सर्वोच्च अदालतको आदेशबाट रवि लामिछानेको सांसद पद गुमेसँगै सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टीकाटिप्पणी भइरहेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकताको कानूनी हैसियत नरहेको फैसला सुनाएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रविले प्रयोग गर्दै आएको नागरिकताको कानूनी हैसियत नरहेको ठहर गर्दै उनका सबै पदलाई बदर गरिदिएको हो।
रविका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यत्रमणि न्यौपानेले बहस गरेको थिए। उनीहरूले रिट नै खारेज गर्नुपर्ने जिकिर गरेका थिए। रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, रमण कर्ण र अनिता श्रेष्ठले जवाफी बहस गर्दै रिटमा माग गरेअनुसारको आदेश जारी गर्नुपर्ने माग गरेका थिए।
अदालतको आदेशपछि सामाजिक सञ्जालमा रविविरुद्ध, रविको समर्थन तथा रविप्रति व्यङ्ग्य गर्दै टीकाटिप्पणी भइरहेको छ। त्यस्तै, रविको दोहोरो नागरिकता तथा राहदानीका विषयमा लेखिरहेका पत्रकार किशोर श्रेष्ठ र केपी ढुंगानालाई थुप्रैले बधाई पनि दिएका छन्।
श्रेष्ठले रविको दोहोरो नागरिकताको विषयमा चार वर्षअघि आवाज उठाएका थिए। पत्रकार श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “प्रेस काउन्सिलले चार वर्षअगाडि जे भनेको थियो, त्यही भयो। नागरिकतामा कैफियत देखियो।“ रविको नागरिकतासम्बन्धी विवाद प्रेस काउन्सिलमा पुग्दा उनी कामु अध्यक्ष थिए।

त्यस्तै, रविको नागरिकता तथा राहदानीकै विषयमा लगातार खोजमूलक समाचार प्रकाशित गरेको उकेरा डट्कमका सम्पादक केपी ढुंगानाले खुशी व्यक्त गरेका छन्। न्यायालय र पत्रकारिता दुवैको साख बढेको उनको भनाइ छ। ढुंगाना आफ्नो ट्विटर ह्यान्डलमा लेख्छन्, “पत्रकारिता र न्यायालय दुवैको साख बढ्यो, खुशी छु।“
फैसलाको सम्मान
पूर्वसचिव रामेश्वर खनालले पनि कानुनको शासन अझै कायम रहेको भन्दै खुशी व्यक्त गरेका छन्। राज्यका संस्थाले गरेका निर्णयमाथि प्रश्न उठाउने स्थान पनि रहेको उनले उल्लेख गरेका छन्।
डा. रामेश कोइरालाले रविलाई नागरिकता पुनः प्राप्तिको बाटोमा लाग्न सुझाएका छन्। रविविरुद्ध अमेरिकी नागरिकता रहँदाकै बखत नेपाली राहदानी लिएको कसुरमा मुद्दा अघि बढाउनु पर्ने उनको तर्क छ। च्युत भएकै पदमा रास्वपाबाट पुनः अर्का सांसद पठाउन नहुने पनि उनको जोड छ।
“रविले नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्नु पर्छ, सरकारले दोहोरो नागरिकता र अमेरिकी नागरिक भएबखत गैरकानुनी हो भन्ने जानीजानी नेपाली राहदानी लिएको कसुरले मुद्दा अघि बढाउनु पर्छ र रास्वपाका अर्का सांसद चैँ निर्लज्ज भएर गृहमन्त्री बन्नु हुन्न। सुशासन दिन आएको दलको बाटो यही हो“, उनले भनेका छन्।

अरुणकुमार सुवेदीले अदालतको फैसला खुशी वा दुखी हुनेभन्दा पनि ससम्मान स्विकार्नु पर्ने धारणा व्यक्त गरेका छन्।
त्यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले फरक धारणा राखेका छन्। उनले लेखेका छन्, “सर्वोच्च अदालतभन्दा ठूलो हुन्छ जनअदालत! नेपाली जनतालाई सोधौँ रवि नेपाली हुन् कि होइनन्? जनताले जे भन्छन् त्यसैलाई सत्य मान्नुपर्छ।“
नागरिक दैनिकका सम्पादक गुणराज लुईंटेलले न्यायालय अझै पनि स्वतन्त्र रहेको र उसले संविधान र कानुनको पालना गरेको धारणा राखेका छन्। निर्वाचन आयोगले गैरनागरिकलाई निर्वाचित गराएको कदमलाई पनि अदालतले सच्याएको उनको भनाइ छ।

लोकतान्त्रिक समाजवादी पार्टीका सीएन खड्गाले रविले पूर्वउपप्रधानमन्त्रीको सुविधा लिन्छन् वा लिँदैनन् भनेर प्रश्न गरेका छन्। उनले रविको पद खारेज गरेर मात्र नपुग्ने, पटक-पटक राज्यलाई ढाँटेकाले उनलाई जेल र जरिबानासमेत गर्नुपर्ने लेखेका छन्।
त्यस्तै, पत्रकार गीता चिमोरियाले आफ्नो ट्विटर ह्यान्डलमार्फत न्यायालयप्रति विश्वास जागेको उल्लेख गरेकी छन्। उनी लेख्छिन्, “बेला-बेला श्रीमान्हरूले कानुनभन्दा माथि कोही छैन भन्ने कुरा सम्झाइदिनु हुन्छ र न्यायालयप्रति थोरै भए पनि विश्वास लाग्छ।“
यता, रास्पवाका केन्द्रीय सदस्य अरनिको पाण्डेले शुभचिन्तकहरूलाई शान्त रहन आग्रह गरेका छन्। उनले आफ्नो पार्टीले विधिको शासनलाई मान्ने उल्लेख गरेका छन्। उनले रवि पुनः राजनीतिमा फर्कने आश्वासन दिएका छन्।

रास्वपा प्रवक्ता मुकुद ढकालले कानूनी परामर्शपछि उचित निर्णय लिने बताएका छन्। उनले संयमित भई पार्टीप्रति विगतमा भन्दा अझ धेरै साथ, सहयोग र विश्वास कायम राखिराख्न अनुरोध गरेका छन्।
उनले भनेका छन्, "पार्टीले सुझबुझका साथ कानुनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिनेछ। सो समयसम्म सम्पूर्णमा संयमताका साथ धैर्य धारण गर्दै पार्टीप्रति विगतमाभन्दा अझ धेरै साथ, सहयोग र विश्वास कायम राखिराख्न अनुरोध गर्दछौँ।"
व्यङ्ग्य
एक वर्षअघि लामिछानेले आफैँले लेखेको न्यायालयसँग सम्बन्धित स्ट्याटस सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ। अदालतको आदेश नमान्नेलाई 'आफ्नो ‘बा’को शासन' भन्ने स्ट्याटस हाल धेरैले व्यङ्ग्यात्मक रूपमा शेयर गरिरहेका छन्। सौरभ कार्की व्यङ्ग्य गर्छन्– “घोर कलियुग, भगवान्लाई पनि कारबाही हुन्छ।“

कतिपय मिडियाकर्मीले रविलाई पुनः स्क्रिनको चमक-धमकमा फर्कन आग्रह गरेका छन्। कतिपयले जनतासँग सिधा कार्यक्रममा उनले बोलेको ‘डाइलग’लाई कपी गर्दै सर्वोच्चले उनको नाकमा ‘राउन्ड किक’ हानेको टिप्पणी गरेका छन्।
त्यस्तै, प्रशान्त फुयाँलले क्रिकेटको कमेन्ट्री शैलीमा लेखेका छन्, “टस जितेर ब्याटिङ रोजेको पूर्वविजेता टिम रास्वपाको खराब शुरुआत, उसलाई शुरुआती झट्का लागेको छ, ओपनिङमा आएका भरपर्दा भनिएका कप्तान (हाम्रो रवि) सस्तैमा समेटिए, (केपी ढुंगाना) को बलिङमा खराब सट खेल्दै क्याच आउट, निराश मुद्रामा रवि पेभिलियन फिर्ता भएका छन्।“

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
