‘केअस’ : राजनीतिक अराजकतामाथिको व्यंग्य

लामो समयदेखि अस्थिर राजनीतिक व्यवस्था र त्यसले निम्त्याएको अराजक परिस्थितिको डार्क कमेडी एवं प्रतीकात्मक प्रस्तुति हो, नाटक ‘केअस’।

काठमाडौँ– जलेको सोफामा प्वालैप्वाल। आगोको रापले सोफाको फोम पग्लिएर देखिएको कालो फलाम। छेउछाउमा भत्किएका इँटाको पर्खाल। पर्खालमा काला दाग–धब्बा। भुइँमा आधाउधी बाँकी रहेका कागजात। सबैमा एउटै समानता छ, ती जलेका छन्। हेर्दा लाग्छ, आगोले कुनै संरचनालाई खाएर खोक्रो पारेको छ।

छेउमा रहेको मोटरसाइकलको न त सिट नै छ, न त हेडलाइट। यसको भग्नावशेष मात्रै बाँकी छ। पर रूखजस्तो देखिने वस्तु धिमा रूपमा सास लिइरहेको भान हुन्छ।

null

भग्न देखिएको कौसी थिएटरको यो मञ्च ‘केअस’ नामक नाटकका लागि तयार गरिएको हो। तथापि, त्यस्तो विकराल स्वरूप अब दर्शकहरूका लागि नौलो वा डरलाग्दो नलाग्न सक्छ। किनकि, मञ्चबाट बाहिर निस्कने हो भने पनि यस्ता दृश्य अझै प्रहरी चौकी, व्यापारिक भवन तथा सरकारी कार्यालयमा देखिन्छन्। लाग्छ, नाटकले पनि यही विषयवस्तुलाई सम्बोधन गर्न खोजेको छ।

राजनीति व्यवस्थामाथिको व्यंग्य
केअस भन्नेबित्तिकै के सम्झिनुहुन्छ? गत भदौ २३ र २४ गतेको घटना। शान्त रूपमा शुरू भएको जेनजी आन्दोलनमा चलेको गोलीले अबोध किशोरकिशोरीको ज्यान गयो। जसको प्रतिक्रियास्वरूप दोस्रो दिन, देश अराजकताको भुमरीमा होमियो। सिंहदरबार, सर्वोच्च अदालत अनि संसद् भवन आगोमा जले, अर्थात् देशको कार्यपालिका, न्यायपालिका अनि व्यवस्थापिका जल्यो।

null

अब फर्कियौँ नाटकतिर, यत्रतत्र विध्वंस, उडेका पैसाले गत भदौमा भएको जेनजी आन्दोलनको पनि स्मरण गराउँछ। नाटकले दर्शकको दिमागमा पनि 'केअस' पारिदिन्छ।

दुई दिनका घटनाले देशमा ल्याएको अन्योल, राजनीतिक रिक्तताले आम मानिसमा परेको मानसिक आघात र मनोदशा नै नाटकको मुख्य विषयवस्तु हो। नाटकको शीर्षक अंग्रेजी शब्द ‘केअस’को शाब्दिक अर्थ नै अराजकता हो।

नाटकका मुख्य पात्र दुई दाजुभाइबीच आफ्ना जीवनका भोगाइबारे अनेकन् संवाद हुन्छन्। संवाद सरल रूपमा बग्दैन। गहन अनि संवेदनशील संवादबीच अचानक बेतुकका कुरा पनि घुस्छन्।

null

विदेशबाट सर्बस्व गुमाएर फर्केको दाइ र घरमा आमाको स्याहारमा बिताएका भाइबीच बाल्यकालका तितामीठा, आफ्नो पिताको नक्कलझक्कल गर्दै नाटकले गति लिन्छ। यसक्रममा वर्षौंदेखि पोख्न नपाएका गुनासा, प्रश्न र उत्तरको खोजीमा यी पात्र एकैछिनमा प्रेमिल देखिन्छन् त एकैछिनमा झोकिन्छन्।

आफ्नो जीवनका भोगाइ, दु:खसुख, रहर र बाध्यताबीचको जीवनयात्राबारे संवाद गर्ने यी पात्रहरू फरक परिवेशमा हुर्काएका थिए, आमाको कुराकानीमार्फत उनीहरूको मनोदशा बुझ्न सकिन्छ।

नाटक अमूर्त छ। रूखको रूपमा देखिएकी आमालाई सायद देशको रूपमा देखाउन खोजिएको छ। कोमामा रहेकी आमाको स्वास्थ्य अवस्था कहिले तीन हप्ता त कहिले तीन महिनाको अनिश्चित समयमा छाडिएको छ। वर्षको कुरा भइरहँदा देशको कमजोर परिस्थितिको चित्रणले लामो समयदेखिको अस्थिरतालाई व्यक्त गर्छ।

null

दुई पात्रमा सीमित यो नाटक एक प्रयोगात्मक प्रस्तुति हो। यो ‘डिभाइज्ड प्ले’ अर्थात् बिनास्क्रिप्ट आशु अभिनयमार्फत परिष्कृत गर्दै आउने शैली हो।

राजनीतिमाथिको व्यंग्यमा लेखिएको यो नाटक डार्क कमेडी विधामा बनेको हो। नाटकको लेखन, निर्देशन र अभिनय पनि इलुममणि दीक्षित र विजय आनन्द ताम्राकार यिनै दुवैको हो। नाटक मंसिर १२ देखि २१ गतेसम्म मञ्चन हुँदै छ। हरेक मंगलबार भने थिएटर बन्द रहनेछ।