सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेशको मुख्यमन्त्री पदमा एमालेका राजेन्द्रसिंह रावललाई नियुक्त गरेका छन्।

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन्। उनलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावललाई मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

रावल कञ्चनपुरबाट नेकपा एमालेका समानुपातिक सांसद हुन्। पार्टी पोलिटब्युरो सदस्य एवम् सुदूरपश्चिम प्रदेशका सह इन्चार्जसमेत रहेका रावल पहिलो संसद् यात्रामा नै मुख्यमन्त्री बन्न सफल भएका छन्।