मास्टर्स डिग्री नै झण्डै १८ उपलब्ध गराउन सक्ने ठाउँ काठमाडौंबाहेक नेपालमा अन्यत्र कहीँ छ भने त्यो पोखरा नै हो।
कास्कीमा गुरुङ राजालाई हराएर कुलमन्दन शाह राजा बने। राज्य सञ्चालन गर्न ब्राह्मण चाहिने ठानेर शाहले ब्राम्हणहरू ल्याई कास्कीमा स्थापित गराए। ती ब्राह्मणहरू पश्चिम सिञ्जाबाट आएका हुन् भनिन्छ। कास्कीको पाँच हजार फिटभन्दा माथिको भेगमा सबै गुरुङ बस्ति थिए, अहिले पनि छन्। "ब्राह्मणहरू धेरै मेहेनती भएका हुँदा उनीहरूले धेरै काम गर्छन्" भन्ने ठानेर ल्याइएको बुझाइ थियो। तल्लो फाँट पामेदेखि कोत्रेसम्म कृषि कर्मका लागि पनि उनीहरूलाई ल्याइएको ठानिन्छ।
ती ब्राह्मणहरू पढाईमा तेज थिए। धेरैजसो ब्राह्मण पुरुषहरू पढ्न भारतको बनारस जान्थे। पाल्पा, गुल्मी र अर्घाखाँची भेगका ब्राह्मणहरू पनि बनारस पढ्न जान्थे। आफुले पढे पनि उनीहरूले अरु स्थानीयहरूलाई पढाउने विषयमा खासै चासो दिएका थिएनन्। धेरै स्थानीय बासिन्दा शिक्षा र ज्ञानबाट बंचित हुनाको कारण पनि त्यही हो।
कास्कीमा कखरा
२ हजार सालभन्दा केही पहिलेबाट नेपालमा पाठशालाहरू खुल्न थालेका हुन्। त्यही समयताक पसल चलाएर बसेका स्थानीय नेवारहरूले बनारसतिर पढेर आएका ब्राह्मणहरूलाई "तिमीहरूले पढेर मात्र हुँदैन, पढेको कुरा अरुलाई पनि सिकाउनुपर्छ" भन्दै आवाज उठाउन थाले। त्यसपछि यस भेगमा सानातिना पाठशाला खुल्न थाले। त्यसपछि पोखरेलीले कखरा सिक्न पाए। उतिखेर कखरा सिक्ने पनि प्राय: सबै पुरुष हुन्थे।
विन्ध्यवासिनी क्षेत्रमा बनारसबाट संस्कृत पढेर आएकाहरूले अनाैपचारिक संस्कृत पाठशाला सुरु गरे । त्यसबाट बजार क्षेत्रका केही बच्चाहरूले अक्षर सिक्न र पढ्न पाए। अहिले 'पोखरेली युवा सांस्कृतिक परिवार'को कार्यालय भएकै ठाउँमा पहिले संस्कृत पाठशाला थियो। बनारसबाट संस्कृत पढेर आएकामध्ये रेग्मी र पराजुली थरका बाहुनहरू धेरै हुन्थे। ब्राह्मणहरू बिहान बेलुका पढाउँथे, दिउँसो जजमानी गर्न जान्थे।
बाटुलेचौरबाट विन्ध्यवासिनीसम्म पढ्न आउन गाह्रो हुने भएकाले त्यताका पण्डितहरूले पनि पाठशालाको आवश्यकता महसुस गरेर नयाँ पाठशाला खोले। उतिबेला एउटै शिक्षकले धेरै विषय पढाउँथे। बजारहरूमा पाठशाला थपिँदै जान थालेपछि गाउँघरबाट तिनमा थप विद्यार्थी आउन थाले। भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेको समय थियो त्यो। त्यसको प्रभाव नेपालमा पनि पर्दैथियो। पढ्नुपर्छ र जागरुक बन्नुपर्छ भन्ने भावना चारैतिर बढ्दै गयो।
नारनथानमा पहिले एउटा पाटी (धर्मशाला) थियो। बाहिरबाट तीर्थ जाने यात्रीहरू त्यहाँ बास बस्थे। स्थानीय व्यक्तिहरूले जग्गा दान दिएर त्यो धर्मशाला बनाएका थिए। पछि त्यही धर्मशालामा विद्यार्थीहरू पढाउन थालियो। नारनथानमा बस्ने पाटी थियाे । त्यहाँ विद्यार्थी जम्मा पारेर पढाउन थालियाे । त्याे नै पोखराको सम्भवत पहिलो पाठशाला हो। त्यसअघि पोखरामा कुनै पनि स्कुल थिएनन्। धनीमानिका छोराछोरी काठमाडौं पढ्न जान्थे। त्यो बेला काठमाडौंका प्रख्यात स्कुलमा पर्थे जुद्धोदय र दरबार हाइस्कुल। उतिखेर यताबाट पैदलै हिँडेर काठमाडौं पुग्नुपथ्र्यो। पृथ्वी राजमार्ग खुलिसकेको थिएन।
पाठशाला सुरु भएपछि त्यसमा कक्षा एकदेखि चारसम्म पढाई भयो। त्यस पहिले पाठशालामा 'एक-दुई कक्षा' भन्ने नै थिएन। सम्भवत २००९/११ तिर कास्की जिल्लामा औपचारिक शिक्षाको सुरुवात नारनथानबाटै भएको हो। विस २०११ सालमा नारनथानकाे स्कुल नेसनल हाइस्कुलमा रुपान्तरण भएर नदीपुरमा उक्लियाे । पछि बगरमा मल्टिपर्पाेज स्कुलका रूपमा लगियाे । त्यही स्कुल नयाँ शिक्षा लागू भएपछि राष्ट्रिय माविका रुपमा टुँडिखेलमा स्थापित भयाे ।
हवाइजहाजमा हालेर पोखरा पुर्याइए फर्निचर
सो स्कुल २०१४ सालमा हाइस्कुल टुँडिखेलमा सर्यो। अमेरिकन सरकारले "राम्रा स्कुलमार्फत विभिन्न खालका सिपयुक्त शिक्षा दिनुपर्छ" भन्ने उद्देश्यले पोखरामा नेसनल हाइस्कुललाई भोकेसनल ट्रेनिङ स्कुलका रुपमा विकास गर्न भवनहरू बनाइदिएपछि स्कुल त्यहाँ सर्यो। भवनहरू त बनाइए तर बस्नका लागि फर्निचर थिएनन्। फर्निचरसमेत भैरहवाबाट हवाइजहाजमा ल्याइयो। हामी सबै विद्यार्थीहरू फर्निचर लिन विमानस्थल गयौं। वि. सं. २०१४ सालमै हाइस्कुलको विद्यार्थी भएको हुनाले फर्निचर बोक्न गएको हामीलाई याद छ। नेसनल हाइसकुल 'भोकेस्नल स्कुल'का रूपमा स्थापित भएपछि पोखरामा आधुनिक शिक्षाको सुरुवात भयो।
२०१४ सालमा टुँडिखेलमा भाेकेसनल स्कुल स्थापित भइसकेपछि बाटुलेचौरमा “विन्ध्यवासिनी विद्यालय” सुरु भयो। औपचारिक शिक्षा सुरु गर्ने भन्दै विन्ध्यवासिनी स्कुल पनि सुरु भयो। कालान्तरमा यहाँका भुपु सैनिकहरू पनि छोराछोरी पढाउनुपर्छ भन्दै स्कुल खोल्ने काममा जुटे। उतिखेर भूपु सैनिकहरूले छोराछोरी खासै पढाउँदैनथे। सैनिकका छोराछोरी सैनिक नै हुने चलन थियो। अहिलेको अमरसिंह हाइस्कुलकाे स्थापनाकालिन नाम “सोल्जर बोर्ड हाइस्कुल” थियाे ।भूपु सैनिकहरूको कल्याणकारी संस्थाले आर्थिक सहयोग गरेका कारण विद्यालयको नाममा 'सोल्जर' झुण्डिएको हो। अमरसिंह हाइस्कुलको भवन २०१७/१८ सालमा भवन निर्माण सुरु भएको थियो।
शिक्षाको महत्व बुझ्दै जाँदा अभिभावकहरू सक्रिय हुन थाले, विद्यालयमा विद्यार्थी बढ्न थाले। दिनमा व्यापार गर्ने व्यापारीहरू समेत पढ्न चाहन्थे तर रोजीरोटी छाडेर दिउसो स्कुल जान अप्ठ्यारो भएकाले उनीहरूका लागि रात्री पाठशाला चलाइयो। पोखरा-१३ मा अहिले भद्रकाली स्कुल र क्याम्पस छ। त्यहीँ पहिले रात्रीपाठशाला सुरु गरियो। बगरको नेशनल हाइस्कुल टु 'मल्टि पर्पोज'मा दिउँसो हाइस्कुल र राती रात्रीपाठशाला सुरु भयो। रात्रीपाठशाला सुरु हुनुभन्दा एक दुई वर्ष अगाडी हुनुपर्छ, छात्राहरूका लागि नदीपुरमा “कन्या स्कुल” सुरु भयो। त्यसपछि तालबाराही स्कुल खोलियो। क्रमश: स्कुलको संख्या बढ्दै गयो। २०१५/१६ सालसम्म पोखराले शिक्षाको क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको थियो।
त्यो बेला जननिर्वाचित सरकार भएका कारणले पनि विद्यालयका लागि सरकारले रकम विनियोजन गर्न थालेको थियो। पर्याप्त स्रोत भएपछि विद्यालय चलाउने कुरामा मान्छेमा चासो र जागरुकता फैलियो। त्यसपछि पोखरामा धेरै स्कुल संचालन भए। कुनै पनि बच्चा स्कुल अभावले नपढी बस्नुपर्ने वा काठमाडौं या बनारस जानुपर्ने बाध्यता हट्यो।
पाेखरामै क्याम्पस र तालिम केन्द्र
स्कुल खोलिए तर यहाँको पढाइ सकेपछि एसएलसी दिन र थप अध्ययन गर्न कहाँ जाने भन्ने समस्या आइलाग्यो। पोखरामा पढेर 'प्राइभेट' जाँच दिन कोही पाल्पा त कोही काठमाडौं गए। पोखराका कतिपय मान्छेले २००८ सालमै एसएलसी पास गरिसकेका थिए। स्वअध्ययन गरेर पनि जाँच दिने बढ्न थाले। प्रजातन्त्र प्राप्तिपछि पढ्ने जागरण र हुटहुटी बढ्न थाल्यो। खर्च गर्न सक्नेहरू बाहिर जान्थे। नसक्नेहरूका लागि पोखरामा उच्चशिक्षाको आवश्यकता महसुस भयो। यहाँका व्यवसायी, पोखरा उद्योग वाणिज्य संघ, नगर पञ्चायत, सबै मिलिजुलि क्याम्पस खोल्ने अभियानमा लागे।
क्याम्पसको सुरुआत कन्या स्कुलबाट भयो। त्यसपछि खरको छाप्रोबाट पृथ्वीनारायण क्याम्पस (पिएन) सुरु भयो। २०१७ साल भदौ १७ गते यसको औपचारिक सुरुआत भयो। अहिले पिएनमा सुविधासम्पन्न भवनहरू छन्। यस क्याम्पसमा पनि रात्री पाठशाला सुरु भयो। आर्थिक अवस्था अलि कमजोर हुनेका लागि पिएन बरदान नै बन्यो। विस्तारै यसमा विज्ञान र वाणिज्यलगायतका विषय थपिए।
पोखरा उपत्यका र कास्कीका विभिन्न ठाउँमा स्कुल खोल्न पोखरा बसोबास गर्ने व्यक्तिहरूको ठूलो योगदान छ। बजारका व्यवसायीसँग चन्दा उठाएर धेरै विद्यालयको कोठा बने। कालान्तरमा जनस्तरमा शिक्षाबारे सहयोगी भावना विकास भयो। आर्थिक सहयोग गर्न असमर्थहरूले जग्गा दान गरे। धेरै ठाउँमा त्यसरी पनि विद्यालय बने। ६०/६५ वर्षभित्र शिक्षाको क्षेत्रमा पोखराले धेरै फड्को मार्यो। २०३० सालमा नयाँ शिक्षा नीति आएपछि सबै खालका विद्या आर्जन गर्ने थलोका रूपमा पोखरालाई स्थापित गर्यौं। अमेरिकन सरकारको सहयोगमा नेपालमा विद्यालयहरूको संख्या बढ्यो। विद्यालय संख्या बृद्धिसँगै गुणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम आवश्यक ठानियो।
पृथ्वीनारायण क्याम्पसको उत्तरपट्टीको भवनलाई शिक्षक तालिम केन्द्रका रूपमा विकसित गरियो। अमेरिकन सरकारले नै त्यो भवन बनाइदिएको हो। सो तालिम केन्द्र क्याम्पसभन्दा पनि पूरानो हो। यस क्षेत्रमा एउटै मात्र तालिम केन्द्र थियो त्यो। पश्चिमाञ्चल भेगका गुल्मीदेखि लमजुङसम्मका शिक्षक हुन चाहनेहरू यहीँ तालिमा लिन आउँथे। एक वर्षे र दुई वर्षे तालिम संचालन हुन्थे त्यहाँ।
विश्वविद्यालय हुँदै दर्जन 'मास्टर्स'
कालान्तरमा नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तन आयो। पोखरामा पनि प्राइभेट क्याम्पस धमाधम खोल्न सुरु भयो। नीजि र सामुदायिक क्याम्पसहरू भटाभट खुल्न थाले। त्यसपछि विश्वविद्यालयको आवश्यकता खड्कियो। २०४२ सालमा पोखरामा पनि विश्वविद्यालय खोल्नुपर्छ भनेर हामीले सरकारसँग माग गर्यौं। उद्योग वाणिज्य संघदेखि लिएर शिक्षा क्षेत्रका साथीहरूलाई पोखरामा जम्मा पारेर सरकारसँग हामीले मागपत्र प्रस्तुत गर्यौं।
२०५३/५४ सालमा आएर सरकारले कानुन बनाएरै पोखरा विश्वविद्यालयको स्थापना गर्यो। नयाँ शिक्षा नीति आईसकेपछि पोखरामा इन्जिनियरिङ तथा वन विज्ञान अध्ययनका लागि क्याम्पसको आवश्यकता खड्क्यो। सोही अनुसार लामाचौरमा इन्जिनियरिङ क्याम्पस र नयाँ गाउँमा वनविज्ञान क्याम्पस बन्यो। चिकित्साशास्त्र अध्यनयन संस्थान रामघाटमा स्थापित भयाे । त्यहाँ सुरुमा नर्सिङकाे पढाई सुरु भयो। यसरी पोखराले अनेक खाल शैक्षिक संस्था र शिक्षाको सुरुआत गर्यो।
सुरुमा 'एक्सलेन्ट सेन्टर'का रूपमा विकास भएको पोखरा कालान्तरमा 'ग्राजुयसन' र 'मास्टर्स सेन्टर'का रूपमा अघि बढाइयो। पृथ्वीनारायण क्याम्पसमा मात्रै मास्टर्स डिग्रीका १२/१३ विषय पुगिसके। वन विज्ञान र चिकित्साशास्त्र र इन्जिनियरिङमा पनि मास्टर्स डिग्री सुरु भइसकेको छ। पोखरामा नीजि क्षेत्रमा पनि मास्टर्स सुरु भएको छ। पोखरा इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा मास्टर्स डिग्री लिन सकिन्छ। शिक्षा क्षेत्रमा यति उल्लेख्य उपलब्धि हुँदाहुँदै पनि यसको प्रवर्द्धन भने गर्न भने सकिएको छैन। अन्यत्रबाट विद्यार्थीलाई पोखरामा आकर्षित गर्न सकेका छैनौं।
हामीले बागलुङ, चितवन, बुटवललगायतका अभिभावक र विद्यार्थीलाई "ल है, पोखरा शिक्षाको केन्द्र भइसकेको छ" भन्न सक्नुपथ्र्यो। तर त्यसो भन्न सकिरहेका छैनौं, पहलकदमी बढाउन सकिएको छैन। हामी गुणात्मक शिक्षा दिनसक्छौं भन्ने सन्देश नेपालका सबै प्रदेशमा पुर्याउन जरुरी छ। मास्टर्स डिग्री नै झण्डै १८ विषयमा दिन सक्ने ठाउँ काठमाडौंबाहेक नेपालमा अन्यत्र कहीँ छ भने त्यो पोखरा नै हो। अब हामी आफैंले पोखराको प्रवर्द्धन गर्नुपर्छ। सरोकारवालाहरू संयुक्त रूपमा जुटौं।
शिक्षालाई यत्तिकै छोड्न हुन्न
यसो भन्दै गर्दा हाम्रा चुनौती पनि प्रशस्त छन्। कुनै पनि सरकार कस्तो खाले शिक्षा नीति अंगिकार गर्ने भन्नेबारे यकिन छैनन्। धेरै कार्यदल र आयोग बनेका छन् तर कस्तो खाले शिक्षा नीति ल्याउने, सर्वसुलभ बनाउने कि गुणस्तरिय भन्नेलगायतका विषयमा विरोधाभासमा छन्। कतिपय राजनीतिक दलका नेताहरू निजि स्कुल र कलेजमा लगानीकर्ता छन्। आफ्नो लगानी सुरक्षित बनाउने विषय उनीहरूको पहिलो प्राथमिकतामा पर्छ। उता, शिक्षालाई सरकारले संविधानप्रदत्त अधिकारको विषय बनाउनेबारे बहस हुनेगरेका छन्। त्यसो हुँदा उनीहरूलाई अप्ठ्यारो पर्न जान्छ र दोधारमा उभिन्छन्।
तर शिक्षालाई यत्तिकै छोड्नु हुन्न। यसमा ठूलो लगानी भएकाले लगानी खेर जान दिनु हुन्न। नेपालजस्तो गरिब मुलुकले शिक्षामा गरेको लगानीलाई प्रतिफलयुक्त बनाउन सबै लाग्नुपर्छ। शिक्षा सर्वसुलभ बनाउनै पर्छ। तर सर्वसुलभ ठानिएको सरकारी शिक्षाको प्राय: सबैतिर गुणस्तर कमजोर छ। नीजि क्षेत्रको गुणस्तर राम्रो ठानिन्छ। त्यसो हुँदा निजि शिक्षालय संचालकका चासोलाई पनि सम्बोधन गर्दै सरकार अघि बढ्नुपर्छ।
(नेपाल उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष मुल्मीसँगको कुराकानीमा आधारित)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
