बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

काठमाडौँ– तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ।

केन्द्रीय बैंकले ४२ दिनका लागि उक्त रकम झिक्ने तयारी गरेको हो। राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्दै आएको छ।

वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले तीन वर्षयता पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्न लागिएको हो। दिउँसो दुई बजेदेखि अनलाइन बिडिङमा सहभागी भई बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

यस्तो निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी पुस २३ गते हुनेछ। राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र यसमा सहभागी हुन पाउँछन्।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।