केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगमा ६ विदेशी र चार नेपालीसहित १० जना खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको जनाएको छ।
काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य महबुब आलमले नेपाल टी-२० लिगमा दुई नेपाली खेलाडीलाई स्पट फिक्सिङको लागि अफर दिएको खुलेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार पत्रकार सम्मेलन गर्दै महबुबले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर आदिल अन्सारी र अर्का खेलाडीलाई स्पट फिक्सिङका लागि अफर गरेको जानकारी दिएको हो।
ब्युरोका एसपी सञ्जयसिंह थापाका अनुसार अर्का एक नेपाली खेलाडीले भने स्पट फिक्सिङ गर्न अस्वीकार गरेका थिए। "महबुबले कम्तीमा दुईजना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाएर स्पट फिक्सिङको प्रयास गरेका थिए। एकले भने अस्वीकार गरेका थिए। आदिलले चाहिँ उनले भनेबमोजिम नै एउटा नो र एउटा वाइड बल फालेको खुलेको छ। यो संयोग हो कि के हो थाहा भएन तर उनले एन्टी करप्सन युनिटमा जानकारी नदिएको स्वीकारेका छन्", उनले भने।
उनका अनुसार ६ विदेशी र चार नेपालीसहित १० जना स्पट फिक्सिङमा संलग्न रहेका छन्। ६ विदेशीमध्ये चार व्यवस्थापक, एक खेलाडी र अर्का एक बाहिरी व्यक्ति रहेका छन्। फिक्सरहरूले भने एकै खेलमा पाँचजना खेलाडीलाई स्पट फिक्सिङका लागि अफर गरेका थिए। जसमा तीन नेपाली र दुईजना विदेशी खेलाडी रहेका छन्। तीनजना खेलाडीले भने फिक्सिङ गर्न अस्वीकार गरेका थिए। दुई खेलाडीले फिक्सिङ गरेको एसपी थापाले बताए।
स्पट फिक्सिङको आरोपमा हालसम्म महबुब र अन्सारीलाई मात्रै पक्राउ गरिएको छ। अन्य ८ जनालाई भने पक्राउ गर्ने तयारी थालिएको उनले जानकारी दिए। महबुब विराटनगरको एक होटलबाट पक्राउ परेका थिए।
यस्तै, अन्सारीलाई राजविराजबाट प्रहरीले पक्राउ गरेको थियो। आदिल नेपाल टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। उनीहरूलाई काठमाडौँ ल्याएर जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको एसपी थापाले बताए।
यस्तै, टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको उनले बताए। विदेशी खेलाडीलाई व्यवस्थापन टिमका सदस्यबाट नै फिक्सिङको लागि प्रस्ताव गरिएको उनको दाबी छ।
ब्युरोका एसपी दिनेश आचार्यका अनुसार खेलाडीलाई कफी शपमा भेट्नेदेखि कल गरेर, म्यासेन्जर, ह्वाट्स एप र पर्सनल मेसेज गरेर फिक्सरहरूले आर्थिक प्रलोभन दिएका थिए।
"प्रत्येक रन, ओभर र बलमा स्पट फिक्सिङ गर्न ६ देखि १० लाखसम्मको अफर गरेको देखिएको छ। तर, उनीहरूले लिएको रकमबारे अनुसन्धान भने जारी रहेको छ", उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
