होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेकोमा दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए।
पोखरा– माघ १ गते पोखराको सेतीखोँचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अंग्रेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरि सुस्ताएको हो।
“जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेब्रुअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए। तर, विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेका छन्”, रेवान पोखराका अध्यक्ष एवं होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिए।
“अहिले झन्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ”, उनले भने। हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिक रूपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उनको भनाइ छ।
यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन्।
होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो संख्या घटेको बताउँछन्।
उनले भने, “विमान दुर्घटनापछि मानिसहरू मानसिकरूपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन् ।” उनका अनुसार होटल सरोवरमा जनवरीमा ६० र फेब्रुअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिक रूपमा समेत दुखी भएको बताउँछन्।
उनले भने, “अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन्।” उनले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताए।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेकोमा दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए।
“बिस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ। सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाई मार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्”, उनले भने। उनका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन्।
जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि देखिएको छ । संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको र सामान्य अवस्थामा पनि पाँच सयको हाराहारीमा आउने गरेको तथ्यांक अहिले घटेको जानकारी दिए। उनले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवं अन्य पर्यटक पनि नआएको उनको भनाइ छ।
विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा
गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको स्मृतिमा शुक्रबार घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ।
पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक ठीक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो। सो अवसरमा घटनामा निधन हुनुभएका सबै यात्रुहरूको स्मृतिमा दीप प्रज्वलनसमेत गरियो।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरूको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताए।
दुर्घटनाका आला घाउ पुर्दै बाँचेकाले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ।
उनले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्त्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दल लगायतप्रति गण्डकी प्रदेश सरकारका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए।
माघे संक्रान्तिको बिहान काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर विमान बिहान १०ः५८ बजे पोखरा वडा नं ७ र १५ को सीमास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो। घटनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एक जनाको खोजी कार्य जारी छ।
दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
