प्रधानमन्त्री कप : सुदूरपश्चिम र प्रदेश १ को लगातार दोस्रो जित

सोमबार सम्पन्न आ-आफ्नो खेलमा सुदूरपश्चिमले ९ विकेट र प्रदेश–१ ले ९ रनको जित निकालेका छ।

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश–१ ले लगातार दोस्रो जित निकालेका छन्। सोमबार सम्पन्न आ-आफ्नो खेलमा सुदूरपश्चिमले ९ विकेट र प्रदेश–१ ले ९ रनको जित निकालेका हुन्।

दिनको पहिलो खेलमा समूह 'ए' मा रहेको सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। गण्डकीले दिएको ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ११ ओभरमा १ विकेट गुमाउँदै ६३ रन बनायो।

सुदूरपश्चिमकी ओपनर बिन्दु रावलले सर्वाधिक ४६ रन बनाइन्। उनले ४३ बलमा ८ चौका प्रहार गरिन्। सोभा रोकाय १६ बलमा ८ रन बनाउँदै अविजित रहिन्। अर्की ओपनर यशोदा विष्ट २ रनमा क्याच आउट भइन्।

गण्डकीकी निरूता टिजीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर १ विकेट लिइन्।

त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६३ रन बनाएको थियो।

गण्डकीकी मध्यक्रमकी ब्याटर सिमना केसीले मात्रै दोहोरो अंकमा रन बटुल्न सकिन्। उनले ३१ बलमा २ चौका प्रहार गरेकी थिइन्।

सुदूरपश्चिमकी मनिषा चौधरीले सर्वाधिक ४ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले १ मेडनसहित १४ रन खर्चिएर ४ विकेट लिइन्। ईश्वरी विष्ट र स्नेहा महराको नाममा १/१ विकेट रह्यो।

सोमबार नै सम्पन्न अर्को खेलमा प्रदेश १ ले लुम्बिनीलाई ९ रनले पराजित गर्‍यो। मौसमका कारण ९/९ ओभरमा खेलाइएको खेलमा प्रदेश १ ले दिएको ५९ रन पछ्याएको लुम्बिनीले ७ विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो।

लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले मात्रै दोहोरो अंकमा रन बटुल्न सकिन्। उनले १७ बलमा ४ चौका र १ छक्कासहित ३१ रन बनाइन्।

प्रदेश १ की संगीता राईले सर्वाधिक ३ विकेट लिइन्। २ ओभर बलिङ गरेकी उनले ४ रन खर्चिइन्।  सबनाम राई, ज्योति दनुवार र रूविना क्षेत्री बेलबासेको नाममा १/१ विकेट रह्यो।

त्यसअघि पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित ९ ओभरमा ४ विकेट गुमाउँदै ५९ रन बनाएको थियो। प्रदेश १ की ओपनर काजल श्रेष्ठले सर्वाधिक २१ रन बनाइन्। उनले १८ बलमा ४ चौका प्रहार गरिन्।

कप्तान तथा अर्की ओपनर रूविना क्षेत्री बेलबासेले १३ बलमा ३ चौकासहित १७ रन बनाइन्। अप्सरा बेगमले १२ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

लुम्बिनीकी कृतिका मरासिनी, सरस्वती पुन र बिभसना बिसीले १/१ विकेट लिइन्।

जितसँगै समूहमा 'ए' मा रहेको सुदूरपश्चिमले २ खेलबाट ४ अंक जोडेको छ। समूह 'बी' मा रहेको प्रदेश १ ले पनि समान खेलबाट ४ अंक नै जोडेको छ।