चुस्कीमा उद्यम

घरको भान्सा र पाहुनाको स्वागतमा सीमित चियाले पछिल्ला केही वर्षमा उद्यमको नवीन रूप लिएको छ। राजधानीबाट शुरू भएको ‘चिया ट्रेन्ड’ देशका प्रमुख शहरतिर पनि बिस्तार हुँदै छ।

काठमाडौँ– साँझ ढल्किँदै गर्दा काठमाडौँका गल्लीमा रौनकता थपिन्छ। कुनै कुनामा गिलास ठोकिँदाको आवाज, अर्को कुनामा मसला र अदुवाको मिश्रित बास्ना, अनि त्यही बास्नामा मिसिँदै गरेका युवाको हाँसो र गफगाफ। अनि आवाज आउँछ– चियर्स! यो कुनै ह्विस्की, बियर वा स्थानीय मदिराको होइन, बरु अधिकांश नेपालीको प्रिय पेय, चियाको ‘चियर्स’ हो।

घरको भान्सा र पाहुनाको स्वागतमा सीमित चियाले पछिल्ला केही वर्षमा उद्यमको नवीन रूप लिएको छ। परम्परागत कालो र दूध चियाको स्वाद परिस्कृत हुँदै अहिले सयौँ स्वाद, दर्जनौँ ब्रान्ड र हजारौँ युवाको उद्यमशीलताको आधार बनेको छ। र, यी चिया पसल केवल चिया पिउने स्थल मात्र रहेनन्। यी त भावना साट्ने, सम्बन्ध गाँस्ने र सपना बुन्ने आधुनिक चौतारी भएका छन्।

चिया विद्यालय उमेरका विद्यार्थी, क्याम्पस पढ्ने युवा, जागिरे पेसाकर्मी हुँदै पाका उमेरका व्यक्तिसम्ममा उत्तिकै लोकप्रिय छ। अन्तर्राष्ट्रिय बजार र पर्यटकलाई समेत जोड्ने भएकाले राजधानी काठमाडौँबाट शुरू भएको यो ‘चिया ट्रेन्ड’ देशका अन्य प्रमुख शहरतिर पनि बिस्तारै फैलिँदै छ। काठमाडौँमा ‘चियावाला’, ‘चिया अड्डा’, ‘चियाघर’, ‘दारीभाइको चिया’ लगायतका चियाका थरीथरीका ब्रान्ड स्थापित भइसकेका छन्, जसले नेपाली चिया संस्कृतिको आधुनिक पहिचानको प्रतिनिधित्व गरिरहेका छन्।

null

चियावाला: तीन पुस्ताको विरासत
तीन पुस्ताअघि स्याङ्जाको कारीकोटबाट शुरू भएको एउटा सामान्य चिया पसल अहिले काठमाडौँको सफल ब्रान्ड ‘चियावाला’ बनेको छ। हजुरबुवाले शुरू गरेको व्यवसायलाई बुवाले बुटवलमा फैलाए। अहिले नाति गणेशदेश पाण्डे र उनकी बहिनी शान्ति पाण्डेले यसलाई काठमाडौँमा स्थापित गरेका छन्। यसक्रममा उनीहरूले पाँच वटा शाखा विस्तार गरिरहेका छन्, चार वटा काठमाडौँमा छन् भने एउटा बुटवलमा।

हजुरबुवाले शुरू गरेको पहिचानलाई जीवित राख्न  उनीहरूले उनकै नामबाट ‘घनश्याम चिया’ मेनुमा राखेका छन्। चियावालाका पाँच वटै शाखामा ३० रुपैयाँदेखि ८०० रुपैयाँसम्मका विशेष चिया पाइन्छन्। यहाँको ‘मेरो खुशी चिया‘ प्याकेजअन्तर्गत ग्राहकले आफ्नै स्वादअनुसारको चिया बनाउने अवसर पाउँछन्।

कट्की चिया: सुदूरपश्चिमको मौलिक स्वाद
चियावालाले पुर्ख्यौली विरासतलाई ब्रान्डमा परिणत गर्दा ‘कट्टी चिया‘ले क्षेत्रीय मौलिकता र अभावभित्रको सिर्जनालाई काठमाडौँमा चिनायो। कुनै समय सुदूरपश्चिमका पहाडी जिल्लामा चिनीको आयात कम हुन्थ्यो, तर चियाको तलतल मेट्नु नै थियो। समाधान गाउँघरमै भेटियो—चिया पिइसकेपछि चिनीको सट्टा सख्खरको टुक्रा टोक्ने। यही मौलिक चलनलाई २२ वर्षीय जगदीश सिंह धामीले आफ्नो व्यावसायिक पहिचान बनाए।

२२ वर्षमै व्यवसायमा होमिएका जगदीशको सपना सुदूरपश्चिमको यो कट्की चियाको स्वाद हरेकलाई चखाउने छ। उनको पसलमा चियासँगै सख्खरको टुक्रा दिइन्छ, जुन ग्राहकलाई नौलो र स्वादिलो लाग्छ। जगदीश कट्की चियामार्फत सुदूरपश्चिमका अन्य उत्पादनलाई पनि बजारमा ल्याउने योजनामा छन्।

null

चट्टु चिया: उपनामदेखि ब्रान्डसम्म
कहिलेकाहीँ कमजोरी ठानिएका कुरा नै सबैभन्दा ठूलो शक्ति बन्न सक्छन्। ‘चट्की चिया‘को कथा यस्तै छ। सूचना प्रविधि पढ्दै गरेका प्रज्ञान भट्टराईलाई सानोमा साथीहरूले ‘चट्टु‘ भनेर जिस्काउँदा निकै रिस उठ्थ्यो। हजुरबुवाले मायाले दिएको यही नाम उनलाई अपमानजनक लाग्थ्यो। तर जब उनले चिया व्यवसाय शुरू गर्ने सोचे, उनले यही नामलाई आफ्नो हतियार बनाए।

जुन नाम सुन्दा उनलाई सधैँ नराम्रो लाग्थ्यो, आज त्यही उनको ब्रान्ड भएको छ। तीन वर्षअघि शुरू भएको चट्टु चिया युवामाझ निकै लोकप्रिय छ। महानगरका मेयर बालेन शाहको चुनावी अभियानताका उनले आफ्नो पसलमा ‘बालेन च्याम्बर’ र ‘बालेन चिया’समेत शुरू गरे। बालेनको जस्तै स्वभाव झल्काउन उनले चियामा मरिचको प्रयोग गरेका छन्।

द चिया टर्निङ : झानेको चियाको स्वाद
चियाको ब्रान्डिङ जब व्यक्तिको कथासँग जोडिन्छ, तब चिया पिउने ठाउँ पनि एउटा अनुभव बन्न पुग्छ। पेप्सीकोलाको ‘द चिया टर्निङ’ले यही अनुभव प्रदान गर्छ। एउटा रूखको फेदमा खरले छाएको भवन, बस्नका लागि राखिएका कुसन, झुला र कुर्सी। यो माहौलले युवालाई खुबै आकर्षित गरिरहेको छ। सञ्जय तामाङले युवालाई शहरको कोलाहलबाट पर, शान्त वातावरणमा चियाको आनन्द दिन यो ठाउँ बनाएका हुन्।

null

यहाँको विशेष चिया हो, ‘झानेको चिया’। मामाघर काभ्रे जाँदा हजुरबुवाले चिया झानेर पकाउँथे, त्यही लोकल स्वाद उनले द टर्निङ चियामा ल्याएको हुन्। रुखको फेदमुनि बसेर चिया पिउने विशेष व्यवस्था यहाँ मिलाइएको छ। चुस्कीसँगै गफिने त्यो शान्त वातावरणले हरेक चियाप्रेमीलाई मोहित पार्छ। यहाँ ८/९ प्रकारका चिया उपलब्ध छन्।

चिया सिया: महामारीमा फुराएको अवसर
कहिलेकाहीँ संकटले पनि नयाँ अवसर जन्माउँछ। कोभिड महामारीको संकटबाट जन्मिएको ‘चिया सिया‘ यसको उदाहरण हो। चीनबाट फर्केर टुर्स एन्ड ट्राभल्स व्यवसाय चलाइरहेका सुरज शाही र कृष्णचन्द्र निरौलाको काम महामारीले ठप्प बनायो। तर उनीहरूले हरेस खाएनन्, बरु चिया पसल खोल्ने योजना बनाए।

उनीहरूलाई शुरूमा ठाउँ पाउनै गाह्रो भयो, तर हार मानेनन्। कृष्णले गैरीधारा र सुरजले हाँडीगाउँबाट शुरू गरेको व्यवसाय अहिले कमलपोखरीमा समेत विस्तार भइसकेको छ। गाउँघरमा बोलचालमा प्रयोग हुने तुकबन्दी शब्द ‘चियासिया‘लाई उनीहरूले आफ्नो ब्रान्ड बनाए। चियाको स्वादमा स्थिरता कायम राख्न सकेकाले नै ग्राहकको मन जित्न सफल भएका उनीहरू बताउँछन्।

भिडियो