बुद्ध आफैँ अवर्णनीय पात्र हुन्। सिद्धार्थलाई बुद्धमा रूपान्तरण गर्न यशोधराको मात्र होइन, अरूको पनि भूमिका छ। ज्ञानको व्यग्रता सिद्धार्थमा ज्यादा थियो भने यशोधरामा सांसारिक मोह ज्यादा थियो।
'यशोधरा'का लेखकलाई प्रश्न: किन भाषालाई जटिल बनाउनुभयो?
नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन (पुस ८ गते) पोखरामा आयोजित फेस्टिबलको ब्यानरमा हरिबोल काफ्लेद्वारा लिखित उपन्यास लोकार्पण गरियो। सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा यशोधराको त्यागबारे उपन्यास लेखिएको छ। लेखक काफ्लेसँग सो पुस्तकमा केन्द्रित रहेर उकालोले गरेको कुराकानी :
सिद्धार्थ पत्नी यशोधराका बारेमा नेपालीमा लेखिएको यो नै पहिलो कृति हो?
आख्यानको रूपमा नेपालीमा लेखिएको यो नै पहिलो कृति हो। सिद्धार्थबाट बुद्धमा रूपान्तरणको कथा वर्णातित र अपरिमित छ। तर पनि मैले सिद्धार्थदेखि बुद्धसम्मको भूमिकालाई यशोधराको कोणबाट दृष्टि दिने प्रयत्न गरेको छु। आख्यानका रूपमा मेरा लागि पनि यो पहिलो कृति हो।
भारतीय भाषा भाषिकामा यशोधराबारे पर्याप्त नाटक र उपन्यासहरू लेखिएका छन्। ती साहित्यबाट तपाईं कत्तिको प्रभावित हुनुहुन्छ? यो पुस्तक लेख्नु पूर्व कति त्यस्ता कृतिहरू पढ्नुभयो?
भारतमा धेरै विविधता छन्। त्यहाँ हिन्दी मात्रै नभएर तेलगु, सिंहलिज, कन्नड, उर्दु, मलायलमलगायत धेरै भाषा छन्। ती भाषामा हाम्रो उति पहुँच पनि छैन। तर यशोधराबारे भारतीय साहित्यमा प्रशस्त कृति लेखिएका छन्। त्यसो हुँदा सन्दर्भ सामग्रीका रूपमा बुद्धको जीवनबारेका धेरै अनुसन्धानमूलक कृतिहरू मैले पढें। त्यसको अर्थ भारतीय साहित्यहरूबाट प्रभावित भएर मैले यो आख्यान लेखेको होइन।
किन तपाईंले यशोधराकै बारे लेख्नुभयो? किन सिद्धार्थलाई जन्म दिने आमा; मायादेवी, हुर्काउने आमा; महाप्रजापति, बा शुद्धोदन या छोरा राहुलकै बारेमा लेख्नुभएन?
यो गहिरो प्रश्न हो तर सिद्धार्थलाई बुद्धका रूपमा रूपान्तरण गर्न यशोधराको जति भूमिका छ, त्यो भूमिका तुलनात्मक रूपमा उल्लेख गरिएका अन्य पात्रमा कम छ।बुद्धलाई अपरिमित यात्रामा प्रेरित गर्न यशोधराको भूमिका प्रजापति या मायादेवीको भन्दा बढी भएकै कारणले पनि उनका बारे लेखेको हुँ। सिद्धार्थलाई आत्मीय रूपमा चिन्ने यशोधरा नै हुन्। २६ सय वर्षअघि सिद्धार्थ र यशोधराबीच १४ वर्षे सम्बन्धमा भएका प्रेम र प्रताडनाका विषय उपन्यासमा छन्। आमा, छोरा र बाउबाट भन्दा पनि श्रीमती यशोधराको दृष्टिबाट बुद्धलाई सहजै हेर्न सकिने भएकाले मैले यो कृति लेखेँ।
यशोधराको जति चर्चा हुनुपर्ने हो त्यति नभएको हो?
नेपाली साहित्यमा यशोधराको जति चरित्र उत्खनन हुनुपर्थ्यो, त्यो नभएकै हो।
बुद्धले जे प्राप्त गरे, त्यसको तुलनामा यशोधराको त्याग र समर्पण गौण हो। तर तपाईंलाई चाहिँ किन यशोधरा विशेष लाग्यो?
मानव जातिलाई बुद्धले दिएको ज्ञानका तुलनामा यशोधराको त्याग ठुलो भन्न मैले खोजेको छैन। बुद्ध आफैँ अवर्णनीय पात्र हुन्। सिद्धार्थलाई बुद्धमा रूपान्तरण गर्न यशोधराको मात्र होइन, अरूको पनि भूमिका छ। ज्ञानको व्यग्रता सिद्धार्थमा ज्यादा थियो भने यशोधरामा सांसारिक मोह ज्यादा थियो।
पहिले प्रेमी र प्रेमिकाको भूमिकामा यशोधरा र सिद्धार्थ छन्। पहिले यशोधरा यौन कुण्ठा, प्रेम कुण्ठा र परिवारभित्रको तिरस्कार सहेर बाँचिन्। सिद्धार्थले घर छाड्ने बेलामा यशोधराको समवेदना झनै बढी जागृत भयो। मोह पात्रलाई छोड्न उनलाई कठिन भयो र मोह पात्रसँगको विच्छेदमा उनी कारुणिक बनिन्।
यता, सिद्धार्थले ज्ञान प्राप्त गरेपछि यशोधराले पनि ज्ञान सिद्धी प्राप्त गरिन्। बुद्धले गरेको प्राप्तिको विषयमा अनुगृहीत भई उनले बुद्धलाई सम्पूर्ण रूपमा स्विकारिन्। त्यसपछि भने उनी अब बुद्धको प्रेमीका रूपमा देखिइनन्। यशोधराले अन्ततः मोह त्याग गरिन्। सिद्धार्थको रूपान्तरणमा यशोधराको प्रेरणा र योगदान छ। बुद्धसँगै उनको नाम त फैलियो तर उनी छायाँमा परिन्। छायाँमा परेको पात्रका बारेमा मैले चर्चा गर्न खोजेको हुँ।
आफ्नो जीवनमा त्यति सहयोग गरेकी पात्रलाई बुद्धले किन प्रथम शिष्य या अर्हतका रूपमा स्वीकार गरेनन्?
यसलाई बुझ्न बुद्ध साहित्यका अनेकन् पानालाई पर्गेल्नुपर्छ। सुरुतिर बुद्धले नारी पात्रलाई शिष्यकै रूपमा पनि स्वीकार गर्दैन थिए। ज्ञान या प्रव्रज्या लिने महिला पात्रलाई समेत बुद्धले धेरै पछि मात्र शिष्यका रूपमा स्वीकारेका थिए। तत्कालिन् समाज, राज्यव्यवस्था र सामाजिक दृष्टिकोणसँग पनि सो कुरा जोडिन्छ।
उपन्यासमा यशोधराको एकोहोरो समर्पणको चर्चा छ। बुद्धलाई गम्भीर स्वभावको देखाइएको छ। बुद्धमा पहिलेदेखि नै प्रेम र आशक्तिमा लगाव थिएन भन्न खोजिएको हो?
दुवैको चरित्र प्रश्नमा सोधिएजस्तै छ। बौद्ध ग्रन्थहरू पढ्दा हामी त्यस्तो अनुभूति गर्न सक्छौं। त्यस समयकी आफ्नी क्षेत्रकी सुन्दर युवती थिइन् यशोधरा। उनीसँगको सुन्दरतामा जोकोही आशक्त हुन सक्थ्यो। उनको अन्तस्करणले सिद्धार्थलाई चाहिरहेको थियो र उनी अकण्टक मोहमा थिइन्। तर सिद्धार्थले यशोधराको आशक्तिलाई उति बुझ्न सकेका हुँदैनन्। सिद्धार्थमा ज्ञानको व्यग्रता र व्याकुलता प्रबल हुँदा प्रेम र आशक्तिको व्यग्रता थिएन। यशोधरासँगको प्रेममा मात्र होइन, तत्कालिन् सनातनी परिजन्य संस्कार, राज्यव्यवस्था, परिवार, दर्शन र सेनादेखि राजपरिवारसम्मका भौतिक अवयवहरूमा समेत उनको लगाव थिएन। यही क्रममा उनी यशोधरासँग पनि बिस्तारै टाढिए। पुस्तकमा यो कुरा उल्लेख छ।
उपन्यास पढ्दा भाषा अलि जटिलजस्तो लाग्छ। सिधा भन्दा हुने कुरालाई किन घुमाएर भनेको?
उपन्यासको भाषा अलिकति पृथक् छ। शब्दहरू केही कठिनजस्तो लाग्न सक्छ। तर पाठकले समय दिएर घोत्लिने हो भने बुझ्न त्यति कठिनचाहिँ छैन। समय दिएर पढ्दा यो आख्यान झनै गहकिलो बन्न पुग्छ। भाषा अलि कठिन हुँदा आख्यान अझै गहकिलो भएको मैले महसुस गरेको छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
