रायअनुसार वैदेशिक रोजगार न्यायाधीकरणमा अभियोग दर्ता गर्छ। वैदेशिक रोजगारसम्बन्धी मुद्दाहरू हेर्न न्यायाधीकरण गठन गरिएको हो। न्यायाधीकरणले गरेको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था छ।
न्यायाधीकरणको आदेशउपर परेको निवेदन कैफियत सक्कल प्रतिवेदनसहित सर्वोच्चमा जान्छ। त्यसरी गएमध्येकै मिसिल सर्वोच्चमा भएको आगजनीमा नष्ट भए। कति मिसिल सर्वोच्चमा गएका थिए र आगजनीमा परेर कति नष्ट भए भन्ने यकिन विवरण आइसकेको छैन।
न्यायाधीकरणका रजिष्ट्रार दिनेश आचार्यका अनुसार, सर्वोच्च पठाइएका मिसिलको विवरण संकलन भइरहेको छ। “अहिलेसम्म ३०० मिसिल पठाएको भेटियो, संख्या योभन्दा धेरै नै होला। हामी पुराना फाइलहरू हेरिरहेका छौँ,” उनले भने।
न्यायाधीकरणले फैसला गरिसकेका र पुनरावेदन लागेकामध्ये सर्वोच्चबाट माग भएअनुसार पठाइएका मिसिलका डमी फाइल न्यायाधीकरणमै हुन्छन्। सक्कल कागजात जलेपछि न्याय निरूपणको प्रक्रियामा केही बाधा तथा ढिलासुस्ती हुने भए पनि डमी फाइलहरू सुरक्षित रहेकाले न्याय नमर्ने आचार्य बताउँछन्।

वैदेशिक रोजगारीसँग सम्बन्धित मुद्दाका फाइलहरू सर्वोच्चमा मात्र जलेनन्, वैदेशिक रोजगार विभागमै पनि जले। ताहचलस्थित विभागको मुख्य कार्यालय भवन पनि आगजनीले ध्वस्त छ। विभागका मुख्य तीन ब्लकमध्ये महानिर्देशक, निर्देशकलगायत विभागका विभिन्न शाखा प्रमुखले कार्यसम्पादन गर्ने मुख्य प्रशासनिक भवन नष्ट भएको छ।
आल्मुनियम र जस्ताबाट निर्मित त्यस ब्लकका प्रायः सबै फाँट र त्यहाँ रहेका कागजातसहित कम्प्युटरलगायत अन्य साधन पनि जलेर खरानी भएका छन्। स्टिलका दराजभित्र राखिएका फाइलहरू पनि बचेनन्। त्यस ब्लकमा रहेको मुद्दा दर्ता तथा सहायता कक्ष, उद्धार तथा राहत समन्वय शाखा, प्रहरी समन्वय शाखा, अनुगमन शाखा र अधिकांश कागजात/अभिलेख पनि जलेर नष्ट भएका छन्। इजरायल, दक्षिण कोरियालगायतको रोजगारी केन्द्रित रहेका देशगत शाखा पनि जलेका छन्।

जलेर नष्ट भएको प्रशासकीय ब्लकभन्दा पछाडि पर्ने मुद्दा तथा अनुसन्धान शाखा रहेको भवन र व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भवन भने सुरक्षित छन्। विभागका कर्मचारीका अनुसार मुख्य भवनभन्दा अलि पछाडितिर परेकाले पनि आगजनी गराउने भिडबाट ती ब्लक जोगिएका हुन्। अहिले विभागका सम्पूर्ण काम यिनै भवनबाट सञ्चालन हुँदै आएका छन्।
अहिले कर्मचारीलाई व्यवस्थित रूपमा सेवा प्रवाह गर्न पनि समस्या भइरहेको छ। पहिले क्यान्टिन सञ्चालन हुने कोठाबाट समेत सेवा प्रवाह भइरहेको छ। विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार ४० भन्दा धेरै कम्प्युटर सेट, १४–१५ ल्यापटप र लेखासहित मुद्दा/कारबाहीका महत्त्वपूर्ण कागजपत्र नष्ट भएका छन्। वैदेशिक रोजगार विभागका सुरक्षित रहेका भवनलाई व्यवस्थित गरेर अहिले कामकारबाही नियमित बनाइएको ढकालले बताए।

विभागले नियमित काम कारबाही अघि बढाए पनि कर्मचारीलाई कार्यसम्पादनमा त्यति सहजता छैन। ११० भन्दा धेरै कर्मचारी रहेको विभागमा अहिले एउटै फाँटमा कोचाकोच गरेर कार्यसम्पादन गरिरहेका छन्।
“सेवा रोकिएको पनि छैन पहिलेको जस्तो सहज तरिकाले सञ्चालन हुन पनि सकेको छैन,” निर्देशक तथा सूचना अधिकारी ढकाल भन्छन्, “सेवाग्राहीहरू हजारौँ आउँछन्। हामीले जसोतसो मिलाउने प्रयास गरेका छौँ, उभिएरै पनि काम गर्नु परेको छ।”
मुद्दाका फाइलमा क्षति
विभागमा ठगी लगायत विभिन्न मुद्दामा परेका उजुरीको संख्या ३६ हजारभन्दा धेरै छ। दैनिक ६०/७० व्यक्तिगत तथा १५/२० संस्थागत ठगीका उजुरी पर्ने गरेको छ। तर आगजनीपछि मुद्दामामिलासहित राहत उद्धारको काम प्रभावित बनेको छ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै म्यानपावर कम्पनीबाट ठगिएका घटनाको उजुरी संस्थागतमा पर्छ। व्यक्ति तथा ‘एजेन्ट’को प्रलोभनमा परी ठगिएका घटना व्यक्तिगत उजुरीअन्तर्गत दर्ता हुन्छन्।
मुद्दा शाखा जोगिए पनि प्रशासनिक फाँटहरूमा प्रक्रियामा रहेका र केही अद्यावधिक भइसकेका फाइल पनि जलेका विभागले जनाएको छ। अहिले नयाँ मुद्दा लिने काम भइरहे पनि पुराना मुद्दाका केही महत्त्वपूर्ण कागजात नष्ट भएपछि ती उजुरीमाथिको बाँकी प्रक्रिया अन्योल र अनिश्चितताको छायामा परेको छ।
मुद्दाका कति कागजात जले र नोक्सानी भयो भन्ने तथ्यांक संकलन भइनसकेको विभागका महानिर्देशक कमल भट्टराई बताउँछन्। “विभागमा पार्सियल्ली आगजनी भएको हो, यसको मुख्य टहरामा आगजनी भएकै ठाउँबाट महत्त्वपूर्ण कामहरू हुने गरेका थिए। क्षतिको यकिन विवरण आएको छैन,” उनी भन्छन्, “मुद्दाका प्रक्रियामा रहेका र अद्यावधिक भएका केही फाइल पनि जलेका छन्।”

अहिले विभागका कर्मचारी नियमित कामकारबाहीमा पनि लाग्नु परेकाले क्षतिको विवरण तयार पार्न नसकिएको महानिर्देशक भट्टराई बताउँछन्। उनका अनुसार भदौ २४ गते साँझ ७–८ बजेतिर आएको भिडले विभागमा आगजनी गरेको थियो।
विभागले २४ गते पनि अनलाइनमार्फत श्रम स्वीकृति वितरण गरेको थियो। त्यो दिन आन्दोलनले उग्ररूप लियो। प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा आन्दोलनरत समूहले नभएर अरू कसैले नै आगो लगाएको हो कि भन्ने उनको बुझाइ छ। यसबारे सरकारले नै अनुसन्धान गर्ने उनले बताए।
मुद्दाका कागजात जले पनि न्याय सम्पादनमा कमी नआउने भट्टराई बताउँछन्। वैदेशिक रोजगारीका क्रममा ठगिएकाहरूलाई आफ्ना उजुरी लिएर आउन उनले आग्रह गरेका छन्। त्यसपछि बाँकी प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।
भट्टराई भन्छन्, “कागजात सबै जलेका होइनन्। यता जलेका भए पनि सरोकारवालासँग त्यसको रिसिप्ट वा केही प्रमाण होला, त्यो लिएर सम्पर्कमा आउनुभयो भने हामी बाँकी प्रक्रिया अगाडि बढाउछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
