सत्तलसिंह राजाको कथा: सुशीला कार्कीको बेथा

नरसंहार र विध्वंसको छानबिन गर्ने उनको सरकारद्वारा निर्मित आयोगको ताल हेर्दा यिनका खुट्टी लुला भइसकेका छन्। लोहासुरको पहिलो लन्च त यही आयोग हुन बेर छैन।

बोधविक्रम अधिकारीले 'दन्त्यकथा' शीर्षकमा थुप्रै कथा संग्रह प्रकाशन गरेका छन्। पुरानो शिक्षाको पाठ्यक्रममा यी कथाहरू पढ्नु पर्थ्यो। मनोयोगका साथ ती कथा पढेको छु। त्यसमध्ये एक हो-सत्तलसिंह राजाको कथा। वर्तमान प्रधानमन्त्री कार्कीले पनि पुरानै शिक्षा प्रणालीमा पढेको हुनुपर्छ। शायद उनले पनि सो कथा पढिन् होला। उतिखेर सो कथाको मर्म र महिमा उनले कत्तिको बुझिन् कुन्नि, तर अब भने सो कथाको रूप र सार बुझ्न आवश्यक छ। राजनीतिका अन्य खेलाडीहरूले पनि त्यस कथाको मर्म बुझ्न उत्तिकै आवश्यक छ।

कथा लामो छ, संक्षेपमा सुनाऊँ। एका देशमा सत्तलसिंह नामका राजा थिए। एक दिन हात्ती, घोडा र फौजको लावालस्करसहित जंगलमा सिकार खेल्न गए, तर जंगलमा अचानक राजा स्वयं हराए। अनेक खोजी गर्दा पनि राजा नभेटेपछि फौज निराश भएर दरबार फर्कियो। जंगलको कुनै कुनोबाट निस्केर आउँदा बाटोमै पर्ने गरी एउटा संकेत-सन्देश लेखेर फौजले रुखमा टाँस गरिदिए:

सुरो छौ त सत्तलससिंह राजा हामीतिर आऊ
काँतर छौ त सत्तलसिंह लोहासुरको बाटो जाऊ।

यो सन्देश पहिले त्यहाँ बस्तु चराउने गोठालाहरूले देखेछन्, र ती उरन्ठेउला गोठालाले सन्देशलाई उल्टो बनाएर त्यही ठाउँमा टाँसिदिएछन्, यसरी :

सुरो छौ त सत्तलससिंह राजा लोहासुरको बाटो जाऊ
काँतर छौ त सत्तलसिंह राजा हामीतिर आऊ।

बाटो खोज्ने क्रममा गोठालाले उल्ट्याएर टाँस गरेको सन्देश भएको ठाउँमा आइपुगे राजा। उनले सन्देश पढे। राजा हुनुको दम्भ, घमण्ड र महत्वाकांक्षाले सुरो हुनकै लागि सन्देशअनुसार लोहासुरको बाटो रोजे।

त्यस घनघोर जंगलमा लोहासुर नामको डरलाग्दो राक्षस बस्थ्यो। असंख्य जनावर, रुखविरुवा र पहाडसमेत उसको एकै दिनको खान्की हुने गर्थ्यो। कथा अनुसार सो राक्षस चालिस मन फलामको चिउरा बिहानको खाजामा खान्थ्यो। अर्थात् त्यो बाटो जानु राजाको लागि झण्डै मृत्यु बराबर थियो। तर राजा हुनुको महत्वाकांक्षा, दम्भ र घमण्ड पालेका सत्तलसिंह त्यही बाटोतर्फ लागे। जाँदाजाँदा एक महिला पात्रको सहयोगमा उनले लोहासुरलाई मार्ने मृत्यु सूत्र पाए। त्यही सूत्रको सहयोगमा लोहासुरलाई मारेर दरबार फर्किए। लोहासुरलाई मारेकोमा उनको बढाइँ भयो, सत्तलसिंह फेरि सम्राट् घोषित भए। कथाको सारसंक्षेप यति नै हो।

सत्तलसिंह राजा वंश परम्परा अनुसार राजा भएका थिए। तर यतिखेर सुशीला कार्की नियतिले सत्तलसिंह राजाको कथाजस्तो भूमिकामा प्रधानमन्त्री भएकी छिन्। राजा जंगलमा हराएका थिए। गोठालाको उल्टो सन्देश पढेर हिँडे पनि उनले काम फत्ते गरेर फर्केका थिए। 

यता, गफै गरेको भरमा जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री भइन् कार्की। पूर्व प्रधानन्यायाधीशले पाउने सवारी र सुरक्षा लिएर आन्दोलनमा अनुहार देखाएकी पात्र मात्र थिइन् उनी। सत्तलसिंहझैं उनी पनि संक्रमणकालीन राजनीतिको घनघोर जंगलमा आइपुगेकी छिन्। सत्तलससिंहको जस्तै महत्वाकांक्षाले उनलाई यहाँ ल्याएको हो। अब उनको अगाडि पनि लोहासुरको बाटो तय गर्नुबाहेक अर्को विकल्प छैन।

भदौ २३-२४ मा भएको नरसंहार, विध्वंस, भ्रष्टाचार, कुशासन लोहासुररूपी समस्या उनका अगाडी चुनौतीका पहाड बनेर बसेका छन्। नरसंहार र विध्वंसको छानबिन गर्ने उनको सरकारद्वारा निर्मित आयोगको ताल हेर्दा यिनका खुट्टी लुला भइसकेका छन्। लोहासुरको पहिलो लन्च त यही आयोग हुन बेर छैन।

भ्रष्टाचारका अनेक लोहासुररूपी मुद्दा र पात्र छन्। जग्गाजमिन (गिरीबन्धु, टिकापुर, बालुवाटार, लिचिबारी, बाल मन्दिरलगायत असंख्य प्रकरण), वाइड बडी, यति, ‌ओम्नी, सुरक्षण मुद्रण, टेरामक्स, भुटानी शरणार्थी, भिजिट भिसा, सुन तस्करी, सहकारी घोटालासहित कयौँ काण्डमा लन्च डिनर गर्ने नेतागण लोहासुरको रूपमा छन्। चालिस मन फलामको चिउरा नास्ता गर्ने लोहासुरभन्दा यी भ्रष्टाचारीहरू कोही मानेमा कम होइनन्।

अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण त निर्वाचन नै हो। तर निर्वाचनमा समेत यिनै लोहासुरको फौजलाई लिएर हिँड्नुपर्ने बाध्यता छ सुशीलालाई। भर्खरैको सिमरा घटना हेर्दा लोहासुरले फँडा उठाउन थालेको महसुस हुन्छ। दोस्रो नेपाल प्रिमियर लिग खेलमा भएजस्तो सट्टेबाजी राजनीतिको रंगशालामा पनि हुने देखिन्छ। संसद् पुनर्स्थापनालगायतको म्याच-फिक्सिङ् हुन्न भन्ने ठाउँ देखिन्न। चुनाव हुन सक्दैन भन्ने भाष्य निर्माण गरेर म्याच फिक्सिङ् हुनसक्छ। राजनीति स्वयं सट्टा बजारमा बदलिँदै आएको सत्य हो।

अब संसद् पुनर्स्थापना भए त्यो पश्चगमन हो। निर्वाचन सम्पन्न भए त्यसले दिने यथास्थिति नै हो। तर पनि यो यथास्थिति 'नहुनुभन्दा हुनु जाती' हो। मुलुकको धरातलीय यथार्थ हो।

यस्तो परिदृश्यमा कार्कीको 'दरबारीया फौज' टिठलाग्दो छ। एकाधलाई छोडेर मन्त्रीहरू उनका असली आठपहरियाजस्ता नै छैनन्। तिनीहरू के गर्न मन्त्री भएका हुन्, तिनलाई कसरी बम्पर लटरी लाग्यो, सम्भवतः तिनैलाई थाहा नहोला। या थाहा भए पनि राजनीतिको घनघोर जंगलबाट सफलतापूर्वक योजना सम्पन्न गर्ने कुरा तीनका कदकाँटीले देखाउँदैन।

राष्ट्रिय राजनीतिलाई बुझ्ने, भूराजनीतिक सन्तुलन कायम गर्न सक्ने क्षमता सर्वथा तिनमा अभाव देखिन्छ। तिनको बडील्याङग्वेज हेर्दा ती एक बारको जुनीमा मन्त्री भए, बस्। चुनाव भएन भने लोहासुरको डिनर यहाँ आएर हुनेछ।

जेनजीका नाममा असली पेडा बेच्नेहरू बाहिरै छन्, तर आफैमा विभाजित छन्। यिनले लोहासुर प्रवृत्तिलाई वध गरी योजना सम्पन्न गर्ने बहीखाता बाहिर ल्याएका छैनन् वा त्यस्तो बहीखाता नै छैन। यदि लोहासुरको वध गर्न सत्तलसिंह राजा सफल नभएको भए उनको इहलीला समाप्त हुन्थ्यो। दिशानिर्देश गर्ने कथा बन्दैन थियो। आज यो कथा कहनु पनि पर्दैन थियो।

तर यी 'साम्राज्ञी महोदय' सत्तलसिंह राजाको जस्तो भूमिका गरिरहेकी छन् या छैनन्, केही थाहा छैन। यिनका मन्त्रीहरू निर्वाचन केन्द्रित कार्यक्रमभन्दा कुहिरोमा हराएजस्तो अन्यत्रै व्यस्त देखिन्छन्। कार्कीको जोडबल निर्वाचनतर्फकै कार्यक्रम हो भने त्यसलाई सघाउनु ठिकै हुन्छ। त्यसो होइन भने त यिनी लोहासुरको सिधै कोपभाजनमा पर्ने निश्चित छ।

त्यसपछि कुनै बोधविक्रमले एउटा विरही कथा लेख्नेछन् 'सत्तली साम्राज्ञीको दुखान्त' शीर्षकमा। यो कथा उनैकहाँ पुगोस् भनेर यहाँ कैरन गरिएको हो। दुनियाँदारीले पनि थाहा राखुन् भनेर यहाँ लिखत गरिएको हो।

सुन्नेलाई सुनको माला। भन्नेलाई फुलको माला। यो कथा बालुवाटार, सिंहदरबारसहित जनजनमा जाला, भन्ने बेला फरर आइजाला।

(उकालोको विचार खण्डमा छापिएका सामग्री व्यक्तिका निजी हुन्।)