म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिलाहरू जंगलमा खेर जाने अल्लोको पुवा प्रशोधन गरी विभिन्न सामग्री उत्पादन गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न थालेका छन्।
म्याग्दी– जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन्। अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।
रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहकी अध्यक्ष मनकुमारी पुनले १२ जना महिला उद्यमीले अल्लोबाट कपडा बनाउने काम गरिरहेको जानकारी दिइन्। “एक जनाले वार्षिक रूपमा ४५ देखि एक सय ५० मिटरसम्म अल्लोबाट कपडा बनाउँछौँ”, उनले भनिन्, “प्रतिमिटर पाँच सयदेखि सात सय पचासका दरले अल्लो कपडा बिक्री हुन्छ।”
हिउँदयाममा लेकाली क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन, प्रशोधन गरी धागो बनाउने र घरायसी कामबाट बचेको फुर्सदको समयमा धागो बुन्ने गरेको उद्यमी हिमदेवी घर्तीले बताइन्। उनका अनुसार चाल्से सिस्नोको डाँठको बाहिरी भागबाट पुवा निकाल्ने गरिन्छ। पुवालाई तातोपानीमा पकाएर तयार पारिएको रेसादार धागोलाई तानको सहायताले कपडा बुन्ने गरिन्छ।
“वातावरणमैत्री, बलियो, टिकाउ, आकर्षक र मौलिक सीपमा आधारित भएकाले अल्लोको धागो र कपडाको खपतसँगै माग पनि बढेको छ”, घर्तीले भनिन्, “खेतीकिसानी र घरायसी कामबाट बचेको समयको सदुपयोगसँगै भएको आम्दानीले घरखर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ।”
उद्यमीहरूले कपडाका विभिन्न सामग्री बनाएर विविधीकरण गर्न थालेका छन्। ग्राहकको माग अनुसार कोट, झोला, सपिङ ब्याग, सल, पछ्यौरा, ‘पर्स’ बनाएर बिक्री गर्दा थप आम्दानी हुने उद्यमी गौमाया पुनले बताइन्। “यसअघि परम्परागत शैली र डिजाइनमा कुर्ता सुरुवाल मात्रै सिलाउने गरेका थियौँ”, उनले भनिन्, “पछिल्लो समय ग्राहकको माग अनुसार नयाँ–नयाँ डिजाइनमा कपडा सिलाउन थालेपछि थप आम्दानी भएको छ।”
अल्लोबाट बनेको एउटा कोटलाई रु पाँच हजार मूल्य पर्ने गौमायाले जानकारी दिइन्। उनका अनुसार रुम घुम्न आउने पर्यटक र पाहुनाले कोशेलीका रूपमा अल्लोका कपडा किनेर लैजाने गरेका छन्। बेनी, पोखरा, बागलुङ, कुश्माका मेला तथा महोत्सवमा प्रदर्शनीमा लगेर सामानको प्रवर्द्धन गरिएको छ। छुट्टी र चाडपर्व मनाउन जन्मथलो आएका प्रवासीहरू पनि अल्लोका कपडाका ग्राहक बनेको उनको अनुभव छ।
मालिका गाउँपालिकाकी उद्यम विकास सहजकर्ता होमदेवी खत्रीले रुमका उद्यमीलाई अल्लोको कपडाबाट सामग्री बनाउन स्तरोन्नतिसम्बन्धी तालिमका साथै तान सहयोग गरिएको बताइन्। उनका अनुसार गरिबी निवारण कोष, गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम लगायत सङ्घसंस्था तथा सरोकार भएका निकायले तालिम, प्रविधि र पूर्वाधार निर्माणमा सहयोग गरेका छन्।
सामूहिक रूपमा कपडा बुन्ने उद्यमीका लागि साझा सुविधा केन्द्रको भवन पनि निर्माण गरिएको मालिका-२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए। उनका अनुसार स्थानीय स्रोतसाधनमा आधारित उद्यमले महिलाको आर्थिक सशक्तीकरणसँगै गाउँमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
पहिले जङ्गलमा खेर जाने अल्लो आज रुमका महिलाको जीवन परिवर्तन गर्ने माध्यम बनेको छ। परिश्रम, सीप र सामूहिक प्रयासले उनीहरूले गाउँमै आयआर्जनको दिगो आधार तयार गरेका छन्। स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्न सके अल्लो उद्यम ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
