सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि तेस्रो पटक निर्वाचन हुँदै

सभामुख चयनका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार १० बजेका लागि आह्वान गरिएको प्रवक्ता नरेन्द्रबहादुर पालले बताए।

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि मंगलबार निर्वाचन हुँदै छ। सुदूरपश्चिममा सभामुख चयनका लागि तेस्रो पटक निर्वाचन हुन लागेको हो। सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएको भन्दै मतदान नगर्दा सभामुख चयन हुन सकेको थिएन।

प्रदेशसभाको बैठक १० बजेका लागि डाकिएको प्रवक्ता नरेन्द्रबहादुर पालले बताए। उनले संवैधानिक व्यवस्थाअनुसार सभामुखको निर्वाचनको अन्तिम दिने भएकाले सभामुख चयन हुने उनको भनाइ छ।

नेपालको संविधानको धारा १८२ (१)मा प्रदेशसभाको पहिलो बैठक भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन हुनुपर्ने हुन्छ। पहिलो बैठक बसेको दिनलाई गणना गर्दा सोमबार १५ दिन पुग्छ। उनले सोमबार सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेकाले सोमबारको बैठक स्थगित गरी मंगलबार १० बजे बैठक आह्वान गरिएको बताए।

सोमबार नागरिक उन्मुक्तिले सभामुखमा सत्ता पक्षीय उम्मेदवार भीमबहादुर भण्डारीलाई मत दिने निर्णय गरेको छ। यद्यपि, आफ्ना माग सम्बोधन नभए सरकारमा नजाने उसको अडान छ।

सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ। प्रदेश सभामुख चुनिनका लागि ५१ प्रतिशत अर्थात् २७ मत आवश्यक पर्छ। यसअघि दुई पटकसम्म भएको चुनावमा नेकपा माओवादीबाट सभामुखका उम्मेदवार भण्डारीले २२ मत पाएका थिए। जुन सभामुख चयनका लागि पर्याप्त थिएन। सत्तारूढ गठबन्धनसँग नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १० नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ मत छ।