पशुपतिनाथको दर्शनपछि उपप्रधानमन्त्री लिङ्देनले गरे पदभार ग्रहण

राष्ट्रपतिबाट शपथ लिएलगत्तै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित राप्रपाबाट मन्त्री बनेका सबैजना दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका थिए।

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्।

उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गर्न पुगेका लिङ्देनले तत्पश्चात् सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्। 

उनले नेपालीहरूले शुभ गर्नु पहिले त्यसको स्थायित्वको कामना गर्दै आफ्ना पितृहरूलाई सम्झने, भगवानलाई सम्झने परम्परा भएअनुरूप आफू शपथपछि पशुपतिनाथको दर्शन गर्न गएको बताए। 

लिङ्देनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए।

त्यस्तै, पदभार ग्रहण गर्दै उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन्। 

विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको उनले बताए।

नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने दृढता समेत व्यक्त गरे।