ब्रान्डको पासोमा परेका ती गांगुली, फुक्काफाल यी पारस

बीसीसीआई अध्यक्ष रहँदा केही ब्रान्डको विज्ञापनमा देखिएपछि भारतका पूर्वकप्तान गांगुलीले पद छाड्नुपर्‍यो। क्यानको नेतृत्व तहमै रहेका पूर्वकप्तान पारस भने प्रश्न उब्जाउने गरी निरन्तर ब्रान्ड प्रवर्द्धनमा छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनताका एउटा विज्ञापन खुबै छाएको थियो। एनपीएलका प्रत्येक खेल प्रत्यक्ष प्रसारण भइरहँदा ओभर, विकेट र हरेक ब्रेकमा त्यही विज्ञापन बज्थ्यो। यसबाहेक टेलिभिजन र अन्य डिजिटल प्लाटफर्महरूमा समेत त्यो विज्ञापन छ्याप्छ्याप्ती थियो।

चिनियाँ अटोमोबाइल कम्पनी ‘चंगन’ले उत्पादन गरेको, चंगन अटो नेपालले भित्र्याएको चिनियाँ इलेक्ट्रिक भेइकल (ईभी) ‘डिपल एसओसेवेन’को विज्ञापन थियो त्यो। मूल्य ७५ लाख रूपैयाँबाट शुरू हुने यो गाडी सुविधा र फिचरले जति चर्चामा थियो, नेपाली क्रिकेट टिमका पूर्वकप्तान, नेपाल क्रिकेट संघ (क्यान) का सचिव र एनपीएल परिचालन परिषद्का संयोजक पारस खड्का स्वयं ‘ब्रान्ड एम्बेस्डर’ बनेर मोडलिङ गरेकै विज्ञापनले एनपीएलको चुलिँदो क्रिकेट माहोलमा झन् धेरै चर्चा पायो।

चंगन अटो नेपालले २०८१ असोज ९ गते पारसलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको थियो, त्यति बेला उनी क्यान सचिवका रूपमा एनपीएल परिचालन परिषद् संयोजकको असाध्यै व्यस्त जिम्मेवारीमा थिए। पारस अहिले डिपल एसओसेवेन चढ्छन्, यसको ब्रान्ड एम्बेस्डर यथावत छन् र यो ईभीको प्रबर्द्धनमा पनि बारम्बार सहभागी भइरहेका छन्।

एनपीएलको दोस्रो सिजन सोमबारदेखि शुरू हुँदैछ। त्यसको चार दिनअघि, बिहीबार मात्र काठमाडौँको सोल्टी होटलमा आयोजित कार्यक्रममा पारसलाई भारतीय टायल ब्रान्ड ‘सोमानी सेरामिक्स’ले नेपाल तथा दक्षिणपूर्वी एशियाको ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ। एनपीएल तयारीमा व्यस्त उनी त्यहाँ पुगेर ब्रान्ड प्रबर्द्धनमा लागिपर्ने वाचा नै गरे।

नेपाली क्रिकेटको स्वर्णिम भनिने पुस्ताका पनि सम्भवतः सर्वाधिक सफल कप्तान/खेलाडी पारसको खेल जीवन यति लोभलाग्दो रह्यो, जसबाट उनको स्टार छवि निर्माण भएको छ। यस्तो छवि, जसले पछिल्लो पुस्तालाई क्रिकेटमा तानिरहेको छ, नेपाली क्रिकेटप्रतिको क्रेज र फ्यान–फलोइङ बढाएको छ। यही स्टारडमले उनलाई खेलाडी जीवनबाट सन्यासलगत्तै क्रिकेटको नियामक निकाय क्यानको कार्यकारी पद (सचिव) मा निर्वाचित गरायो।

२०८० असोज ६ गते क्यान सचिव निर्वाचित भएका पारस त्यसको एक वर्षपछि देशकै ठूलो फ्रेन्चाइजी प्रतियोगिता एनपीएलबारे सबै निर्णय लिने कार्यकारी भूमिका (एनपीएल परिचालन परिषद् संयोजकको जिम्मेवारी) मा पुगे। पारस यति बेला त्यो ठाउँमा छन्, जहाँबाट चाँडै क्यानको नेतृत्व गर्ने (अध्यक्ष बन्ने) बाटोमा लम्किइरहेका छन्।

स्टारडम अनि क्रिकेट समर्थकहरूको अपार समर्थन पाइरहेका पारसलाई अनुबन्ध गर्न चर्चित ब्रान्डहरूले तँछाडमछाड नगर्ने कुरै भएन। त्यसैले त क्रिकेट नियामक निकायको कार्यकारी भूमिकामा रहेर पनि उनलाई विभिन्न ब्रान्डहरूको प्रबर्द्धन गर्न भ्याइनभ्याइ छ। जस्तो, पारस अहिले एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डर छन्। गत भदौमा आयोजित नाडा अटोमोबाइल शोमै उनलाई केपीआई हेल्मेटको अफिसियल ब्रान्ड एम्बेस्डर घोषित गरियो। रेष्टुरेन्ट चेन ‘जिम्बु थकाली’का ब्रान्ड एम्बेस्डर उनी ‘पारससँग डिनरको अवसर’लाई निरन्तर समय दिइरहेका छन्। इन्टरनेट सेवाप्रदायक कम्पनी वाइफाई नेपाल, स्मार्टफोन भिभो भी६० र विभिन्न ब्रान्डका ल्यापटप तथा एसेसरिज बिक्री गर्ने नियोटेरिक नेपालका ब्रान्ड एम्बेस्डर पारस म्याजिक फुटवेयर, प्रिमियर स्टिललगायत थुप्रै ब्रान्ड प्रबर्द्धनमा पनि संलग्न छन्।

पारसप्रति चर्चित ब्रान्डहरूको आकर्षण उनको खेलाडी जीवनदेखि नै थियो। तर अहिले खेलाडी जीवनबाट सन्यास लिएर क्रिकेटको नियामक निकायमा, त्यो पनि कार्यकारी भूमिकामा छन्। यसबाट स्वाभाविक प्रश्न उठ्छ, क्रिकेटको नियामक निकायको कार्यकारी भूमिकामा रहेका र चाँडै नेतृत्व गर्ने बाटोमा लम्किरहेका पदाधिकारी अमुक ब्रान्डका ब्रान्ड एम्बेस्डर बनेर अनेक ब्रान्डको प्रबर्द्धन गर्ने काममा संलग्न हुन मिल्छ?

यो प्रश्नको ठ्याक्कै कानूनी उत्तर पाउन गाह्रो छ। किनभने क्यानकै विधान वा अन्य कानूनी व्यवस्थाले क्यानका पदाधिकारी ब्रान्ड प्रबर्द्धनमा संलग्न हुन पाउने वा नपाउने भनेर बोलेका छैनन्। यसमा भारतीय क्रिकेट र बोर्ड अफ क्रिकेट कन्ट्रोल इन इन्डिया (बीसीसीआई) को अभ्यास सबैभन्दा उपयुक्त हुनसक्छ। क्रिकेट दुनियाँको महारथी भारत विश्व क्रिकेटमा उदाहरण ‘सेट’ गर्ने त्यो मुलुक हो, जसले विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पनि आफ्नो ‘डोमिनेसन’मा राखेको छ। क्रिकेटका हरेक सवालमा यो मुलुक नेपाली क्रिकेटको ‘आइडल’ त जहिल्यै छ।

क्यानको नेतृत्वमा पुग्न प्रयत्नरत पारसको जस्तो स्टारडम छवि छ, भारतमा कुनै बेला सौरभ गांगुलीको छवि ठ्याक्कै यस्तै थियो। बायाँहाते स्टार ब्याटर, आफ्नो समयका सम्भवतः सर्वाधिक सफल कप्तान गांगुली जसरी क्रिकेट एसोसिएसन अफ बंगाल (सीएबी) बाट बीसीसीआई अध्यक्षमा पुगेका थिए, पारस पनि बागमती प्रदेश क्रिकेट संघबाटै क्यानको नेतृत्व तहमा पुगेका हुन्।

२०१९ अक्टोबरमा बीसीसीआईको अध्यक्ष चुनिएपछि गांगुलीले स्टारडमकै बलमा के गरे, अनि के भोगे हेरौँ।

२०२२ अक्टोबर ६ मा गृहमन्त्री अमित शाहले भारतीय क्रिकेटको व्यवस्थापन–प्रशासनमा कहलिएका एक से एक हस्तीहरूलाई आफ्नो निवासमा निम्त्याएका थिए। त्यो बैठकको अजेन्डा इन्डियन प्रिमियर लिग (आईपीएल) का नयाँ अध्यक्ष र बीसीसीआईका अन्य पदाधिकारी चयनबारे थियो।

बैठकमा भारतीय क्रिकेटका दिग्गजहरू पुगेका थिए। जस्तो, केन्द्रीय खेलकुदमन्त्री अनुराग ठाकुर, उनका भाइ एवं बीसीसीआई कोषाध्यक्ष अरुण धुमल, बीसीसीआईका पूर्वअध्यक्ष एन श्रीनिवासन, कंग्रेस नेता राजीव शुक्ल, आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मासँगै पूर्वभारतीय क्रिकेट कप्तान तथा बहालवाला बीसीसीआई अध्यक्ष सौरभ गांगुली पनि थिए। अनि आईपीएलका बहालवाला अध्यक्ष वृजेश पटेल, बीसीसीआईका पूर्वसेक्रेटरी निरञ्जन शाह तथा बीसीसीआईका बहालवाला सेक्रेटरी जय शाह पनि उपस्थित थिए।

क्रिकेटका यति धेरै हस्तीहरू उपस्थित बैठक करिब दुई घण्टा चलेपछि धेरैजना निश्चिन्त भइसकेका थिए– बीसीसीआईमा गांगुलीको इनिङ्स अब टुंगियो। करिब एक दशकअघि जसरी गांगुलीको खेलाडी करिअर समाप्त भएको थियो, त्यसैगरी बीसीसीआई अध्यक्षका रूपमा उनको अर्को इनिङ्स पनि समाप्त हुने सार्वजनिक चर्चा नै भयो। सञ्चारमाध्यममा खबर छ्याप्छ्याप्ती भए। अनि १३ अक्टोबरमा कोलकातामा आयोजित एक कार्यक्रममा यसलाई सांकेतिक, तर प्रष्ट रूपमा पुष्टि गर्दै गांगुलीले भने, “तिमी सधैँका लागि खेल्न सक्दैनौ र सधैँका लागि क्रिकेट प्रशासनमा रहन पनि सक्दैनौ।”

खासमा त्यस दिनको बैठकमा के भएको थियो, जसले गांगुलीलाई हठात् बीसीसीआईको अध्यक्षबाट हट्ने अवस्था ल्याइदियो? न्यूजलान्ड्रीमा १३ अक्टोबरमा प्रकाशित रिपोर्टअनुसार बीसीसीआईका पूर्वअध्यक्ष श्रीनिवासन दुनियाँको सबैभन्दा धनी क्रिकेट संस्थालाई बदनाम गरेको भन्दै गांगुलीमाथि खनिएका थिए। त्यस क्रममा श्रीनिवासनले भारतीय क्रिकेटको इतिहासमा पहिले कहिले पनि बीसीसीआई अध्यक्षले क्रिकेट खेलभन्दा आफ्नो ब्रान्डलाई ‘इन्डोर्स’ नगरेको भन्दै गांगुलीको चर्को आलोचना गरे।

श्रीनिवासन त्यतिमै रोकिएनन्, उनले अब आफू र आफ्नो समूहले फेरि कहिले पनि गांगुलीलाई क्रिकेटको शीर्ष पदका लागि समर्थन गर्नै नसक्ने घोषणा गरे। उनको यो घोषणाले गांगुली बीसीसीआईको अध्यक्षबाट बाहिरिएपछि आईसीसीको अध्यक्ष बन्ने बाटो पनि बन्द गरिदिएको संकेत गरेको थियो। नभन्दै त्यही भयो, गांगुली बीसीसीआईबाट बाहिरिएपछि आईसीसी अध्यक्ष बन्न पाएनन्।

बीसीसीआई अध्यक्ष बनेपछि गांगुलीमाथि लागेको मुख्य आरोप उनले आफ्नो व्यक्तिगत ब्रान्डिङका लागि बीसीसीआईको हितलाई तिलाञ्जली दिए भन्ने थियो। रिपोर्टअनुसार, गांगुली बीसीसीआईका ती पहिलो अध्यक्ष थिए, जो विभिन्न व्यापारिक उत्पादनको प्रबर्द्धनमा लागेका तस्वीर सार्वजनिक भइरहेका थिए। बीसीसीआईका कुनै पनि अध्यक्षले गर्ने यस्तो काम पदीय हिसाबले सिधा स्वार्थको द्वन्द्व मानिन्थ्यो।

जब गांगुलीले गेमिङ एप ‘माइइलेवेनसर्कल’को समर्थन गर्दै त्यसको प्रबर्द्धनमा आफूलाई उभ्याए, अनि सबै सीमा पार गरेको अर्थ लाग्यो। त्यस बेला बीसीसीआईले भारतीय क्रिकेट टोलीको प्रमुख प्रायोजकका रूपमा गेमिङ वेबसाइट ‘ड्रिमइलेवेन’सँग सम्झौता गरिसकेको थियो। गांगुली जुन कम्पनी–ब्रान्डको प्रबर्द्धनमा देखिएका थिए, त्यो स्वयंमा विवादित कम्पनी मानिन्थ्यो। उनको यस्तो कदमपछि विराट कोहलीलगायत सबै वर्तमान तथा पूर्वक्रिकेट खेलाडीका लागि यस्ता विवादित कम्पनीका ब्रान्ड प्रबर्द्धनमा लाग्ने बाटो खुलेको थियो, जसले श्रीनिवासनसहितको ‘बीसीसीआई’ टिमलाई क्रुद्ध बनाएको थियो।

क्रिकेट नियामकको नेतृत्वमा रहेर पनि ब्रान्ड प्रबर्द्धनमार्फत् आर्थिक आर्जनको लोभ त्याग्न नसक्दा गांगुलीले बीसीसीआई अध्यक्षको पदसँगै आईसीसीको अध्यक्ष बन्ने अवसर गुमाए। त्यस बेला भारतमा ‘नियामकको पद र आर्थिक उपार्जनका गतिविधि सँगसँगै जान नसक्ने भएकाले सचिन तेन्दुलकरले बीसीसीआईमा बस्ने चाहना नराखेको’ टिप्पणीसमेत चुलिएको थियो। हुन पनि भारतमा ‘गड अफ क्रिकेट’का रूपमा लिइने तेन्दुलकर आफ्नो एसआरटी स्पोर्ट्स् मेनेजमेन्ट प्रालिका गतिविधिमै केन्द्रित छन्, जसले तेन्दुलकरका सबैखाले सामाजिक तथा व्यापारिक–व्यावसायिक गतिविधि सञ्चालन गर्छ।

भारत र नेपाल, त्यसमा पनि क्रिकेट र नियामकको अवस्था तुलना गर्न नसकिएला। नियामकको भूमिकामै रहेर व्यक्तिगत लाभ निम्ति ब्रान्ड प्रबर्द्धनमा जुटिरहेका क्यान सचिव पारसबारे कतै प्रश्न नउठाइनुको प्रमुख कारण त्यही हुनसक्छ। केही समयअघि हामीसँगको कुराकानीमा पारसले भनेका थिए, “क्यान पदाधिकारीको पद मेरो रेगुलेटरी जिम्मेवारी हो, ब्रान्ड प्रबर्द्धन त मेरो दालभातका लागि हो नि।”

पारसले दालभातको जोहो गर्ने काम गर्दा सम्भवतः कसैलाई आपत्ति छैन, हुनु पनि हुँदैन। उर्जाशील उमेर क्रिकेट खेलमा बिताएका, खेलेरै राष्ट्रलाई योगदान दिएका उनको व्यक्तिगत जीवन समृद्ध हुनु आमनेपालीका निम्ति खुशीकै कुरा हुनेछ। तर नेपाली क्रिकेट बदल्ने अठोटसहित क्यानमा आएका पारसले कम्तीमा ‘नियामकको भूमिकामा रहँदासम्म म व्यक्तिगत फाइदाका निम्ति ब्रान्ड प्रबर्द्धनमा लाग्दिनँ है’ भन्न नमिल्ने हो र? 

पहिले खेलेर, अहिले नियामकीय भूमिकामा रहेर पारसले जुन ‘मोमेन्टम’ ल्याइरहेका छन्, नेपाली क्रिकेटमा उनको उपस्थिति र आवश्यकता झन् बढी महसुस भएको छ। धेरैलाई आशा पनि छ, पारसले आर्थिक संकटबाट गुज्रिइरहेको क्यान र नेपाली क्रिकेट, अनि आर्थिक कारणले नै अनिश्चित भविष्यसँग जुधिरहेका खेलाडीका लागि सबल नेतृत्व दिन सक्छन्। क्यान र क्रिकेट टिमका लागि पुग्दो स्रोत जुटाउने स्पोन्सरहरूको खोजीसँगै राष्ट्रिय टिमका हरेक खेलाडीलाई प्रतिष्ठित ब्रान्डसँग जोडिदिने काम गर्न सक्छन्। अनि क्यानको जिम्मेवारी फत्ते गरेसँगै उनी पूर्ववत् रूपमा आफै ब्रान्ड प्रबर्द्धनमा लाग्न सक्छन्।

कुरा कति मात्र भने, नियामकीय भूमिकामा रहँदा उनले आफ्नो होइन नेपाली क्रिकेटको ब्रान्डिङ गर्ने हो, नेपाली क्रिकेटको अवस्था–स्तर उकास्न भूमिका खेल्ने हो। एनपीएल सञ्चालन गर्ने ‘प्रमुख कार्यकारी’का रूपमा उनको नेतृत्वमा भएका कतिपय अपारदर्शी गतिविधिले एनपीएल, क्यान र स्वयं पारसमाथि नै प्रश्नहरू तेर्सिएका छन्। यिनै प्रश्नहरूलाई क्रिकेट सुधारको अवसर बनाउने हो भने पारसले नियामकीय जिम्मेवारीमा रहेर व्यक्तिगत आर्थिक आर्जन गर्ने आकांक्षा स्थगन गरेको राम्रो।

पारसलाई थप अनुकूलता के भने, गांगुलीलाई बीसीसीआईबाट हट्न बाध्य पार्ने जुन बोर्ड संरचना भारतमा थियो, दलीय भर्तीकेन्द्र झैँ रहेको क्यानमा उनीविरुद्ध मोर्चाबन्दी गर्नसक्ने त्यो शक्ति पनि छैन। प्रश्न कति मात्र भने, यो अनुकूलतामा पनि उनले क्रिकेट नियामक रहेर भावी पुस्ताका लागि ‘ट्रेन्ड’ चाहिँ कस्तो सेट गर्ने?