वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए।

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताए। 

शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औँ वार्षिक साधारण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताएका हुन्। 

उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए। बाध्यात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद तस्वीरमा बदल्न प्रयास गर्ने उनको भनाइ थियो।

मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वैच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गरे। 

उनले सीप बिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए।