रंगमञ्च
युरोपमा कम्युनिष्ट विचार एवं स्वतन्त्रताप्रति लक्षित दुईवटा नाटक हेरेपछि र युरोपियन कलाकर्मीका कुरा सुनेपछि नेपालमा किन जेन–जीको विद्रोह भयो भन्नेबारे मेरा खास अनुभूति छन्।
नसुनेको भए सन् १९७० को दशकमा चर्चित बनेको जोन लेननकृति एउटा गीत सुनौँ (यहाँ चाहिँ पढौँ), त्यसपछि यो लेखमा प्रवेश गर्नु सान्दर्भिक होला। जोन लेनन भन्थे, “सत्ता जनताकै हातमा हुनुपर्छ, नेताहरूको हैन।”
लेननले गरीब, मजदुर र आम जनताको पक्षमा गाएको गीत हो यो। उनले विश्व शान्तिका लागि गीत गाए। उनले गीतमार्फत प्रेम र करुणा फैलाए। सामाजिक अन्याए र विभेद उनका सिर्जनाका मुख्य विषय बने। गिभ पावर टु द पिपल!
पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल, राइट अन
से यु वान्ट अ रिभुलुसन
वि बेटर गेट अन राइट अवे
वेल यु गेट अन योर फिट
एन्ड आउट अन द स्ट्रिट
सिंगिङ पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल, राइट अन
अ मिलियन वर्कस् वर्किङ फर नथिङ
यु बेटर गिभ देम ह्वाट दे रियल्ली वन
वि गट टु पुट यु डाउन
ह्वेन वि कम इनटु टाउन
सिंगिङ पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल, राइट अन
आइ गट्ट आस्क यु कमरेड्स एन्ड ब्रदर्स
हाउ डु यु ट्रिट योर वन वुमेन ब्याक होम
सि गट टु बी हरसेल्फ
सो सी क्यान फ्रि हरसेल्फ
सिंगिङ पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल
पावर टु द पिपल, राइट अन...
नेपालबाट करिब ६ हजार ५०० किमि पर युरोपकै केन्द्र मानिने स्लोभाकियाको शहर क्रेमिनिचामा छु। यतिखेर जोन लेननलाई सम्झिन मन लागेको छ, यसकारण मात्रै होइन कि देशमा जेनजीक विद्रोह भयो। युक्रेनका बालकलाकारले ‘मोर्निङ (शोक) फर जोन लेनन’ नाटक मञ्चन गरे, मुख्य कारण यो हो।
धन्यवाद ती बालकलाकारहरू जो मेरो नाट्य कार्यशालामा पनि सहभागी भए। यही समूहमा एकजना रसिया–युक्रेन युद्धबाट विस्थापित बालक थिए। अर्काे एक बालक, जो मैले बोलेको अंगे्रजीलाई उनको भाषामा उल्था गरेर साथीहरूलाई बुझाउँथे, उनका बुबा युक्रेन आर्मी हुन्। रसियासँग युद्ध लडिरहेका छन्। उनी हाँसेरै भन्छन्, “हामी भोलिबारे सोच्दैनौँ।”
उनीहरू अन्तराष्ट्रिय हवाई उडान बन्द भएका कारण गाडी रिजर्भ गरेर आएका रहेछन्। यस्तो बालकलाकारको समूहलाई धन्यवाद दिइरहँदा मेरो मन भावुक बनेको छ। आँखा रसाएका छन्, उनीहरूको ‘मोर्निङ फर जोन लेनन’ नाटक मञ्चमा हेर्दा।
जोन लेननले सन् १९७१ तिर जुन विषयका लागि आवाज उठाए, त्यो चेतना नेपालमा आइपुग्न २०२५ नै जुरेको रहेछ। यो नाटकमा जोन लेननको जीवनी समेटिएको छ। युक्रेनका ती बालबालिकाले जोन लेननको यही गीतबाट नाटक शुरू गरेका थिए र ‘इम्याजिन अल पिपल’बाट अन्त्य गरेका थिए। नाटकले बाध्न यति सफल भयो कि, समापनपछि दर्शकहरू भावुक मात्रै बनेनन्, रुँदै कलाकारसँग भेटे।
युक्रेनमा जोन लेनन यतिबेला सान्दर्भिक भएर नै नाटक निर्माण टोलीको छनोटमा परेको हो। यो नाटक बनाउन स्लोभाकियाका नाटक निर्देशक पिटरले सहयोग गरेका हुन्। सन् २०१८ मा उनी नेपाल आउँदा उनकै भाषामा यही नाटक मञ्चन गरेका थिए। भाषाको कारणले यसले पाउनु पर्ने चर्चा गुमाएको थियो।
जोन लेननले मलाई यसरी स्पर्श गर्नुको कारणबारे घोत्लिँदा म आफै अचम्मित छु। नाटकको भाषा मैले बुझिनँ, तर सम्प्रेषित भाव सबैले बुझ्न सक्थे। कालजयी सिर्जनाको शक्ति यही हो।
नाटक ‘मोर्निङ फर जोन लेनन’ हेरेका दर्शकहरू भावुक बन्नु र आँशु झार्नुका अनेक कारणमध्ये एउटा हो रसियाको दादागिरी। रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियत संघको प्रशंसा गर्ने र रसिया पहिलाजस्तै शक्तिशाली बन्नुपर्ने आशयले सोभियत संघ जगाउने भय पुर्वी तथा मध्ययुरोपका जनतामा छ।
त्यहाँका जनतामा कम्युनिज्मप्रति वितृष्णा भरिएको पाएँ र उनीहरू सोभियत युनियनलाई रुँचाउँदैनन्। नाटकले दिन खोजेको सन्देश पनि यही थियो। सोभियत संघका राष्ट्रमा जोन लेनन आज पनि जीवित छन्।
सोही दिन अर्को नाटक मञ्चन भएको थियो ‘अ डिभाइडेड वर्ल्ड।’ चेक रिपब्लिकबाट आएका कलाकारले मञ्चन गरेको नाटकको माग बढेर दुई शो देखाइयो। दर्शकहरू भरिभराउ थिए। लाग्यो उनीहरू यो नाटकको पनि प्रतीक्षामा थिए।
नाटक शुरू हुनुअघि निर्देशक इरिना कोन्याभ्कोभा मञ्चमा उक्लिन्। सानो घडी हातमा लिई दमकिलो घुमाएर कुनै धुन निकालिन्। घडीको धुन एकछिन बज्यो। उनले घडी मञ्चमै राखिन् र प्राविधिक कोठातिर लागिन्। तत्काल बजेको धुनसँगै मञ्चमा एक कलाकार हँसिया हथौडा अंकित झण्डा फहराउँदै प्रवेश गरिन् र उनले त्यो झण्डा मञ्चको अग्रभागको देब्रतिर राखिन्।
कम्युनिजममाथि नाटक तयार पार्ने कलाकारहरूको इच्छा बुझेर निर्देशकले आफ्नो बुबाको समयमा कम्युनिस्ट शासनले पारेको प्रभाव समेटर आफैले नाटक लेखेकी थिइन्। कम्युनिस्ट सरकार हुँदा उनको परिवारले भोग्नु परेको हन्डर नाटकको कथा हो।
नाटक सकियो। निर्देशक फेरि मञ्चमा आइन्। त्यही घडी समाइन्। घडीको दमकिलो घुमाएर उस्तै धुन निकालिन्। शुरूदेखि मञ्चमा राखिएको हँसिया हथौडा अंकित झण्डालाई फोहोरको भाँडोमा हालिदिइन्। दर्शकलले बुझ्नु पर्ने कुरा प्रस्ट थियो कि, कम्युनिजम अहिले जनता चाहँदैनन्।
चेक रिपब्लिकका कलाकारले मञ्चन गरेको नाटक ‘अ डिभाइडेड वर्ल्ड’मा कम्युनिस्ट सरकार चाहिँदैन भन्ने सन्देश थियो। दोस्रो विश्वयुद्ध ताकाको कथा भए पनि अहिलेको समयमा यो नाटक मञ्चन हुनुले पक्कै विश्व राजनीतिमा गहिरो अर्थ राख्छ। जनता शासकबाट शासित हुन चाहँदैनन्। बालबालिकाहरूमा समेत यस्तो चेतना फैलिएको छ।
स्लोभाकिया अर्थात्, युरोपको केन्द्रमा दोस्रोपटक पुगेको हुँ। सन् २०१८ मा पिटरले भनेको सम्झिन्छु, हामी पुगेको दिन कुनै एउटा देशको कम्युनिस्ट सरकार ढलेर प्रजातान्त्रिक सरकार बनेको थियो। युरोपमा कतै पनि कम्युनिस्ट शासन छैन भनेर ऊ रमाएको थियो।
यो पटकको महोत्सवमा भेटेका लिथुयनिया, चेक रिपब्लिक, युक्रेन, पोल्यान्ड, स्लोभाकियाका कलाकार, निर्देशकसँग कुरा गर्दा थाहा भयो कि, उनीहरूका देशमा कम्युनिस्ट रुचाउनेहरू सीमित छन्। यता पुँजीवादी भनिए पनि, रुसलाई पहिलाको झैँ बलियो बनाउने पुटिनको घोषणा र सोभियत संघको धङ्धङीले छोडेको छैन। युरोपमा कम्युनिजमप्रति वितृष्णा फैलाउन रुस एक्लै काफी छ।
मलाई अष्ट्रिया हुँदै आउनु भनेका थिए आयोजकले। भनेको समयमा पिटर र अर्का साथी मलाई लिन आइपुगे। अष्ट्रियादेखि स्लोभाकिया पुग्न कारमा तीन घन्टा लाग्थ्यो। हामीसँग केही समय थियो र सदुपयोग गर्दै हामी अष्ट्रिया पनि घुम्यौँ।
सेन्टर अष्ट्रिया जुन पहिला अष्टोहंगेरियन साम्राज्यको राजधानी थियो, ऊबेलाको शासकको सालिकअघि पुग्यौँ। पिटरले भने, “युरोपमा कोही पनि मान्छे कम्युनिस्ट शासन चाहँदैनन्। सबै प्रजातन्त्र चाहान्छन्। रसिया पहिलाको जस्तै सोभियत संघ बनाउन चाहन्छ, समस्या यही हो।”
पिटरको अंग्रेजी त्यति राम्रो छैन। साथमा आएका साथीले पिटरकै कुरामा सर्मथन जनाउँदै अनुवाद गरेर बुझाए। भोलिपल्ट नाटक महोत्सवको उद्घाटन भएको हुनाले हामी छलफल गर्दै स्लोभाकियातर्फ लाग्यौँ।
नाटक महोत्सवका लागि स्लोभाकियाको जियार एन्ड हार्नन शहर चिसोमै पनि खुलेको थियो। खुलेको मतलब, चिसोमा नेपाल धुम्म पर्छ। तर युरोप खुल्छ।
सहभागी विभिन्न देशका झन्डाहरूले ‘कल्चर सेन्टर’ सजिएको थियो। यो एउटा सानो शहर हो, जहाँ दुइटा कल्चर सेन्टर छन्। कल्चर सेन्टरले कलाका विभिन्न विधामा काम गर्नेलाई प्रोत्साहन गर्छ। कल्चर सेन्टरकै बजेटमा उनीहरू कार्यक्रम गर्छन्। देशविदेश पुग्छन् आफ्नो देशको कला लिएर।
म हाम्रो देशको संगीत नाट्य एकेडेमी सम्झिन्छु र धिक्र्काछु आफैलाई। यो संगीत नाट्य एकेडेमीसँग देशभरमा समर्पित कलाकर्मीहरू कति छन् भन्ने तथ्यांकसमेत छैन। बजेट त परै जाओस्, प्रोत्साहनका लागि शब्दहरू समेत निस्किँदैनन्। कलाकार काम गर्न नसक्ने भएपछि सरकारले दान दिनलाई खोलेको संस्थाजस्तो लाग्छ। यहाँ आजसम्म पुगेका मान्छेको कार्यशैलीले त त्यही बताउँछन।
जियार एन्ड हार्नन शहरको कल्चर सेन्टर र त्यहाँका मेयरले हस्ताक्षर गरेको निमन्त्रणापत्र निकैअघि पाएको थिएँ। त्यसपछि हो पूर्वी तथा मध्ययुरोपका पाँच देश सम्मिलित नाटक महोत्सवमा नेपालबाट पुगेको। तीन दिनको नाटक कार्यशाला राखेर पिटरले मेरो पोस्टर बनाएर पठाएपछिका दिनहरू खुब उज्याला बने। नाटक मञ्चन नभएर नाट्य कार्यशाला चलाउनु थियो मैले।
स्लोभाकिया पुग्नुअगाडिका २० दिन नेपाल साह्रै सकसमा पर्यो। अझै पनि सकसबाटै गुज्रिरहेको छ। नेपालमा के भयो त्यो लेखिरहने मेरो रहर हैन। कम्युनिजम एवं स्वतन्त्रताप्रति लक्षित दुइवटा नाटक हेरेपछि र युरोपियन कलाकर्मीका कुरा सुनेपछि नेपालमा किन जेन–जीको विद्रोह भयो भन्नेबारे मेरा खास अनुभूति छन्।
सेप्टेम्बर ८ को भोलिपल्टलाई सेप्टेम्बर ९ भन्दा खास अनौठो सुनिँदैन। उसै आइहाल्छ। तर यसपटक सेस्टेम्बर ९ लाई सेप्टेम्बर ८ ले ल्याइदिएको थियो। राति आँखामा आँसु लिएर सामाजिक सञ्जालमा डुलिरहेको थिएँ। यसरी डुल्नु अघिल्लो दिनकै निरन्तरता हो।
स्लोभाकियाका नाट्य महोत्सव निर्देशक पिटरले लेखे, “रसियन ड्रोन पोल्यान्डको आकाशमा आयो। हामी सबै डराईरहेका छौँ। के हुन्छ थाहा छैन। नेपालको के छ अवस्था?”
नेपालको अवस्था उनले सामाजिक सञ्जालहरूमा देखिसकेका थिए। समाचारहरूमा पढिसकेका थिए। राजनीतिसँग जोडिएका आआफ्ना दुःख बाँड्यौँ। पिटरले आयोजना गरेको महोत्सवसमेत अन्योल बनेको थियो। नोभेम्बरमा यता मैले आयोजना गर्ने नाटक महोत्सवमा १३ देशबाट ७५ कलाकार सहभागी हुँदै थिए। माहोल अन्योल बन्यो। “टिकट काटिसकेको छु। फेस्टिवल नभए पनि म आउने छु,” यस्तो जवाफ पठाएँ पिटरलाई।
पिटर महोत्सवको भव्य तयारीमा लागे। म स्लोभाकिया पुगेँ। महोत्सवको अन्तिम दिन मेरो नाट्य कार्यशाला सकियो। हामी युक्रेन, लिथुयानियाका कलाकारहरू नित्रा शहरको पुरानो दरबारको खण्डहर हेर्न पुगेका थियौँ। त्यही बेला पिटरले सुनाएका थिए रसियन ड्रोन डेनमार्कको आकाशमा पुगेको खबर।
घुमेर फर्किंदा नेपालमा बाढी आइसकेको थियो। त्यही बेला प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन सुनेपछि पो बल्ल महसुस भयो आफू नेपाली नागरिक हुनुको। हरदम तत्परताले सरकारले पूरा गर्नुपर्ने दायित्व पनि बुझियो। यसअघिका कुनै पनि सरकारले यसरी आफ्नो देशका नागरिकलाई महत्त्व दिएनन्।
राणा शासनमा शक्ति राणाहरूले आफैसँग राखे। प्रजातन्त्र आयो भनियो २००७ सालमा, शक्ति राजामा आयो। नागरिकलाई शक्ति चाहिन्छ भनेर न शासकले सोचे, न नागरिक नै जागरुक भए। २०४६ सालसम्म यही सिलसिला चल्यो।
यसपछि राजनीतिक दलहरूले शक्ति हातमा लिए। नागरिकको बलमा शक्ति हासिल गर्ने, तर नागरिकलाई स्वतन्त्रताको उपयोग गर्नै नदिने सिलसिला चलिरह्यो। त्यसको करिब १० वर्षपछि राजाले दलहरूबाट शक्ति फेरि खोसे। २०६२/६३ सालमा राजालाई सत्ताबाट दलहरूले लखेटे। हामी उत्साहित बन्यौँ। लोकतान्त्रिक गणतन्त्र नाम दिएर नयाँ संविधान लेखियो।
तर अझ पनि जनताले शक्ति आफ्नो हातमा आएको वा सुशासनको अनुभूति गर्न पाएनन्। राज्य कहिल्यै नागरिकको बनेन। शक्ति दल, दलका बिचौलिया र उनीहरूको कार्यकर्तामा आयो। भ्रष्टाचारले सिमाना नाघ्यो। कम्युनिस्ट पार्टीको नाममा सरकारमा पुगेका केपी शर्मा ओलीको प्रधानमन्त्री कालमा यी सबै बेथितिले सीमा नाघ्यो। युरोपमा कम्युनिस्टको बदनाम गराउने पुटिनकै नेपाली संस्करण बने मिस्टर ओली। यसकै उभार थियो सेप्टेम्बर ८ (भदौ २३) को विद्रोह।
संसारभर यसो दृष्टि पुर्याउँ न, कला साहित्यले राजनीति, पर्यावरण र प्रेमलाई मुख्य विषय बनाएको पाइन्छ। दर्शकमा छिटो स्पर्श गराउन यीमध्ये अझ नाटक बलियो औजार हो। यस्ता अन्तराष्ट्रिय महोत्सवहरूमा प्रायः राजनीतिले जनजीवनमा पारेको प्रभाव र बदलिँदो पर्यावरण विषय बनेको पाउँछु। ‘मोर्निङ फर जोन लेनन’ र ‘अ डिभाइडेड वल्र्ड’ नाटकले हामीले भोगेको राजनीतिक अस्थिरतालाई थपक्कै बोकेको छ।
यी दुई नाटकले सेप्टेम्बर ८ को जेन–जी विद्रोहको नजिक पुर्याइदियो। यदि, सत्तामा विवेकहीन शासक थिएनन् भने, सेप्टेम्बर ९ नियमितझैँ आउँथ्यो, नियमित आकस्मिकता हुँदैन थियो।
अब नेपालले काँचुली फेर्ने बेला हो। आगामी चुनावबाट बन्ने सरकारले शक्ति अर्थात्, पावर नागरिकलाई दिन्छ। त्यसैले, नेता, कार्यकर्ता, बिचौलियालाई हैन कि नागरिकलाई सम्मान गर। अधिकार नागरिकलाई देऊ। नाउ, नाउ, नाउ, नाउ, गिभ पावर टु द पिपल!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
