खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण

चन्दननाथ नगरपालिका– १ जुम्ला आचार्यबाडा निवासी लेखक रमानन्द आचार्यले करिब १५ वर्ष लगाएर शब्दकोष निर्माण गरेका हुन्।

कर्णाली– रमानन्द आचार्यद्वारा लिखित खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण गरिएको छ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा प्रकाशित शब्दकोश ‘खसिया आखर’ मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको सहकार्यमा आज काठमाडौँमा लोकार्पण गरिएको हो। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त शब्दकोश लोकार्पण गर्दै खस भाषाको जगेर्ना र पुस्तान्तरणमा टेवा पुग्ने अपेक्षा गरे।

उनले भने, “खसिया आखर’ कर्णालीको भाषा, संस्कृतिको पुस्तान्तरण गर्न मार्गदर्शन बन्नेछ। अब मन्त्रालयले योगी नरहरिनाथका कृतिसहित कर्णालीको भूगोल र संस्कृतिसँग जोडिएका पुस्तकको संकलन तथा अभिलेख गर्नेलगायतका कार्यमा मन्त्रालयले भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्दछु।”

शब्दकोषमार्फत भाषा, सभ्यता र लोकसंस्कृति संरक्षण र कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै मन्त्री भण्डारीले स्थानीय तहमा पाठ्यक्रम निर्माण गरी खस भाषा पठनपाठन र व्यावहारिक कार्यान्वयनलाई सरकारले अभियानका रूपमा लिने बताए।

भाषाशास्त्री प्राध्यापक डा माधवप्रसाद शास्त्रीले भने, “शब्दकोश लेख्न सजिलो छैन। यो जटिल कार्यका लागि साहस गर्नुभएकोमा लेखकप्रति आभार व्यक्त गर्दछु।”

चन्दननाथ नगरपालिका– १ जुम्ला आचार्यबाडा निवासी लेखक आचार्यले करिब १५ वर्ष लगाएर शब्दकोष निर्माण गरेका हुन्। उनका अनुसार १ हजार ४०० पृष्ठ रहेको उक्त शब्दकोषमा करिब ४० हजार शब्द छन्।