अन्तर्वार्ता

‘सिंहदरबार मेरो हो भनेर नागरिकले अपनत्व महसुस गर्ने बनाउनुपर्‍यो’

‘सिंहदरबार लगायतका संरचना र सम्पदा हाम्रा हुन् भनेर हामीले युवा पुस्तामा अपनत्वको भावना विकास गर्नैपर्छ। सायद हामी त्यही गर्न चुक्यौँ कि?’

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा जति सम्पत्ति क्षति भयो, त्योभन्दा धेरै क्षति देशका महत्त्वपूर्ण अभिलेख र कागजातमा भएको छ। सरकारी भवनभित्र जलेर खरानी भएका थुप्रै महत्त्वपूर्ण अभिलेखमध्ये धेरैजसो अब कहिल्यै प्राप्त गर्न नसकिनेगरी नष्ट भएका छन्। भवनसँगै मिसिलहरू खरानी भएपछि सर्वोच्च अदालत नियमित काममा फर्कनै सकेको छैन। अरू धेरैतिर यही अवस्था छ। अभिलेखमा यति धेरै क्षति हुनु भनेको के हो? त्यसले कस्तो परिणाम निम्त्याउँछ? यो घटनाबाट पाठ सिकेर अभिलेख जोगाउन अब के गर्नुपर्ला? इतिहासविद् प्राडा वीणा पौड्यालसँग उकालोका लागि सविना देवकोटाले गरेको कुराकानी:

देशका महत्त्वपूर्ण अभिलेखहरू जल्नु भनेको के हो? 
अभिलेख जल्नु, नष्ट हुनु भनेको सम्पदा नै नष्ट हुनु हो । मूर्त र अमूर्त दुवै सम्पदा नष्ट हुनु हो। यो किन पनि गम्भीर छ भने यसरी जलेका सम्पदालाई फेरि रिभाइभ नै गर्न सकिँदैन। 

आन्दोलनमा भीडको मनोदशा के हुन्छ र उसको दिशा कहिले कता मोडिन्छ भन्ने अनुमान गर्न सकिन्न। विश्वको इतिहास पढ्दा हामीले देखेका छौँ कि निषेधाज्ञा लगाइएका ठाउँमा पनि हुल प्रवेश गर्छ, सम्पदा नष्ट हुन्छ। यद्यपि प्राकृतिक वा अप्राकृतिक कारण जस्तै भूकम्प, आगलागी वा विद्युत् सर्ट हुँदा पनि सम्पदा नष्ट हुन सक्छन्। 

मैले त सिंहदरबारको पहिलो आगलागी पनि देखेको थिएँ। २०३० सालमा त्यो आगलागी भएको समयमा मेरो बुवा रेडियो नेपालमा निर्देशक हुनुहुन्थ्यो। विद्युत् सर्ट भएर आगलागीले त्यसबेला सिंहदरबारमा ठूलो क्षति भएको थियो। आगो लागेपछि राजाको आदेशअनुसार अगाडिको भाग छ्ट्टयाएर जहाँ गद्दी बैठक थियो, त्यसलाई बचाइयो। मलाई अहिले पनि याद छ, त्यतिखेर कागजपत्रहरू परपरसम्म उडेका थिए। त म सानै थिएँ, पछि मात्र यसको महत्त्व बुझेँ। वास्तवमा अभिलेखलाई दोस्रो माध्यममा (डिजिटाइज्ड गरेर) राख्नु अत्यावश्यक रहेछ। 

अभिलेख जल्दा तत्कालीन र दीर्घकालीन कस्तो क्षति पुग्छ?
तत्काल त यसबाट मानसिक र सामाजिक मनोबलमा ह्रास आउँछ। त्यो भवन त हाम्रै करको पैसाबाट बनेको हो नि। म यो घटना (भदौ २४ गतेको) हुँदाखेरि भर्खरै विदेशबाट आइपुगेको थिएँ। कस्तो भयो भने आउँदाआउँदै त्यस्तो दृश्य देख्दा त म छाँगाबाट खसेजस्तै भएँ। शुरुमा त पत्याउनै सकिनँ। एआई जेनेरेटेड फोटो भिडियो होला भन्ने पनि लाग्यो। पछि समाचार हेर्दा त झसंग भएँ। अझ यस्ता सम्पदा र भवन जहाँ जीवनका विभिन्न कालखण्डमा आफैले काम गरेको भएर पनि होला, विभिन्न बहानामा जोडिएको भएर पनि होला, त्यसले मलाई दुई दिनसम्म असाध्यै गाह्रो बनायो।

null

यसको दीर्घकालीन असर अझ गम्भीर हुन्छ। कागजातहरू, ऐन कानून र मिसिलदेखि प्रशासनिक फाइलसम्म नष्ट हुँदा नीतिगत कामकारबाहीमै समस्या आउँछ। आम नागरिकले हेर्दा भवन मात्रै देखिन्छ, तर त्यो भन्दा ठूलो र वास्तविक क्षति त कागजात र अभिलेखहरू नष्ट हुनु हो। 

प्राज्ञिक रूपमा हेर्दा यसबाट पर्ने असर कस्तो हुन्छ? 
त्यसको त सिधा असर छ नि। हामीले गर्ने रिसर्च वा अध्ययन अनुसन्धान अपूर्ण हुन्छन्। प्रमाण हराउँछन्। ऐतिहासिक विषय वा अन्तर्राष्ट्रिय सीमा सम्बन्धी विवादमा अभिलेख नभए ठूलो समस्या हुन्छ। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बस्ने नेपालीलाई नै हेरौँ न, अभिलेखीकरण नहुँदा उनीहरू कुनै बेला भारतपट्टि, कुनै बेला नेपालपट्टि पर्ने अवस्था देखिइरहेको छ। त्यसैले युवा पुस्तालाई पनि अभिलेखको महत्त्व बुझाउन जरुरी छ।

कसरी बुझाउने त?
खासमा अभिलेखमा सबैको अपनत्व हुनुपर्छ। कसैलाई शाहवंशको शासन मन परेन भन्नुको अर्थ शाहवंशको शालिक भत्काउने होइन, त्यो त हाम्रो इतिहास पो हो। उनीहरूले गरेका नराम्रा कामहरूको बारेमा लेख्ने हो, बोल्ने हो, अनि प्रमाणका आधारमा आवाज उठाउने हो। तर उनीहरूको भवन, घर, दरबार जलाउने होइन। ती त हाम्रा विगत हुन्। हाम्रा इतिहास हुन्। जस्तो, अहिले पनि व्यक्ति–व्यक्तिका घर जलाइयो नि। व्यक्तिले यदि नराम्रो काम गरेको छ भने उसलाई जबाफदेही बनाउने हो। यस्तो दण्ड दिएको उदाहरण फ्रेन्च रिभोलुसनले पनि देखाएको छ। 

तर संरचना त हाम्रा हुन् नि। यी सबै संरचना हाम्रा हुन् भनेर हामीले युवा पुस्तामा अपनत्वको भाव विकास गर्न सक्नुपर्छ। घण्टाघर मेरो हो, धरहरा मेरो हो, नारायणहिटी दरबार मेरो हो, सिंहदरबार मेरो हो भनेर हामीले अपनत्वको भाषा बुझाउन सक्नुपर्छ।

हो, म बुझ्दछु कि भीडले नियम बुझ्दैन। त्यसकारण पनि हामीले सानो कक्षादेखि नै यो कुरा सिकाउन पाठ्यक्रममा राख्न सकिन्छ। पढाउन सकिन्छ। हिजोआज नैतिक शिक्षाको पनि पढाइ हुँदैन। नागरिक शिक्षा, धर्मको पनि पढाइ हुँदैन। धर्म भनेको कुनै सम्प्रदायको कुरा होइन, बरु यो कर्तव्य हो। सिभिक सेन्स वा नागरिकको दायित्व के हो भन्ने नै हामीले बुझेनौँ। यो कुरा कि त हामीले औपचारिक शिक्षाबाट दिन सकिन्छ, कि त अनौपचारिक शिक्षाबाट दिन बुझाउन सकिन्छ। फेरि यस्ता घटना नदोहोरियोस् भन्नका लागि सञ्चारमाध्यमदेखि स्थानीय पालिकाले पनि यस्ता काम गर्न सक्छन्। 

अब अभिलेखहरूलाई डिजिटाइज्ड गर्नुपर्छ भन्न खोज्नुभएको हो? 
एकदमै हो। राष्ट्रिय अभिलेखालयले यसमा केही प्रयास गरेको छ, तर ऊ पनि प्रविधिमा अपडेटेड छैन। घर जलेपछि खरानीको के दुःख भन्छन् नि, अहिले त्यही भएको छ। नास त भयो, तर यसबाट हामीले पाठ सिक्नुपर्छ। अब व्यवस्थित अभिलेखीकरण कसरी गर्ने भनेर घोत्लिनुपर्ने बेला भएको छ।

यसै पनि पुरातात्त्विक अभिलेखहरू यो वा त्यो माध्यमबाट बिस्तारै क्षयीकरण हुँदै गइरहेका हुन्छन्। त्यसकारण हामीले अन्य स्रोतमार्फत यिनलाई कसरी जोगाउन सकिन्छ भनेर ध्यान दिनुपर्छ। यसको उपाय भनेको ती अभिलेखलाई डिजिटाइज्ड गर्ने नै हो। अब हामी त्यतातिर अग्रसर हुनुपर्छ। 

null

त्यसका लागि राष्ट्रिय रूपमा कस्तो नीति आवश्यक छ? 
सरकारले यसका लागि सबैभन्दा पहिले विज्ञसहितको समिति गठन गर्नुपर्छ र दीर्घकालीन योजना तर्जुमा गर्नुपर्छ। 

अभिलेखमाथि नै विध्वंस बनेको यो घटना राजनीतिक असफलता हो या ऐतिहासिक असफलता? 
यसलाई ऐतिहासिक असफलता भन्न त अलि नमिल्ला। किनभने यो राजनीतिक असफलता नै हो। आक्रोश व्यवस्थापन गर्न नसक्दा आन्दोलनले यो रुप लिन पुग्यो र अभिलेखमाथि विध्वंस निम्तियो। 

हामी अन्यत्रका अभ्यासबाट यसमा के सिक्न सक्छौँ? 
कतिपय देशमा लाइब्रेरी पनि अनौठा हुँदा रहेछन्। लाइब्रेरी त छ तर त्यहाँ किताब हुँदैनन्। बरु सबै कुरा डिजिटाइज्ड गरेर राखिएको हुँदो रहेछ। म त्यस्ता लाइब्रेरीहरूमा पुगेँ। सबै कुरा कम्प्युटरमै पढ्नुपर्ने। कागजको आयु कति नै पो हुन्छ र? पुराना पाण्डुलिपि, भोजपत्र, ताम्रपत्र कति जतन गरेर जोगाउनुपर्छ। त्यसकारण यी सबै अभिलेखलाई डिजिटाइज्ड बनाउनुको विकल्प नै छैन। अब हामीले पनि योजना बनाएर, प्रविधि र स्रोतको उपयोग गरेर यही बाटो लिनुपर्छ। त्यसका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा संरक्षणका विषय राख्न थाल्नुपर्छ। हामीले यतिखेर काम गर्ने संरक्षण चेत जगाउनकै लागि हो। त्यसका लागि विद्यालय तहदेखि नै यसबारे पढाउन थाल्नु सबैभन्दा प्रभावकारी हुन्छ।

हुन त यसमा आर्थिक स्रोत अर्थात् पनि असाध्यै महत्त्वपूर्ण छ। किनभने यसका लागि स्रोत चाहिन्छ। तर हामीले राम्रो योजना बनाउन सक्ने हो भने यसका लागि सहयोग आउँछ भन्ने मलाई लाग्छ। 

अभिलेख नष्ट हुँदा देश स्मृतिविहीन बन्छ। त्यसले लोकतन्त्रलाई के असर गर्छ? 
लोकतन्त्र भनेकै राज्य र नागरिकबीच सहज सम्बन्ध हुनु हो। अभिलेख यस्ता कुरा हुन् जो नष्ट हुँदा राज्य र नागरिकबीचको विश्वास नै कमजोर बन्छ।