भारतीय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी शशि थरुरलाई ६ हजार ८२५ मतान्तरले हराए।
काठमाडौँ- भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शशि थरुरलाई ६ हजार ८२५ मतान्तरले हराउँदै खड्गे कंग्रेसको अध्यक्षमा निर्वाचित भएका हुन्।
कुल ९ हजार ३८५ मत खसेकोमा खड्गेले ७ हजार ८९७ मत पाए। उनका प्रतिद्वन्द्वी थरुरले मात्रै १ हजार ७२ मत प्राप्त गरे। बाँकी ४१६ मत रद्द भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कंग्रेसको केन्द्रीय अध्यक्ष छान्न २० वर्षपछि भएको चुनावमा ८० वर्षीय खड्गेले बाजी मारेका हुन्। २४ वर्षयता गान्धी परिवारबाहेकका व्यक्तिले कंग्रेसको नेतृत्व सम्हालेको यो पहिलो पटक हो।
कंग्रेसको १३७ वर्षे इतिहासमा पार्टीको अध्यक्ष चयनका लागि सोमबार भएको चुनाव छैठौँ हो। यसअघि अधिकांश समय पार्टीको कमाण्ड गान्धी परिवारकै हातमा हुन्थ्यो। र, सर्वसम्मतिमै अध्यक्ष चयन हुँदै आएको थियो।
निर्वाचनको मत परिणाम सार्वजनिक हुनुपूर्व नै कंग्रेस पूर्वअध्यक्ष राहुल गान्धीले आन्द्र प्रदेशको एक पत्रकार सम्मेलनमा खड्गेकै जित सुनिश्चित रहेको घोषणासमेत गरेका थिए। साथै उनले नयाँ अध्यक्षले नै पार्टीमा आफ्नो भूमिका तय गर्ने बताएका थिए। खड्गेलाई गान्धी परिवारको बलियो समर्थन रहँदै आएको छ।
प्रतिद्वन्द्वी थरुरले जितका लागि खड्गेलाई बधाई दिएका छन्। कंग्रेसको अध्यक्ष बन्नु 'ठूलो सम्मान र जिम्मेवारी काम हो' भन्दै शुभकामना दिएका उनले एक हजारभन्दा बढी सहयोगीको समर्थन प्राप्त गर्नु आफ्नो लागि पनि महत्त्वपूर्ण भएको बताए।
तर, थरुरले मतगणनाका क्रममा पार्टीको मतदान प्रक्रियामै गम्भीर अनियमितता भएको आरोप लगाएका थिए। थरुर र उनका समर्थकले उत्तर प्रदेशको मतदान खारेज गरेर सूक्ष्म अनुसन्धान हुनुपर्ने आवाज उठाएका थिए।
यता, लामो समयदेखि कंग्रेसको विरासत सम्हालेको गान्धी परिवारको कुनै पनि सदस्य यसपटक पार्टी अध्यक्षको चुनावमा सहभागी भएनन्। गान्धी परिवारको कमजोर व्यवस्थापनकै कारण कंग्रेसले आम निर्वाचनमा पराजय भोग्नु परेको आरोप लाग्दै आएको थियो। उनीहरूमाथि परिवार बाहिरको सदस्यलाई नेतृत्वमा ल्याउने दबाव थियो। त्यसैले गान्धी परिवारले आफ्ना विश्वास पात्र खड्गेलाई अध्यक्षमा उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दलित समुदायको प्रतिनिधित्व भएकाले पार्टीभित्र र बाहिर जनमत जुटाउन कंग्रेस र गान्धी परिवारका लागि खड्गे महत्त्वपूर्ण पात्र ठानिएको छ। दलित समुदायको जनमत बटुल्न र पार्टी समानुपातिक छ भन्ने देखाउन पनि कंग्रेसका लागि उनी उपयुक्त पात्र मानिन्छ।
सन् २०१९ को भारतको आम निर्वाचनमा कंग्रेसले लज्जास्पद हार बेहोरेपछि त्यसको जिम्मेवारी लिँदै पार्टी अध्यक्ष राहुल गान्धी नेतृत्वबाट पछि हटेका थिए। त्यसयता सोनिया गान्धी पार्टीको अन्तरिम अध्यक्ष थिइन्। सोनिया यसअघि सन् १९९८ देखि २०१७ सम्म पार्टी प्रमुख थिइन्।
खड्गे सन् १९४२ जुलाई २१ मा कर्नाटकको बिदार जिल्लामा जन्मिएका थिए। उनको हुर्काइबढाई भने छिमेकी गुलबार्ग जिल्लामा भएको थियो। नौपटक विधायक र दुई पटक सांसद बनेका खड्गे १९७२ मा पहिलोपटक चुनावी मैदानमा प्रवेश गरेका थिए। त्यसयता उनी एकपटक मात्रै २०१९ को लोकसभा चुनाव हारे। कानुनको अध्ययन गरेका खड्गेले आफ्नो साथीका लागि मुख्यमन्त्री पदको दाबीसमेत त्यागेका थिए।
खड्गे कंग्रेसको अध्यक्ष हुने पार्टीका लागि ६५औं र दोस्रो दलित नेता हुन्। जगजीवन राम कंग्रेस अध्यक्ष हुने पहिलो दलित नेता थिए। उनी सन् १९६९ मा कंग्रेसमा सामेल भएका खड्गेले गुर्मित्काल निर्वाचन क्षेत्रबाट लगातार ९ पटक चुनाव जितेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
