राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईको सिफारिसबारे क्यानभित्रै विवाद छ। राखेपले उनको नियुक्ति प्रक्रिया तत्काल नटुंगिने जनाएको छ। तर क्यानले उनै देसाईलाई झिकाएर प्रशिक्षण थालेको छ।
काठमाडौँ– राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा फागुन २ गतेदेखि हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा छ। तर राष्ट्रिय टोली अहिलेसम्म प्रशिक्षकविहीन छ। यद्यपि, राष्ट्रिय टोलीले आइतबार त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण थाल्दा मोन्टी देसाई पनि सहभागी थिए।
देसाई प्रस्तावित मुख्य प्रशिक्षक हुन्। उनी शनिबार मात्र नेपाल आइपुगेका थिए। त्यसको भोलिपल्ट नै उनी खेलाडीलाई प्रशिक्षण दिन मैदान पुगेका हुन्।
नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट संघ (क्यान) भित्रको विवाद र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ढिलासुस्तीका कारण देसाईको नियुक्तिको टुंगो भने लाग्न सकेको छैन।
“लिग–२ का खेलहरू आउनै लागिसक्यो। मुख्य प्रशिक्षक नियुक्तिको लागि राखेपमा फाइल पुर्याइसक्यौँ”, क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल भन्छन्, “सरकारी काम दुईचार दिन ढिला हुने देखिएपछि देसाईलाई प्रशिक्षक गर्दै गराउनु भनेर लगाएका हौँ।”
तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायके राजीनामा दिएर क्यानडा फर्किएपछि क्यानले गत साउनमा भारतका पूर्वअलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षको लागि नियुक्त गरेको थियो। प्रभाकरको प्रशिक्षणमा नेपाली टोलीले नामिबियामा आयोजित लिग–२ अन्तर्गतका चार खेल खेलेको थियो। नेपाल जितविहीन भएपछि उनले गत मंसिर २९ गते राजीनामा दिएका थिए।
उनको राजीनामासँगै क्यानले पुस २४ गते मुख्य प्रशिक्षकका लागि खुला आवेदन माग गरेको थियो। २४ जनाले आवेदन दिएका थिए। सचिव मल्लको नेतृत्व रहेको र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतिनिधि सम्मिलित पाँच सदस्यीय प्रशिक्षक छनोट समितिले गत माघ ४ गते उनीहरूसँग अन्तर्वार्ता लिएको थियो।
क्यानको अन्तिम सूचीमा भारतीय प्रशिक्षक देसाईसहित नेपाली टोलीका पूर्व बलिङ प्रशिक्षक श्रीलंकाका धम्मिका प्रसाद, पूर्व मुख्य प्रशिक्षक डेभ वाट्मोर, बंगलादेश क्रिकेट टोलीका निवर्तमान मुख्य प्रशिक्षक रसेल क्रेग डोमिंगो र न्युजिल्यान्ड टी–२० टोलीका पूर्व मुख्य प्रशिक्षक ग्लेन पोकनल थिए। तीमध्ये नेपाली टोलीलाई नजिकैबाट नियालिसकेका देसाईलाई योग्य सम्झिएर नेपाल झिकाएको कार्यबहाक सचिव तथा छनोट समिति संयोजक मल्ल बताउँछन्।
तर मुख्य प्रशिक्षक नियुक्त नै नभएका देसाईलाई नेपाल झिकाएर प्रशिक्षण गर्न दिएको भन्दै क्यानको असन्तुष्ट पक्ष विरोधमा उत्रिएको छ। “छनोट समिति कसले र कहिले गठन गरेको हो? त्यसका सदस्यहरु को–को हुन्? प्रशिक्षकको तलब र सुविधा के–कति हुने, कार्यकाल कति हुने? यो सम्पूर्ण जानकारी हामीलाई छैन”, क्यान केन्द्रीय सदस्य दाउद अन्सारी भन्छन्, “प्रशिक्षक नियुक्तिको सिफारिसलाई कार्यकारी समितिले अनुमोदन गरेपश्चात मात्र राखेपमा स्वीकृतिको लागि पठाइन्छ। यो प्रक्रिया नपुर्याइ प्रशिक्षणको अनुमति दिइएको छ।”
मुख्य प्रशिक्षक छनोट समितिले माघ ८ गते नै छनोट प्रक्रिया पूरा गरेर देसाईलाई नियुक्त गर्न सिफारिस गरेको मल्ल बताउँछन्। क्यान कार्यसम्पादन तथा कार्यसमितिका सदस्यहरूको सहमतिमा नै माघ १० गते उनलाई मुख्य प्रशिक्षकमा नियुक्ति गर्न राखेपसँग अनुमति मागेको उनको भनाइ छ।
असन्तुष्ट पक्षका केन्द्रीय सदस्य ऋषिराम गौतम भने कार्यसमितिसँग सहमति नलिई छनोट समितिले अधिकार बाहिर गएर सिधै प्रशिक्षक नियुक्तिका लागि राखेपसँग अनुमति मागेको बताउँछन्। “विगतमा पनि सरसल्लाह नै नगरी प्रशिक्षक नियुक्त गरेको कारण नेपाली क्रिकेट यो हालतमा पुगेको हो”, गौतम भन्छन्, “अहिले पनि हामीसँग सल्लाह नै नगरी प्रशिक्षक नियुक्त गर्ने तयारी गरेका छन्। यसरी नै मनोमानी गर्दै जाने हो भने बोर्डमा हामी भएको के काम?”
तत्कालीन प्रशिक्षक भारतीय नागरिक प्रभाकरको राजीनामासँगै भारतकै देसाईलाई मुख्य प्रशिक्षक बनाउन क्यान अध्यक्ष चतुरबहादुर चन्द पक्ष लागिपरेका छन्। नियुक्त नै नभइ नेपाल आएर टिम हेर्न देसाईले सहमति जनाएसँगै गत शुक्रबार क्यानले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो।
अझै अनिर्णयमा देसाई
नेपाल खेलकुद विकास ऐन २०७७ को दफा ४४ को उपदफा २ मा उल्लेख भएअनुसार राष्ट्रिय खेल संघले विदेशी व्यक्तिसँग सम्झौता गर्दा राखेपमार्फत् सरकारको स्वीकृति लिनुपर्छ। क्यानले देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न सहमति मागे पनि कागजी प्रकृया पूरा गर्न ढिलाइ गरेको राखेपको संघ संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईको भनाइ छ।
“क्यानले मुख्य प्रशिक्षक नियुक्त गर्न सहमति मागेको थियो। तर केही प्रकृया पूरा गर्न नसक्दा फाइललाई अगाडि बढाउन सकेनौँ। एउटा–एउटा गरेर उहाँहरूले कागजी प्रकृया बल्ल त पूरा गर्नुभयो”, उनी भन्छन्।
क्यानको प्रकृया पूरा भएपछि फाइल सदर गर्न आफूहरूले कार्यकारी समितिमा सिफारिस गरेको उनले बताए। उक्त फाइल सदर गरेर खेलकुद मन्त्रालय पठाउने या नपठाउने भन्ने निर्णय राखेपको कार्यकारी समितिको बैठकबाट हुने उनले जानकारी दिए।
“बैठक कहिले बस्छ भन्ने थाहा छैन। तर यसबारे निर्णय गरेर कार्यकारी समितिले फाइल मन्त्रालयमा पठाउने हो। मन्त्रालयले मन्त्रिपरिषद्मा फाइल लगेर निर्णय गरेपछि उहाँ मुख्य प्रशिक्षकमा नियुक्त हुनुहुन्छ। सबै प्रकृया पूरा हुन्छ या हुँदैन भन्न सकिँदैन”, राई भन्छन्।
हाल खेलकुद मन्त्रालय मन्त्रीविहीन छ। आईसीसीले नेपाललाई २०१८ मार्च १५ मा एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) मान्यता दिएको थियो। ओडीआई मान्यता पाएपछि नेपालले लिग–२ खेल्ने अवसर पाएको हो। स्कटल्यान्ड, ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्यू गिनीसम्मिलित लिग–२ को शीर्ष पाँचभित्र परे मात्र नेपालले अर्को चार वर्षका लागि ओडीआई मान्यता कायम राख्न सक्छ। नत्र घुमाउरो बाटोबाट ओडीआई मान्यता जोगाउनु पर्ने हुन्छ।
नेपाली टोलीले अहिलेसम्म कुल २४ खेल खेल्दा आठ जित, १४ हार र दुई बराबरीसहित १८ अंक पाएको छ। नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ।
अब नेपालले १२ खेल खेल्न बाँकी छ। ओडीआई मान्यता जोगाउन नेपालले १२ मध्ये अधिकांश खेल जित्नुपर्ने दबाबमा छ। नेपालले स्कटल्यान्ड र नामिबियासँगको श्रृंखलापछि यूएई र पपुवा न्यू गिनीसँग त्रिविमै खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
