भदौ २४ को विध्वंशमा करिब ८० अर्ब बराबरको नोक्सानी भएको उद्योग वाणिज्य महासंघको आकलन छ। उद्योग, व्यवसायीप्रति कतिपय मिडिया र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम पनि यसमा जिम्मेवार भएको व्यवसायी बताउँछन्।
काठमाडौँ– दुईदिने जेन–जी आन्दोलनपछि भदौ २७ गते सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको सपथ लिएको तस्वीरले देशविदेशका सञ्चारमाध्यममा महत्त्वपूर्ण स्थान पायो। सपथ लिँदै गर्दा पछाडि भित्तामा कञ्चनजंघाको एउटा हिस्साको ‘ल्यान्डस्केप’ र बाँया भित्तामा ताप्लेजुङको हिमाली गाउँ घुन्साको तस्वीर झुण्डिएका देखिन्छन्। सुन्दर नेपाल देखाउने यी दुवै तस्वीर खिचेका गोरख विष्ट यतिखेर भने खुशी छैनन्।
जेन–जी आन्दोलनको रापले उनको ‘क्याफे ग्यालरी’ पनि खरानी भएको छ। उनको ग्यालरी व्यवसायसँग जोडिएको थियो। काठमाडौँको बत्तीसपुतलीमा उनले साथीहरूसँग मिलेर हिमालयन जाभाको ‘फ्रेन्चाइज’ खोलेका थिए। त्यसको भित्तामा आफूले खिचेका तस्वीर सजाएर ग्यालरीको रूप दिएका थिए।
करिब २ करोड लगानीमा ग्यालरी मोडेलमै क्याफे तयार गरिएको थियो। नेपाल राष्ट्रिय मारवाडी परिषद्को भवनमा खोलिएको क्याफे उद्घाटन गर्न बाँकी नै थियो। क्याफेमा गोरखसँगै लक्ष्मण भट्टराई, अमर शाही र राकेश शाहीको लगानी थियो। लक्ष्मण आईटी पेसाकर्मी र शाहीद्वय पर्यटन व्यवसायी हुन्।
क्याफेमा १० जनालाई रोजगारी दिइएको थियो। काम गर्ने सबै ‘जेन–जी’ नै भएको गोरख बताउँछन्।
भदौ २३ गते आन्दोलनको दिन दिउसो १ बजेसम्म क्याफे खुला थियो। त्यसपछि सञ्चालकहरू पुगेर बन्द गर्न लगाए। २४ गते त खोलेकै थिएनन्। “दोस्रो दिन १ बजेतिर त्यहाँ पुग्दा आगो लगाइसकेका थिए। निजी सम्पत्तिमा किन यस्तो गरेको भन्दा झन्डै मारेका थिए। आँखैअगाडि सबै खरानी भयो,” गोरख भन्छन्, “मैले एक–एक फोटोबाट कमाएको पैसा लगानी थियो।”
क्याफे सञ्चालन भएको एक महिना भएको थियो। उद्घाटनपछि मात्र बीमा गराउने उनीहरूको योजना थियो। लगानीमध्ये हिमालयन जाभाको फ्रेन्चाइजीका लागि तिरिएको लगभग १५ प्रतिशत रकम मात्र सुरक्षित रहन गएको गोरख बताउँछन्।
“ग्यालरी बाई हिमालयन जाभा लेखेका छौँ। जेनजी त पढेलेखेका पुस्ता हुन्, यससँग (क्याफेसँग) रिस साँध्नुको कारण बुझिएन,” उनी भन्छन्, “उद्यमशीलता जरुरी छ, कार्यकर्ता बन्ने र जागिर मात्र खानेभन्दा यो धेरै महत्त्वपूर्ण छ। तर जे हुनु भयो, हामी फेरि पनि शुरू गर्छौं।”
निजी क्षेत्रको ८० अर्ब स्वाहा
जेन–जी प्रदर्शनको क्रममा भदौ २३ गते १९ जना आन्दोलनकारीको मृत्यु भयो। धेरैजना घाइते भए। अर्को दिन पुनः प्रदर्शनकारी सडकमा ओर्लिए। तर त्यो दिनको प्रदर्शनले विध्वंशको रूप लियो। धेरै सरकारी र निजी क्षेत्रका कार्यालय, उद्योग र व्यवसायिक प्रतिष्ठानहरूमा तोडफोड, लुटपाट तथा आगजनी भयो।
नेपालको पुराना औद्योगिक घारानाका एक प्रतिनिधिका अनुसार, राजसंस्था फर्काउने उद्देश्यले २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमै निजी क्षेत्रमाथि आक्रमणको झल्को देखिएको थियो। यसपालि, त्यसैको निरन्तरता मात्र भएको उनको दाबी छ।
निजी क्षेत्रविरुद्ध सामाजिक सञ्जालका माध्यमबाट उद्योगी, व्यवसायीलाई ठग र माफिया भएको नकारात्मक भाष्य खडा गरिएको उनले बताए। केही व्यक्तिले व्यापारिक समुदाय र समूहविरुद्ध मिडियामै दुष्प्रचार पनि गरिरहेका छन्। “बदमासी गर्नेहरू पनि होलान्, त्यसको लागि कानूनी बाटो त होला नी!” उनी भन्छन्, “सरकारी र राजनीतिक संलग्नता वा कमजोरीबिना कुनै पनि व्यवसायीले अनैतिक वा कानून मिच्ने गतिविधि गर्न सक्दैन, सच्याउनु पर्ने ठाउँ त त्यो थियो।”
नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका क्रममा भएका लुटपाट, तोडफोड र आगजनीबाट देशभरका उद्योग, व्यवसाय र प्रतिष्ठानमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ। महासंघको टोलीले असोज ९ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँगको भेटमा यो जानकारी दिएको थियो। व्यवसायीहरूको निवासमा समेत तोडफोड एवं आगजनी भएको छ।
नेपाल आर्थिक पत्रकार संघले असोज ७ गते गरेको अन्तरक्रिया कार्यक्रममा बीमक संघ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले जेन–जी आन्दोलनको क्षति अहिलेसम्मका आन्दोलन, भूकम्प र अन्य विपद्मध्येकै ठूलो भएको बताए। असोज ५ गतेसम्म दुई हजार ४७८ वटा आवेदनमार्फत २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बीमा दाबी परेको छ। २०७२ सालको भूकम्पमा १७ अर्बको बीमाको दाबी परेको वैद्यवारको भनाइ छ।
सबैभन्दा धेरै क्षति भाटभटेनी सुपरस्टोरमा भएको छ। २१ वटा स्टोरमा तोडफोड र आगजनी हुँदा १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा बताएका थिए। भाटभटेनीका १२ वटा स्टोर पूर्णरूपमा जलाइएको र बाँकी नौ वटामा आंशिक क्षति पुगेको छ। एक दर्जन स्टोर अहिले सञ्चालन गर्ने अवस्थामा छैनन्।
त्यस्तै, नक्सालस्थित प्रिमियम दर्जाको होटल हिल्टन काठमाडौँ पनि आगजनीबाट ध्वस्त भएको छ। अन्तराष्ट्रिय चेनका रूपमा हिल्टन होटल एन्ड रिसोट्र्सको व्यवस्थापनमा सञ्चालित यो होटलको प्रमुख लगानीकर्ता शंकर ग्रुप हो। होटलका अध्यक्ष शंकर अग्रवालका अनुसारमा होटलमा साढे ८ अर्ब लगानी छ।
आगजनीबाट होटलको भित्री संरचना पूर्णरूपमा नष्ट भएको अग्रवालले बताए। ५ अर्ब बीमा रहेको हिल्टन काठमाडौँको वास्तविक क्षतिको विवरण निकाल्न अध्ययन भइरहेको भारतीय निर्जीवन बीमा कम्पनी ओरिएन्टल इन्स्योरेन्सले जनाएको छ। हिल्टन काठमाडौँमा प्रत्यक्ष १८३ र बाँकी अप्रत्यक्ष गरी कुल २३५ जनाले रोजगारी पाएका थिए।
बौद्धनजिक तारागाउँमा रहेको होटल ह्यात रिजेन्सी काठमाडौँमा पनि आगजनी र तोडफोड गरिएको थियो। बानेश्वरमा उक्त होटलको गाडीमा पनि आगजनी भयो।
चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासमा तोडफोड तथा आगजनी भयो। तीमध्ये काठमाडौँको सतुंगलस्थित सीजी डिजिटल पार्कमा धेरै क्षति भएको छ। त्यहाँ सीजी, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरण ‘एसेम्बल’ गरिन्थ्यो।
करिब १८० जनाले रोजगारी पाएको यो डिजिटल पार्कको दैनिक उत्पादन क्षमता २५० सेट टीभी र १०० सेट एलसीडी एलईडी थियो। प्रदर्शनकारीले थापाथलीस्थित सीजी मोटर्सको शोरुम पनि तोडफोड गरे।
चन्द्रागिरि नगरपालिका–५ स्थित हाइभिजन कोलोनीसँगै रहेको विशाल ग्रुपको पाँचतले व्यापारिक गोदाममा पनि आगो लगाइएको थियो। गोदामबाट दुई दिनसम्म धुवाँ निस्किइरहेको थियो। उपेन्द्र महतोसहितका उद्योगीहरूको निजी निवासमा पनि लुटपाट, तोडफोड र आगजनी भयो।
व्यवसायी भन्छन्– गरिखानेविरुद्ध आक्रमण भयो
अझै पनि बीमा नगरिएका व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिको विवरण आउन सकेको छैन। यसैमध्येको एउटा हो, गोरख र उनका साथीहरूले सञ्चालन गरेको बत्तीसपुतलीस्थित हिमालयन जाभा। निजी लगानीमाथिको आक्रमणपछाडि उद्यमी व्यवसायीप्रतिको नकारात्मक प्रचार नै भएको गोरख बताउँछन्।
लगानी गरी रोजगारीसमेत सिर्जना गर्ने र कर तिर्ने वर्गलाई गलत भाष्य बनाइएको उनको गुनासो छ। “उद्यम गरेर कमाएको पैसा सबै लुटेकै हो, ठगेकै हो भन्ने बुझ्ने एउटा वर्ग छ। धेरै मान्छेमा गलत ढंगले व्याख्या गरिएर यस्तो भाष्य बनाइएको छ,” उनी भन्छन्, “व्यपारीहरू आफै पनि राजनीतिमा आउन थालेपछि नकारात्मक ढंगले हेर्न थालिएको देखिन्छ। तर राजनीतिक छहारी नभएपछि बाँच्न नै गाह्रो भएर आएका होलान्। सुरक्षाका लागि कहीँ न कहीँ नटाँसिइकन नहुने माहोल भएको हो की!”
व्यपारिक समुदायका रूपमा परिचित मारवाडी समुदायको परिषद्को भवनमा राखिएका उक्त क्याफे मात्र नभई अन्य व्यापारिक प्रतिष्ठानमा पनि आगजनी भएको थियो। त्यही भवनमा रहेका मिष्ठान्न भण्डार र हिमालयन बैंक आन्दोलनकारीको निशानामा परे।
नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ अहिले व्यवसायीहरूको मनोबल घटेको बताउँछिन्। उपभोक्ताका लागि महँगी बढेको तर व्यापार नबढेको उनको भनाइ छ। जुन कारण देशमा थप रोजगारी सिर्जना भएन, निजी क्षेत्रका कर्मचारीलाई महँगीको अनुपातमा तलब बढाइदिने क्षमता पनि रोजगारदातासँग भएन।
समाजले निजी क्षेत्रबाट देश र समाजलाई भइरहेको योगदान नबुझेको उनको गुनासो छ। व्यवसायीप्रति सरकारकै धारणा र व्यवहार नकारात्मक हुँदैजाँदा सर्वसधारणमा पनि त्यही धारणा आएको उनी बताउँछिन्।
सरकारले उद्यमी, व्यवसायीलाई कर असुलीको दृष्टिकोणले मात्र हेरेको, तर दीर्घकालीन प्रभावहरूको मूल्यांकन गर्ने नगरेको श्रेष्ठको भनाइ छ। “उदाहरण हेर्नुस्, खुल्ला सीमा भएको हाम्रोजस्तो देशमा हिरा किनबेचमा मूल्य अभिवृद्धि कर लागू गर्दा अनौपचारिक कारोबार बढ्छ भन्ने हेक्का सरकारले राखेन, आम्दनी मात्र हेर्यो,” उनी भन्छिन्।
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म मुनासिब नाफा कमाउनु भनेको अर्थतन्त्रलाई उकास्नु हो भनेर मानिसहरूले नबुझ्ने श्रेष्ठ बताउँछिन्। उद्योगी, व्यवसायीप्रतिको धारणा सकारात्मक नहुँदा लगानी सहज हुँदैन।
समाजशास्त्री प्रेम चलाउने व्यवसायमाथि आक्रमण गर्नु आपराधिक गतिविधि भएको बताउँछन्। त्रिविका उपप्राध्यापकसमेत रहेका चलाउने आन्दोलनका घुसपैठिया र विभिन्न स्वार्थ समूहका कारण ती घटना भएको हुनसक्ने आकलन गर्छन्।
“गल्ती गरेका जोकोहीलाई कानूनी कारबाहीको प्रक्रियामा लैजानुको साटो तोडफोड, लुटपाट र आगजनी गरिँदा लगानीकर्ता निरुत्साहन हुन्छन्,” उनी भन्छन्, “सम्पत्ति खरानी पार्दा गाजा र युक्रेनको युद्धग्रस्त क्षेत्रजस्तो देखियो।”
उद्योग र व्यापार गर्नेले राज्यलाई कर तिर्नुपर्ने सवालमा टिप्पणी हुनु चाहिँ स्वभाविक रहेको उनी बताउँछन्। तर भौतिक आक्रमण र आगजनीले लगानी पलायन हुने र दूरकालसम्म असर पर्ने जोखिम रहेको उनको भनाइ छ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम अर्थतन्त्रलाई ‘ड्राइभ’ गर्ने संस्थाहरूमा भएको आक्रमण सुरक्षाको प्रत्यभूति नै सकिएको बताउँछन्। राष्ट्रिय पुँजीमा ह्रास र पलायन यस्तै अवस्थामा हुने उनको भनाइ छ। “उद्यम गर्नु, स्वरोजगार हुनु, अरूलाई रोजगारीको अवसर सिर्जना गर्नु र यसबाट राज्यलाई कर तिरेर योगदान गर्नु के अपराध हो?” उनी प्रश्न गर्छन्।
नेपालमा वैधरूपमा पैसा कमाएर सरकारलाई कर तिर्नु पनि अपराधजस्तो भाष्य बनाइएको उनको भनाइ छ। “एउटा सशक्त आन्दोलन त चाहिएकै थियो, तर अहिंसात्मक। किनकि, राज्यमा नैतिकताको संकट र भद्रगोल भयो भन्ने कुरा थियो। आन्दोलनमा अराजकता मिसियो।”
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी पनि पछिल्लो आन्दोलनले व्यवसायीमा डर पसेको बताउँछन्। “व्यवसायीहरू राजनीतिज्ञ त होइनन्, तर उनीहरूको पनि एउटा विश्लेषण हुन्छ। यो आन्दोलन शुरूआत हो, भोलिको दिनमा के होला भन्ने अनिश्चितता छ यतिखेर,” उनले भने “कोही राजतन्त्रको कुरा गर्ला, पार्टीहरू पनि चुप लागेर नबस्लान्, तोकिएको समयभित्र निर्वाचन हुन्छ कि हुँदैन? भएन भने के हुन्छ? यस्तो अनिश्चितताको विचार व्यापारीहरूको मनमा आइरहेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
