एम्बुलेन्स र चालकमाथि समेत आक्रमण भएका ती दुई दिन

प्रदर्शनकारीले एम्बुलेन्समाथि आक्रमण गरेर चालकलाई समेत घाइते बनाए। बाटो पनि अवरोध गरिँदा कयौँलाई समयमा अस्पताल पुर्‍याउन सम्भव भएन र गोली लागेका घाइते जोखिममा परे।

बायाँबाट क्रमश: लोकबहादुर, रामहरि र भक्तबहादुर

काठमाडौँ– नेपाल एम्बुलेन्स सर्भिसका एम्बुलेन्स चालक भक्तबहादुर श्रेष्ठले भदौ २३ गते कयौँ घाइतेलाई अस्पताल पुर्‍याए। उनले राति अबेरसम्मै घाइते ओसारे। अनि भोलिपल्ट पनि सबैरैदेखि एम्बुलेन्स लिएर निस्किए। 

त्यो दिन भदौ २४ गते थियो। गोली लागेको घाइते लिन दिउँसो २ बजे चक्रपथस्थित भाटभटेनी पुगेका थिए। घाइते लिएर उनी त्रिवि शिक्षण अस्पतालतिर आउँदै थिए। तर चक्रपथ चोकमा आन्दोलनकारीले एम्बुलेन्स रोके। कसैको हातमा खुकुरी थियो, कसैको हातमा लौरो।

उनले ‘घाइते बोकेको छु हजुर...’ मात्र भन्न भ्याए। उनको आवाज कसैले सुनेन। बरु ‘हान... हान...’ भनेको सुनियो। त्यही बेला एम्बुलेन्सको अगाडिको सिसामा कसैले जोडले खुकुरी प्रहार गर्‍यो। फुटेको सिसाको टुक्रा उछिट्टिएर उनको कञ्चटमा लाग्यो। उनले हातले अनुहार छोपे।

कोही ‘हान... हान...’ भनिरहेको थियो, कसैले ‘नहान... नहान...’ भन्थ्यो। उनी हातले अनुहार छोपेर बसिरहे। एकैछिनमा एम्बुलेन्सका सबै सिसा फुटेर उदांगो भयो। उनको कान र पातामा सिसाले लागेर रगत बग्न थाल्यो।

nullकेही बेरपछि आन्दोलनकारीमध्येका एक जनाले ‘ल जानुस् दाइ...’ भनेर बाइकको हेलमेट लगाइदियो। उनी तोडफोड भएको एम्बुलेन्स चलाएर त्रिवि शिक्षण अस्पताल पुगे। त्यहाँ घाइते छाडेपछि उनको पनि ड्रेसिङ भयो। करिब डेढ घण्टा आराम गरे, अनि फेरि तोडफोड भएकै एम्बुलेन्स लिएर फिल्डमा खटिए।

आक्रमणबाट आफू सामान्य घाइते भए पनि मानसिक रूपमा विक्षिप्त बनाएको श्रेष्ठ बताउँछन्। गाडीमा खुकुरी प्रहार गरेको त्यही दृश्य आँखा वरिपरि घुमिरहेको उनको भनाइ छ। “ठूलो चोटपटक लागेको होइन, तर घाइते बोकेको एम्बुलेन्समा त्यसरी तोडफोड हुन्छ भन्ने मेरो कल्पना नै थिएन,” उनी भन्छन्।

आन्दोलनका क्रममा श्रेष्ठको मात्र होइन, अन्य एम्बुलेन्स पनि तोडफोड भए। एम्बुलेन्समा आक्रमण हुँदा केही चालक घाइते पनि भए। घाइते हुनेमध्येकै अर्का हुन् रामहरि श्रेष्ठ।

आन्दोलनको पहिलो दिन दिनभर घाइते ओसारेका रामहरि साँझ ५ बजेतिर संसद् भवनको १ नम्बर गेटमा घाइते लिन पुगेका थिए। तर प्रदर्शनकारीले एम्बुलेन्समाथि ढुंगामुढा गरे।  गाडीको अगाडिको सिसा फुट्यो।

उनले घाइते लिन आएको बताए पनि केही आन्दोलनकारीले लछारपछार गरेर सिटबाट निकाल्न खोजे। त्यस क्रममा शरीरमा देखिन चोट त लागेन, शरीर भने केही दिनसम्म दुखिरह्यो।

त्यस बेला प्रदर्शनकारीले एम्बुलेन्समा आगो सल्काउनै लागेको रामहरि बताउँछन्। तर जसोतसो त्यहाँबाट फुत्किएर घाइते लिएर अस्पताल गए। “घाइते बोक्ने एम्बुलेन्सलाई ढुंगामुढा प्रहार भएको देख्दा अचम्मै लाग्यो,” उनी भन्छन्।

nullत्यो दिन सिभिल अस्पतालजस्तै ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायतका एम्बुलेन्स चालक घाइते ओसार्न खटिएका थिए। उनीहरूको भोगाइ पनि उस्तै रहेको सम्बन्धित अस्पतालका निर्देशकहरू बताउँछन्।

अस्पतालबाहेक नेपाल एम्बुलेन्स सर्भिसका १० वटा एम्बुलेन्सले पनि घाइते ओसारेका थिए। एम्बुलेन्स सर्भिसका प्रमुख कार्यकारी अधिकृत अमित जोशीका अनुसार, उनीहरूले भदौ २३ गते १५८ जना घाइते ओसारे। २४ गते ६७, तेस्रो दिन ७५, चौथो दिन ७१ र पाचौँ दिन ६० जना घाइते ओसारे।

आन्दोलनकारीले एम्बुलेन्सको सिसा तोडफोड गरेपछि प्लाष्टिक राखेर पनि घाइते ओसारिएको जोशी बताउँछन्। आन्दोलनको अवधिमा सात वटा एम्बुलेन्सका सिसा पूर्णरूपमा फुटाइए। उनी भन्छन्, “घाइते बोकेको देख्दादेख्दै ढुंगामुढा प्रहार गरेकाले चालकहरूलाई सामान्य चोटपटक लाग्यो।”

त्यो भदौ २३ गते...
रामहरि श्रेष्ठ १० वर्षदेखि सिभिल अस्पतालको एम्बुलेन्स चलाउँछन्। भदौ २३ गते आन्दोलन हुने भएकाले अस्पतालले सतर्क बस्न ‘सर्कुलर’ गरेको थियो। उनीसँगै सिभिल अस्पतालका आठ जना एम्बुलेन्स चालक तैनाथ थिए।

बिहानसम्म अवस्था सामान्य थियो। माइतीघर मण्डलबाट हिँडेका प्रदर्शनकारी दिउसो ११ बजेतीर बानेश्वरस्थित संसद् भवन नजिक पुगेका थिए। त्यसपछि प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी भयो। केही बेरमा प्रहरीले गोली चलाउन थाल्यो। 

आन्दोलनका क्रममा केही व्यक्ति घाइते भएको खबर पाएपछि रामहरि एम्बुलेन्स लिएर निस्किए। त्यतिबेला प्रहरीले अश्रु ग्याससँगै गोली पनि हानिरहेको थियो। प्रदर्शनकारीले पनि ढुंगामुढा गरिरहेका थिए।

उनी जसोतसो घाइते भएको ठाउँमा पुगे। प्रदर्शनकारीले नै घाइतेलाई एम्बुलेन्समा हालेपछि उनी सिभिल अस्पतालतिर हुइँकिए। त्यो दिन उनी पटकपटक सिभिल, एभरेष्ट, राष्ट्रिय ट्रमा सेन्टर र केएमसी अस्पताल पुगिरहे।

उनीसँगै सिभिल अस्पतालका अन्य सात जना चालक पनि त्यसरी नै खटिएका थिए। उनीहरू शुरूमा घाइतेलाई सिभिल अस्पताल पुर्‍याउँथे। त्यहाँको इमर्जेन्सी टिमले घाइतेको अवस्था हेरेर वर्गीकरण र प्राथमिक उपचार गर्थ्यो। अस्पतालले रेफर गरेपछि अन्य अस्पताल पुर्‍याउँथे।

दिउसो ४ बजेपछि आन्दोलनले फरक रूप लियो। मृतकको संख्या बढ्न थालेको खबर फैलिएपछि आक्रोशित भएका प्रदर्शनकारीले सरकारी सम्पत्ति तोडफोड गर्न थाले। त्यसको निशानामा सरकारी नम्बर प्लेट भएका एम्बुलेन्स पनि परे। “घाइते ओसार्दा डरै लाग्नेगरी आक्रमण भयो, यस्तो कहिल्यै भएको थिएन,” उनी भन्छन्। ​​​​​​ 
रामहरि श्रेष्ठ।प्रदर्शनकारीले एम्बुलेन्स तोडफोड र बाटो अवरोध गरेका कारण कयौँ घाइतेलाई समयमा अस्पताल पुर्‍याउन नसकिएको रामहरि बताउँछन्। बानेश्वर चोकमा रहेको संसद् भवनअघि धेरै घाइते भएका थिए। ती घाइते नजिकैको सिभिल र एभेरष्ट अस्पतालमा थुप्रिएकाले ट्रमा सेन्टर, त्रिवि शिक्षण र न्युरो अस्पताल लानुपर्थ्यो। 

बाटोमा रहेका प्रदर्शनकारी एम्बुलेन्स देख्नासाथ ढुंगा बर्साउँथे। उनीहरू कयौँ पटक बानेश्वरबाट अघि बढ्न नसकेर फर्किई घुमाउरो बाटो जानु परेको थियो। 

बाटोमा अवरोध नहुँदा एम्बुलेन्सलाई बानेश्वर चोकबाट ट्रमा सेन्टर पुर्‍याउन ५ मिनेट र त्रिवि शिक्षण अस्पताल पुग्न १० देखि १५ मिनेट लाग्थ्यो। त्यो दिन कतिपय घाइतेलाई ट्रमा सेन्टर पुर्‍याउनै ३० मिनेट र त्रिवि शिक्षण अस्पताल पुर्‍याउन १ घण्टा हाराहारी लाग्यो। “घाइते हालेको एम्बुलेन्सलाई कति पटक बानेश्वर चोकबाटै फर्काइदिए, भिडसँग केही नलाग्ने रहेछ” रामहरि भन्छन्।

सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मी त्यहाँ ल्याइएका घाइतेको टाउको, घाँटी, छाती, पेट र हातखुट्टामा गोली लागेको बताउँछन्। गोली लागेका घाइतेको रगत धेरै बग्ने भएकाले समयमा नै अस्पताल पुर्‍याउनुपर्छ। तर प्रदर्शनकारीले एम्बुलेन्सलाई नै अवरोध गर्दा घाइतेहरूको रगत धेरै बगेको उनको भनाइ छ।

यही कारण केही बचाउन सकिने घाइतेको पनि ज्यान गयो। “टाउको, छाती तथा रक्तनलीमा गोली लागेर क्षतविक्षत भएका घाइतेलाई अस्पताल पुर्‍याउन १ मिनेट ढिलो हुँदा पनि बचाउन गाह्रो हुन्छ, यो पटक त धेरै ढिला भयो,” डा. रेग्मी भन्छन्।  

रगत र औषधि ओसार्दा पनि अवरोध
सिभिल अस्पतालका एम्बुलेन्सले घाइते मात्र नभई रगत, औषधि र स्वास्थ्यकर्मी पनि ओसारेका थिए। रगत लिन कहिले ग्राण्डी अस्पताल त कहिले कीर्तिपुरस्थित लायन्स क्लबको रक्तसञ्चार केन्द्र पुग्थे। अस्पतालमा औषधि अभाव भएकाले क्षेत्रपाटीदेखि लोकन्थलीसम्मका सप्लायर्स चहारेर अति आवश्यक औषधि ओसारिरहेका थिए।

लोकबहादुर खत्री।घाइतेभन्दा रगत, औषधि र स्वास्थ्यकर्मी ओसार्न गाह्रो भएको सिभिल अस्पतालका एम्बुलेन्स चालक लोकबहादुर खत्री बताउँछन्। उनका अनुसार, कीर्तिपुरबाट फर्किने क्रममा एम्बुलेन्समा आक्रमण हुँदा रगतको पोका नै फुटेको थियो।

ढुंगाले रगतको पोकामा लागेर दुईतीन पाउण्ड रगत खेर गएको लोकबहादुरको भनाइ छ। “हामी  दिनरात भोक र तिर्खा नभनि घाइते बचाउन दौडियौँ, हामीमाथि नै आक्रमण भयो,” उनी भन्छन्।