मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले बताएका छन्।
गण्डकी– मध्यमाघ गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन। गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नांगा छन्। हिमपात नहुँदा किसानलाई खेतीको पिरलो छ।
सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ। “हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकाली भन्छन्, “पोहोर परार यति बेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन।” हिउँ नपर्दा उवा, जौ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताए। मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उनको भनाइ छ।
घरपझोङ–२ मार्फाका दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गरे। “चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ”, उनले भने, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिनुपर्ने अवस्था छैन।” जौ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उनको भनाइ छ। थासाङमा सिँचाइको उचित प्रबन्ध छैन। हिमपात र वर्षा नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन प्रभावित भएको छ। कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको लालचनले बताए। “यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन”, उनले भने।
कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताए। “स्याउको फूल फुल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ”, उनले भने। जौ, गहुँ, उवा छरेर आलु लगाउने तयारीमा रहेका किसान हिमपात पर्खिरहेको बस्ताकोटीले बताए। “माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ”, उनले भने, “यस्तो क्रम दोहोरिइरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ।” मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उनको भनाइ छ।
मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन। छिटपुट वर्षासमेत हुन सकेको छैन। गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताए। हिउँदे वर्षा होला र खेती सप्रिएला भन्ने आसमा रहेका किसानलाई खडेरीबाट ठूलो मार परेको छ। खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने रेग्मीले बताए।
गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए। आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उनको भनाइ छ। “गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था छ”, उनले, “यो बदली वर्षामा परिणत हुने सम्भावना भने छैन।”
हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ। “यसपालिको हिउँदमा फाट्टफुट्टबाहेक अहिलेसम्म हिमपात र वर्षा हुन सकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन”, मौसमविद् अधिकारीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
