पुलिससँग उपाधि भेट पक्का गर्ने क्रममा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–१ को सेटमा जित निकालेको थियो।
काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स एकेडेमी सातौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार सम्पन्न सेमिफाइनलमा खेलमा नेपाल पुलिसले अर्को विभागीय टोली एपीएफ क्लबको चुनौती पार गर्दै फाइनलमा स्थान बनाउँदा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिससँगको भेट पक्का गरेको हो।
शनिबार सम्पन्न दिनको पहिलो सेमिफाइनलबाट फाइनलमा स्थान बनाउने क्रममा पुलिसले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाएको हो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिका दुई सेट एपीएफले २५–१७, २५–२१ ले आफ्नो पार्यो।
चौथो सेट पुलिसले २५–२१ ले जित्दा खेल २–२ सेटको बराबरीमा आएको थियो। पाँचौँ सेटमा लम्बिएको खेलमा पुलिसले १५–७ को सहज जित हात पार्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो। अब पुलिसले साबिक विजेता न्यु डायमन्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
उता, पुलिससँग उपाधि भेट पक्का गर्ने क्रममा न्यु डायमन्डले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–१ को सेटमा जित निकालेको हो। पहिलो सेट आर्मीलाई १७–२५ ले सुम्पिएको न्यु डायमन्डले त्यसपछिका सेटमा लगातार जित निकाल्दै फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो।
अब डायमन्ड उपाधिका लागि प्रतिस्पर्धा गर्दा लिग चरणमा भोगेको बदला लिने लक्ष्यमा हुनेछ। न्यु डायमन्डले फाइनलमा स्थान बनाउने क्रममा आर्मीविरुद्ध दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१६ र चौथो सेटमा २५–१८ को सहज जित निकालेको हो। फाइनल खेल आइतबार हुनेछ। त्यसअघि तेस्रो स्थानका लागि एपीएफ र आर्मीबीच आइतबार नै हुनेछ।
यस्तै, पुरुषतर्फको प्रतिस्पर्धामा पनि फाइनल समीकरण पूरा भएको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबले क्रमशः एपीएफ र नेपाल पुलिसलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्। आर्मीले एपीएफलाई पराजित गर्ने क्रममा सोझो सेटमा जित निकालेको हो।
पहिलो सेटमा २५–२३ को रोमाञ्चक जित निकाल्दा दोस्रो सेट र तेस्रो सेटमा समान २५–१७ र २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। यस्तै, शनिबार नै सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा हेल्प नेपालले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसलाई हराउने क्रममा हेल्प नेपालले पहिलो सेट २५–२१ ले पक्षमा पारे पनि दोस्रो सेट भने २६–२४ ले गुमाएको थियो। तेस्रो सेटमा २५–१७ को जित निकालेको हेल्प नेपालले चौथो सेट पुनः २५–२० ले गुमाउँदा खेल २–२ को बराबरीमा पुगेको थियो। अन्तिम तथा निर्णायक सेटमा १५–८ को रोमाञ्चक जित निकाल्दै आर्मीसँगको भेट पक्का गरेको हो।
फाइनल खेल आइतबार हुनेछ। यस्तै, तेस्रो स्थानका लागि एपीएफ र पुलिसबीच पनि आइतबार नै हुनेछ। प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ। पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन्। दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछन्। यस्तै, उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
