एउटा प्रश्न चाहिँ अघिल्लो पुस्तकमा झैँ दोहोरिएर आयो, यी डाक्टर बिरामी जाँचेपछि उसलाई पछ्याएर कथा लिन्छन् कि, बिरामी नै डाक्टरलाई आफै कथा बताउन थाल्छन्?
काठमाडौँ- अन्तर्वार्ता लिइसकेपछि अन्तर्वार्ताकारले भन्नुपर्ने अतिरिक्त केही नहुनुपर्ने हो। जे भन्नुपर्ने हो, ती सबै प्रश्न बनेर आएका हुन्छन्। तर कुनै अन्तर्वार्ता यस्तो पनि हुने रहेछन्, भन्नुपर्ने कुरा बाँकी रहन्छन्। त्यस्तै एउटा अन्तर्वार्ता थियो लेखक डा. नवराज केसीसँग।
डा. केसीलाई सोध्नुपर्ने प्रश्न तयार नै थिए, तर शायद प्रश्न सोधिएको दिन ठीक थिएन। समय ठीक थिएन। त्यसैले म घरी प्रश्नमा अल्मलिएँ र लाग्थ्यो घरी उनी जवाफमा अल्मलिए।
त्यो दिन थियो भदौ २३ गतेको। त्यही दिन अन्तर्वार्ता लिनु एउटा संयोग थियो। यो अन्तर्वार्ताको सन्दर्भ डा. केसीको पहिलो पुस्तक ‘शून्यको मूल्य’देखि जोडिन्छ।
शून्यको मूल्य पढेपछि नै लागेको थियो, कहाँ थिए यस्तो जादूयी भाषाका अद्भूत लेखक?
त्यो थियो आमाहरूको मायाको अपार कथा। आमाहरूको अर्थशास्त्रको कथा। आमाहरूले भोगेको अपार दुःखहरूको कथा। र ती आमाका सन्तान सबै बालबालिका थिए।
ती यथार्थ कथा पढ्दै जाँदा ‘के यस्तो पनि हुन्छ र’ भन्ने प्रश्न पटकपटक मष्तिष्कमा आएको थियो। यी डाक्टर बिरामी जाँच्छन् कि बिरामीका कथा सुन्छन् भन्ने सोचाइ आउँथ्यो।

त्यो पुस्तक पढेको केही वर्ष भएको थियो, लेखकसँग चिनजान थिएन।
एकदिन अचानक प्रकाशक तथा सम्पादक अजित बरालको फोन आयो। फोन संवाद भएको केही घण्टापछि नै उनी कफी भेटका लागि आइपुगे। मेरो लागि ‘सरप्राइज’ भैदियो कि, उनीसँग आइपुगेका थिए लेखक डा. नवराज केसी।
त्यो पहिलो भेटमा मैले शून्यको मूल्यलाई सम्झिएँ। त्यसका कथासँग जोडिएका र मलाई यो चाहिँ यथार्थमा कल्पना जोडियो कि भन्ने लागेका केही प्रसंगबारे सोधेँ। यहाँनेर मलाई लेखक इमान्दार यसकारण लाग्यो, उनले त्यस्तो कसरी हुनगयो भन्ने स्पष्ट बताए।
कतिपय पात्रबारे उनले दोस्रो स्रोत पनि प्रयोग गरेका थिए। जस्तो, नर्सहरूले ती पात्रका कहानी सुनाएका थिए। सुनाउने क्रममा नर्सहरूले नै ‘हिरोइक’ पाराले पात्रको बयान गरिदिए। उनले ती कहानीलाई उतारे। यसो भनेर उनी उम्किएनन्। बरु भने, यो पुस्तक चौँथो संस्करणसम्म आउँदा मैले धेरै सम्पादन गरेको छु। कमजोरीहरू सच्याएको छु।
अनि विश्वप्रसिद्ध लेखकहरूले पनि पहिलो संस्करणमा गरेका कमजोरी सच्याएका उदाहरण प्रकाशक सम्पादक अजित बरालले सुनाए। त्यसपछि बरालले झोलाबाट एउटा पुस्तक झिके, जुन विमोचन हुन बाँकी नै थियो। त्यो किताबको नाम स्वस्पर्श थियो र लेखक थिए उही डा. नवराज केसी।
मैले विमोचनअघि नै किताब पढेँ।
यसमा शून्यको मूल्यमा जस्तो एउटै विषयका कथा थिएनन्। कुनै छोराछोरी बालकै भएका आमाका कथा थिए। कुनै अवकाश भएका आमाका कथा। कुनै जनावरलाई प्रेम गर्ने मात्र होइन, जीवनै त्यसमा समर्पण गरेका व्यक्तिका कथा। कुनै श्रीमान् र श्रीमतीको सम्बन्धका कथा। ती हरेक कथा पढेपछि लाग्थ्यो, अहिले यी पात्र कहाँ होलान्, के गर्दै होलान्?

अनि एउटा प्रश्न चाहिँ अघिल्लो पुस्तकमा झैँ दोहोरिएर आयो, यी डाक्टर बिरामी जाँचेपछि उसलाई पछ्याएर कथा लिन्छन् कि, बिरामी नै डाक्टरलाई आफै कथा बताउन थाल्छन्?
अनि अरू अनेक प्रश्नले पछ्याइरहे। एउटा कुराकानीका लागि यिनै प्रश्नले प्रेरित गरे। मैले मोबाइल कल गरेँ।
उनी काठमाडौँमै थिए। शायद, नयाँ पुस्तकका लागि औपचारिक पढाइ र नयाँ डिग्रीका लागि परीक्षा दिँदै थिए। यही त डाक्टर लेखकको खासियत थियो। जस्तो, स्वस्पर्श लेख्न उनले कयौँ दिन कपनको गुम्बामा बिताएका थिए।
उनी व्यस्त रहे। समय सर्दै गयो। मैले पनि पछ्याउन छाडिनँ।
भदौ २३ गते बानेश्वरमा अश्रु ग्यास, पानीका फोहोरा र गोली चलिरहेको थियो। पुरानो बानेश्वरमा डा. केसी परीक्षामा थिए।
परीक्षा हलबाट बाहिर निस्कँदा सार्वजनिक यातायात बन्द भइसकेको थियो। पठाओ खोजेर उनी आइपुगे उकालोको अफिसमा। उनलाई स्वागत गरेर अन्तर्वार्तामा बस्नुअघि नै प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको समाचार आइसकेको थियो।
उनी बालबालिकाका डाक्टर। जेन–जी आन्दोलनमा मृत्यु हुने पनि कसैका बच्चा थिए। उनी यसै भावुक, न्युजरुमका हामी पनि भावुक। एउटा नबजेको शोकधुनको तरंग मष्तिष्कमा गुञ्जिरहेको थियो।
कुराकानीका लागि प्रश्न सोध्ने र उत्तर दिने दुवैको मुड ठीक थिएन। तर दुवैका लागि अव्यक्त बाध्यताले स्टुडियोतिर तानिरहेको थियो।
उनी अर्को दिन वा लगत्तै पछाडिको दिन सुर्खेत फर्किंदै थिए। अन्तर्वार्ताको निर्धारित समयलाई उपेक्षा गर्ने मनसाय दुवै पक्षमा थिएन। त्यही बाध्यताले हामीलाई स्टुडियोभित्रसम्म डोर्याएको थियो।

तपाईंले हेर्नु हुने यो भिडियो वार्तामा डा. केसीको अनुहारको भाव पढ्न सक्नुहुन्छ। भदौ २३ को आन्दोलन र मृत्युले बनाएको बेचैनलाई बुझ्न सक्नुहुन्छ।
डा. नवराज केसी स्वस्पर्शका मन्दिरे हुन्। गर्वे दाइ हुन्। नवराज भेडा हुन्। उनका किताबका पात्र झैँ उनले पनि अरूका लागि बाँच्न सिकेका छन्।
उल्लेखित पात्रबारे थाहा पाउन तपाईंले पुस्तक पढ्नै पर्ने हुन्छ। तर डा. केसीलाई चिन्न किताब पढिसकेपछि एकपटक आँखा चिम्लिनुपर्छ।
यो वार्ता नवराज केसीका पात्रहरूको हालखबर हो। यो वार्ता नवराज केसीको लेखनीको हो। यो वार्ता भदौ २३ को सम्झना हो।
(हाम्रो कुराकानीको बीचमै मृतकको संख्या चार पुगेको खबर आयो। अन्तर्वार्ता सकेर बाहिर निस्किँदा मृतकको संख्या आठ पुगिसकेको थियो।)
कुराकानी सकिएपछि उनी सरासर तल झरे। पठाओ बोलाए। अनि उदास अनुहार बोकेर ओझेल परे। यो अन्तर्वार्ताले अझै त्यो उदासी, त्यो भदौ २३ सम्झाउँछ। यद्यपि, तपाईंले यहाँ भदौ २३ को कुनै प्रसंग पाउनुहुने छैन।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
