जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी-२० लिगको फाइनलमा

लुम्बिनीले दिएको १४३ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमा समेटियो।

काठमाडौँ- लुम्बिनी अलस्टार नेपाल टी-२० लिगको फाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी उपाधिनजिक पुगेको हो।

लुम्बिनीले दिएको १४३ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमा समेटियो। जनकपुरका समिउल्लाह शिनवारीले सर्वाधिक ४५ रन बनाए।

उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफ १९ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे।

ओपनर शराफुद्दीन अशरफले १९ बलमा ४ चौका र १ छक्कासहित २४ रन बनाए। राजु पुलामी १३ र कप्तान ट्रेभोन ग्रिफिथ १० रनमा आउट भए।

लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले २/२ विकेट लिए। शैडली भ्यान शल्कविकको नाममा १ विकेट रह्यो।

त्यसअघि टीयु क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो। लुम्बिनीका इशान पाण्डे सर्वाधिक ३८ रन बनाए। उनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

अनिल शाहले २६ बलमा २ चौकासहित २४ रन बनाए। विपुल शर्मा २०, शैडली भ्यान शल्कविक १७ र लाहिरू मिलन्था १६ रनमा आउट भए।

अशन प्रियजन, सोमपाल कामी र जितेन्द्र मुखियाले २/२ विकेट लिए।  ट्रेभोन ग्रिफिथ र पवन सर्राफको नाममा १/१ विकेट रह्यो।