अन्तर्राष्ट्रिय असफलता दिवस: गल्तीबाट सिक्नेहरू नै बढ्छन् अघि

मेक्सिकोमा ‘गल्ती गर्दा मात्र सिकिन्छ’ भन्ने कथन प्रचलित छ। ब्राजिलमा प्रायः गल्ती गर्नु मानवीय स्वभाव हो भन्ने शब्द दोहोर्‍याइन्छ, जसले मानवलाई पूर्ण बन्न गल्ती स्विकारेर अघि बढ्ने प्रेरणा दिन्छ।

आज अक्टोबर १३, यो वर्षको २८६ औँ दिन। विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस, अन्तर्राष्ट्रिय स्पष्ट भाषा दिवस (सबै भाषालाई सरल बनाउनुपर्छ भन्ने आह्वानसहित मनाइने दिवस), अन्तर्राष्ट्रिय सूटअप दिवस (जुनसुकै अवसरमा पनि ठाँटिएर ‘औपचारिक पोसाक’ लगाउन प्रेरित गर्ने दिवस) र अन्तर्राष्ट्रिय सन्देहवादी दिवस (प्रमाणविना केही विषय पनि नमान्नेहरूको दिवस) लगायत धेरै दिवस मनाइन्छन्। आजको विश्वमा यति धेरै अवसर र उत्सव छन्, सञ्चार माध्यमले तिनलाई झनै फैलाएका छन्।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसले समुदायहरूको तयारी, सहनशीलता र विपद् जोखिम न्यूनीकरणको महत्त्व स्मरण गराउँछ। अन्तर्राष्ट्रिय स्पष्ट भाषा दिवसले सरकारी र सार्वजनिक सञ्चारमा स्पष्टता र सहजताको महत्त्व उजागर गर्छ भने अन्तर्राष्ट्रिय सूटअप दिवसले आत्मविश्वासको प्रतीकका रूपमा सुट लगाउन प्रेरित गर्छ। अन्तर्राष्ट्रिय सन्देहवादी दिवसले विज्ञान, तर्क र प्रमाणमा आधारित सोचको महत्त्वलाई प्रोत्साहित गर्छ। 

यसबाहेक आज एउटा अर्को महत्त्वपूर्ण दिन पनि हो, जसलाई अन्तर्राष्ट्रिय असफलता दिवस (इन्टरनेसनल डे अफ फेलियर) भनिन्छ। फिनल्यान्डबाट सुरु भएको यो दिवसले असफलता र गल्तीलाई सुधार र नयाँ अवसरको रूपमा स्वीकार गर्ने संस्कृतिको प्रवर्द्धन गर्छ। फिनल्यान्डमा असफलता र गल्तीलाई सकारात्मक दृष्टिले हेर्ने सांस्कृतिक पहलको रूपमा असफलता दिवस १३ अक्टोबरमा मनाइने गरेको हो। यो दिवस २०१० मा आल्तो विश्वविद्यालयका विद्यार्थीहरूको समूह–आल्तो इन्टरप्रेनरसिप समाजद्वारा सुरु गरिएको हो। पछि लेखक तथा उद्यमी कारी तामिनेनको योगदानले यसलाई विश्वव्यापी स्तरमा फैलाउन मद्दत गर्‍यो।

फिनल्यान्डमा धेरै विद्यार्थी र युवा उद्यमीले जोखिम उठाउन डराउने समस्या देखियो। असफलतालाई कलंक र सरमसँग जोडिएको थियो। (यस्तो संसारभर छ।) यस्तो प्रभावबाट युवालाई टाढा राख्न यो दिवस थालिएको हो। यो दिवसको मुख्य उद्देश्य मानिसलाई असफलताबाट सिर्जना हुने डर हटाउने, गल्तीबाट सिक्ने, प्रयोगात्मक सोच र जोखिम उठाउने संस्कृतिको प्रवर्द्धन गर्नु हो। यस दिन सार्वजनिक कार्यक्रम, विद्यालय–विश्वविद्यालयमा  छलफल, सेमिनार, ब्लग लेखन र सामाजिक मिडियामा अभियानहरू चलाइन्छ। कलाकार, पत्रकार, उद्यमी र प्रसिद्ध व्यक्तिले आफ्ना अनुभव सुनाउने गर्छन् र सिकाइको महत्त्व बताउँछन्।

फिनल्यान्ड सरकारको विभिन्न विभागले पनि यस अवधारणालाई समर्थन गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्छन्, जसले असफलताको डर व्यवस्थापन र नयाँ प्रयासमा उत्प्रेरणा दिने उद्देश्य राख्छ। यो दिवसले उद्यमशीलता क्षेत्रमा विशेष प्रभाव पारेको छ, किनभने प्राय: नयाँ व्यवसाय वा स्टार्टअपले असफल हुने सम्भावना राख्छ। त्यसलाई स्वीकार्न सक्नु र सिक्नु नै दीर्घकालीन सफलता तर्फको मार्ग हो। यस दिवसले फिनल्यान्ड र विश्वका अन्य देशमा गल्ती र असफलतालाई नकारात्मक होइन, सकारात्मक सिकाइको अवसरका रूपमा हेरिने परम्परा स्थापना गरेको छ। यसलाई हामीले पनि विशेष दिनको रूपमा स्वीकार गर्नु आवश्यक छ।

मानव सभ्यताले आफ्नो विकास क्रममा असफलता र गल्तीलाई फरक फरक रूपमा अर्थ्याएको छ। कतै कतै असफलतालाई अभिशाप र कमजोरीका रूपमा पनि लिइन्छ भने प्रायजसोले यसलाई अवसर, सुधार र प्रगतिको ढोका मान्छन्।  विभिन्न संस्कृतिअनुसार भिन्न देशमा असफलतालाई ‘सीप र ज्ञान निर्माणको आधार’को रूपमा बुझ्न थालेका छन्। सबैभन्दा पहिले, ल्याटिन भाषाको ‘फेलिक्स कुल्पा’ उल्लेखनीय छ, जसको अर्थ ‘सुखद दोष’ वा ‘ह्याप्पी फल्ट’ हो। प्रारम्भमा यसमा धार्मिक भाव थियो, जसले गल्ती वा अपराधले पनि अन्ततः राम्रो परिणाम ल्याउन सक्छ भन्ने विश्वास प्रकट गर्छ। यस्तै भावनासँग मेल खाने शब्द/कथन/उखान र भाव अन्य संस्कृतिमा पनि पाइन्छन्।

पोल्यान्डमा ‘अन्त्यमा सबै कुरा ठीकै हुन्छ’ भन्ने भनाई प्रचलित छ, यसले चुनौती वा असफलतालाई टार्ने होइन, बरु ठूलो सपना देख्न, जोखिम लिन र असुविधाबाट बाहिर निस्कन प्रेरित गर्छ। जापानमा असफलतालाई विशेष स्थान छ। यहाँको ‘काइजेन’ संस्कृतिले निरन्तर सुधारमा जोड दिन्छ। सानो गल्तीलाई लाज मानिँदैन, बरु त्यसलाई ठुलो उपलब्धि हासिल गर्ने सिडी मानिन्छ। विद्यालयमा विद्यार्थीलाई खुलेर समस्या हल गर्न लगाइन्छ, गल्ती भए पनि अपमान गर्दैनन्। त्यसै गरी जापानी औद्योगिक क्षेत्रमा ‘पोका-योक’ भनिने अवधारणा छ, जसले गल्ती–प्रतिरोधात्मक प्रणालीलाई सशक्त बनाउँछ र अघिल्ला असफलताबाट सिकेर नयाँ सुधार ल्याउन प्रेरित गर्छ।

जर्मनीमा ‘त्रुटि–संस्कृति’ को अवधारणा छ। यहाँ गल्तीलाई डराउनुपर्ने वा दण्ड दिने विषय होइन, बरु सुधारको अवसर मानिन्छ। यसलाई खुला र गैरदण्डात्मक ढंगले हेरिन्छ, ताकि भविष्यमा पुनः त्यस्तो गल्ती नदोहरियोस्। न्यूजिल्यान्डका माओरीहरू ‘गल्तीलाई स्वागत छ’ भन्ने वाक्य प्रयोग गर्छन्। उनीहरूको विश्वासअनुसार गल्ती जीवनको बाटोमै पर्ने अविभाज्य अनुभव हो, जसले आत्मबल र धैर्यलाई मजबुत बनाउँछ। त्यस्तै, भारत र दक्षिण एसियाली संस्कृतिमा संस्कृत भाषाबाट आएको ‘अपशिक्षा’ वा ‘दोषानुशासन’ भन्ने अवधारणा छ, जसले गल्तीलाई शिक्षाको अर्को पाटो मान्छ। 

मेक्सिकोमा ‘गल्ती गर्दा मात्र सिकिन्छ’ भन्ने कथन प्रचलित छ। ब्राजिलमा प्रायः गल्ती गर्नु मानवीय स्वभाव हो भन्ने शब्द दोहोर्‍याइन्छ, जसले मानवलाई पूर्ण बन्न गल्ती स्विकारेर अघि बढ्ने प्रेरणा दिन्छ। अरबी संस्कृतिमा  ‘गल्ती नै शिक्षक हो’ भनिन्छ। यसले गल्तीलाई ज्ञान प्राप्तिको स्रोतको रूपमा व्याख्या गर्छ। त्यसै गरी, ‘असफलता सफलताकी आमा हुन्’ भनिन्छ चिनियाँ दर्शनमा।

अफ्रिकामा गल्ती र असफलतालाई सकारात्मक दृष्टिले हेरिन्छ। यसलाई सिकाइ र व्यक्तिगत वृद्धिका अवसरका रूपमा लिइन्छ। यहाँका विभिन्न संस्कृतिमा गल्तीलाई स्विकार्नु र त्यसबाट सिक्नु महत्त्वपूर्ण मानिन्छ। अफ्रिकी भनाइहरूमा गल्तीलाई स्विकार्नु र त्यसबाट सिक्नुको महत्त्वलाई प्रकट गर्ने भनाइ प्रचलित छन्। ‘काम गर्नेकै हातले हो गल्ती गर्ने’ र ‘आफ्नो कमजोरी थाहा नपाउने मान्छेले शान्ति कहिल्यै पाउँदैन’ भन्ने कथनले गल्तीलाई स्वाभाविक रूपमा लिन र सच्याउन प्रेरणा दिन्छ। त्यस्तै, ‘केही नगर्नेले मात्र हो गल्ती नगर्ने’ भन्ने अफ्रिकी कथनले पनि काम गर्नेहरूले नै गल्ती गर्ने सन्देश दिन खोज्छ। यसरी अफ्रिकामा गल्तीलाई नकारात्मक रूपमा होइन, सकारात्मक रूपमा हेरिन्छ। स्विकारेर त्यसबाट सिक्नु व्यक्तिगत र सामूहिक वृद्धिको अवसरका रूपमा लिइन्छ।

नेपालमा पनि असफलतालाई बुझाउने र त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्ने परम्परा पुरानै छ। ‘हार भनेको जितको आधार हो’, ‘गल्ती नगर्ने मानिस भन्ने कोही हुँदैन’, वा ‘गिर्‍यो भने उठेर हिँड्न सिकिन्छ’जस्ता प्रचलित भनाइहरूले असफलतालाई अन्त्य होइन, नयाँ सुरुवातको अवसरका रूपमा प्रस्तुत गर्छन्। कुनै काम गर्दा पहिलो चोटि बिग्रिनु स्वाभाविक हो भन्ने बुझाइ प्रचलित छ। बौद्ध दर्शनले समेत असफलतालाई आत्मज्ञानतर्फको यात्रा मान्छ, जसमा ‘अप्प दीपो भव’ (आफैँ आफ्नो उज्यालो बन) भन्ने सन्देश छ। त्यसै गरी, गुरु–शिक्षकले पनि विद्यार्थीलाई ‘गल्ती नगरेको विद्यार्थीले नयाँ कुरा सिक्दैन’ भन्दै गल्तीलाई शिक्षा प्रक्रियाको आवश्यक हिस्सा ठान्छन्।

संसारभर असफलतालाई सकारात्मक दृष्टिले हेरिने र त्यसलाई उत्सव, संस्कृति र शिक्षा–प्रणालीमै समावेश गर्ने परम्परा बढ्दो क्रममा छ।

गल्ती र असफलताबीच सम्बन्ध भए पनि फरक स्पष्ट देखिन्छ। दुवैले अनपेक्षित परिणाम जनाउँछन् र दुवैबाट सिकाइको अवसर प्राप्त हुन्छ, जसले व्यक्तिलाई सुधार गर्न र नयाँ तरिका अपनाउन प्रेरित गर्छ। तर भिन्नतामा हेर्दा, गल्ती प्रायः नियम, प्रक्रिया वा तरिका नबुझेर हुने सानो त्रुटि हो भने अपेक्षित परिणाम नपाउनु हो असफलता।

गल्ती व्यक्तिगत वा तात्कालिक हुनसक्छ। गणितको प्रश्न गलत हल गर्नु वा रिपोर्टमा टाइपिङ गल्ती हुनु गल्ती हो भने असफलता भने लामो अवधिको परिणामसँग सम्बन्धित हुन्छ–परीक्षा पास हुन नसक्नु वा प्रोजेक्ट असफल हुनु। कारणको हिसाबले पनि फरक छ। गल्ती सामान्यतया ध्यान नदिने, अनभिज्ञता वा भूलका कारण हुन्छ, जबकि असफलता स्रोत, तयारी, कौशल वा बाह्य परिस्थितिले अपेक्षित लक्ष्य नपुग्दा हुन्छ। संक्षेपमा, गल्ती प्रक्रिया वा कार्य तर्फको त्रुटि हो भने परिणाम वा लक्ष्यमा नपुग्नु हो असफलता। गल्ती सानो र सजिलै सुधारयोग्य हुन्छ भने असफलताले कहिलेकाहीँ ठूलो तर सिकाइपूर्ण अनुभव प्रदान गर्छ।

यो विषयमा मेरा भावना केही वर्ष अगाडी प्रकाशित जीवनी ‘मेरो आधा शताब्दी’मा पनि मैले केही उल्लेख गरेको छु। भर्खरै नेपालमा जेनजी विद्रोह भयो। पुराना पुस्ताका नेता र पार्टीले त गल्ती गरेकै थिए, नयाँले पनि धेरै गल्ती गरे भन्ने खालका टिप्पणी सामाजिक सञ्जालहरूमा प्रशस्त देखिन्छ। तर इतिहास यस्तै गल्ती र सुधारबाट अघि बढ्दै जाने गरेको छ। जुन सभ्यताले गल्तीबाट सिक्छ, त्यही नै अरूभन्दा अब्बल ठहर्ला। 

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)

धन्यवाद भाइ ज्ञानवर्द्धक लेख पढ्ने अवसर पाइयो ब्रम्हमुहूर्तमा। ध्यान नदिने अनभिज्ञलाई “अप्प दीपों भव : 🙏

ध्रुव के सी

1 month ago