१५ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्रीहरू झण्डावाल गाडी चढ्छन्, मन्त्री निवासमै बस्छन् र सिंहदरबार पनि पुग्छन्। तर, जिम्मेवारी नतोकिँदा उनीहरूको दिनचर्या कार्यकर्ता भेटघाटमा सीमित छ।
काठमाडौँ– बैतडीबाट निर्वाचित नेकपा एमालेका सांसद दामोदर भण्डारी गत पुस ११ गते मन्त्री नियुक्त भए। सोही दिन शीतलनिवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिए। सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाएको थियो र भण्डारी तिनैमध्ये थिए। पौडेलले सोही दिन अर्थ मन्त्रालय पुगेर पदबहाली गरे। तर, अहिलेसम्म कुन मन्त्रालय हेर्ने भनेर नतोकिएकाले भण्डारी १५ दिनदेखि जिम्मेवारीविहीन मन्त्रीका रूपमा छन्।
अहिलेसम्म उनी बिनाविभागीय मन्त्रीको हैसियतमा छन्। उनले सम्हाल्ने मन्त्रालयको टुंगो कहिले लाग्छ, यकिन छैन।
भण्डारी मात्र होइन, पुस ११ गते दाहाल नेतृत्वको मन्त्रिपरिषद् सदस्यमा नियुक्त भएका अरू तीन जना मन्त्रीले पनि १५ दिन बित्दासम्म जिम्मेवारी पाएका छैनन्। ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई र अब्दुल खानको हैसियत पनि अहिलेसम्म ‘बिनाविभागीय’ मन्त्रीकै छ। भण्डारी, साह र राई एमालेबाट र खान जनमत पार्टीबाट मन्त्री बनेका हुन। सरकार गठन भएको १५ दिन बित्दासम्म मन्त्रिमण्डलले कहिले पूर्णता पाउँछ भन्ने टुंगो छैन। त्यसैगरी, जिम्मेवारी नपाएका मन्त्रीको जिम्मेवारी कहिले तोकिन्छ भन्ने पनि निश्चित छैन।
दाहाल नेतृत्वको प्रारम्भिक ८ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रवि लामिछानेले मात्र मन्त्रालयको काममा सक्रिय छन्। उनीहरू तीनै जना उपप्रधानमन्त्रीसमेत हुन्। दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन गठबन्धनभित्र छलफल भइरहेको छ। यहीकारण पनि मन्त्रिपरिषद् विस्तार गर्न र भएका मन्त्रीलाई जिम्मेवारी तोक्न ढिलाइ भइरहेको देखिन्छ।

अर्को कारण चाहिँ विश्वासको मत लिइसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको योजना हो। दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रधानमन्त्री दाहाल विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको बताउँछन्। “भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ। त्यसपछि मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उनले भने, “सरकारलाई समर्थन दिएका अरू दलहरूलाई पनि सरकारमा सहभागी गराउने प्रयास छ। त्यसपछि बिनाविभागीय मन्त्रीहरूको पनि जिम्मेवारी तोकिन्छ।”
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी नतोकिँदा अहिले मन्त्री रहेका तीनवटा मन्त्रालयबाहेक सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै सम्हालिरहेका छन्।
“सरकारलाई समर्थन गरेका राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीसहित नेकपा एकीकृत समाजवादीलाई पनि समेट्न गृहकार्य भइरहेको छ”, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, “त्यहीकारण केही ढिलाइ भएको हो। अब साता दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ। प्रधानमन्त्रीले त्यसैअनुसार तयारी गरिरहनुभएको छ।”
जिम्मेवारी नपाएका मन्त्रीको दिनचर्या
१५ दिनदेखि जिम्मेवारीविहीन मन्त्रीहरूको दिनचर्या पार्टीका नेता–कार्यकर्ता र जिल्लाबाट आएका कार्यकर्तासँग भेटघाटमा गर्नेमा बितिरहेको छ। बिनाविभागीयमन्त्री भण्डारी जिम्मेवारी नै नतोकिएको भए पनि दिनहुँजसो सिंहदरबार पुग्छन्। “दिनहुँजसो सिंहदरबार पुगेर संसदीय दलको कार्यालयमा नेता–कार्यकर्तासँग भेट्नुहुन्छ, जनगुनासो सुन्ने काम गरिरहनुभएको छ”, भण्डारीका स्वकीय सचिव गोविन्द गिरीले भने, “त्यसबाहेक सार्वजनिक कार्यक्रममा पनि उहाँ सहभागी भइरहनुभएको छ।”
मन्त्रालयको जिम्मेवारी प्राप्त नभए पनि उनलाई गृह मन्त्रालयले झण्डावाल गाडी उपलब्ध गराएको छ। मन्त्री नियुक्त भएपछि उनी ललितपुरस्थित हरिहरभवनमा रहेको मन्त्री निवास पनि सरिसकेका छन्।

मन्त्रालय गएर गर्नुपर्ने काममा व्यस्त हुनुपर्ने मन्त्रीहरू १५ दिनदेखि कार्यालय र जिम्मेवारीविहीन हुँदा उनीहरूलाई समय बिताउन पनि सकस भइरहेको छ। तर, मन्त्री ज्वाला साह भने मन्त्रालयको जिम्मेवारी नपाए पनि आफ्नो दैनिकी व्यस्त रहेको बताउँछिन्। “पार्टीका बैठक, प्रशिक्षण लगायतका काममा व्यस्त छु। एक हप्ता प्रदेश पुगेर आएँ। भ्याइनभ्याइ नै छ, मन्त्रालयको जिम्मेवारी पाइनँ भनेर बोर लाग्ने अवस्था छैन”, उनले भनिन्, “पार्टीको पोलिटब्युरो सदस्य र मधेश प्रदेशको सहइन्चार्ज पनि भएकाले अहिले पार्टीको काममा व्यस्त छु।” उनले जिल्लाका नेता–कार्यकर्ता, निर्वाचन क्षेत्रका समस्याबारे मतदातासँग पनि छलफल गर्ने काम भइरहेको बताइन्।
साहलाई पनि गृह मन्त्रालयले झण्डावाल गाडी उपलब्ध गराएको छ। उनी पनि मन्त्री नियुक्त भएपछि हरिहरभवनस्थित मन्त्री निवासमा सरिसकेकी छन्।
एमालेबाट मन्त्री नियुक्त भएका राजेन्द्रकुमार राई मन्त्री बनेपछि पुल्चोकस्थित सरकारी निवासमा सरेका छन्। उनलाई पनि गृह मन्त्रालयले झण्डावाल गाडी उपलब्ध गराएको छ। जिम्मेवारी नतोकिँदा उनको दिनचर्या पनि अरू बिनाविभागीय मन्त्री झैँ बितिरहेका छ।
“सिंहदरबार जाने, प्रधानमन्त्री कार्यालय र पार्टी संसदीय दलको कार्यालयमा गएर बस्ने गरिरहेको छु। पार्टीका नियमित कार्यक्रम र अरू कार्यक्रममा गएर पनि समय बितिरहेको छ”, उनले भने, “समय काट्न गाह्रो भएको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
