विवादै विवादमा परेर सकियो नेपाल टी–२० लिग

नेपालमा क्रिकेटको विकास र विस्तारको सपनासहित शुरू भएको नेपाल टी-२० लिग विवादैविवादमा सकिएको छ।

काठमाडौँ- नेपाल टी–२० लिगको कल्पना जसरी गरिएको थियो, त्यो धेरै हदसम्म छिमेकी देश भारतको इन्डियन प्रिमियर लिग (आईपीएल)सँग मिल्दोजुल्दो थियो। 

सन् २००८ मा जन्मिएको आईपीएलजस्तै विश्वभर आफूलाई स्थापित गर्ने, बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)जस्तै नेपाल क्रिकेट संघ (क्यान)को आर्थिक पाटो बलियो बनाउने, नेपाली खेलाडीले फेन्चाइजी टोलीमा परेकै भरमा मनग्ये कमाउनसक्ने वातावरण निर्माण गर्ने र नेपाली राष्ट्रिय क्रिकेट टोली बलियो बनाउने यसका मूलभूत उद्देश्य थिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द नेपाल टी–२० लिगलाई लिएर आईपीएलकै छेउछाउ पुगिनेमा विश्वस्त देखिन्थे। विश्वस्त नदेखिउन् पनि किन? उनीभन्दा अगाडि पदभार सम्हालेका क्यानका अध्यक्षहरूले आफ्नै फ्रेन्चाइजी लिग ल्याउने हुटहुटी पालेपनि त्यसलाई वास्तविकतामा परिणत गर्न सकेका थिएनन्। त्यसैले उनले आफ्नो सपना साकार पार्न आईपीएलको उपलब्धिलाई नजिकैबाट नियालेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्‌‌लाई कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनरको रूपमा भित्र्याए प्रतियोगिता शुरू गराए।

तर, नेपाल टी–२० लिगले आईपीएलको जस्तै नाम कमाउन सकेन। त्यस्तै, कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर भनिएको सेभेन थ्री स्पोर्टस्‌‌‌बाट पनि वाचाअनुरूप क्यानले साथ पाउन सकेन। उसले सम्झौता पालना नगर्दा खेलाडीले पारिश्रमिक पाएनन् भने प्रतियोगिताले म्याच तथा स्पट फिक्सिङ र बेटिङको बदनामी झेल्नुपर्‍यो।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सामाजिक सञ्जालमा लेख्छन्, “नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरू पार गर्दै राम्रो स्वरूप लिनेक्रम जारी थियो। यो अनवरत यात्रा र उतारचढावकै बीच नेपाल टी–२० लिगमा स्पट फिक्सिङजस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनायो। खेलाडीहरूको वर्षौंदेखिको लगाव, खेल प्रेमीहरूको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरूको विश्वासलाई यस घटनाले चोट पुर्‍यायो।”

प्रतियोगिता शुरू हुनुभन्दा अगाडि नै चुक्ता पुर्जी १ करोडको आसपासमा भएको सेभेन थ्री स्पोर्टस्‌‌लाई लिएर धेरै प्रश्न उठेका थिए। 

बेटिङ कम्पनीको पृष्ठभूमि रहेको आरोप खेपेको सेभेन थ्री स्पोर्टस्‌‌ले आईपीएल, फिफा विश्वकप फुटबल, बुन्डेसलिगा, फ्रेन्च ओपन, यूएस ओपन, विम्बल्डन टेनिसलगायत विभिन्न खेललाई एशियाली देशमा प्रसारण गर्ने अधिकार पाएको विश्वसनीय कम्पनीको रूपमा आफूलाई उभ्याएको थियो। 

त्यसै पृष्ठभूमिको आडमा उसले नेपाल टी–२० लिगलाई पनि आईपीएलकै हाराहारीमा पुर्‍याइदिने मिठो सपना बाँडेको थियो।

सेभेन थ्री स्पोर्टस्‌‌का संस्थापक तथा अध्यक्ष जतिन अहुलावालिया भन्ने गर्थे, “नेपाल टी–२० लिग नेपाली क्रिकेटको स्तर माथि उकास्नको लागि हो। यो लिगपछि खेलाडीले आईपीएलमा झैँ मनग्य कमाउने छन्, माथिल्लो स्तरमा खेल्न सक्ने खेलाडी उत्पादन हुनेछ। त्यसैले यो प्रतियोगिता आवश्यक छ।”

उनले भनेजस्तै नेपाली क्रिकेटको र खेलाडीको स्तर बढाउन लागि नेपाल टी–२० लिग आवश्यक थियो। क्यानको आफ्नै फेन्चाइजी लिग नहुँदा निजी क्षेत्रले मनग्य आम्दानी गरेका थिए। तर, आफू मोटाउने सोच र कमजोर भौतिक पूर्वाधार कारण नेपालमा जे–जस्ता फेन्चाइजी प्रतियोगिता हुँदै आएका थिए, त्यसले नेपाली क्रिकेटलाई उकास्न सकेन। त्यसैले पनि क्यानले जतिनले भनेजस्तै लिगको चाहेको थियो।

कोरोना महामारीको बीचमा १० बर्से सम्झौताको हात अगाडि बढाएको सेभेन थ्री स्पोर्टस्‌‌ले शुरूमा कम्तीमा ४२ करोड दिने, दुई रंगशाला, प्याभिलियनको मर्मतसम्भार, फ्लडलाइट जडान र अन्य पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। तर, क्यानकै पदाधिकारीको विरोधका बीच हात हालेको सेभेन थ्री स्पोर्टस्‌‌ले पछि क्यानसँगको सम्झौता ८ वर्षमा छोट्टायो भने ३३ करोड दिने वाचा गर्‍यो। उसले प्रतियोगिता शुरू हुनुभन्दा अगाडि गरेको वाचाअनुसार १ करोड २० लाख पठायो। प्रतियोगिता विवादित हुन थालेपछि थप ९६ लाख पठायो।

फिक्सिङले झेलिएको प्रतियोगिता
नेपाली टी–२० लिग जसरी शुरू भएको थियो त्यो क्यान र सेभेन थ्री स्पोर्टस्‌‌ले कल्पना गरेभन्दा बाहिरको थियो। शुरूमा पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अलस्टार्स, फार वेस्टर्न युनाइटेड र काठमाडौँ गोर्खाज प्रतियोगितामा सहभागिता जनाउने भनिएको थियो। तर, सञ्चारमाध्यमको पृष्ठभूमि भएको गोर्खाजले भने सेभेन थ्री स्पोर्टस्‌‌को गतिविधिमा विश्वस्त हुन नसकेको भन्दै प्रतियोगिता शुरू हुनुभन्दा अगाडि नै हात झिक्यो।

गोर्खाज बाहिरिएसँगै भित्रिएको काठमाडौँ नाइट्स पनि शंकाको घेरामा रह्यो। प्रतियोगिता शुरू हुनुभन्दा केही दिन अगाडि जन्मिएको काठमाडौँ सेभेन थ्री स्पोर्टस्‌‌ र क्यानकै डमी टोली थियो। प्रतियोगिताभर नेपाल स्पोर्टस्‌‌ भेन्चरको स्वामित्वमा रहेको भनिएको यस टोलीका मालिकलाई न कप्तान ज्ञानेन्द्र मल्लले देखे न त अन्य खेलाडीले नै।

“हाम्रो मालिक यही हो भनेर हामीले देख्न नै पाएनौँ। को थिए, कस्ता थिए? प्रतियोगिताभर देखेनौँ”, उनी भन्छन्। जनकपुर, फार वेस्ट र विराटनगरका खेलाडीको दुःख पनि काठमाडौँको टोलीको भन्दा कम रहेन। उनीहरूका मालिक पनि प्रतियोगिताको बीच मै फरार भए।

प्रतियोगितामा शुरू हुनुभन्दा अगाडि फ्रेन्चाइजी टोलीहरूको बाधक बन्यो राष्ट्रिय खेलकुद परिषद् (राखेप)। लुम्बिनी र पोखराबाहेक भारतमा कम्पनी दर्ता गरेर आएका अन्य फ्रेन्चाइजी टोलीलाई राखेपले पटकपटक पत्र काढिरह्यो भने श्रम स्वीकृति नलिई नै क्यानले प्रतियोगिता खेलाउन थालेपछि विदेशलाई श्रम स्वीकृति दिन सिफारिस गर्दिन नै मानेन। 

नेपाल आएका विदेशी खेलाडी प्रतियोगिताभर नै बिना श्रम स्वीकृति खेलिरहे। कतिपय विदेशी खेलाडी प्रतियोगिताको बीचमै बाहिरिए। त्यसमध्ये पहिलो खेलाडी थिए, जिम्बाबेका अलराउन्डर सिकेन्दर राजा।

आईसीसी ‘मेन्स ओडीआई क्रिकेटर अफ दि इयर’को मनोनयनमा परिसकेका राजा जनवरी ५ सम्मका लागि नेपाल आएका थिए। तर, आफूले पाउनुपर्ने पारिश्रमिक नपाएपछि र प्रतियोगितामा स्पट फिक्सिङको शंकास्पद गतिविधि हुन थालेपछि उनी दुई दिनअघि नै स्वदेश फर्किए। विराटनगरमा आबद्ध भएका राजाले लुम्बिनी र जनकपुरविरुद्धको शुरूआती दुई खेल मात्रै खेलेका थिए।

“नेपाल आएदेखि नै केही शंकास्पद गतिविधि भइरहेका थिए, जस्तो स्पट फिक्सिङ”, उनले भनाइलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले उकालोसँग भने, “प्रतियोगिता शुरू हुनुभन्दा अगाडि पाउने भनिएको रकम पनि पाइएन। नपाउने सम्भावना देखेपछि म फर्किएँ।”

सम्झौताअनुसार खेल शुरू हुनुअघि खेलाडीले ४० प्रतिशत रकम पाउनुपर्ने थियो। त्यस्तै, प्रतियोगिता चलिरहँदा ६० प्रतिशत रकम। तर, पोखरा र लुम्बिनीका खेलाडीले मात्रै पूर्णरूपमा रकम पाउन सकेन। पोखराको फ्रेन्चाइजी नेपाली थिए भने लुम्बिनीको अमेरिकामा रहेका नेपाली। राजा फर्किएपछि वेस्ट इन्डिजका अलराउन्डरका केसरिम विलियम्स पनि स्वदेश फर्किए। जनकपुरमा आबद्ध भएका उनले पनि दुई खेल मात्रै खेले।

खेलाडी मात्रै होइन, जनकपुरका मुख्य प्रशिक्षक उमेश पटवाल पनि पुस १८ गते सुटुक्क भारत फर्किए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षकसमेत रहिसकेका उनले श्रीमती बिरामी भएको र आफू फर्किने बताएका थिए। तर, जनकपुरले मंगलबार दोस्रो क्वालिफायर खेलिरहँदा पनि उनी नेपाल फर्किएनन्।

त्यही रात सेभेन थ्री स्पोर्टस्‌‌का संस्थापक जतिन र उनका पनि सुरक्षाको बहाना बनाउँदै भारत फर्किएपछि नेपाल टी–२० लिगमा म्याच र स्पट फिक्सिङको तथ्य बाहिर आउन थालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा लिगबारे अनुसन्धान गरिरहेका सञ्जयसिंह थापा बताउँछन्। उनी भन्छन्, “एकाएक जतिन सुरक्षाको कारण देखाउँदै भाग्नु, फेन्चाइजी टोलीका मालिकहरू, प्रशिक्षक र विदेशी खेलाडी पनि स्वदेश फर्किनुले प्रतियोगितामा तरंग पैदा गर्दियो। त्यसपछि खेलाडीहरूले पैसा नपाउने सुनिश्चित भएको ठाने र म्याच र स्पट फिक्सिङको कुरा बाहिर आउन थाल्यो।”

शुरूमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले पुस १९ गते प्रतियोगिताको दौरान जे देखे सामाजिक सञ्जालमा त्यही बताए। त्यही दिन काठमाडौँका कप्तान मल्ल र विराटनगरका उपकप्तान रोहितकुमार पौडेलले समेत आफ्नो टोलीका खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको खुलासा गरे। “हाम्रो टोलीका खेलाडीलाई सट्टेबाजले प्रस्ताव राखेको थियो। हामीले त्यो एसीयूलाई रिपोर्ट गरेका थियौँ”, उनीहरूले भनेका थिए।

काठमाडौँ र विराटनगरको खेलअघि घटना बाहिरिएसँगै खेलाडी प्रतियोगिताका दुई खेलमा मैदान उत्रिन नै आनाकानी गरे। पुस १८ गते लुम्बिनी र काठमाडौँको खेल १७/१७ खेलाइयो। 

मंगलबार भएको दोस्रो क्यालिफायरमा पनि जनकपुरका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान र उत्रिन आनाकानी गरेपछि खेलमा टस ढिला गरी भएको थियो।

प्रतियोगितामा अनियमितता र फिक्सिङ देखिन थालेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभ र अर्का एक सदस्य गत शुक्रबार अचानक नेपाल आएका थिए। प्रतियोगिताको अनुसन्धान गरिरहेको सीआईबीको टोलीलाई भेटेर उनीहरू शनिबार फर्किएका छन्। सीआईबीका प्रवक्ता थापाका अनुसार स्पट फिक्सिङमा सहभागी भएका भनिएका ७–८ जना माथिको छानबिन बुझेर उनीहरू फर्किएका हुन्।

‘सफल भएन प्रतियोगिता’
सीआईबीका प्रवक्ता थापाका अनुसार सेभेन थ्री स्पोर्टस्‌‌का संस्थापक जतिनले अमिर अख्तरले आयोजना गरेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को क्रेज देखेर प्रतियोगिताको साझेदार गर्न तयार भएको थियो। 

स्पन्सर र टिकटको जिम्मा पाएको सेभेन थ्री स्पोर्टस्‌‌ले प्रतियोगिताबाट सहजै नाफा हुने आकलन गरेको थियो। त्यसैले सेभेन थ्री स्पोर्टस्‌‌ले प्रतिदर्शक ३०० रुपैयाँ टिकट मूल्य तोकेको थियो। 

तर, दर्शक मैदान नगएपछि अतालिएका जतिनले क्यानको सल्लाहमै १०० रुपैयाँमा टिकट झारेका थिए। १०० रुपैयाँ पनि खेल हेर्न नआएपछि अत्तालिएका उनी भारत फर्किए।

“ईपीएलको फाइनलमा करिब ६ हजार दर्शकबाट १५ लाख आम्दानी भएको रहेछ। यही क्रेज देखेर नेपाल आएका उनले सोचेअनुसार टिकटबाट आम्दानी गर्न सकेनन्”, उनी भन्छन्, “हाम्रो टिम पहिलादेखि नै टीयुमा छ। फाट्टफुट्ट जोडाजोडी आउनेबाहेक कोही दर्शक छैन। विज्ञापन पनि सबै विदेशी कम्पनीको छ। नेपाली व्यवसायीले आयोजकलाई विश्वास गर्न नसकेको स्थिति छ।”

उनले भनेजस्तै प्रतियोगिता शुरूआतदेखि नै नेपाल टी–२० लिगले दर्शक पाउन सकेन। आईपीएलमा जस्तो नेपाल टी–२० लिगका फ्रेन्चाइज टोलीले दर्शक पनि भित्र्याउन सकेनन्। 

बुधबार उपाधिका लागि लुम्बिनी र विराटनगर भिडिरहँदा पनि टीयुमा साढे दुई सयको हाराहारीमा दर्शक थिए। क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम सम्झौता शुरूआतदेखि विवादास्पद देखिएकोले पनि दर्शकले नेपाल टी–२० लिगको अपनत्व अपनाउन नसकेको कारण प्रतियोगिता असफल भएको बताउँछन्।

“प्रतियोगितामा अन्तर्राष्ट्रिय छवि बिगार्ने गरी जुन घटना भयो त्यो पक्कै पनि राम्रो होइन। पहिला सम्झौतामा गर्दा पनि यस्तै हुनसक्छ है भनेर कतिपय बुँदाहरूको विरोध गरेका थियौँ। तर, केही परिवर्तन गरेर दम्भको आधारमा पास गरेर प्रतियोगिता सञ्चालन गरे”, उनी भन्छन्, “राष्ट्रहित विपरीत भएको प्रतियोगितालाई दर्शकले कसरी आफ्नो भन्न सक्छन्? कसरी सफल भयो भन्न सक्छन्?”