नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

काठमाडाैँ– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्राली र यसका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध बुधबार मुद्दा दायर गरेको हो।

यिनीहरूविरुद्ध भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचारको मुद्दा दायर भएको हो। विशेष अदालतका प्रवक्ता राजेन्द्रकुमार पाैडेलका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ।

प्रहरीले यसअघि नै प्रदीप अधिकारीलगायतलाई पक्राउ गरी नियन्त्रणमा लिइसकेको छ। आज र भोलि अख्तियारको हिरासतमा रहने र पर्सिबाट मुद्दाको बहस शुरू गरिने अदालत स्रोतले जानकारी दिएको छ ।