एनपीएल दोस्रो सिजन खेल्ने यी विदेशी खेलाडी

पहिलो सिजन विदेशी खेलाडीको प्रदर्शन उपाधि होडमा निर्णायक बनेपछि एनपीएलको दोस्रो सिजनमा सबैजसो टोलीले विदेशी खेलाडी भित्र्याउन सक्दो बाजी लगाए। आठ टोलीबाट खेल्ने विदेशी खेलाडी को कस्ता छन्?

काठमाडौँ– नेपाल प्रमियर लिग (एनपीएल) को दोस्रो सिजन सोमबार अपराह्न त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुरू हुँदै गर्दा धेरैको चासो विभिन्न टिमले भित्र्याएका विदेशी खेलाडीमा केन्द्रित छ। पहिलो सिजन एनपीएलका आठवटै फ्रेन्चाइजी टिमले भित्र्याएका विभिन्न देशका खेलाडीको प्रदर्शन त चर्चामा थियो नै, त्यसले नेपाली खेलाडीका निम्ति पनि अनुभव बटुल्ने अवसर दिएको थियो।

पहिलो सिजनमा धेरै विकेट लिने स्कट कुगेलेइनदेखि धेरै रन बनाउने अलराउन्डर सेभ अलि जेबसम्मले आफ्नो क्षमता प्रदर्शन गरेरै देखाए। कर्णाली याक्सले भारतका शिखर धवन र जयकिशन कोलसावाला, वेस्ट इन्डिजका चाडविक वाल्टन, हङकङका बाबर हायात र ओमनका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको थियो। प्रतियोगितामा कर्णाली याक्स प्लेअफसम्म पुग्यो।

त्यस्तै, सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका फास्ट बलर बलर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याक्मुलेन र इंग्ल्यान्डका अलराउन्डर सेफ जेब, अमेरिकी अलराउन्डर हर्मित सिंह, युएइका बायाँहाते ब्याटर रोहन मुस्तफा र क्यानडाका अलराउन्डर दिलप्रित बाज्वालाई अनुबन्ध गरेको थियो।

पहिलो सिजनमा उपाधिको दाबेदारका रुपमा हेरिएको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेतामा सीमित रह्यो। बिजेता जनकपुरले न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम, पाकिस्तानका सोएब मकसुद, अमेरिकाका जोसुआ ट्रोम्प, मोहमद मोहसिन, जोस ट्रोम्प, लाहिरु मिलान्था, क्यानडाका अलराउन्डर हर्स ठाकर र इङल्यान्डका बलिङ अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको थियो। यीमध्ये निशमको प्रदर्शन जनकपुरको उपाधि यात्रामा महत्वपूर्ण सावित भयो।

बिराटनगर किंग्सले ओमनका अकिब इलियास र स्कटल्यान्डका क्रिस सोल, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलस किर्टोन र नेदरल्यान्ड्सका ब्याटर स्कट एडवार्डलाई अनुबन्ध गरेको थियो।

लिग चरणका खेलबाट लय समात्न नसक्दा विराटनगर किंग्स प्लेअफमा पुग्न भने सकेन।

पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर, इंग्ल्यान्डका म्याट क्रिट्ले र जेन मलिक तथा भारतका आकर्षित गोमेललाई अनुबन्ध गरेको थियो। पोखरा पनि प्लेअफ पुग्न सकेन।

काठमाडौँ गुर्खाजले इंग्लिस क्रिकेटर नाथन सोउटर स्टेफन, इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस र इंग्ल्यान्डका ब्याटर स्टेफेन स्किन्जीलाई अनुबन्ध गरेको थियो।

लिग चरणमा औसत पदर्शन गरेको काठमाडौँ गुर्खाज प्लेअफ नपुगेरै बाहिरियो।

लुम्बिनी लायन्सले इंग्लिस क्रिकेटर टोम मुरेस, क्यानडाका अलराउन्डर साद बिन जाफर, वेस्ट इन्डिजका बलर रेमोन सिमोन्ड्स, अमेरिकाका विकेटकिपर उन्मुक्त चन्द र अष्ट्रेलियाका अलराउन्डर बेन कटिङलाई अनुबन्ध गरेको थियो। लुम्बिनी लिग चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो।

चितवन राइनोजले इंग्ल्यान्डका अलराउन्डर रवि बोपारा, लुक बेन्केस्टेन र नामिबियाका जन निकोलस लोफ्टी इटन, अफगानिस्तानका ब्याटर हसन इसखिल र यूएईका ब्याटर बसिल हमिदलाई अनुबन्ध गरेको थियो। दोस्रो क्वालिफायरको छनोट खेलमा कर्णालीसँग हार बेहोरेपछि चितवन राइनोज पनि प्रतियोगिताबाट बाहिरियो।

दास्रो सिजनका यी हुन् विदेशी खेलाडी
पहिलो सिजनमा जनकपुरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जिमी नीशम पोखरा एभेन्जर्समा पुगेका छन्। यस्तै, उत्कृष्ट ब्याटिङ गरेर सर्वाधिक रन बनाएका सेफ जेफ चितवन राइनोजमा पुगेका छन्।

पोखरा एभेन्जर्स
वेस्ट इन्डिजका रेमन रेइफरलाई यो सिजन पनि पोखरा एभेन्जर्सले भित्र्याएको छ। यस्तै, इंग्ल्यान्डका विश्वकपबिजेत ब्याटर जेसन रोयलाई पनि अनुबन्ध गरेको छ । उनले इंग्ल्यान्डका लागि ६४ टी–२०आई खेल्दा एक हजार ५२२ रन बनाएका छन्। समग्र टी–२० मा रोयले ४१२ खेल खेल्दा १० हजारभन्दा बढी रन बनाएका छन्। उनले इंग्ल्यान्डको भाइटालिटी ब्लास्टसँगै भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल लगायत विश्वका धेरै फ्रेन्चाइज लिगमा खेलेका छन्।
पहिलो एनपीएलमा जनकपुरलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका जिमी निशम पनि यसपालि पोखरा पुगेका छन्। त्यस्तै, इंग्लिस विकेटकिपर एडम रोसिङ्टन र इंग्ल्यान्डकै बलिङ अलराउन्डर डान डौटवेइट पनि पोखराबाट खेल्नेछन्।

कर्णाली याक्स
ओपनिङ ब्याटर प्रियांक किरित पञ्चालले पछिल्लो पटक भारतीय टीमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए। गुजरातबाट रणजी ट्रफी खेल्ने ३५ वर्षीय प्रियांकलाई कर्णाली याक्सले भित्र्याएको छ। कर्णालीले पहिलो सिजन खेलेका अष्ट्रेलियन यू–१९ टिमका पूर्वकप्तान बोसिस्टोलाई पनि निरन्तरता दिएको छ।

नेदरल्याण्ड्सका आक्रामक ब्याटर म्याक्स ओ डाउड र स्कटल्याण्डका स्पिनर मार्क वाटलाई पनि अनुबन्ध गरेको छ। त्यस्तै, अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नजिबुल्लाह जद्रानलाई पनि कर्णाली याक्सले भित्र्याएको छ। ३२ वर्षीय बायाँहाते ब्याटर नजिबुल्लाहले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८३० रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिमलले दुई विदेशी खेलाडी स्कट कुगेलेइन र हर्मित सिंहलाई दोस्रो सिजन पनि निरन्तरता दिएको छ।

आइपिएल, पाकिस्तान सुपरलिग, बिगबास लिगमा चर्चित ब्याटर क्रिस लिन र बिगबास लिगबाटै चम्केका जोस ब्राउन जस्ता अष्ट्रेलियन ब्याटर पनि सुदूरपश्चिम टिममा अनुबन्ध भएका छन्। 

जनकपुर बोल्ट्स
बायाँहाते ब्याटर लाहिरु मिलन्थालाई जनकपुर बोल्ट्सले यसपटक पनि निरन्तरता दिएको छ। त्यस्तै, दक्षिण अफ्रिकाका बलिङ अलराउन्डर वायेन पार्लेन र स्पिनर इमरान ताहिरलाई पनि अनुबन्ध गरेको छ। ३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकी टोलीबाट ३६ टी–२०आई खेल्दै ५९ विकेट लिएका र ३७४ रन बनाएका छन्। समग्र टी–२०मा उनले ३०० खेलमा ३१७ विकेट लिँदै २ हजार २०० रन बनाएका छन्। उनले आईपीएल, बीपीएल, द हन्ड्रेडलगायत टोलीबाट फ्रेन्चाइज क्रिकेट खेलेका छन्।

यस्तै बोल्ट्सले लाहिरु समारकून, सञ्जय कृष्णमुर्ती, जान निकोल लफ्टी इटन, संगीथ कूरे पनि अनुबन्ध भएका छन्।

बिराटनगर किंग्स 
बिराटनगर किंग्सले यो सिजन दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु प्लेसिसलाई भित्र्याएको छ। दक्षिण अफ्रिकी टोलीको कप्तान रहिसकेका डु प्लेसिस आइपीएलमा लामो समयदेखि खेलिरहेका खेलाडी हुन्। त्यस्तै, दक्षिण अफ्रिकाकै मर्चेन्ट डे लाङ, स्कटल्यान्डका जर्ज मुन्से, अस्ट्रेलियाका साम हिजलेट र न्युजिल्यान्डका मार्टिन गप्टिललाई पनि अनुबन्ध गरेको छ। गप्टिल अघिल्लो सिजनबाटै निरन्तर बिराटनगरमै छन्।

अमेरिकाका अलराउन्डर शुभम रन्जानेलाई अनुबन्ध गरेको छ। उनले समग्र टी–२० क्रिकेटमा ४८ खेल खेल्दा ६५४ रन बनाएर २२ विकेट लिएका छन्।

काठमाडौ गोर्खाज
काठमाडौ गोर्खाज्ले इंग्ल्यान्डका बेन चाल्र्सवर्थ र दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोसलाई भित्र्याएको छ। त्यस्तै, नामिबियाका कप्तान जेरार्ड इरास्मस, इंगल्याण्डका विकेटकिपर जोस सिम्पसन, अमेरिकाका अलराउन्डर मिलिन्द कुमार र भारतका सन्नी पटेललाई पनि अनुबन्ध गरेको छ।

चितवन राइनोज
चितवन राइनोजले इंग्लिस ब्याटर डेविड मलानलाई अनुबन्ध गरेको छ। मलानले इंग्ल्यान्डबाट ६२ वटा अन्तर्राष्ट्रिय खेल खेल्दै १ हजार ८९२ रन बनाएका छन्। एक समय विश्वकै उत्कृष्ट क्रिकेटरको सुचिमा अटाएका उनले केही समयअघि राष्ट्रिय टिमबाट सन्यास लिएका थिए।

त्यस्तै, इंग्ल्यान्डकै पूर्वखेलाडी रवि बोपारा, एनपीएलको पहिलो सिजनमा सबैभन्दा बढी रन बनाउने सेभ जैब र पाकिस्तानी क्रिकेटर सोहेल तनविरलाई पनि चितवनले अनुबन्ध गरेको छ।

लुम्बिनी लायन्स 
लुम्बिनी लायन्सले दोस्रो सिजनका लागि पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ। नमिबियाका बलिङ अलराउन्डर जेजे स्मित, तिब्र गतिका देब्रेहाते बलर रुबेन ट्रम्पलम्यान लुम्बिनीमा अनुबन्धित भएका छन्।

स्मितले टी२०आईका ६७ खेलमा १ हजार १८९ रन बनाएर ६६ विकेट लिएका छन् भने ट्रम्पलम्यानले ४४ अन्तर्राष्ट्रिय टी२० खेलमा ४९ विकेट लिएका छन्।

यस्तै, अस्ट्रेलियाका बायाँहाते ब्याटर डार्शी शर्ट पनि लुम्बिनीमा अनुबन्धित भएका छन्। लुम्बिनीले इटलीका थोमस ड्राका र अफगानिस्तानका ब्याटिङ अलराउन्डर गुलबदिन नैबलाई पनि अनुबन्ध गरेको छ।