अब विद्यार्थीले तथ्य सम्झनुभन्दा पनि सोच्न, प्रश्न गर्न र एल्गोरिदमले नदेख्ने अर्थ खोज्न सिक्नुपर्छ। जब प्रविधिले उत्तर सजिलै दिन सक्छ, शिक्षाको सार प्रश्न सोध्ने क्षमतामा निहित हुन्छ।
विद्यालयको भविष्यबारे अहिले जति जरुरी र गम्भीर बहस सम्भवतः यसअघि कहिल्यै भएको थिएन। कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स/एआई) कुनै बेला टाढाको अड्कलबाजी थियो, तर अहिले खासगरी विकसित मुलुकमा दैनिक शैक्षिक जीवनको एक हिस्सा बनिसकेको छ यो। अन्य मुलुकमा पनि यो क्रम बढ्दो छ। भर्खरै छिमेकी भारतले सन् २०२६–२०२७ देखि कक्षा ३ देखि ‘एआई शिक्षा’ सुरु गर्ने घोषणा गरेको छ। चीनले डिजिटल शिक्षामा आफूलाई विश्व नेताका रूपमा प्रस्तुत गर्ने प्रयास निरन्तर जारी राखेको छ, र एआईको विकास तथा प्रयोग राष्ट्रिय प्राथमिकताको केन्द्रमा रहेको छ।
२०२४ नोभेम्बरमा, चीनको शिक्षा मन्त्रालयले ‘प्राथमिक र माध्यमिक विद्यालयहरूमा एआई शिक्षा सुदृढीकरणसम्बन्धी मार्गदर्शन’ सार्वजनिक गर्यो। चीनले एआई शिक्षालाई २०२५ शैक्षिक वर्षदेखि प्राथमिक र माध्यमिक तहको पाठ्यक्रममा अनिवार्य रूपमा लागू गर्ने तयारी गरिरहेको छ। राष्ट्रिय लक्ष्यअनुसार २०३० सम्म सबै विद्यालयहरूमा एआई शिक्षा पूर्ण रूपमा कार्यान्वयन गरिनेछ। अमेरिकाको सेन्टर फर डेमोक्रेसी एन्ड टेक्नोलोजीले गरेको एक अध्ययन अनुसार कक्षा १२ सम्मका विद्यालयहरूमा शैक्षिक वर्ष २०२४ र २०२५ मा करिब ८५ प्रतिशत शिक्षक र ८६ प्रतिशत विद्यार्थीले आफ्नो शिक्षण– सिकाइ क्रियाकलापमा एआई प्रयोग गर्ने गरेका छन्। एआई ट्युटर र ग्रेडिङ सहायकदेखि गृहकार्य र भावनात्मक सुस्वास्थ्यमा समेत सहयोग गर्ने च्याटबट आदिको उपलब्धताले विश्वको समग्र शैक्षिक परिदृश्य द्रुत गतिमा परिवर्तन भइरहेको छ।
एआईलाई कतिपयले सिकाइलाई वैयक्तिक बनाउन र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सक्ने एक प्रजातान्त्रिक शक्तिको रूपमा हेरेका छन्। अरूले भने एआईको प्रयोगले मानवीय विकासलाई खोक्रो पार्न सक्ने, हाल विद्यमान शैक्षिक असमानतालाई अझ फराकिलो वा गहिरो बनाउन सक्ने अथवा शिक्षालाई नाफामुखी कर्पोरेसनहरूको हातमा सुम्पन सक्ने चिन्ता व्यक्त गरेका छन्। एआईका सम्बन्धमा उठेका अत्यन्त उग्रदेखि अत्यन्त निराशावादी दृष्टिकोणले नीतिगत अन्योल मात्र होइन, व्यवहारिक तनाव पनि सिर्जना गरेका छन्। अमेरिकी विश्वविद्यालयहरूमा त शिक्षक र विद्यार्थीबीच एआई प्रयोगलाई लिएर एक अर्कामाथि दोषारोपण भइरहेको छ। विद्यार्थीहरूले शिक्षकहरूलाई अपर्याप्त मार्गदर्शनका लागि दोष दिने गरेका छन्, र शिक्षकहरूले विद्यार्थीहरूलाई एआईको दुरुपयोग गरेर मौलिकता गुमाएको आरोप लगाउने गरेका छन्।
युनेस्कोलगायत हावर्ड गार्डनर र योङ झाओजस्ता अग्रणी शिक्षाविद्हरूले यी बहसहरूलाई स्पष्ट पार्ने प्रयास गरेका छन्। रमाइलो के छ भने उनीहरूका दृष्टिकोणहरू पनि एआईका कारण विद्यालयको अन्त्यको भविष्यवाणी गर्ने टेक्नो-युटोपियनहरू (प्राविधिक-उदारवादीहरू) देखि लिएर एआईले शिक्षाका परम्परागत संरचनाहरूलाई सतही रूपमा मात्र परिवर्तन गर्न सक्छ भनी चेतावनी दिने संशयवादीहरूसँग जोडिन्छन्। यी सबै विचारले के देखाउँछन् भने शिक्षाको भविष्यबारे अड्कलबाजी हुन सक्छ, तर सहजै पूर्वनिर्धारण गर्न सकिँदैन। शिक्षाको भविष्य मानव जातिले अवलम्बन गर्ने मूल्य र विकल्पहरूमा निर्भर गर्छ।
एआईको युगमा नीतिगत अन्योल
एआईको प्रयोग विश्वभरका शैक्षिक संस्थाहरूमा तीव्र रूपमा फैलिँदै छ। विद्यालयदेखि विश्वविद्यालयसम्म स्मार्टफोनका निजी ट्युटरिङ एप्सदेखि लिएर ग्रेडिङ प्रणाली र क्याम्पस व्यवस्थापन सम्बन्धी एआई-सहयोगी एप्सजस्ता एआईका नयाँ उपकरणहरू प्रयोग र परीक्षण भइरहेका छन्। तर, एआईको यस्तो तीव्र विस्तारले प्रविधि शासन, नीतिगत स्पष्टता र यसको जिम्मेवार-प्रयोगसम्बन्धी समझदारीमा रहेको गम्भीर खाडललाई झनै प्रस्ट पारिदिएको छ।
धेरै देशमा अधिकारीहरूले एआई-सञ्चालित च्याटबट र गृहकार्य सहायकले सिकाइको गुणस्तर खस्कन सक्ने सम्भावित डर देखाउँदै कक्षाकोठामा मोबाइल उपकरणहरूमाथि कडा प्रतिबन्ध लगाएका छन्। प्राध्यापकहरूलाई कोर्स सिलेबस तयार गर्न वा शिक्षकहरूलाई पाठ योजना निर्माणमा जेनरेटिभ एआईका उपकरणहरू प्रयोग गर्न रोक लगाइएको छ भने विद्यार्थीहरूलाई गृहकार्य वा अनुसन्धानका लागि एआई प्रयोग गर्न निषेध गरिएको छ। यसैबीच, विभिन्न देशका विश्वविद्यालयहरूमा पनि एआई-सहयोगी लेखन, अनुसन्धान वा तथ्याङ्क विश्लेषणलाई अनुमति दिने वा नदिने भन्नेबारे बहस भइरहेको छ। यस कारण नीतिहरूको अभाव हुने वा बारम्बार परिवर्तन भइरहने प्रचलन बढेको छ।
यहाँसम्म कि विकेन्द्रित शिक्षा प्रशासन भएका कतिपय मुलुकमा कुनै एक जिल्लाको विद्यालयमा बहुभाषी विद्यार्थीहरूका लागि एआई-सञ्चालित अनुवाद एपहरूमाथि प्रतिबन्ध लगाइएको छ। के तर्क अघि सारिएको छ भने एआइको प्रयोगले बहुभाषी विद्यार्थीहरूको सिकाइलाई सहयोग गर्दैन। तर सँगै जोडिएको छिमेकी जिल्लाले बहुभाषी विद्यार्थीहरूको समावेशीकरणलाई वढावा दिन एआईको प्रयोगलाई प्रोत्साहन गर्ने गरेको छ। नीतिहरू नहुँदा वा छिटोछिटो परिवर्तन हुँदा शिक्षक र विद्यार्थीहरू अन्योलमा छन्। नीतिनिर्माताहरूले प्रमाणमा आधारित शैक्षिक रणनीति निर्माण गर्नुको सट्टा एआइको दुरुपयोगको डर, सिकाइलाई आधुनिक देखाउने लहड, राजनीतिक दबाब वा मिडियाको बहकाउमा परेर प्रतिक्रियात्मक निर्णयहरू लिइरहेका छन्।
एआइले शिक्षा क्षेत्रमा जति उत्साह ल्याएको छ, त्यति नै अव्यवस्था र भाँडभैलो मच्चाएको छ। कुनै स्थानमा विद्यार्थीहरूलाई एआईलाई रचनात्मकता र अनुसन्धान परियोजनाहरूमा एकीकृत गर्न दिइन्छ, जबकि अरूलाई च्याटबटको सल्लाह मात्र लिएकोमा पनि कारबाही गरिन्छ। शिक्षकहरूले शिक्षण विधिमा ध्यान दिनुको सट्टा अस्पष्ट नियमहरू बुझ्नमा धेरै समय खर्च गरिरहेका छन्। कुनै कुनै मुलुकहरू प्रमाणित शैक्षिक कारणले भन्दा पनि व्यापारिक कम्पनीहरूको प्रभावमा परेर प्रविधितर्फ उन्मुख भएको देखिन्छ। सक्रियता देखाउने हतारमा नीति निर्माताहरूले शिक्षाविद्, प्राविधिक र विद्यार्थीहरूसँग पर्याप्त परामर्श नगरी एआइको प्रतिबन्ध वा प्रयोग गर्ने निर्देशन जारी गर्ने गरेका छन्।
यसको परिणामस्वरूप, केही संस्थाहरूमा नवीनता अवरुद्ध भएको पाइन्छ, जबकि अन्यमा अनियमित एआई प्रयोगले असमानता र शैक्षिक इमानदारीको चिन्ता बढाएको देखिन्छ। यसले शिक्षा क्षेत्रमा एउटा अराजक वातावरण सिर्जना भएको पाइन्छ। लन्डनमा यसै वर्षको मे महिनामा आयोजना गरिएको मन्त्रीस्तरीय विश्व शिक्षा सम्मेलनमा शिक्षामा कृत्रिम बुद्धिमत्ताको सम्भावित भूमिका र प्रभावबारे भएको बहसमा तीन दिनसम्म सहभागीहरूले बिना खास निष्कर्ष एआईबाट उत्पन्न हुनसक्ने खतरा र अन्योलबारे चिन्ता प्रकट गर्दै सम्मेलनको अन्त्य गरे।
धेरै देशहरूमा एआइको व्यवस्थापन, नवप्रवर्तन, नैतिकता र समतालाई सन्तुलनमा राख्न राष्ट्रिय एआई शिक्षा रणनीतिको माग बढिरहेको छ। मलेसियाले सन् २०३० सम्म ‘एआई राष्ट्र’का रूपमा स्थापित गर्ने लक्ष लिएको छ। यसको लागि राष्ट्रिय एआई कार्ययोजना तयार गरिसकेको छ, जसमा प्रविधि, जनशक्ति (प्रतिभा), सुशासन, पूर्वाधार र दिगो लगानीको सुनिश्चितता गर्ने उल्लेख छ। युनेस्कोका अनुसार एआई नीतिहरूले प्रविधिको नवीनता र सम्भावित जोखिमप्रति प्रतिक्रिया जनाउने मात्र नभई सिकाइको नतिजा वृद्धि, मानवीय स्वायत्तता र समावेशीकरणजस्ता विषयहरूमा प्राथमिकता दिनुपर्नेमा जोड दिन्छ। हावर्ड गार्डनर र योङ झाओले एआइको असंगत वा अन्धाधुन्ध विस्तार वा प्रतिबन्धहरूले आलोचनात्मक सोच, रचनात्मकता, नैतिक निर्णय र लचकपनको विकासजस्ता शिक्षाको मुख्य उद्देश्यलाई नै कमजोर पार्ने जोखिम रहेको चेतावनी दिएका छन्।
शिक्षामा एआईको सर्वव्यापी उपस्थितिलाई लिएर चलिरहेका बहसहरूबारे विमर्श गर्नु यो लेखको उद्देश्य हो। यसले एआईलाई समानता ल्याउने शक्तिको रूपमा हेर्ने आशावादी दृष्टिकोणदेखि लिएर संज्ञानात्मक सीपहरूलाई कमजोर पार्ने र असमानता बढाउने चेतावनीसहितका सतर्कतापूर्ण दृष्टिकोणहरू सम्मका प्रतिस्पर्धी विचारहरूबारे छलफल गर्नेछ। विद्यालयहरूको भविष्य प्राविधिक नियतिवादमा होइन कि मानिसहरूले लिने बुद्धिमत्तापूर्ण निर्णय र नैतिक नीतिहरूमा निर्भर रहन्छ भन्ने लेखको मूल जोड छ।
आशावादी दृष्टिकोण: शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि
एआईप्रति आशावादी दृष्टिकोण राख्नेहरू एआईलाई शिक्षाको गुणस्तर र समतालाई नाटकीय रूपमा बढाउन सक्ने परिवर्तनकारी उपकरणको रूपमा हेर्छन्। विद्यार्थीका व्यक्तिगत आवश्यकताअनुसार सिकाइ सामग्री, गति समायोजन गर्न सक्ने अनुकूलनीय सिकाई (अडाप्टिभ लर्निङ) प्लेटफर्महरूले परम्परागत सामूहिक शिक्षण प्रणालीका कमजोरीहरूलाई सम्बोधन गर्ने सम्भावना देखाउँछन्। भारत, अफ्रिका र ल्याटिन अमेरिकामा प्रयोगमा ल्याइएका एआई-आधारित ट्युटरिङ प्रणालीहरूले शिक्षक, पाठ्यपुस्तक वा प्रयोगशाला नभएका स्थानहरूमा प्रविधिले कसरी अभाव पूर्ति गर्न सक्छ भन्ने कुरा प्रदर्शन गरिरहेका छन्। एआईले पाठसम्बन्धी अभ्यासहरू सिर्जना गर्न, वास्तविक-समयमा (तत्कालै) स्वचालित प्रतिक्रिया दिन र उच्च उपलब्धि हासिल गर्न सक्षम र संघर्षरत वा कमजोर दुवै थरी विद्यार्थीहरूलाई लाभ पुग्ने गरी सबैका लागि व्यक्तिगत सिकाई मार्गहरू तयार गर्न सक्छ।
युनेस्कोको ‘एआई र शिक्षाको भविष्य: अवरोधहरू, दुबिधाहरू र दिशाहरू’ (एआई एन्ड द फ्युचर अफ् एडुकेसनस् डिस्रप्सन्स, डिलेमाज् एन्ड डिरेक्सन्स) नामक प्रकाशनले एआईसँग कम स्रोत भएका क्षेत्रहरूमा पहुँच र समावेशिता विस्तार गर्ने क्षमता रहेको कुरा उजागर गरेको छ। यसले एआईलाई व्यापारिक विलासिताको सट्टा सार्वजनिक हित (पब्लिक गुड) को रूपमा परिभाषित गरिनुपर्छ भन्नेमा जोड दिन्छ, ताकि सबै पृष्ठभूमिका विद्यार्थीले यसबाट लाभ उठाउन सकुन्।
तर युनेस्कोले भने नैतिक निगरानीबिना एआइको बिस्तार गरियो भने यसले शैक्षिक असमानता अझ गहिरो बनाउन सक्छ भन्नेमा चेतावनी दिन्छ । युनेस्को प्रकाशनको तर्क छ कि सोचपूर्वक प्रयोग गरिएमा एआईले विश्वव्यापी शिक्षा प्रणालीलाई समावेशी र समतामूलक बनाउन सहयोग गर्न सक्छ। शिक्षासम्बन्धी दिगो विकासको लक्ष (एसडिजी.४) प्राप्त गर्न एआई सहयोगी सिद्ध हुनेमा युनेस्को आशावादी छ।
हालै सम्पन्न हार्वर्ड विश्वविद्यालयको ग्र्याजुएट स्कूल अफ एजुकेसनको ‘आस्कविथ फोरम’मा बहुआयामिक बुद्धिमत्ता (मल्टिपल इन्टेलिजेन्सेस) सिद्धान्तका प्रवर्तक हावर्ड गार्डनरले सन् २०५० सम्म शिक्षा आजभन्दा पूर्ण रूपमा भिन्न देखिने बताए। उनका अनुसार एआईले शिक्षामा यति गहिरो रूपान्तरण ल्याउनेछ कि यो परिवर्तन हजार वर्ष यताकै सबैभन्दा मौलिक हुनेछ र यसबाट गार्डनर आफैले प्रतिपादन गरेका धेरै मानसिक क्षमताका रूपहरूलाई पनि अप्रासंगिक बनाउन सक्छ। कक्षाभित्र सबै विद्यार्थीहरूले एउटै काम गर्नुपर्ने, एउटै पाठ सिक्नुपर्ने, एउटै तरिकाले मूल्यांकन गर्नुपर्ने हालको परिपाटी पूर्ण रूपमा पुरानो सोचझैँ लाग्नेछ–उनले भने। गार्डनरले जोड दिए कि एआई-सशक्त विश्वमा विद्यार्थीहरूले ज्ञानमात्र होइन, कल्पनाशीलता, सिर्जनशिलता, नैतिक निर्णय क्षमता र आत्मपरक सोच पनि विकास गर्नुपर्छ। यस अर्थमा एआई शिक्षकको विकल्प होइन, बरु एक शक्तिशाली सहयात्री हो, जसले सिकाइका अवसर र मानवीय सम्भावनालाई सँगै विस्तार गर्न सक्छ।
आशावादीहरूको दृष्टिमा भविष्यका कक्षाहरूमा एआईले सहकार्य, प्रयोग र अन्तरविषयगत सिकाइलाई सहज बनाउनेछ। एआईले शिक्षकहरूलाई प्रशासनिक कामबाट मुक्त गरी उनीहरूलाई विद्यार्थीहरूलाई सल्लाह दिन, मार्गदर्शन गर्न, कोचिङ, र परामर्श दिन अझ प्रभावकारी बनाउँछ। एआइले परम्परागत कक्षाहरूमा विद्यार्थीहरूबीच हुने सिकाइका असमानताहरू कम गर्न सहयोग गर्छ। आशावादीहरू यस्तो भविष्यको कल्पना गर्छन्, जहाँ एआई मानव शिक्षकको सहायकका रूपमा कार्य गर्छ। केही विकसित मुलुकमा एआईलाई कक्षाकोठा सहयोगी उपकरणका रूपमा प्रयोग गरिँदै छ। यसले शिक्षकलाई पाठ योजना बनाउन, अभ्यास सामाग्री र प्रश्नपत्र तयार गर्न, विद्यार्थीको सिकाइ-अवस्थाको विश्लेषण गर्न र व्यक्तिगत सिकाइ-सिफारिसहरू प्रदान गर्न मद्दत गर्छ। यसका कारण शिक्षकको कार्यभार कम हुन्छ र उनीहरू शिक्षार्थीको मार्गदर्शन, संवाद, र भावनात्मक सहयोगजस्ता मानवीय भूमिकामा बढी समय दिने स्थिति बन्न सक्छ।
टेक्ससको अस्टिनस्थित अल्फा स्कुलले अहिले विश्वभरको ध्यान खिचिरहेको छ, किनकि यो विद्यालयले शिक्षाको परम्परागत ढाँचालाई तोड्दै पूर्ण रूपमा कृत्रिम बुद्धिमत्तामुखी मोडेल अपनाएको छ। विद्यालयले सिकाइको आधारलाई पुनः परिभाषित गर्दै विद्यार्थीलाई आफ्नो गति, रुचि र स्तरअनुसार सिक्न दिने स्वतन्त्रता दिएको छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक दुई घण्टा मुख्य शैक्षिक विषयहरू गणित, विज्ञान, भाषा, आदि एआई उपकरणहरूको सहायतामा अध्ययन गर्छन्। बाँकी समय उनीहरू 'गाइड' भनिने शिक्षकहरूको सहयोगमा जीवन कौशल, सिर्जनात्मक परियोजना र समूहगत क्रियाकलापहरूमा सहभागी हुन्छन्। यसरी एआई मूलतः शिक्षण र मूल्यांकनको प्राविधिक पक्षमा केन्द्रित रहन्छ भने शिक्षकहरू विद्यार्थीको भावनात्मक, सामाजिक र सहकार्यसम्बन्धी विकासमा ध्यान दिन्छन्।
समर्थकहरूको दृष्टिमा अल्फा स्कूल भविष्यको शिक्षाको झल्को हो, जहाँ दक्षता, व्यक्तिगत अनुकूलन (पर्सनलाईजेसन) र नवप्रवर्तन प्रमुख हुनेछन्। उनीहरूको विचारमा अहिलेको विद्यालय प्रणाली धेरै ढिलो, नीरस र समान ढाँचामा बाँधिएको छ, जसले विद्यार्थीको क्षमतालाई दबाउँछ। सारमा, अस्टिनको अल्फा स्कुलले देखाएको मोडेलले शिक्षा र प्रविधिको सहकार्यले शिक्षामा कस्तो सम्भावना र चुनौती ल्याउन सक्छ भन्ने दुवै पाटो देखाउँछ। यसले महत्त्वपूर्ण प्रश्न खडा गर्छ, ‘भविष्यको विद्यालय’ कस्तो हुनुपर्छ? एआईको प्रयोगद्वारा शिक्षा सुधार्ने कि त्यसलाई यान्त्रिक बनाउने?
सावधानीपूर्ण दृष्टिकोण: शिक्षा प्रणालीको आन्तरिक क्षयको जोखिम
आशावादीहरूले एआईलाई सशक्तीकरणको माध्यमका रूपमा हेर्छन्, एआईप्रति सावधानीपूर्ण दृष्टिकोण अपनाउने समूहले एआईको अत्यधिक प्रयोगले डिजिटल मेसिनमाथि निर्भरता बढ्ने जोखिम औँल्याउँछन्। यदि एआईले लेखन, समस्या समाधान, वा सिर्जनात्मक संश्लेषणजस्ता उच्चस्तरका मानसिक जिम्मेवारीहरू अत्यधिक रूपमा सम्हाल्यो भने विद्यार्थीहरूले धैर्य, आलोचनात्मक सोच र स्वतन्त्र निर्णय लिनेजस्ता मौलिक संज्ञानात्मक सीपहरू गुमाउन सक्छन्।
संज्ञानात्मक वैज्ञानिक, मनोवैज्ञानिक र शैक्षिक विचारकहरूले स्मरण, गणना, लेखन, समस्या समाधान वा स्वनिर्णय लिनेजस्ता मानसिक कार्यहरू एआई प्रणाली, सर्च इन्जिन, वा स्मार्टफोनजस्ता डिजिटल उपकरणहरूलाई सुम्पने बढ्दो प्रवृत्तिलाई संज्ञानात्मक बाह्यस्रोतकरण (आउटसोर्सिङ) अर्थात् संज्ञानात्मक बोझ घटाउने प्रक्रिया (कग्निटिभ अफलोडिङ) भन्ने नाम दिएका छन्। यस प्रकारको संज्ञानात्मक भार हस्तान्तरणले कार्यक्षमता बढाउन र उच्च स्तरको सोचका लागि मानसिक ऊर्जा स्वतन्त्र गराउन सहयोग गर्न सक्छ, तर यसले मौलिक संज्ञानात्मक क्षमताहरू क्रमशः कमजोर पार्ने चिन्ता पनि रहन्छ। जब मानिस लगातार मेसिनहरूमा जानकारी भण्डारण गर्न, विचार सिर्जना गर्न वा समस्या समाधान गर्ने कुरामा भर पर्छन्, तब उनीहरूको स्मरण शक्ति, आलोचनात्मक सोच र सिर्जनात्मक संश्लेषण गर्ने क्षमतामा ह्रास आउन सक्छ। विद्यार्थीहरू कुनै प्रश्नको उत्तर तयार गर्न वा नयाँ लेखनका लागि अत्यधिक रूपमा एआईमा निर्भर हुन्छन्। गहिरो वा वास्तविक बुझाइ र बौद्धिक विकासका लागि आवश्यक गहिरो संज्ञानात्मक आधारबाट टाढा हुन सक्छन्।
हुन त मेसिनहरूले कुनै हदसम्म मानिसले भन्दा धेरै कार्यहरू प्रभावकारी रूपमा गर्न वा उत्तर निकाल्न सक्छन्, तर शिक्षाको सार भनेको सही उत्तर उत्पादन गर्नु होइन। गार्डनरको भनाइ हो यो। वास्तविक शिक्षाले सोच्ने बानी, नैतिक तर्क र आत्मचिन्तनको क्षमता विकास गर्छ, जुन कुरा यो अवस्थासम्म एआइले गर्न सकेको छैन। रोबर्ट पन्डिसियोले एउटा लेखमा भनेका छन् ‘एआईले सिकाइलाई सहज र आकर्षक बनाइरहेको भए पनि यसले विद्यार्थीहरूलाई गहिरो सोच र बौद्धिक संघर्षबाट टाढा पार्दै लगिरहेको छ।’ उनले यस अवस्थालाई ‘सिकाइको भ्रम’ भनेर व्याख्या गरेका छन्, जहाँ विद्यार्थीले उत्तर पाउँछ, कार्य सम्पन्न गर्छ, तर वास्तविक बुझाइ र ज्ञान निर्माण हुँदैन।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का अनुसन्धानकर्ताहरूले हालै मात्र सम्पन्न गरेका अनुसन्धानहरूले यो चिन्तालाई पुस्टी गरेका छन्। विश्वविद्यालयद्वारा गरिएको एउटा अध्ययनमा ५४ जना विद्यार्थीहरूलाई तीन समूहमा बाँडियो। पहिलो समूहलाई च्याटजिपिटी प्रयोग गर्न, दोस्रोलाई गुगल प्रयोग गर्न र तेस्रोले केवल आफ्नै स्मृति र ज्ञानमा भर पर्ने गरी एक निबन्ध लेख्ने कार्य दिइयो। च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीमा अर्को समूहको भन्दा मस्तिष्कको गतिविधि र अन्तरसम्बन्ध (ब्रेन कनेक्टिभिटी) कम देखियो। उनीहरूको मस्तिष्कका विभिन्न भागहरू एक अर्कासँग कम मात्रामा संवाद गरिरहेका थिए। जब उनीहरूलाई आफ्नै निबन्धबाट केही वाक्यहरू सम्झन भनियो, ८३ प्रतिशत च्याटजिपिटी प्रयोगकर्ताहरूले ती वाक्यहरू सम्झन सकेनन्, जबकि अन्य समूहका प्रायः सबै विद्यार्थीले सम्झन सके। च्याटजिपिटी प्रयोगकर्ताहरूले आफ्ना निबन्धहरू आधा आफूले लेखेकोजस्तो र आधा च्याटजीपीटीले लेखेजस्तो लागेको बताए। च्याटजीपीटीको प्रयोगबाट तयार गरिएका निबन्धहरू प्रायः पूर्वानुमान गर्न सकिने र मौलिकताविहीन थिए।
युनेस्कोले के कुरामा जोड दिन्छ भने सिकाइ केवल परिणाम होइन, एक निरन्तर बौद्धिक वा मानसिक प्रक्रिया हो। यदि एआईले विद्यार्थीहरूका लागि बौद्धिक चिन्तन गर्ने चुनौतीहरू हटाइदिन्छ वा अनिश्चितताबाट तिनीहरूलाई जोगाउँछ भने उनीहरूको उत्सुकता, लचिलोपन, जिज्ञासा र समस्या समाधान गर्ने क्षमतालाई कमजोर पार्ने जोखिम हुन्छ। संज्ञानात्मक अनुसन्धानले देखाउँछ कि संघर्ष, असफलता र पुनरावृत्त समस्या–समाधान सिकाइको स्थायित्वका लागि केन्द्रीय तत्त्व हुन्। एआईमा अत्यधिक निर्भरता भए विद्यार्थीहरू यस्ता अनुभवबाट वञ्चित हुन सक्छन्, जसको परिणामस्वरूप उनीहरू सतही रूपमा सक्षम देखिए पनि तिनमा गहिरो बौद्धिक क्षमताको अभाव हुन सक्छ।
योङ झाओले पनि यही चेतावनीलाई बल पुर्याउँदै भनेका छन् कि दक्षता–केन्द्रित एआईले चाहेर वा नचाहेर विद्यार्थीहरूलाई सक्रिय सिक्ने व्यक्तिको रूपमा नभएर सूचना उपभोग गर्ने निष्क्रिय प्रयोगकर्तामा रूपान्तरण गर्न सक्छ। एआईलाई ‘प्रम्प्ट’ गर्ने सीप हासिल गरेका विद्यार्थीहरू प्रक्रियागत कामहरूमा उत्कृष्ट देखिए पनि वास्तविक जीवनका चुनौतीहरूका लागि आवश्यक विवेक, सिर्जनशिलता र निर्णय–क्षमता विकास गर्न असफल हुन सक्छन्। यो चेतावनीपूर्ण दृष्टिकोणले एआईलाई पूर्ण रूपमा अस्वीकार गर्दैन, तर त्यसको सावधानीपूर्वक समायोजन आवश्यक छ भन्नेमा जोड दिन्छ, जहाँ प्रविधिले मानव सिकाइलाई प्रतिस्थापन होइन, सशक्त पार्ने भूमिका खेलोस्।
ऐतिहासिक दृष्टान्तहरूले पनि यी चिन्ताहरूलाई बल पुर्याउँछन्। जब क्यालकुलेटर, कम्प्युटर वा इन्टरनेट पहिलो पटक कक्षाकोठामा प्रवेश गरे, त्यति बेला पनि आधारभूत सीपहरू क्षीण हुने डर व्यक्त गरिएको थियो। अनुसन्धानहरूले देखाएका छन् कि उचित शिक्षण–पद्धतिबिना यस्ता उपकरणहरूमा निर्भर विद्यार्थीहरूले अनुमान, सम्झना र अवधारणागत बुझाइजस्ता संज्ञानात्मक सीपहरू पर्याप्त रूपमा विकास गर्न सक्दैनन्। यी चेतावनीहरूले हामीलाई सम्झाउँछन् कि एआई शक्तिशाली अवश्य छ, तर यसको शैक्षिक मूल्य मानव मस्तिष्कको सक्रिय संलग्नता कायम राख्न सकेमात्र अर्थपूर्ण हुन्छ।
समानतामुखी दृष्टिकोण: एआई विभाजक कि पुल?
प्रविधि र समानताको सम्बन्ध मूलतः शक्ति, पहुँच र अवसरको वितरणसँग गाँसिएको विषय हो। प्रविधि आफैँ तटस्थ हुन सक्दैन, यसको डिजाइन, उपयोग र शासनले यसले समानतालाई सुदृढ बनाउँछ या असमानतालाई अझ गहिरो पार्छ भन्ने निर्धारण गर्छ। यदि डिजिटल पूर्वाधार, उपकरण र सीपहरूमा समान पहुँच सुनिश्चित गरियो भने प्रविधि अवसरको पुल बन्न सक्छ, जसले ग्रामीण, सीमान्तकृत र वञ्चित समूहहरूलाई पनि नयाँ सिकाइ र सहभागिताको ढोका खोल्न सक्छ। तर पहुँचमात्र पर्याप्त हुँदैन, प्रविधिले सांस्कृतिक सान्दर्भिकता, भाषिक विविधता र स्थानीय आवश्यकता समेट्न सकेन भने यसले विद्यमान असमानता पुनः उत्पादन गर्न वा अझ बिस्तार गर्न सक्छ। त्यसैले समानताको दृष्टिले प्रविधिको प्रयोग नीतिगत प्रतिबद्धता, उत्तरदायी डिजाइन र सामाजिक उद्देश्यसँग जोडिनु आवश्यक छ। अन्ततः प्रविधि तब मात्र समानताको साधन बन्न सक्छ, जब यसले सबैलाई सशक्त बनाउने, आवाज दिने र समावेशी भविष्य निर्माण गर्ने दिशामा कार्य गर्छ।
माइक्रोसफ्टले तयार पारेको एआई डिफ्युजन रिपोर्ट (अक्टोबर २०२५) का अनुसार एआई मानव इतिहासको सबैभन्दा छिटो फैलिने प्रविधि बनेको छ। उक्त रिपोर्टले एआइको बिस्तार विद्युत्, कम्प्युटर र इन्टरनेटको गतिभन्दा पनि तीव्र रूपमा भएको छ। विश्वभर अहिले १.२ अर्बभन्दा बढी मानिसहरू कुनै न कुनै रूपमा एआई उपकरण प्रयोग गर्दैछन्। तर यो तीव्र विस्तारसँगै विश्व जनसंख्याको ठूलो हिस्सा एआइको पहुँचबाट वञ्चित छ।
प्रतिवेदनअनुसार संयुक्त अरब इमिरेट्स (५९.४ प्रतिशत), सिङ्गापुर (५८.६प्रतिशत) र नर्वे (५१.९ प्रतिशत) जस्ता देशहरूमा प्रयोग दर उच्च भए पनि उप–सहारा अफ्रिका, दक्षिण एसिया र ल्याटिन अमेरिकाका धेरै भागहरूमा यो दर १० प्रतिशतभन्दा तल छ। यो खाडलका मुख्य कारणहरू हुन् — पूर्वाधारको कमी (७० करोडभन्दा बढी मानिससँग अझै स्थायी बिजुली छैन), भाषिक असमानता (अधिकांश एआई मोडेलहरू र डिजिटल डेटा, सामग्री र प्राविधिक स्रोतहरू उच्च-स्रोत भनिने भाषामा उपलब्ध हुन्छन्), र डिजिटल पहुँचको अभाव (उपकरण र सीप दुवैको कमी)। माइक्रोसफ्टले चेतावनी दिएको छ कि यदि यी असमानता तुरुन्त सम्बोधन गरिएनन् भने एआइले विश्वलाई दुई भागमा विभाजन गर्न सक्छ — एउटा विश्व जहाँ प्रविधि र बुद्धिमत्ता तीव्र गतिमा अघि बढिरहेको हुनेछ र अर्को विश्व जहाँ मानिसहरू डिजिटल अन्धकारमा रहनेछन्।
शिक्षामा डिजिटल विभाजन आज तीन तहमा देखा परिरहेको छ। पहिलो तह पहुँचको विभाजन हो—कतिपय विद्यार्थी, विद्यालय र समुदायसँग कम्प्युटर, ट्याब्लेट वा भरपर्दो इन्टरनेट उपलब्ध छन्, तर अरूसँग छैनन्। दोस्रो तह सीप र प्रयोग क्षमताको विभाजन हो, जसमा उपकरण भए पनि शिक्षक र विद्यार्थीहरूले तिनलाई सिकाइमा प्रभावकारी रूपमा उपयोग गर्ने क्षमता राख्दैनन्। अहिले उत्पन्न हुँदै गएको तेस्रो तह भने एआई पहुँच र उपयोग क्षमतासम्बन्धी विभाजन हो। यसअन्तर्गत केही विद्यार्थी र विद्यालयहरूले एआई उपकरणहरूको प्रयोगबाट सिकाइलाई तीव्र, व्यक्तिगत र अनुकूलित बनाउन सक्छन्, तर यस प्रविधिबाट लाभ लिनको लागि धेरैको न त पहुँच हुन्छ, न त आवश्यक डिजिटल साक्षरता हुन्छ। यसरी, प्रविधि मात्र पर्याप्त हुँदैन। समान, न्यायपूर्ण र सशक्त सिकाइका लागि उपकरण, सीप र अर्थपूर्ण प्रयोग तीनै तहमा समानता आवश्यक छ।
प्रविधि स्वयं तटस्थ देखिए पनि यसको प्रयोग सामाजिक संरचनाले निर्देशित गर्छ, जसले पहुँच, प्रयोग र लाभको वितरणमा असमानता ल्याउँछ। जस्तो एआई-आधारित शिक्षण उपकरणहरू उच्च पहुँच भएका विद्यालय, क्षेत्र-समूहमा सहजै उपलब्ध र प्रभावकारी देखिन्छन्, तर युनेस्कोले भनेझैँ उपकरण, इन्टरनेट जडान र शिक्षक तालिममा असमान पहुँचका कारण कुनै क्षेत्र, वर्ग वा समूहले फाइदा लिन सकिरहेको हुँदैन।
एआई एल्गोरिदममा विद्यमान पूर्वाग्रह (बायस्) अर्को गम्भीर चिन्ताको विषय हो। धेरै एआई मोडेलहरू प्रमुख भाषा, संस्कृति र सामाजिक–आर्थिक सन्दर्भमा आधारित डाटाबाट प्रशिक्षण प्राप्त गरेका हुन्छन्, जसले अल्पसंख्यक समूहहरूलाई सीमान्तमा पुर्याउन वा रूढिगत धारणा बलियो पार्न सक्छ। युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले जोड दिएका छन् कि सुशासन, लगानी र नियमनका माध्यमबाट मात्र एआईलाई विभाजक होइन, ‘पुल’ को रूपमा रूपान्तरण गर्न सकिन्छ।
केही विद्वान के भन्छन् भने शिक्षामा एआईले कुनै प्रत्यक्ष शारीरिक हिंसा नगरेता पनि यसले संरचनात्मक र ज्ञानजन्य हिंसा (स्ट्रक्चरल एन्ड एपिस्टेमिक भायलेन्स) लाई जन्म दिन सक्छ। जब एआईका प्रणालीहरू प्रायः पश्चिमी ज्ञान, अंग्रेजी भाषा र व्यापारिक प्रलोभनमा आधारित हुन्छन्, तब तिनीहरूले स्थानीय ज्ञान, भाषा र सांस्कृतिक सन्दर्भहरूलाई ओझेलमा पार्छन्। विद्यार्थीहरूलाई मापनयोग्य तथ्यांकमा रूपान्तरण गर्दै एआईले सिकाइलाई मानवीय सम्बन्धभन्दा ‘डाटा’मा सीमित बनाउँछ। यसरी हेर्दा, एआईले शिक्षामा अदृश्य किसिमको हिंसा गर्न पुग्छ, जहाँ गति, दक्षता र नियन्त्रणलाई प्राथमिकता दिँदै संवेदना, सिर्जनशिलता र सन्दर्भगत चिन्तनको ह्रास हुन्छ। यस हिंसालाई रोक्न शिक्षाले एआईलाई विवेकहीन-उपकरण होइन, आलोचनात्मक चेतना र विविधताको अभ्यासको माध्यम बनाउनुपर्छ।
विश्वमा भएका केही उदाहरणले सकारात्मक सम्भावना देखाएका छन्। ल्याटिन अमेरिकामा, एआई–आधारित प्लेटफर्महरूले न्यून–आय भएका क्षेत्रमा बालबालिकाका लागि अनुकूलनशील (अडाप्टिभ) साक्षरता कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। केही अफ्रिकी मुलुकहरूमा योग्य शिक्षकको अभाव भएका स्थानहरूमा च्याटबटहरूले गणितका अतिरिक्त अन्य विषयहरूमा ट्युटोरियल उपलब्ध गराइरहेका छन्। यी उदाहरणहरूले देखाउँछन् कि सोचपूर्वक डिजाइन र प्रभावकारी निगरानी भए एआईले समावेशी शिक्षालाई सघाउन सक्छ। तर समानताको दृष्टिले केबल पहुँचलाई मात्र पर्याप्त मान्न सकिन्न। प्रतिनिधित्व, सांस्कृतिक सान्दर्भिकता र विद्यार्थीको आवाजबिना प्रविधि समावेशी हुन सक्दैन। यी कुराहरू सुनिश्चित भएनन् भने एआई केवल अर्को रूपको विभाजनकारी उपकरण बन्न सक्छ।
सारांशमा, हरेक देशको सार्वजनिक नीतिले एआईलाई शिक्षाको सामाजिक पूर्वाधारको हिस्सा मान्नुपर्छ। यदि प्रविधिलाई बजार शक्तिहरूमै सीमित गरियो भने यसले शक्ति र ज्ञानलाई पहिले नै विशेषाधिकार प्राप्त समूहहरूमा केन्द्रित गराउनेछ, जसले विद्यमान असमानतालाई घटाउने होइन, झनै बढाउनेछ। त्यसैले, एआईको समानता ल्याउने सम्भावना त्यसको शासन, लगानी र सांस्कृतिक रूपमा उत्तरदायी डिजाइनमा निर्भर हुन्छ।
संशयवादी दृष्टिकोण: परिवर्तनको आवरणमा निरन्तरता
संशयवादीहरूका अनुसार विद्यालयहरू असाधारण रूपमा प्रतिरोधपूर्ण संस्थाहरू हुन्। यिनीहरूमा सहजै परिवर्तन ल्याउन सकिन्न। चलचित्र, रेडियो, टेलिभिजन, कम्प्युटरदेखि इन्टरनेटसम्मका नयाँ प्रविधिहरू आए पनि कक्षाकोठाको संरचना मूलतः उस्तै रहेका छन्। उमेरका आधारमा विद्यार्थी समूहहरूको कक्षागत विभाजन, शिक्षक–केन्द्रित शिक्षण पद्धति र मानकीकृत परीक्षा प्रणाली, पाठ्यपुस्तक निर्देशित सिकाइजस्ता विशेषताहरू सदियौँदेखि रहँदै आएका छन्। झाओले यस निरन्तरतालाई ‘स्कुलिङको व्याकरण’ (ग्रामर अफ् स्कुलिङ) भनेर व्याख्या गरेका छन्, जसले देखाउँछ कि प्रविधिजन्य नवप्रवर्तनका बाबजुद विद्यालयको मूल संरचना रूपान्तरण हुन सक्दैन।
ऐतिहासिक प्रमाणहरूले पनि यो दृष्टिकोणलाई समर्थन गर्छन्। शैक्षिक सुधारहरूले प्रायः आमूल परिवर्तनको वाचा गर्छन्, तर नतिजा क्रमिक र सीमित देखिन्छ। एक विद्यार्थी–एक ल्यापटप कार्यक्रम, डिजिटल शिक्षण प्लेटफर्म र अनलाइन सामग्रीहरूले विद्यार्थीको संलग्नता बढाए पनि कक्षाकोठाको मूल गतिशीलता र मूल्यांकन प्रणालीमा खासै परिवर्तन ल्याउन सकेका छैनन्। संशयवादीहरूको तर्क छ कि एआई पनि यस्तै अर्को तह बन्न सक्छ। शिक्षण-सिकाइको आधारभूत स्वरूपलाई परिवर्तन नगरी प्रणालीभित्रका केही प्रक्रियाहरूमा सामान्य फेरबदल मात्र ल्याएर एआइको कथा टुंगिन सक्छ।
गार्डनर यस दृष्टिकोणप्रति सहमति जनाउँदै सांस्कृतिक, अभिभावकीय र सामाजिक अपेक्षाहरूले प्रायः विद्यालयका पारम्परिक संरचनालाई कायम राख्छन् भन्छन्। विद्यालय केवल सिकाइ स्थलमात्र होइन। यो त सामाजिकरण, प्रमाणीकरण र निरन्तरताका संयन्त्र पनि हो, जसले आमूल परिवर्तनविरुद्ध जडत्व (इनर्सिया) सिर्जना गर्छ। त्यसैले, जतिसुकै उच्चस्तरको एआई प्रणाली पनि संस्थागत, राजनीतिक र सामाजिक प्रतिरोधसँग जुध्न बाध्य हुन सक्छ, जसले यसको रूपान्तरण क्षमतालाई सीमित बनाउँछ।
यो प्रविधिप्रति निराशावादी दृष्टिकोण होइन, बरु यसले देखाउँछ कि शिक्षाको संरचनात्मक सुधार प्राविधिक मात्र होइन, सामाजिक चुनौती पनि हो। सामाजिक-सांस्कृतिक सवालहरूलाई ख्याल नगरी प्रविधिले मात्र शिक्षा सुधार हुन सक्दैन। संशयवादीहरूका लागि मूल प्रश्न एआईले शिक्षालाई रूपान्तरण गर्न सक्छ कि सक्दैन भन्ने होइन, बरु विद्यालय र समाजले त्यसलाई शिक्षामा रूपान्तरण गर्न दिने साहस राख्छन् कि राख्दैनन् भन्ने हो।
आलोचनात्मक दृष्टिकोण: निगरानी र कर्पोरेट नियन्त्रण
आशावादीहरू एआईको सम्भावनालाई उत्सवको रूपमा लिन्छन्। संशयवादीहरू सतही परिवर्तनप्रति चेतावनी दिन्छन् भने आलोचनात्मक दृष्टिकोणले एआईको प्रयोगमा निहित शक्ति, डेटा र नाफाको गतिशीलताबारे सचेत गराउँछ। एआई प्रणालीहरूले विद्यार्थीहरूका सिकाइ ढाँचा, व्यवहारगत प्रवृत्ति र सामाजिक अन्तरक्रियाका बारेमा यथेष्ट जानकारी संकलन गर्छन्। युनेस्कोले पटक–पटक चेतावनी दिएको छ कि यदि यी तथ्याङ्कलाई व्यापारिक वस्तुका रूपमा प्रयोग गरियो वा दुरुपयोग गरियो भने विद्यार्थीहरू सिकाइ होइन, निगरानीका लागि अनुकूलित प्रणालीका वस्तुमा रूपान्तरण हुन सक्छन्।
कर्पोरेट प्रभावले यस समस्यालाई झनै गम्भीर बनाउँछ। विश्वका केही ठूला शैक्षिक प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरूले एआई उपकरण विकास, पाठ्यक्रम वितरण प्लेटफर्म र अनुकूलनशील शिक्षण सफ्टवेयरको बजारमा वर्चस्व जमाउँदै गएका छन्। झाओका अनुसार निजी क्षेत्रको यस्तो केन्द्रीकृत नियन्त्रणले विद्यार्थीले के सिक्ने, कसरी सिक्ने, कसरी मूल्याङ्कन हुने र कसरी पुरस्कृत हुने भन्ने निर्धारण गर्ने खतरा बढाउँछ। यस अवस्थाले शिक्षा नै वस्तुकरण हुँदै बजारमुखी हितका लागि अनुकूलित हुन्छ, जसले नैतिक, समालोचनात्मक र सिर्जनात्मक क्षमताको विकासलाई पछाडि पार्छ।
एआइबारे वर्तमान नीतिगत अनिश्चितताले यस जोखिमलाई अझ बढाएको छ। केही विद्यालयहरूमा एआई प्रयोगमाथि प्रतिबन्ध लगाउने र अन्यत्र बिना नियमन प्रयोगको अनुमति दिने सरकारी द्वैध नीतिले जानेर होस् वा नजानेर निजी कम्पनीका प्लेटफर्महरूलाई सिकाइका मापदण्ड निर्धारण गर्ने अधिकार दिएको छ। जहाँ नियमहरू अस्पष्ट वा कार्यान्वयन कमजोर रहन्छन्, त्यहाँ विद्यार्थी र शिक्षकहरू निजी क्षेत्रको स्वामित्वयुक्त एआई उपकरणमा बढी निर्भर हुन्छन्, जसले शैक्षिक शक्ति झनै कर्पोरेसनहरूको हातमा केन्द्रित गर्छ।
विश्वका विभिन्न उदाहरणहरूले यी चिन्तालाई स्पष्ट गर्छन्। अनुकूलनशील शिक्षण प्लेटफर्महरूले प्रायः व्यावसायिक सामग्री वा मानकीकृत मापदण्डलाई प्राथमिकता दिन्छन्, फलतः सांस्कृतिक रूपमा सान्दर्भिक वा वैकल्पिक शिक्षण दृष्टिकोणलाई ओझेलमा पार्छ। एआई–आधारित निगरानी प्रणालीहरूले विद्यार्थीको उपस्थितिदेखि लिएर संलग्नता र भावनात्मक प्रतिक्रियासम्म निगरानी गर्न सक्छन्, जसले गम्भीर नैतिक प्रश्नहरू खडा गर्छ। तथ्याङ्क–आधारित विद्यार्थी मूल्याङ्कनले ‘एल्गोरिदमलाई सन्तुष्ट पार्ने शिक्षण’लाई प्रोत्साहन गर्न सक्छ, जसले विद्यार्थीको समग्र विकासलाई सीमित बनाउँछ।
आलोचनात्मक दृष्टिकोणबाट हेर्दा के सिक्न सकिन्छ भने मजबुत शासन, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वबिना एआईले लोकतन्त्र, समानता र नागरिक शिक्षालाई कमजोर पार्ने खतरा रहन्छ। युनेस्कोको जोड छ कि नीतिनिर्माताहरूले एआईलाई सार्वजनिक हितका रूपमा शिक्षा प्रणालीमा एकीकृत गर्नुपर्छ, जसबाट प्रविधिगत नवप्रवर्तनलाई नैतिक, सांस्कृतिक र सामाजिक प्राथमिकतासँग सन्तुलनमा राख्न सकियोस्।
प्रविधि–प्रधान चरम दृष्टिकोण: विद्यालयहरूको अप्रासंगिकता
अधिक बजारमुखी र कट्टर दृष्टिकोणले एआईलाई परम्परागत विद्यालय र शिक्षकको विकल्पका रूपमा हेर्छ। यस धारणा अनुसार एआई ट्युटरहरूले मानव शिक्षकले भन्दा धेरै प्रभावकारी रूपमा सिकारुलाई व्यक्तिगत शिक्षण प्रदान गर्न सक्छन्। यस दृष्टिमा विद्यार्थीहरू घरमै वा भर्चुअल वातावरणमा पूर्ण रूपमा एआईबाट सिक्न सक्छन्। यो अवस्थामा शिक्षण-सिकाइसम्बन्धि सम्पूर्ण कामका अतिरिक्त मूल्याङ्कन, अंक प्रदान र प्रमाणपत्र प्रदान गर्ने काम पनि स्वचालित हुनेछन्। सरकारहरू शिक्षा प्रदान गर्ने जिम्मेवारीबाट पछि हट्नेछन् र शिक्षालाई बजार–आधारित दक्षता-केन्द्रित तर्कका आधारमा बजारिया शक्तिहरूले जिम्मा लिनेछन।
यो चरम दृष्टिकोण मुख्यतः नाफामुखी शैक्षिक प्रविधिको क्षेत्रमा काम गर्ने (एडटेक) कम्पनीहरूले प्रवर्द्धन गर्छन्। उनीहरूका अनुसार परम्परागत शिक्षाका कमजोरीहरू;
उच्च ड्रपआउट दर (विद्यालय छोड्ने प्रवृत्ति), गुणस्तरमा ह्रास वा असमानता र शिक्षकको कथित अक्षमतालाई पूर्ण स्वचालनको माध्यमद्वारा व्यवस्थित गर्न एआईको प्रयोगमार्फत गर्न सकिन्छ। उनीहरू एआईलाई शिक्षाको अन्तिम समाधानको रूपमा चित्रण गर्छन्। एआईले बिना थकान, बिना पूर्वाग्रह र बिना मानवीय सीमितता लाखौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्न सक्छ।
तर यो दृष्टिकोण गम्भीर रूपमा समस्याग्रस्त छ। गार्डनरले जोड दिएका छन् कि मेसिनले सहानुभूति, नैतिक विवेक वा सामाजिक बुझाइजस्ता मानवीय क्षमता विकास गर्न सक्दैन। यी कुराहरू नै शिक्षाको आत्मा हुन्। झाओको विचारमा सिकाइलाई केवल दक्षतामा सीमित गर्दा यस्तो पुस्ता तयार हुन सक्छ, जो निर्देशन पालना गर्न त सक्षम हुन्छ, तर सिर्जनात्मक सोच, नैतिक निर्णय वा नागरिक सहभागितामा कमजोर हुन्छ। युनेस्कोको जोड छ कि शिक्षा सार्वजनिक वस्तु हो र यसलाई निजी कम्पनीहरूको हातमा सुम्पिनु असमानता र बजारीकरणलाई गहिरो बनाउनु हो।
वर्तमान नीतिगत अनिश्चितता र अव्यवस्थित नीतिगत परिवेशले कतिपय सन्दर्भमा यो चरम सम्भावनालाई अझ यथार्थ बनाइरहेको छ। जहाँ नियम अस्पष्ट छन्, त्यहाँ अनियन्त्रित एआई प्रयोगले स्वतः ‘प्रविधि–प्रधान’ मोडेल हाबी हुन सक्छ, जसले व्यावसायिक प्लेटफर्मलाई प्राथमिकता दिन्छ र शिक्षकको भूमिकालाई कमजोर बनाउँछ। विद्यार्थीहरूलाई एआई उपकरण त उपलब्ध हुन्छन्, तर शिक्षकको अभावमा मार्गदर्शन, परामर्श र नैतिक सन्दर्भको अभाव रहन्छ।
यो दृष्टिकोण केही लगानीकर्ता र नीतिनिर्माताहरूलाई आकर्षक लाग्न सक्छ, तर यो खतरनाक हुन सक्छ। यसले समानता, नैतिकता र मानवीय विकासभन्दा नाफा र दक्षतालाई प्राथमिकता दिन्छ, जसले शिक्षाको सामाजिक, नागरिक र सम्बन्धमूलक उद्देश्यहरूलाई कमजोर पार्न सक्छ।
सन्तुलित बाटो: सुरक्षा नीतिसहितको सहकार्य
चरम दृष्टिकोणको विपरीत, सन्तुलित दृष्टिकोणले एआईलाई प्रतिस्थापन होइन, सहयोगीका रूपमा हेर्छ। यसले शिक्षण सिकाइसँग प्रविधिलाई एकीकृत गर्दै विद्यालयको मानवीय, नैतिक र नागरिक पक्षलाई जोगाउने प्रयास गर्छ। एआईले प्रशासनिक कामहरू स्वचालित गर्न, विद्यार्थीलाई अनुकूल प्रतिक्रिया दिन र व्यक्तिगत रूपमा सहयोग पुर्याउन सक्छ। यसबाट शिक्षकहरूलाई मार्गदर्शन, नैतिक परामर्श र सहकार्यात्मक सिकाइ अनुभवहरूमा ध्यान केन्द्रित गर्न समय दिन्छ।
यदि शिक्षाले एआईलाई केवल खतरापूर्ण भन्दै बेवास्ता गर्यो वा यसको प्रयोग निजी कम्पनीहरूको हातमा छाड्यो भने शिक्षाले आफ्नो सार्वजनिक चरित्र र मानवीय उद्देश्य गुमाउनेछ। एआईको प्रवेश अपरिहार्य भइसकेको छ, त्यसैले प्रश्न एआईले शिक्षालाई बदल्छ कि बदल्दैन भन्ने होइन, असली प्रश्न के हो भने के शिक्षाले एआईलाई मानवीयता, समावेशिता र सिर्जनात्मकताको दिशामा मोड्न सक्नेछ?
गार्डनरका अनुसार शिक्षाको मुख्य उद्देश्य सिर्जनशिलता, नैतिक तर्क र आत्म–चिन्तनजस्ता क्षमताहरू विकास गर्नु हो, जुन कुरा मेसिनले पूरा गर्न सक्दैन। झाओको पनि यही विचार छ कि विद्यार्थीहरू सक्रिय सिकाइको भागीदार रहनुपर्छ। एआईले उत्पन्न गरेका विचारहरूलाई अन्धाधुन्ध रूपमा नस्विकारी तिनको आलोचनात्मक मूल्याङ्कन र प्रयोग गर्न सिक्नुपर्छ, केवल मेसिनको सुझाव पछ्याउने होइन।
युनेस्कोका अनुसार एआईको प्रयोग समान पहुँच, समावेशिता र सांस्कृतिक सान्दर्भिकताका सिद्धान्तले निर्देशित हुनुपर्छ। व्यावहारिक रूपमा यसको अर्थ यस्तो उपकरण विकास गर्नु हो, जो केवल सिकाइ शैली र गति अनुसार मात्र होइन, भाषिक, सांस्कृतिक र सामाजिक सन्दर्भ अनुसार पनि अनुकूलित होस्। यसो भएमा शिक्षकहरूले शिक्षणलाई सन्दर्भानुकूल र अर्थपूर्ण बनाउन सक्छन्। नैतिक मानदण्ड, एल्गोरिदमको पारदर्शिता र सार्वजनिक निगरानीले एआईले शिक्षाको गुणस्तर घटाउने होइन, बढाउने काम गर्छ भन्ने कुरा सुनिश्चित गर्न सकिन्छ।
सन्तुलित पद्धतिका उदाहरणहरू विश्वभर देखा पर्न थालेका छन्। सिंगापुर र फिनल्यान्डका विद्यालयहरूले एआई–सहायक शिक्षणलाई मानवीय नेतृत्वमा आधारित परियोजनासँग संयोजन गरेका छन्, जसले वास्तविक समयको मूल्याङ्कनमार्फत सिकाइका कमजोरी पत्ता लगाउँछ। सिर्जनशिलता, सहकार्य र समस्या समाधानका अवसरहरू खुला राख्छ। अफ्रिकाका केही क्षेत्रमा एआईले साक्षरता र अंकगणितको शिक्षणमा सहयोग पुर्याउँछ, जहाँ प्रशिक्षित शिक्षकहरूले परामर्श र सामाजिक–भावनात्मक मार्गदर्शन प्रदान गर्छन्।
सन्तुलित दृष्टिकोणले वर्तमान नीतिगत अन्योललाई प्रत्यक्ष सम्बोधन गर्छ, जसले प्रविधिक नवप्रवर्तनलाई स्वीकार गर्दै नैतिक मापदण्ड, मानवीय स्वायत्तता र समावेशितालाई पनि समान महत्त्व दिन्छ। यसरी प्रयोग गरिएको एआई सशक्तीकरणको साधन बन्न पुग्छ। यसले शिक्षकको भूमिकालाई सुदृढ बनाउँछ, विद्यार्थीको स्वायत्तता र सक्रियता बढाउँछ, र सिकाइका परिणामहरूलाई अझ अर्थपूर्ण, न्यायपूर्ण र सर्वसमावेशी बनाउँछ।
सिकाइको भविष्य निर्माण गर्दै
हालका वर्षहरूमा एआईले शिक्षालाई गहिरो रूपमा पुनः परिभाषित गरिरहेको छ। यसले शिक्षामा अभूतपूर्व अवसरहरूका साथै गम्भीर जोखिमहरू पनि प्रस्तुत गरेको छ। सिकाइलाई व्यक्तिगत बनाउन, पहुँच विस्तार गर्न र शिक्षकलाई सहयोग गर्न यसको क्षमता निर्विवाद छ, तर सावधानीपूर्वक नियमन गरिएन भने यसले असमानता बढाउन, सिकाइलाई व्यापारिक वस्तुमा रूपान्तरण गर्न र सिर्जनशिलता, नैतिक तर्कशक्ति र सामाजिक बुझाइजस्ता आवश्यक मानवीय क्षमताहरू कमजोर पार्न सक्छ।
तर ख्याल गर्नुपर्ने कुरा के हो भने वास्तविक चुनौती प्रविधिमा होइन, त्यसबारे नीति नियम बनाउने, व्यवस्थापन गर्ने, तालिम दिने र त्यसलाई प्रयोगमा ल्याउनेहरू हुनसक्छ। एआईलाई विचारपूर्वक एकीकृत गर्न नवप्रवर्तनलाई मानवीय निर्णय, समानता र नैतिक जिम्मेवारीसँग सन्तुलनमा राख्नु आवश्यक छ। विद्यालय र विश्वविद्यालयले केवल ज्ञानको वितरण मात्र होइन, चरित्र, आलोचनात्मक सोच र जटिल सामाजिक तथा नैतिक परिस्थितिहरूमा मार्गदर्शन गर्ने क्षमता पनि विकास गराउने संस्थाका रूपमा रहनुपर्छ।
एआईद्वारा बिस्तारै नियन्त्रित बन्दै गएको संसारमा शिक्षाले आफ्नो मौलिक उद्देश्यलाई पुनः स्थापित गर्नुपर्छ। सार्वजनिक हितका रूपमा मानव क्षमतालाई विकास गर्ने, स्वतन्त्र सोच र जिम्मेवारीलाई प्रवर्द्धन गर्ने र समाजमा अर्थपूर्ण योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षाका मूलभूत कार्य हुन्। सफलताको मार्ग प्रविधिलाई आत्मसमर्पण गर्नु वा कठोर प्रतिबन्ध लगाउनु होइन, बरु यस्तो प्रणाली निर्माण गर्नु हो, जसले मानव क्षमतालाई प्रवर्धन गर्छ, नैतिक सिद्धान्तको रक्षा गर्छ र सबै सिक्नेहरूका लागि समावेशी पहुँच सुनिश्चित गर्छ। अन्ततः कल्पना शक्ति र सिर्जनात्मकता मानवका प्राकृतिक गुणहरू हुन्, जुन कुनै पनि मेसिनले कहिल्यै हासिल गर्न सक्दैन।
एआई युगमा शिक्षा केवल ज्ञान हस्तान्तरणको प्रक्रिया होइन, मानवता, सोच र मूल्यलाई पुनः परिभाषित गर्ने अभ्यास हो। अब विद्यार्थीले तथ्य सम्झनुभन्दा पनि सोच्न, प्रश्न गर्न र एल्गोरिदमले नदेख्ने अर्थ खोज्न सिक्नुपर्छ। जब प्रविधिले उत्तर सजिलै दिन सक्छ, शिक्षाको सार प्रश्न सोध्ने क्षमतामा निहित हुन्छ। एआई युगको शिक्षा प्रविधिको शक्ति र मानवीय संवेदनाको सन्तुलनमा टिकेको हुन्छ। सिकाइमा कृत्रिम बुद्धिमत्ताले ज्ञान प्रदान गर्ने, विश्लेषण गर्ने र व्यक्तिगत सहायताजस्ता शक्तिशाली सम्भावनाहरू ल्याएको हुन्छ, तर शिक्षा केवल प्रविधिको गतिमा मात्र निर्भर हुन सक्दैन। विद्यार्थीलाई बुझ्ने, प्रेरित गर्ने, मूल्य र सहानुभूति विकास गर्ने काम अझै पनि मानिस—विशेषतः शिक्षकको भूमिकामा निर्भर गर्छ। त्यसैले आजको शिक्षा प्रणालीले मेसिनद्वारा सम्भव दक्षताहरू र मानवद्वारा सम्भव संवेदनात्मक गुणहरूबीच उपयुक्त सन्तुलन खोज्नु अर्को ठूलो चुनौती र अवसर दुवै बनेको छ।
मानवीय शिक्षाको सौन्दर्य सोच्ने, रोकिने र महसुस गर्ने क्षमतामा निहित हुन्छ। शिक्षामा एआईलाई मानवीय बनाउनुको अर्थ नै सिकाइको यो ‘मन्द गति’लाई जोगाउनु हो, जहाँ विद्यार्थीले आफ्ना प्रश्नहरूलाई छुन, अनुभवलाई बुझ्न र सन्देहमा बस्न समय पाउँछन्। जब हामी एआईलाई केबल छिटो उत्तर दिने उपकरण होइन, विचार र संवादको सहयात्री बनाउँछौँ, तब शिक्षामा संवेदनशीलता फर्किन्छ। मानवीय शिक्षाले दक्षतालाई होइन, अर्थलाई केन्द्रमा राख्छ—त्यही क्षणमा, एआई पनि मानवीय हुन्छ।
शिक्षामा एआईलाई सही दिशामा लैजान अब नीतिनिर्माता, शिक्षक, प्रविधि निर्माणकर्ता र प्रयोगकर्ताहरूको साझा बुद्धिमत्तापूर्ण समझदारी आवश्यक छ। प्रविधि विकास र प्रयोगको सम्पूर्ण प्रक्रियामा मानव कल्याण, गोपनीयता, समानता र समावेशिताको रक्षा हुने गरी नैतिक मार्गदर्शन सुनिश्चितता गर्नुपर्छ। नीतिनिर्माताले प्रविधिलाई मानवीय मूल्यसँग सन्तुलित गर्ने नीति बनाउनुपर्छ, जसले शिक्षामा समानता र पहुँच सुनिश्चित गरोस्। शिक्षकहरूले एआईलाई सिर्जनशिलता र संवादको सहयोगीको रूपमा प्रयोग गर्न सिकाउनुपर्छ, प्रतिस्थापनको रूपमा होइन। प्रयोगकर्ताहरू—विद्यार्थी र नागरिकले एआईसँग आलोचनात्मक चेतना र जिम्मेवारीपूर्वक व्यवहार गर्न जान्नुपर्छ। अन्ततः, एआईको प्रयोग केवल प्राविधिक होइन, नैतिक निर्णय पनि हो। जब हामी यसलाई संवेदनशीलता, पारदर्शिता र न्यायका मूल्यका आधारमा गर्छौँ, तब मात्र एआई शिक्षाको सहयात्री बन्न सक्छ, देवता होइन।
(लेखक डा. बिष्ट त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक तथा युनेस्कोका शिक्षाविज्ञ हुन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
