तरुलखेतीबाट २२ जनालाई रोजगारी दिँदै वार्षिक ७ लाख जोगाउँछन् खेमराज

सिँचाइ, बजार व्यवस्थापन र जंगली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने खेमराजको बुझाइ छ।

विराटनगर– सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल अहिले एक सफल किसानका रूपमा परिचित छन्। यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उनले शुरू गरेको तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको छ।

खेमराजले सुन्दरहरैँचा–७ को '७५ बिघा' भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर यो खेती शुरू गरेका हुन्। “जिन्दगीमा खेतीपातीका बारेमा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु”, उनले भने।

सुन्दरहरैँचा–७ को ७५ बिघा क्षेत्र वर्षौँदेखि पानीको अभाव र जंगली जनावरको आतंकले ग्रस्त थियो। सिँचाइ असुविधाका कारण धान र मकै सुक्ने समस्या थियो। “पहिले केराखेती पनि हुन्थ्यो, तर हात्तीको आतंकले बोटहरूमा क्षति भइरहन्थ्यो”, खेमराजले भने। त्यस्तो अवस्थामा उनले वैकल्पिक खेतीका रूपमा तरुल छनोट गरेका हुन्।

उनले भने, “साथीभाइले गरेको देखेपछि मलाई पनि रहर लाग्यो। तीन बिघाबाट सुरु गरेको खेती अहिले सात बिघामा विस्तार भएको छ।” 

जग्गाधनी प्रकाश उप्रेतीका अनुसार पानीको अभावले अन्य बाली सुक्ने गरे पनि तरुल भने सुक्खा जमिनमा पनि राम्रो उत्पादन हुने गरेको छ। तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको छ।

उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीनदेखि पाँच किलोसम्म फल दिने र माघे सङ्क्रान्तिमा यसको माग बढ्ने भएकाले किसानहरू उत्साहित छन्। सफलतासँगै जंगली जनावरको सास्ती भने कायमै छ।

“यस क्षेत्रमा बँदेल, मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्”, खेमराजले भने, “बँदेलले बोटै उखेलेर खाइदिन्छ। तरुल जोगाउन सकियो भने यसले सुन फलाउँदो रहेछ, तर सुरक्षा चुनौतीपूर्ण छ।”

उनले प्रतिबिघा ६० हजार रुपैयाँका दरले जग्गाको भाडा तिर्दै आएका छन्। सबै खर्च कटाएर वार्षिक करिब सात लाख रुपैयाँ बचत हुने र २२ जनाले रोजगारी पाएको उनले जानकारी दिए।

पहिले आफ्ना लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक खेतीका रूपमा विस्तार भएको छ। स्थानीय दोमट माटो र सुक्खा हावापानी यसका लागि उपयुक्त मानिएको छ।

“तरुलको बाक्लो झाँडीभित्र हात्ती पस्न नसक्ने भएकाले यो खेती सुरक्षित छ”, खेमराजले भने। बारीबाटै प्रतिकिलो ४५ रुपैयाँका दरले तरुल बिक्री हुने गरेको र व्यापारीहरू आफैँ बोरा लिएर आउने हुनाले बजारको चिन्ता नरहेको उनको भनाइ छ।

मंसिर १५ देखि पुस २७ सम्म तरुल खन्ने उपयुक्त समय हो। एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने उनले बताए।

सिँचाइ, बजार व्यवस्थापन र जंगली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने खेमराजको बुझाइ छ। उनका अनुसार तरुल अहिले नगदे बाली मात्र नभएर संघर्ष, सम्बन्ध र सम्भावनाको प्रतीक बनेको छ। यहाँका किसानको पसिनाले बाँझो जमिनलाई पुनः उत्पादनशील बनाउँदै रोजगारीको मार्ग प्रशस्त गरेको छ।