‘फिनिसिङ लाइन’ बिनाको गोर्खा दौड

साँप राजा र नाग राजाको बीचमा विकल्पको झन्डा बोकेर दगुरेको झन्डै पाँच दशक पुग्न लाग्दासमेत गोर्खाहरू ‘फिनिसिङ लाइन’ नभेटेर दौडमै छन्। दार्जिलिङका बासिन्दाले आत्मविश्वास गुमाइसकेको स्थिति छ।

नेतृत्वमा हुनेहरूको मनपरी र आम जनतामाथिको अवहेलना संसारभर देखिए- बुझिएकै कुरा हो। एउटा भ्रष्ट व्यवस्थालाई त्यो आक्रोशले नाङ्गो पारेको सबैले भर्खरै देख्यौँ। यदि सम्पत्तिको नाश नगरी यो काम गर्न सकिएको भए त्यो अझ स्तुत्य हुने थियो कि! जे होस्, नेपाल लगत्तै मलेसिया र फ्रान्समा पनि त्यस्तै आन्दोलन देखा पर्‍यो तर, ती राष्ट्रमा यो आन्दोलन नेपालजस्तो व्यापक अनि ध्वंसात्मक हुन पाएन। समयमा नै त्यहाँको व्यवस्थाले नियन्त्रणमा ल्याउन सफल भयो। केही समयको लागि बिहार (भारत) मा पनि त्यही नाम लिएर जुलुस निकालिएको देखियो र दार्जिलिङमा पनि केही युवाहरू प्रोत्साहित भएर ‘यता पनि त्यसै गर्नुपर्छ’ भनेको सुनियो।

तर, कताकता सुन्दा त गोर्खाल्यान्ड  टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए)का हर्ताकर्ताहरूकै निर्देशनमा पो दार्जिलिङमा जेनजी गठन भएको कुरा पनि चर्चामा आयो। कुरा सही हो भने त यो ‘प्रेसर कुकर’ को ‘सेफ्टी भल्भ’ कता भन्ने कुरा स्पष्ट भइगयो। भर्खरैको कुरा गर्ने हो भने लद्दाखमा भएको आन्दोलनलाई पनि जेनजीसित जोडेर त्यहाँ नेपालबाट पनि मानिसहरू आएका थिए अनि कति त पक्राउ पनि परे भन्ने कुरा मिडियामा सुन्न पाइयो। नेपालको जेनजी लद्दाखमा…? साँच्चै? सत्तालाई यथार्थ समस्या लुकाएर मानिसलाई अर्कैतिर मोड्नु कति सजिलो छ। यस्ता कुरा पत्याउन मन लागेन, आखिर भारतीय मिडियाको कुनै भरोसा छैन।

गोरखा नेसनल लिबरेसन फ्रन्ट (जीएनएलएफ)को आन्दोलनमा पनि भारतका रक्षा विशेषज्ञ भरत वर्माले नेपाल र चीनको सहयोग भएको रिपोर्ट बुझाएको थियो, जसको कुनै प्रमाण थिएन। त्यही निहुँ बनाएर वैज्ञानिक तथा पर्यावरणकर्मी सोनाम वाङचुकलाई गिरफ्तार गर्ने कुरा सुरु भयो। सीबीआईले छापा मार्‍यो। अब इनफोर्समेन्ट डिपार्टमेन्ट (इडी) पनि लगाइने कुरा चल्दैछ। सही मुद्दा उठाउने व्यक्ति या संस्थाको निम्ति वर्तमान भाजपा सरकारले अघोषित इमर्जेन्सी लगाएका थुप्रै दृष्टान्तमध्ये यो नयाँ उदाहरण हो। वाङचुकले स्पष्ट रूपमा भनेका छन्, ‘‘चीनले हाम्रो भूमिमा अतिक्रमण गरेको छ भन्ने म देशद्रोही अनि चीनलाई आफ्नो भूमि सुम्पने यो सरकारचाहिँ देशप्रेमी?’’

तर राष्ट्रिय मिडिया यति साह्रो सत्ताको दलाल भएको छ कि यसले नागरिकको पक्ष सधैँ लुकाउँछ। कुनै प्रमाणबिना आईपीएस अधिकारी संजीव भट्ट ७ वर्षयता जेलमा छन् अनि सोनाम वाङचुकलाई पनि सरकारले भर्खरै जोधपुरको जेलमा बन्दी बनाएको छ। जनवरी, २०२० मा सीएएको मुद्दामा पक्राउ परेका सर्जील इमाम अझै जेलमा छन्। कसैलाई पक्रिन वर्तमान भारतीय सरकारलाई कुनै प्रमाण चाहिँदैन, शंका नै यथेष्ट छ। तुलनामा बंगाल र दार्जिलिङको सञ्चार माध्यमलाई धेरै स्वाधीन मान्न सकिन्छ, जहाँ सबैको भनाइलाई कमसेकम पत्रिकाले स्थान दिएको स्पष्ट देखिन्छ। एनसीइआरटीजस्तो राष्ट्रिय संगठनले जब सरकारको निर्देशनमा भारतको इतिहासबाट मुगल काललाई नै हटाउने काम गर्‍यो, तब इतिहासविद् रोमिला थपरले भनेकी थिइन्, ‘‘मुगल इतिहास पाठ्यक्रमबाट हटाए विद्यार्थीहरूलाई के पढाउँछौ? वीर हिन्दुराजाहरू  कोसित लडे भन्छौ?’’

यो एउटा तगडा बौद्धिक प्रश्न हो। बलात्कारी चिन्मयानन्दहरू जेल बाहिर हुँदा वाङचुकजस्ता देशभक्तहरू जेलबन्दी हुनु देशको निम्ति कत्रो ठूलो अपमानको कुरा हो।

***
सही मुद्दालाई समेत कसरी बदनाम गर्न सकिन्छ भन्ने कुरा भारतीय मिडियाबाट थाहा पाइन्छ। काश्मिरलाई राज्यबाट अलग गर्दै दुई केन्द्रशासित प्रदेश बनाउँदा २०१९ मै भारत सरकारले लद्दाखलाई राज्य र छैटौं अनुसूचीको आश्वासन दिएको थियो। वाङचुकले गरेको पदयात्रा अनि अनशन त्यही माग पूराका लागि न थियो। तर आफैँले बचन दिएको मुद्दालाई नेपालसित जोड्दै राष्ट्रिय सुरक्षामा आई परेको खतराझैं देखाउन लागेको वर्तमान भारतीय केन्द्र सरकार। लद्दाख मुद्दामा उठाएको कदमले सो प्रमाणित गर्छ।

नभए, नेपालको मान्छे लद्दाखमा पक्राउ परेको खण्डमा उसको विवरण मिडियाले किन लुकाउँछ त? वास्तवमा आफूलाई मन पर्ने जति सबै राम्रो अनि मन नपर्नेहरूलाई सक्दो नकारात्मक गुणहरू थपिदिएर पहिल्यै खलनायकको रूपमा प्रस्तुत गर्नु मिडियाको जिम्मेदारी भएको छ। कुनै पनि राष्ट्रिय च्यानल खोलेर हेर्नुहोस्–विपक्षी राजनीतिक दलका प्रवक्तालाई टीभी एंकरहरू देशको दुस्मनझैँ व्यवहार गर्छन् अनि सरकारलाई अकारण सर्काउँछन्। गणतन्त्रका हत्याराहरू यिनै सञ्चार माध्यम हुन्। मिडियासँगै धेरै लेखक अनि तथाकथित राजनीतिक विश्लेषकले पनि त्यही काम गरेको थुप्रै उदाहरण हामीले देखेका छौँ। 

लद्दाखबारे केन्द्र सरकारले छैटौं अनुसूची अनि अलग राज्य र ऊर्जा स्रोतबारे अध्ययन गर्न एउटा 'हाई पावर' कमिटी गठन गरेको थियो। आज त्यही दिशामा सरकारद्वारा कुनै पहल नहुँदा सोनाम वाङचुक भोक हडताल बसेका अनि युवाहरूले आक्रोशमा आन्दोलनमा उत्रिएको तथ्यलाई धमिलो पार्न भारतीय पत्रकार अनि सञ्चारकर्मीहरू नेपालको हात देखाएर आन्दोलनलाई दमन गर्ने तरखरमा देखिन्छ। तर आजको समयमा केवल हाम्रो देशमा मात्र मिडियाको यस्तो अवस्था छ भन्ने कुराचाहिँ पटक्कै होइन। संसारभर मिडियाको स्तरमा ह्रास आएको छ।

सानै छँदा अरब-इजरायलको युद्धबारे सुनिन्थ्यो। अमेरिकाले इजरायललाई सघाउँदै गरेको कुरा पनि सुनिन्थ्यो। कताकता सैनिक पोशाकमा बन्दुक भिरेका सिपाहीहरूको चित्र देख्दा लडाइँ त्यही पत्रिकाको पानामा भइरहेझैँ रोमाञ्चको अनुभव  हुन्थ्यो। अरब, इजरायल अनि अमेरिका देशको नाम हो कि मान्छेको भन्नेसमेत थाहा थिएन। यो १९६५/६६ तिरको कुरा हुनपर्छ।

धेरै वर्षपछि पुनः अरब अनि इजरायलको कुरा सुन्न थालेको सन्दर्भ अर्कै छ। बिस्तारै हाम्रा युवायुवती त्यतातिर काम गर्न जान थाले। जमिन बेचेर अथवा ऋण काढेर जान थाले। दार्जिलिङ पाहाडमा नोकरीको मुहान सुक्न थालेपछि यी देशहरू हाम्रो निम्ति जीविकाको अर्को स्रोत भयो। फर्जी एजेन्टको हातमा परेर कतिको बिजोग भयो त कतिले ३-४ वर्षपछि नयाँ घर बनाए, गाडी किने। अक्टोबर २०२३ पछि भने पाहाडबाट गएका यस्ता युवायुवतीबारे उनीहरूको घरमा मात्र नभई गाउँमा सुर्ता गर्नेहरूको संख्या बढ्यो। घरमा सुर्ता नहोस् भनेर कतिले ‘खबरमा भनेको नपत्याउनु, यहाँ सबै ठीकठाक छ’ भन्ने पाराको खबर पठाए। 

उत्सव मनाइरहेकासहित अन्य गरेर ७ अक्टोबरमा हमासले गरेको मिसाइल हमलामा १२ देखि १४ सय इजरायलीको मृत्यु भयो। त्यसपछि इजरायलले गरेको जवाफी हमलामा मर्नेको संख्या लाख नाघ्यो तर अझै दिनहुँ सैकडौं प्यालेस्टाइनीहरू मारिँदै छन्। इजरायलको अनवरत आक्रमण अनि संयुक्त राष्ट्र परिषददेखि संसारका अन्य कैयौं राष्ट्रहरूको इजरायली आक्रमणको विरोध हुँदाहुँदै पनि आक्रमण नथामिएको देख्दा संसारभर विशेषज्ञहरू यो युद्ध हमासको आक्रमणको कारण हो कि इजरायलले नै गराएको हो भन्ने कुरा जान्न अध्ययनरत छन्।

भनाइ छ-इजरायललाई हमासद्वारा हुने आक्रमणबारे पहिल्यै थाहा थियो अनि यसले आफ्नो खुफिया एजेन्सी मोसाद साथै सेना इजरेली डिफेन्स फोर्स (आईडीएफ) लाई चुप बस्न (स्ट्यान्ड डाउन) निर्देशन दिएको थियो। त्यति मात्र होइन, विगतमा अमेरिकाको ट्रेड टावरमा भएको हमला इजरायली खुफिया एजेन्सी मोसादको देखरेखमा गराइएको थियो। यस विषयमा बहस हुँदा एउटा च्यानलमा अमेरिकी पत्रकार एना क्यास्परिनले  ‘द टाइम्स’ को एउटा रिपोर्ट देखाएकी थिइन्, जसमा इजरायली प्रधानमन्त्री नेतन्याहुले ‘९/११’ को हमला हाम्रो निम्ति राम्रो हो’ भनेका थिए।

मुस्लिम संगठनलाई कुनै पनि प्रकारले अमेरिका र युरोप विरोधी देखाउन सके त्यसैलाई निहुँ बनाएर अमेरिकी सहायता लिई आक्रमण गर्न सकिन्थ्यो भन्दै आजसम्म त्यसै गरिँदैछ। यो कुरामा अमेरिका अञ्जान पटक्कै छैन। इराकसित ‘वेपन अफ मास डिस्ट्रक्सन’ (आम विनाशकारी हतियार) छ भन्ने निहुँमा अमेरिकाले त्यहाँ आक्रमण गर्‍यो, तर आक्रमणअघि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले इराक गएर छानबिन गरी ‘त्यस्तो कुनै हतियार इराकमा नभएको’ प्रमाणपत्र दिइसकेको थियो।

उसो भए किन अमेरिकाले यस्तो कदम उठायो त? यथार्थमा सद्दाम हुसेनले अमेरिकाको मनपरीको विरोध गर्न सुरु गरेपछि नै अमेरिका त्यहाँ सत्ता परिवर्तन गरी एउटा अमेरिकी-बुख्याँचा सरकार गठन गर्न चाहन्थ्यो। तर अमेरिकालाई निर्दोष प्रमाण गर्ने अनि इजरायललाई पुरानो कुराको निम्ति दोषी प्रमाण गर्ने प्रयासमा यसपालि डोनल्ड ट्रम्पले मुख खुस्काए र भने, ‘‘नेतन्याहुले सिमाना पार गर्दैछन्। पहिला पनि तिनले झुट बोलेर अमेरिकालाई इराकसित लडाए। इराकसित  वेपन अफ मास डिस्ट्रक्सन भएको झुटो खबर अमेरिकालाई दिए।’’

वास्तवमा इजरायल र अमेरिका दुई अलग भूगोल भए पनि चरित्रका रूपमा फरक देश होइनन्। खाडीमा आफ्नो प्रभुत्व जमाई त्यहाँको तेलमाथि आफ्नो नियन्त्रण राख्ने दुवैको एउटै लक्ष छ। जो बाइडेन राष्ट्रपति भएको समयका स्टेट डिपार्टमेन्टका प्रवक्ता म्याथु मिलरको एउटा भिडियो भर्खरै बाहिरिएको छ, जसमा तिनले इजरायल र बाइडेन सरकार दुवैले झुट बोलेका थिए भन्ने कुरा खुलस्त गरेका छन्– ‘‘बाइडेनको समयमा पनि इजरायल र गाजामाझ सम्झौताको कुरा भएको थियो, तर इजरायलले युद्ध विरामकै समयमा भए पनि राफामा आक्रमणचाहिँ जारी राख्ने कुरा बाइडेन प्रशासनलाई बताएर राजी गराएको थियो।’’

म्याथ्यु मिलरको यो भनाइले यी दुई राष्ट्रको सम्बन्ध र चरित्र स्पष्ट पार्छ। तर मिलरले पनि सत्तामा हुँदा यो कुरा गोप्य राखे। अमेरिकी पत्रकार एना क्यास्परिन भन्छिन्, ‘‘इजरायलको उद्देश्य न त हमास हो न त अपहरणमा परेकाहरू। तर ग्रेटर इजरायलको प्रश्नमा अमेरिका र इजरायल एक छन्।’’ टीवाईटी च्यानलका अनुसार कुनै पनि हालतमा अमेरिकाले इजरायलको समर्थन गर्नै पर्छ, किनकि इजरायलले भ्रष्ट अमेरिकी सिनेटरहरूलाई किनेको छ, अमेरिका र युरोपेली मिडियालाई पनि। 

आज आत्मरक्षाको नाममा इजरायली आक्रमणमा मारिनेको संख्या लाखभन्दा धेरै छ, जसमा २२ हजार शिशु छन् अनि ८३ प्रतिशत आम नागरिक। हाल गाजामा एउटै अस्पताल पनि छैन। रोगी र डाक्टरहरू मारिएका छन्, स्वयंसेवी र पत्रकारहरू मारिएका छन्। ४४ वटा देशहरूबाट राहत सामग्री लिएर हिँडेको जहाजमा आक्रमण गरिएको छ। राहत सामग्री लिएर गइरहेको जहाजमा इजरायलले ड्रोनद्वारा आक्रमण गरेपछि भर्खरै इटालीले आफ्नो जहाजको बचाउको निम्ति समुद्रमा एउटा युद्धपोतसमेत पठाएको छ। सरकार निकम्मा भएका देशहरूबाट नागरिक सक्रिय भई सहयोगमा अघि आएको यो एउटा उत्साहजनक खबर पनि हो। राहत सामग्री बोकेर गइरहेको जहाजहरूमा ख्यातिप्राप्त कलाकार र कार्यकर्ताहरू छन्। एउटा जहाजमा पर्यावरण एक्टिभिस्ट ग्रेटा थनबर्ग रहेको भिडियो भर्खरै देख्नमा आयो।

इजरायलका प्रधानमन्त्री नेतन्याहुका पिता पोल्यान्डबाट आएका हुन्। उनको वास्तविक पितृ थर मिलोवस्की हो। कतिपयले त स्वयं येशु मसिहा यहुदी नभई फिलिस्तिनी हुन् समेत भन्छन्। (यद्यपि, यसको ऐतिहासिक प्रामाणिकता खोज्न सम्भव छैन।) यहुदीहरूले आफैलाई ‘चोजन पिपुल’ भन्नु पनि विशेषज्ञहरूको विचारमा सत्ता हत्याउने उद्देश्यले तयार पारेको संवाद सिवाय केही होइन।

फिलिस्तिनीहरूको जमिन हत्याउन तयार पारिएको षड्यन्त्र ठानिन्छ उक्त कथनलाई। संसारभरका इसाई समुदायलाई इजरायलको समर्थन गर्न बाध्य बनाउने राजनीति हो यो। आज स्वतन्त्र बुद्धिजीवी, कतिपय अमेरिकी पत्रकार अनि सिनेटरहरू बाइबलले कतै पनि यहुदीहरूलाई समर्थन गर्नै पर्ने कुरा लेखिएको छैन भन्दैछन्। बाइबलले त छिमेकीलाई प्रेम गर्नु र जसले छिमेकीलाई प्रेम गर्छ, येशु मसिहा उसितै हुन्छन् भन्छ भनेर व्याख्या गरिन्छ। 

कुनै बेला शरणार्थी भएर प्यालेस्टाईन आएका यहुदीहरू आज त्यहाँका मूल निवासी फिलिस्तिनीहरूको संहार गर्दै सम्पूर्ण इलाका आफ्नो बनाउने प्रक्रियामा छन्। अमेरिकाले किन यस्तो अनैतिक काममा इजरायललाई सहायता गरिरहेछ भने उसको पनि इतिहास त्यही हो। १४९२ मा अमेरिका पुगेका कोलम्बसले युरोपीयहरूलाई त्यहाँ पुर्‍याए, जसले अमेरिकाका आदिवासी-रेड इन्डियनहरूको संहार गरेर आफ्नो साम्राज्य स्थापना गरे। नर्थ कोरियाका राष्ट्रपति कीम जोङले भर्खरै सही कुरा भने, ‘‘संसारको सबैभन्दा ठूलो आतंकवादी देश अमेरिका हो। संसारमा जहाँ पनि अशान्ति छ, त्यसको जडमा अमेरिका छ। त्यसैले अमेरिकाको अस्तित्व संसारमा रहेसम्म आतंकवाद रहनेछ।’’ यद्यपि, यसो भन्ने जोङ स्वयंको देशभित्र नागरिक अधिकारको अवस्था के छ, दुनियाँलाई हत्तपत्त थाहा नै हुँदैन।

राजनीतिमा सरुवा भएपछि धर्मभन्दा ठुलो अर्को घातक हतियार कुनै रहँदैन। हिन्दू धर्मकै उदाहरण लिऊँ। ‘बसुधैवकुटुम्बकम…’ (पृथ्वीवासी सबै हाम्रा आफन्त हुन्) भनेर हिन्दू धर्मले संसारलाई नै आफ्नो परिवार मानेको बताइन्छ। तर राजनीतिमा सरुवा भएपछि हामी संसारलाई कतिको परिवार मान्छौं भन्ने कुरा कुनै पनि भारतीय-राष्ट्रिय टेलिभिजन च्यानल खोलेर हेर्नेबित्तिकै थाहा लाग्छ। ‘छिमेकीलाई प्रेम गर्ने इसाई राष्ट्र’हरू संसारभर युद्ध लडाउन घातक हतियारको निर्माण अनि निर्यातमा व्यस्त छन्। छिमेकीलाई भोकै राख्ने व्यक्ति स्वर्ग छिर्न नसक्ने कुरा इस्लामले गर्छ अनि यता पाकिस्तानबाट एके ४७ लिएर अन्धकार रातमा काश्मीरतिर छिर्नेहरू भने त्यहाँका भोकोहरूको गन्तीमा व्यस्त छन्। संसारलाई धर्मले सबैभन्दा धेरै खति गरेको छ। वास्तवमा धर्मको आविष्कारको जरामै राजनीति छ। धर्मग्रन्थमा दिइएका चमत्कारका विवरणहरू यथार्थ जीवनमा जादुवालाबाहेक अरू कसैले देखाउन सकेका छैनन्। धर्म कुनै एक वर्गका मानिसहरूको धुर्त्याईं हो।

गाजामा भइरहेको नरसंहारमा संलग्नहरू मात्र बर्बर अनि मानवता विरोधी होइनन्, इजरायललाई सघाउनेदेखि मूक दर्शक हुने सबै असभ्य र बर्बर हुन्। धर्म जुनसुकै होस्, त्यसलाई सिँढी बनाएर सत्ता र संसाधनको नियन्त्रणमा पुग्नसाथ सबै नै असभ्य अनि बर्बर हुँदा रहेछन्।

***
नेतन्याहुको बर्बरताले कतै हिटलर त सही थिएनन् भन्ने अतिसम्म कतिलाई पुर्‍याउन सक्छ। यद्यपि, हिट्लरको अपराध र नेतन्याहुको अपराध उही हो। स्वयं ईश्वर (?) कै मुखबाट निस्केको कुनै धर्म छैन। स्वयं श्री कृष्णकै मुखारबिन्दबाट भनिएको गीता पनि वास्तवमा महर्षि  वेदव्यासले रचेको बताइन्छ। बाइबलका १२ जना सन्त र कुरान पनि प्रोफेट मोहम्मदद्वारा। अर्थात् सन्तको पदवी पाएका यी महानुभावहरूले जे लेखे, त्यो नै ईश्वरकै वाणी हो भनेर मान्न हामी बाध्य छौँ।

यही कुरा दार्शनिक बर्टन्ड रसेलले तिनको पुस्तक ‘ह्वाइ आइएम नट अ क्रिश्चियन’मा खुबै सुन्दरतासित अनि तर्कपूर्ण ढङ्गमा प्रस्तुत गरेका छन्। धर्म मान्छेभन्दा पुरानो होइन। धेरै पछिको हो धर्म, जब मान्छे सोच्न सक्ने भयो। त्यसपछि, आफूले नबुझेका कुराहरू एउटा काल्पनिक शक्तिको जिम्मा लगायो। तर अर्को वर्ग मान्छे आफ्नो खोजीमा निरन्तर लागिरह्यो, जसले ईश्वरको अस्तित्व अस्वीकार गर्‍यो। अल्बर्ट आईन्स्टाईनले एउटा अमूर्त, प्रकृति र ब्रह्माण्डको नियम र व्यवस्थालाई 'सर्व शक्तिशाली' माने तर स्टेफन हकिन्सले सोझै ईश्वर भन्ने कुनै वस्तु छैन भनेर खुल्ला घोषणा गरे।

कतिपय अमेरिकी सिपाही कलिला नानीबाबु र महिलामाथि आक्रमण गर्न चाहँदैनन्। तर यसबीच भिडियोमा गिरफ्तार गरिएका कति महिला र पुरुष अमेरिकी फौजीहरूसमेत देखिए, जो चिच्याइचिच्याई अमेरिकी नीतिको विरोध गरिरहेका छन्। नेतन्याहुमाथि संयुक्त राष्ट्र परिषद्ले युद्ध अपराधको मुद्दा लगाएको छ। इजरायललाई आतंकवादी राष्ट्र घोषणा गरेको छ। गिरफ्तारीदेखि बाँच्न अनि सत्तामा रहिरहन पनि तिनलाई युद्ध जारी राख्नुपर्ने बाध्यता छ।

अमेरिकी राष्ट्रपति ट्रम्प भनिरहेका छन्, ‘‘भारतले रसियाबाट सस्तो तेल किन्नु हुँदैन तर अमेरिकाबाट महँगो तेल किन्नुपर्छ। चीनको नजिक हुनुहुँदैन।’’ उद्योगपतिको हातमा राजनीतिको बागडोर सुम्पिए के हुन्छ भन्ने कुराको ट्रम्प राम्रो उदाहरण हुन्। एकमुट्ठी बालुवा हातमा लिएर संसारलाई देखाउँदै अनि त्यही मुखमा हालेर रोइरहेको बालक अब संसारको लागि संवेदनाको विषय होइन। त्यो सामान्य दृश्य हो। इजरायलले यसरी संसारलाई नै संवेदनाहीन बनाउँदै लगिरहेछ। यस कारण अमेरिकी पत्रकार एना क्यास्परिनले भनिन् कि अमेरिका अमेरिकी जनताले चुनेको प्रतिनिधिहरूद्वारा चल्दैन, तर केही कर्पोरेटहरूको इशारामा चल्छ, जो प्राय: इजरायली छन्।

भर्खरै भेनिस फिल्म फेस्टीबलमा ५ वर्षीय नानी हिन्द रजाबको फिल्मले हाहाकार मच्चाएको छ। रजाब आफ्नो परिवारसित गाजाको त्यो इलाकाबाट प्राण बचाउन भागिरहेकी थिइन्, तर इजरायली सिपाहीहरूले गोली हानेर परिवारका सबै सदस्यको हत्या गरिदिए। लाशहरूको बीचमा रहेकी रजाबले फोनमा आफन्तसँग गुहार मागिरहेकी थिइन। फौजी ट्याङ्क तिनको गाडी अघि थियो। केही समयपछि बातचित भइरहेको बेला अचानक गोलीको आवाज आयो अनि रजाबको आवाज बन्द भयो। फिल्म त्यहीँ अन्त भयो, रजाबको जीवन पनि। दर्शकहरू उभिएर २३ मिनटसम्म रुँदै ताली मारे। तालीले गोलीको उत्तर दिन नसके पनि संवेदनाको अन्त नभएको प्रमाण मात्र दिन सक्यो।

इजरायलले आफ्नो आक्रमण सही देखाउन संसारलाई ‘धार्मिक ब्ल्याकमेल’ जारी राखेको छ। बातबातमा चोजन पिपल र होलील्यान्डको कुरा गर्छ। झुटो प्रचारमा इजरायल र अमेरिका बराबरी छन्। भूतपूर्व अमेरिकी सैनिक केनेथ ओकोफी भन्दैथिए,‘‘मैले जानेयता जति पनि अमेरिकी राष्ट्रपतिहरू भए, ती सबै झुटो प्रचारमा संलग्न थिए। स्वयं युद्ध अपराधीहरू सिनेटरको चौकीमा छन्। नेतन्याहु त्यस्तै एउटा निकम्मा व्यक्ति हो तर उ अमेरिकाको लागि काम लाग्छ, त्यसैले काँखी च्यापिएको हो।’’

संसारमा जता पनि इजरायल विरोधी प्रदर्शन भइरहेछ, त्यसलाई अनैतिक पत्रकारहरूले ‘एन्टीसेमेटिक’ बताइरहेछन्। आफ्नो गिरफ्तारीको डरले नेतन्याहु अमेरिकाबाहेक अन्य देश जान सकेको छैन। अर्का एक विशेषज्ञ भन्दै थिए, ‘‘यो युद्ध नेतन्याहुले होइन, ट्रम्पले चाहेर भएको हो।’’

अब प्यालेस्टाइनको चित्रलाई जीटीएमा मिलाएर हेरौँ, ठ्याक्कै मिल्छ। राजनीतिक आड पाएर छिरेका बांग्लादेशीहरूको हातमा उत्तर बंगालको नियन्त्रण छ। यहाँका रैथाने आदिवासी र गोर्खाहरूलाई १९५० को सन्धि देखाइन्छ। घरी नेपाली भाषा माग्ने नेपाल जाऊ भनिन्छ त घरी न्यायाधीशको ओहोदामा बस्नेले ‘‘मेरो कोर्टमा नेपालीझैँ विदेशी भाषा चल्दैन’’ भन्छ। दार्जिलिङ पाहाड र तराईका बासिन्दाहरूले आत्मविश्वास गुमाइसकेको परिस्थिति छ। साँप राजा र नाग राजाको बीचमा विकल्पको झन्डा बोकेर दगुरेको झन्डै पाँच दशक पुग्न लाग्यो तर फिनिसिङ लाइन नभेटेर गोर्खाहरू अझै दौडमै छन्।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)