जुगललाई प्रदीप गिरिको प्रतिउत्तर : हाम्रो रौँ-रौँमा हिंसा छ

इतिहास राजनीतिको एक मात्र प्रयोगशाला हो। मार्क्स, लेनिन र वीपीको सफलता तथा असफलतालाई कोट्याउँदै हामी अघि बढ्नुपर्छ। उनीहरूका संघर्षका अनुभवका कतिपय शिक्षा छन्।

विगत शताब्दीले विश्वमा अभूतपूर्व उथलपुथल देख्यो। टिप्पणीकारहरूले बिसौँ शताब्दीलाई क्रान्तिको शताब्दी भनेका छन्। बिसौँ शताब्दीले क्रान्तिका नाममा नृशंस एवम् भीषण रक्तपात पनि भोग्यो। रक्तपातमा आधारित त्यस्ता क्रान्तिहरू वाञ्छित लक्ष्यमा पुगेनन्। त्यसैले एक्काइसौँ शताब्दीले हिंसाको दर्शनका उपर पुनर्विचार गर्नै परेको छ। हिंसाको प्रशंसा गर्ने कुरै उठ्दैन। तर कायरता र हिंसाका बीचमा के रोज्ने भन्ने विषयमा द्विविधाको कुनै गुन्जाइस छैन। हिंसा नै रोज्ने हो। तर कस्तो हिंसा? हिंसा केका निम्ति भन्ने प्रश्न त्यहाँ उठ्छ।

कांग्रेसमा आज कलह छ, गुटबन्दी छ, गिरोहबन्दी छ। यी सबै कुराबाट तपाईं पीडित हुनुहुन्छ। त्यस पीडाको अभिव्यक्तिका क्रममा कांग्रेसभित्रको अन्तर्संघर्षमा म निरीह दर्शक भएँ भन्ने तपाईंलाई लागेको छ। माओवादी विद्रोहका थुप्रो कमजोरीहरू थिए। तर एउटा कुरा स्पष्ट थियो, उनीहरूले जनयुद्धका दर्मियान एक उज्ज्वल र ज्वलन्त आदर्श अगाडि राखेका थिए। उनीहरू नेपालमा जनवादी व्यवस्था स्थापना गर्न चाहन्थे। त्यो जनवादी व्यवस्था अन्ततः एउटा मिथ वा भनौँ सपना ठहरियो। मानिसका रातीका सपना त्यसै बिर्सिएर जान्छ तर दिउँसोको सपनाले इतिहास लेख्छ। माओवादीले पनि इतिहास लेखेकै हो। कांग्रेसका चक्रव्यूह तोड्न उद्धत भएका अभिमन्युलाई मैले भरथेग गर्न नसकेको तपाईंको ठहरलाई मैले बुझेको छु। युधिष्ठिर र भीमले आँट नगर्न सक्दा अभिमन्यु एक्लै नै तम्सिएका थिए। उनलाई साँच्चै नै त्यस बेला जिताउन र जोगाउन सक्ने मामा कृष्ण र बुवा अर्जुन दुरस्त कतै अर्कै मोर्चामा संलग्न थिए। आआफ्नै मोर्चा थियो। उनीहरूको मोर्चा नै थिएन भन्ने होइन। एउटाले अर्कोको मोर्चालाई बुझ्न अतिरिक्त सूचना र संवेदना चाहिन्थ्यो। मैले आफ्नो कुरालाई स्पष्ट गर्न आफ्नो कुरा भनेको प्रतीत हुन सक्छ। अलिकति आफ्नो कुरो पनि छ। यसैपनि तपाईंले आफ्नो लेखमा मेरो निजी बानी बेहोरा र आचरणलाई म भन्ने व्यक्तिलाई केन्द्रमा राख्नु भएको छ।

नेपाली कांग्रेसभित्र भएको वर्तमान बेथितिमा म कहाँ उभिएको छु, त्यो स्पष्ट छैन भन्ने तपाईंको गुनासो छ। म यस गुनासोको ओठे जवाफ दिन चाहन्नँ। त्यस्तो जवाफ यथार्थपरक हुने छैन। यताका वर्षहरूमा साथीभाइहरूले मबाट अपेक्षा गरेजस्तो सक्रियता मैले देखाउन सकेको छैन। किटेरै भन्ने हो भने ऐतिहासिक विभाजनपछि हुन पुगेको कांग्रेसको एकीकरण र मेरो शिथिलता हाराहारी यसमा केही व्यक्तिगत कारण पनि छन्। जीवनलाई हेर्ने मेरो तरिका केही पृथक् छ। साठी वर्ष काटिसकेपछि सत्ता राजनीतिबाट साथीहरू विमुख हुनुपर्छ भन्ने मलाई सधैँ लाग्यो। कांग्रेसमा मेरो संलग्नता कहिलेदेखि शुरू भयो, यसै भन्न गाह्रो छ। कांग्रेसको संस्कार र परिवारमा म जन्मिएँ। हाम्रा केटाकेटीको खेल समेत मात्रिका–वीपीको झगडाको नाराबाजीबाट हुन्थ्यो। तर होस सम्हाल्दै जाँदा म कांग्रेसको अन्धो समर्थक कहिल्यै रहिनँ। मैले कांग्रेससँग सामाजिक परिवर्तनको स्पष्ट खाका छैन भन्ने कुरा बेलैमा आत्मसात् गरेको थिएँ।

मेरा बुवा, काकासँगैका साथीहरू कांग्रेसका ठूला नेता थिए। तर बुवा र काकाहरूमा विचारधाराप्रति कुनै आकर्षण थिएन। यसैले होला, हाई स्कुल पास गर्दा नगर्दा विचारधाराको खोजीले ममा तीव्रता प्राप्त गर्‍यो। मेरो यस खोजीको प्रारम्भमा सरोजप्रसाद कोइरालासँगको सान्निध्यले एउटा दिशाबोध दियो। शैलजा आचार्यसँगको घनिष्ठताले त्यसमा नयाँ आयाम थपियो। सन् १९६५ जुलाई–अगस्टमा म काशी विश्वविद्यालयमा बीएमा भर्ना भएँ।सन् १९६७–६८ तिर प्रजातान्त्रिक–समाजवादी युवा दलको स्थापना भयो। १९६८ नोभेम्बरमा म गिरफ्तार भएँ।नख्खु जेलमा पत्राचारको ठूलो सुविधा थियो। जेलका चौकीदारहरूको सहायताले जस्तासुकै चिठीहरू पनि बाहिर पठाउन सकिन्थ्यो। बाहिरका जस्तै आलेख पनि भित्र आउन सक्थे।मैले तिनताका शैलजा आचार्य, भीमबहादुर तामाङ, चक्र बास्तोला र यदाकदा सरोजप्रसाद कोइरालालाई अत्यन्त लामा चिठीहरू लेखेको छु। शैलजालाई लेखेको चिठ्ठीले त एउटा कापी नै भरिन्थ्यो। शैलजाका चिठीहरू पनि उस्तै लामा हुन्थे। 

भीमबहादुरलाई लेखिएको चिठी त्यसै शृंखलाको एउटा उदाहरण हो। म बाल्यकालदेखि नै एक प्रकारले आदर्शवादी थिएँ। पहिले मभित्र तीव्र धार्मिक चेतना थियो। त्यसैका ठाउँमा पछि गएर राजनीतिक आदर्शवाद प्रतिस्थापित भयो। तर राजनीतिमा आदर्शवादलाई निर्वाह गर्नु एउटा असम्भव प्राय व्यवसाय हुँदो रहेछ।

आफ्नो सुदीर्घ राजनीतिक जीवनको आखिरी चरणमा आएर यो कुरा भन्दै छु, किताबी रूपमा पहिले यो कुरा पढेको थिएँ होला। तर यस्ता कुराले मलाई कहिल्यै पनि सामान्य रूपमा पनि स्पर्श समेत पनि गरेन। राजनीति स्वार्थ र सत्ताको खेल हो भनेर हाम्रा नेताहरू भन्नुहुन्थ्यो। त्यसरी सुन्दा म जहिले पनि विस्मयका साथ उनीहरूको अनुहार हेर्थेँ। यस वाक्यको निहितार्थ समेत बुझ्न मलाई धौधौ हुन्थ्यो। राजनीति स्वार्थको खेल हो भनेर मैले नबुझेको होइन। खास गरेर महाभारतमा यस कुराको अविकल्प उदाहरण छ। तर त्यो त यथार्थ भयो।मानिसले यथार्थमा खुट्टा राख्नु पर्छ तर दृष्टि सधैँ आदर्शमा उभिएको हुनुपर्छ।आदर्श र यथार्थबीच सम्बन्ध नभेटिँदा म जहिले पनि अलमलमा परेको छु।

मैले सानै उमेरदेखि ठूला मानिसहरूको दर्शन पाएँ, अझ भनौँ संगत पाएँ। ठूला भनिने मध्येपनि महाठूला जयप्रकाश नारायण, डा. राममनोहर लोहिया र उहाँहरूका अनेकानेक सहकर्मीहरूलाई मैले किशोरावस्थामा नै चिनेँ। ती मानिसहरूलाई चिन्नुभन्दा पनि युगबोधको कुरो थियो। त्यस युगबोधलाई आत्मसात गरेँ। पछि कांग्रेसका सबै शीर्षस्थ नेतासँग मेरो राम्रो संगत भयो। खास गरेर किसुनजी र बीपी कोइरालाबाट मैले अत्यधिक स्नेह प्राप्त गरे। मेरो सोच विचार समेत उहाँहरूको सान्निध्यमा थिग्रिँदै गयो।

तर एउटा कुरो मैले भन्नै पर्छ। उहाँहरू सबै नै उच्चकोटीका चरित्रवान् व्यक्ति हुनुहुन्थ्यो। भारतमा जयप्रकाश नारायणलाई लोक नायकको उपाधि दिइएको छ। नेपालमा हामीले वीपी कोइरालालाई महामानवको संज्ञा दिएका छौँ। गणेशमानजीलाई लौहपुरुष भनियो। किसुनजीले सन्तनेताको संज्ञा पाउनु भयो। यो सबै उपाधि र संज्ञा सर्वथा उपयुक्त थिए।उहाँहरूमा यस्ता यावत गुण थिए। उहाँहरू सबै प्रजातान्त्रिक समाजवादको पक्षमा उभिनु भएको थियो। तर प्रजातान्त्रिक समाजवादको व्यवस्थापन गर्ने बारेमा राज्य र पार्टीको भूमिका के हुन्छ त भन्ने विषयमा उहाँहरू कसैले पनि स्पष्ट र ठोस रूपमा केही लेख्नु या भन्नु भएको छैन।

उहाँहरू सबैले कम्युनिस्ट विचारधारा र शासन प्रणालीको कडा विरोध गर्नुभयो। १९१७ मा भएको बोल्सेभिक क्रान्तिको प्रतिक्रियामा उहाँहरूको चिन्तन प्रणालीको विकास भएको थियो। बोल्सेभिक क्रान्तिपछि लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टीले पहिले त जनप्रतिनिधिको प्रत्यक्ष शासन चलाउने दावा गरेका थिए तर त्यो असफल भयो। छिट्टै नै त्यसका ठाउँमा एक दलीय शासनप्रणाली प्रारम्भ भयो। पार्टीभित्र र बाहिरका विरोधीहरूको संहार शुरू भयो। लेनिनको जीवनकालसम्म त तै–अथवा थियो। उनको देहान्तपछि स्टालिनले आफ्ना यावत प्रतिद्वन्द्वीहरूलाई एक एक गरेर हत्या गरे। दुई महायुद्धको बीचको त्यो कालावधि युरोपमा बर्बर सर्वसत्तावादको युग थियो। स्टालिनलाई समेत उछिनेर जर्मनीका हिटलर र इटलीका मुसोलिनीले सर्वसत्तावादको राजनीतिलाई साकार बनाए। वीपी, गणेशमानजी र किसुनजीको पुस्ता यस प्रभावमा हुर्कियो। उहाँहरूले आजीवन कम्युनिस्ट सर्वसत्तावादको विरोध गर्नुभयो। तर त्यसका ठाउँमा कस्तो राजनीतिक दल, कस्तो सरकार र कस्तो राज्य बनाउनु पर्ने हो भन्ने बारे उहाँहरूले समुचित सोच विचार गरेको भेटिँदैन। यस प्रसंगमा यहाँ र अन्यत्र पनि बारम्बार उद्धृत गरिएको योगेन्द्रमान शेरचनको मर्मस्पर्शी उद्धरण स्मरणीय छः

यो सबै किन भयो भन्ने कुरो बुझ्न भने गाह्रो छैन। स्टालिन, हिटलर र मुसोलिनीको बर्बरताबाट तर्सिएको सिंगो युरोप र अमेरिका उदारवादी लोकतन्त्रको खेमामा आँखा चिम्लिएर उभिन पुग्यो। अब द्वितीय महायुद्धपछिको राजनीतिमा एकातिर कम्युनिस्टहरू थिए। उनीहरू तानाशाहीका उदाहरण थिए, अर्कोतिर प्रजातन्त्रवादीहरू थिए। प्रजातन्त्रवादीहरू कुनै पनि किमतमा नागरिक अधिकार, स्वतन्त्र अदालत र आवधिक चुनावलाई छोड्न चाहँदैनथे। तर फेरि, यस प्रश्नमा सँगै उभिएका शक्तिहरूका बीचमा वैचारिक मतैक्य थिएन। उदाहरणार्थ, बेलायतको लेबर पार्टी र कन्जरभेटिभ पार्टी विपरीत विचारधाराका भए पनि सँगै उभिन्थे। जर्मनीका सोसल डेमोक्रेटिक पार्टी र क्रिश्चियन डेमोक्रेटिक पार्टी पनि एकै ठाउँमा थिए। अमेरिकाका डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी पनि एउटै थातथलोमा खडा थिए। उस्तै पृष्ठभूमिमा द्वितीय महायुद्धपछि तेस्रो विश्वको समाजवादको पृष्ठभूमि खडा भयो। यस्तै पृष्ठभूमिमा लन्डनमा १९५१ को जून ३ मा सोसलिस्ट इन्टरनेशनल भन्ने संस्था स्थापना भयो। नेपाली कांग्रेस अहिले पनि सोसलिस्ट इन्टरनेशनलसँगको आफ्नो सम्बद्धताका प्रति गर्व महसुस गर्दछ।

आज नेपालमा समाजवादलाई लिएर व्यापक जिज्ञासा छ। तर त्यस जिज्ञासाले अझै छिचोल्न नसकेका गहन अस्पष्टताहरू छन्। यस जिज्ञासा र अस्पष्टतालाई चिरफार गर्नका लागि सोसलिस्ट इन्टरनेशनलको पृष्ठभूमिको जानकारी लाभदायी हुनेछ।

समाजवादी आन्दोलनको अभ्युदय भएको दिन देखिनै सोसलिस्ट इन्टरनेशनलले आफूलाई एउटा अन्तर्राष्ट्रिय आन्दोलनको रूपमा प्रस्तुत गर्‍यो। ऐतिहासिक दृष्टिकोणले हेर्दा स्वयम् कार्ल मार्क्स र फ्रेडिक एंगेल्स यसका आदि पुरुष थिए। तर यी दुई महानुभावकै हाराहारी हामीले अहिले विस्मृत भएका र त्यस समयका  लोकप्रिय नेता बाकुनिनलाई सम्झनु पर्छ। मार्क्स, एंगेल्स र बाकुनिन मिलेर १८६४ इस्वीमा ‘प्रथम अन्तर्राष्ट्रिय’को गठन भएको थियो।

आन्तरिक कलहका कारणले यो संगठन निष्क्रिय भयो। दोस्रो पटक सन् १८८९ मा फ्रेडरिक एंगेल्सको समेत सहभागितामा 'द्वितीय अन्तर्राष्ट्रिय'को गठन भयो। २५ वर्षको गौरवशाली इतिहासपछि यो संस्था छिन्नभिन्न भयो। यो संस्था मुख्यतः दुई भागमा विभाजित भयो। लेनिनका समर्थकहरूले १९२१ मा कम्युनिस्ट इन्टरनेशनलको स्थापना गरे। लेनिनका आलोचकहरूले लेबर एन्ड सोसलिस्ट इन्टरनेशनलका नामले समानान्तर संगठनको स्थापना गरे। द्वितीय महायुद्धमा यो संगठन सक्रिय रह्यो। सन् १९४० मा बाध्यात्मक परिस्थितिमा लेबर एन्ड सोसलिस्ट इन्टरनेसनलको विघटन भयो। त्यसैको उत्तराधिकारीका रूपमा जुलाई १९५१ मा फ्र्यांकफर्टमा सोसलिस्ट इन्टरनेसनलको गठन भयो। सोसलिस्ट इन्टरनेशनल आज पनि जीवित छ। पूर्वी युरोपमा कम्युनिस्टहरू विघटित भए। त्यसपछि उनीहरूले आफ्नो नाम फेरेर सबैले आफूलाई सोसलिस्ट इन्टरनेशनलको सदस्य बनाए। सोसलिस्ट इन्टरनेशनल आज विचारधाराका दृष्टिले उदारवादी प्रजातन्त्रका पक्षमा छ। तर यसको प्रभाव निरन्तर ह्रासमान छ। यता आएर यस संगठनमा समेत टुटफुटको रोग लागिसकेको छ।

तर आज यो अत्यन्त प्रभावशाली संगठन छ भन्ने खास ठाउँ छैन। तर यस पार्टीसँगको सम्बद्धताले तेस्रो मुलुकहरूमा आत्मगौरव प्रदान गर्छ। तर खास गरेर तेस्रो विश्वका समस्याहरूको समाधानको हकमा यसले कुनै ठोस प्रस्ताव अगाडि सार्न सकेको छैन। विगत दशकहरूमा भएका जनपक्षीय आन्दोलनहरूलाई यस संगठनले अवश्य समर्थन दियो। नेपाली जनआन्दोलनमा समेत पनि यस संगठनले सधैँ सकारात्मक भूमिका खेल्यो। तर पश्चिमी युरोपमा एक छत्र रहेको संसदवादी कार्यनीति चिन्तनबाट यो संगठन अहिले पूर्णतः ग्रस्त र आक्षादीत छ।

समाजवादी राजनीतिक इतिहासमा संसदवाद अत्यन्त पुरानो समस्या हो। मार्क्सका निकटस्थ सहयोगीहरूमध्ये एडवर्ड वर्नस्ट्रिन उल्लेखनीय थिए। उन्नाइसौँ शताब्दीका आखिरी वर्षमा नै उनले समाजवादी राजनीति संसदवादबाट पृथक् रहन नसक्ने कुरा गर्दै आएका थिए। पछि फ्रान्सका मिलर्याण्डले समाजवादीहरूले मौका पाउनासाथ सरकारमा सामेल हुने मौका छोड्न नहुने कुरा अघि सारे। त्यतिबेलाका क्रान्तिकारी समाजवादीहरूले उनीहरूको कडा विरोध गरे। तर त्यसपछिको सिंगो इतिहास एक से एक क्रान्तिकारी–समाजवादीहरू बुर्जुवा सरकारमा सामेल भएको उदाहरण छ। जर्ज फर्नान्डिज कुनै समय भारतका जाज्वल्यमान समाजवादी थिए। उनको आनीबानी र लुगाफाटोमा समेत समानतामूलक व्यवहार झल्किन्थ्यो। पछि उनी बाजपेयी सरकारमा सामेल भए। उनका हाराहारी मधुदण्डवते, शरद यादव, लालु यादव र नीतिश कुमार पनि मन्त्री भए। नीतिश कुमार त अहिले बिहारको मुख्यमन्त्री छन्। यिनीहरूमध्ये प्रत्येकको समाजवादप्रतिको व्यक्तिगत निष्ठा निःसन्देह छ। तर उनीहरूको समाजवादी निष्ठाले राज्य र सरकारमा के कुनै परिवर्तन ल्याउन सक्यो त?

नेपालमा समाजवादी राजनीतिको नवजीवन र पुनरोदयको चाहना राख्ने साथीहरूले विगत सय वर्षको इतिहासलाई बिर्सिएर केही सोच्न र बोल्नु सजिलो हुँदैन। मानव जातिको सुदीर्घ इतिहासको दृष्टिले हेर्दा १ सय पचास वर्ष ठूलो समय होइन। तर यो समयमा मनुष्यले अभूतपूर्व परिवर्तन देखेको छ। आफ्नो घर परिवारमा परिवर्तन देखेको छ। बोलीचालीमा परिवर्तन देखेको छ। मानवीय सम्बन्धमा परिवर्तन देखेको छ। मनुष्य यस्तो एकांकी र निरीह आज अघि कहिल्यै भएको थिएन। भौतिकता पहिले पनि थियो तर भौतिकताको वर्तमान स्वरूप नितान्त अमानवीय भएको छ।

मानव सभ्यतामा धर्मका हाराहारी काम र अर्थले जहिले पनि महत्त्व राख्यो। तर अहिले आएर अर्थका सामु काम र धर्म विल्कुलै निरर्थक भएका छन्। मानिसले मानिसलाई बेच्नु इतिहासमा नयाँ कुरा होइनन्। दास प्रथाको आधार मनुष्य मात्रको क्रयविक्रय थियो। युधिष्ठिरले आफ्नो पत्नीलाई जुवामा हाल्दा तिनलाई एउटा व्यक्ति नभएर वस्तुका हेरेका थिए। राजा ययातिले आफ्नी छोरी माधवीलाई वस्तुका रूपमा हेरेर नै केस उल्का बनाएका थिए। पछि कार्ल मार्क्सले आएर मनुष्यको वस्तुकरणलाई तीव्र रूपमा समाजवादी विमर्शको केन्द्रमा राखे र अहिले मनुष्य र मनुष्यको सम्बन्ध अझ विकृत र विरल भएको छ। साँच्चै भन्ने हो भने मनुष्य र मनुष्यका बिचमा सम्बन्ध नै रहन गएको छैन। सञ्चार क्रान्ति–डिजिटल क्रान्तिले सिंगो विश्वलाई एउटा गाउँ बनाएको छ। अर्कोतिर एउटै छतमुनि रहेका मनुष्य पनि विल्कुलै अजनबी भएका छन्। एउटा नौलो किसिमको सभ्यता बन्दैछ। यो सभ्यता जानाजानी आत्मक्षयतर्फ जाँदै छ।

राष्ट्रिय आय, प्रतिव्यक्ति आय, उत्पादनको परिमाण र वितरणको प्रतिशतका आधारमा एक्काइसौँ शताब्दीको समाजवाद आफ्नो लक्ष्यमा पुग्दैन। हाम्रो परिभाषा, हाम्रो खेलका नियम, हाम्रा शब्दावली र हामीले चिन्ता गर्नुपर्ने विषयहरू नितान्त बेग्लै छन्। आगामी चुनावमा कांग्रेस पार्टीको सभापति को बन्ला, त्यो महत्त्वपूर्ण हो। तर आमचुनावपछि मुलुकको प्रधानमन्त्री को बन्ला, त्यो झनै महत्त्वपूर्ण कुरो हो। तर एक्काइसौँ शताब्दीको समाजवादी व्यवस्थाका निमित्त यी दुवै सवाल अप्रासंगिक छन्। पार्टीभित्रको सत्ता संघर्ष एउटा कुरा हो। मुलुकभित्रको सत्ता संघर्ष अर्को कुरो हो। समाजवादको नवनिर्माणका निमित्त दुवै कुरो महत्त्वपूर्ण छन्। तर मनुष्य जातिको आजको सबैभन्दा ठूलो समस्या आत्मनिर्वासन हो।

मनुष्यका आर्थिक र सामाजिक समस्या आज पनि यथावत् छ, यो सत्य हो। तर उत्पादनको न्यूनताले गर्दा त्यो समस्या रहेको छैन। त्यो समस्याका कारण सभ्यतागत छन्। त्यस समस्याका कारण मानवीय छन्। मुद्राको नवीन संकरण (हाइब्रिडाइजेसन) र शक्तिले इतिहासमा सभ्यताको संघारको किनारामा अभूतपूर्व ढंगले धकेलिदिएको छ। वर्गसंघर्ष आज पनि छ। तर त्यो गौण हुन पुगेको छ। सभ्यताजन्य संकट प्रमुख भएको छ।

कुनै समय एउटा राजनीतिक पार्टी बनाउन विचारधाराको खाँचो थियो। अब त राजनीतिक पार्टी बनाउन विचारधारा पनि चाहिँदैन। व्यक्तिगत र समूहगत स्वार्थका आधारमा प्राइभेट कम्पनी अथवा डाँकुको गिरोह बनेझैँ पार्टीहरू बनिरहेका छन्। जुगलजी, तपाईं पार्टीको चिन्ता गर्दै हुँदै हुनुहुन्छ। पार्टीभित्र विचारधाराको नवोदय भयो भने समाजमा परिवर्तन आउँछ भन्ने तपाईंमा आशा देखिन्छ। एक त त्यो नै असम्भव प्रायः छ। यदि त्यो भैहाल्यो भने पनि जीवनमूल्यको अभावमा समाज बाँच्नेछैन। समाज नबाँच्दा पार्टी पनि बाँच्दैन।

वीपी, गणेशमान र किसुनजीमा वैचारिक स्पष्टता थिएन। त्यो उनीहरूको कमजोरी थियो। तर, उनीहरूका जीवनमूल्य उज्ज्वल र स्पष्ट थिए। आज नेपाली समाजमा विचारधाराको द्वन्द्व छ। त्यो द्वन्द्व महाभारतकालीन रात्रीयुद्ध भएको छ। यस मोहान्धकारबाट निस्कनका लागि उज्ज्वल जीवनमूल्यको उदाहरण कसले पेश गर्ने? गान्धी कुनै खास सम्बद्ध विचारक थिएनन्। तर उनी कतिपय कुरामा स्पष्ट थिए। सत्ता खोजी व्यक्तिगत स्वार्थका निमित्त होइन, समाजसेवाका निमित्त हुनुपर्छ भन्थे। मनुष्यको लोभको कुनै उत्तर छैन। एउटै व्यक्तिको लोभले पनि सिंगो दुनियाँलाई समाप्त गर्छ।र, आज हामी पार्टी र देशमा त्यही देख्दैछौँ।

नेपालमा चाहिने आर्थिक र सामाजिक आवश्यकताको कुरामा अब आउँ। जीवनमूल्यलाई बिर्सिएर नेपालमा नौलो समाज स्थापित हुन सक्दैन। विश्व व्यवस्थाले नेपाललाई झनझन विकसित बनाउने र झनझन समृद्ध बनाउने सपना देखाउँदै छ। त्यस सपनाबाट जनतालाई विमुख गराउन सकिँदैन। विश्व बजार व्यवस्थाले आफ्नै एउटा बाध्यता सृष्टि गरेको छ, त्यसबाट उम्कन गाह्रो छ। आयात निर्यातको चुकुल सजिलै उघ्रिँदैन। हाम्रा मुलुकमा हामीले के उत्पादन गर्ने भन्ने कुरा अर्को मुलुकले के किन्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ। हामीसँग अहिले विक्रयका निमित्त मनुष्यको शरीरभन्दा अर्को केही छैन। यसको प्रतिस्थापन अब परमाणु शोधले गर्ने भन्ने चिन्तनमा सरकार लागेको छ। विडम्बना के छ भने संसद्मा रहेको विपक्ष पनि परमाणु शोधका प्रति उत्साह देखाउँदै छ। अर्कोतिर मुलुक भने तरकारी, चामल, दाल र दूधजस्ता दैनिक उपभोग्य सामानमा पनि पर निर्भर छ। अनि समाजवाद खोज्नेक्रममा हामी वायुपंखी रेल र पानीजहाजको सपना बाँड्दै छौँ।

मैले भीमबहादुर तामाङलाई लेखेको पत्रमा ‘समाजवाद भन्ने शब्द गिल्ला मात्र भएको छ’ भनेर तपाईंले उद्धृत गर्नु भएको छ। निश्चय नै, त्यो त्यस्तै छ। आज पनि त्यस्तै छ। तर नेपाली कांग्रेस भन्ने पार्टीको गल्तीले मात्रै यस्तो भएको होइन। समाजवादको सर्वत्र बिजोग छ। हिन्दुस्तानमा त्यहाँका कम्युनिस्टहरू अहिले पुरै बिचल्लीमा छन्। हिजोसम्म मात्रै पनि त्यहाँका कम्युनिस्टहरूले मनमोहन सिंह नेतृत्वको कांग्रेस पार्टीको सरकारलाई समर्थन दिएका थिए। फलस्वरूप, उनीहरू सत्तामा सहभागी थिए। नेपालमा गणतन्त्रको लागि भएको आन्दोलनमा समेत उनीहरूको योगदान रह्यो। आणविक सन्धिका सिलसिलामा उनीहरूले सरकार छाडे। त्यहाँका कम्युनिस्टहरूले कांग्रेसको विरोध प्रारम्भ गरे। लगत्तै भएको चुनावमा उनीहरूको अवस्था दयनीय भएको छ। नेपाली कांग्रेसको बिजोग खासमा कांग्रेसको मात्र बिजोग होइन। सन् १९९० पछि संसारभरि सबै थरीका समाजवादीहरूको बिजोग भएको छ।

नेपाली कांग्रेसको यस्तो बिजोग हुनुपर्ने थिएन। रुसमा भएको कम्युनिस्ट क्रान्तिपछि नै कम्युनिस्टहरूको र समाजवादीहरूको बाटो छुट्टिइसकेको थियो। कम्युनिस्टहरूले आफ्ना आधारभूत सिद्धान्तका रूपमा हिंसात्मक क्रान्ति र सर्वहारा वर्गको अभिनायकत्वलाई अगाडि सारे। जनवादी केन्द्रीयताको नाउँमा कम्युनिस्ट पार्टीभित्र पार्टी अध्यक्ष र महामन्त्रीको देवत्वकरण भयो। लेनिनको देहान्तको लगत्तैपछि सोभियत रुसमा भएको व्यक्ति हत्याको सिलसिला अविश्वसनीय छ। स्टालिनको मृत्युपछि पनि व्यक्ति हत्याको सिलसिला रोकिएन। स्टालिनले ट्र्ट्स्की, बुखारीन, कार्ल राडेक, जिनो वियव, क्यामनेलगायत केन्द्रीय नेताहरूको नृशंस हत्या गरे। ख्रुस्चेबका पालामा पनि यो सिलसिला रोकिएन।

यस नृशंस सिलसिलाको दर्मियान भएका मानवीय त्रासदी कुनै पनि इतिहासले लेख्न सक्दैन। माओत्सेतुङको नेतृत्वमा चीनमा भएको हत्याकाण्डलाई भने इतिहासले पनि एक हदसम्म समेटेको छ। लेनिन, स्टालिन र माओले शुरू गरेको यस्तो बर्बरताले देखाएको बाटो अन्ततः पोलपोटमा पुगेर विश्वका निमित्त एउटा विभीषिकाको उदाहरण हुन पुग्यो। अहिले पनि साम्यवादका नाममा उत्तर कोरियाका किम जोङले एउटा बुझ्नै नसक्ने व्यवस्था चलाई रहेका छन्। नेपालका कम्युनिस्ट मित्रहरू कतिपय प्रश्नहरूमा प्रशस्त मौलिक हुनुहुन्छ। तर कम्युनिस्ट नाम सुन्नासाथ उहाँहरू मुहाविष्ट हुनुहुन्छ। तर यस्ता प्रवृत्तिको निन्दा पनि भएका छन्। रोजा लक्जम्बर्गले लेनिनको बोल्सेभिक पार्टीको स्थापना कालदेखि नै उनको संगठनात्मक सिद्धान्तको तीव्र विरोध गरेकी थिइन्। ट्र्ट्स्कीले त्यस प्रश्नमा रोजा लक्जम्बर्गलाई साथ दिएका थिए। पछि अझै एक कदम अगाडि बढेर लेनिनले रुसमा विधिवत् निर्वाचित भएको संविधानसभाको विघटन गरे।

रोजा लक्जम्बर्गले जर्मनीको जेलमा यो समाचार सुन्नुपर्‍यो। रोजाले जेल भित्रबाट लेनिनको यस कदमको तीव्र भर्त्सना गरेकी थिइन्। रोजाका ती शब्दहरूलाई विश्व कम्युनिस्ट आन्दोलनले आज पनि पछ्याइरहेको छ। यस परिस्थितिमा प्रजातान्त्रिक समाजवादका पक्षहरूले सोभियत युनियनको विघटनलाई लिएर हीनताबोध गर्नु पर्ने कुनै कारणहरू नै थिएन।

‘लौ कम्युनिस्टहरू नांगिए, उनीहरूको मिति पुग्यो, अब हाम्रो पालो आयो’ भनेर प्रजातान्त्रिक समाजवादीहरूले संसारभरि आफ्नो डंका पिट्न सक्थे। र, त्यस्ता बेलामा प्रजातान्त्रिक समाजवादीहरूले पूँजीवाद र साम्यवादको तेस्रो बाटो खोज्नु पर्थ्यो। त्यो नै असल बाटो हुनसक्थ्यो। रोजादेखि जयप्रकाश नारायण, लोहिया र वीपीसम्मले तेस्रो बाटोतर्फ संकेत गरेका थिए। तर विश्वका समाजवादीहरूले यस कठिन घडीको सामना गर्न सकेनन्। सोभियत युनियनको पराजयले प्रजातान्त्रिक समाजवादको काँधमा नयाँ चुनौती बिसाएको थियो। तर गिरिजाप्रसाद कोइरालाको नेतृत्वको कांग्रेसको सरकारले बहुदलीय व्यवस्थाको पुनः स्थापनापछिको सरकारले बजार व्यवस्थालाई छुट दियो। त्यसको दुष्परिणाम हामी आज पनि देखिरहेका छौँ।

नेपाल मात्र होइन, सिंगो संसार नै विकास र समृद्धिको नारामा उद्भ्रान्त भएको छ। युगौँदेखिका आदर्श विस्मृत भएका छन्। अभूतपूर्व र अविश्वसनीय रूपमा मानिस मात्रको कमोडीफीकेसन (वस्तुकरण) भएको छ। कुनै व्यक्ति वा समूहले समेत अगाडि सरेर यस चुनौतीलाई सामना गर्नुपर्छ भन्नु मात्र पर्याप्त छैन। तर चुनौतीको सामना त गर्नै पर्छ। त्यो पनि व्यक्तिबाट नै शुरू हुन्छ। तर सामनाको वास्तविक स्वरूप के हो? कुन चिजको सामना गर्ने हो, कसरी गर्ने हो भन्ने कुरो सजिलो छैन।

विश्व कम्युनिस्ट आन्दोलन र पूँजीवाद दुवै पश्चिमी औद्योगिक क्रान्तिका सन्तान हुन्। विकास र समृद्धिका नाममा यी दुवै प्रणालीले मनुष्य र प्रकृतिका अस्तित्वजन्य आधारलाई आफ्नो उत्पत्तिका समयदेखि नै क्षतविक्षत गर्दै आएका छन्। मनुष्य पहिले पनि स्वार्थी थियो। पहिले पनि बाँच्नका निमित्त कर्म–अपकर्म सबै गर्दथ्यो। त्यसो नगर्दो हो त दुनियाँमा बुद्ध र ईसाका कथा लेखिने थिएनन्। महाभारत र रामायण कथिने थिएनन्। रावण, हिरण्यकश्यप र कंसका कथा बन्ने थिएनन्।

तर आजको जस्तो अति पहिले भएको थिएन। मनुष्यलाई ब्रह्माण्डको पारस्परिकता थाहा थियो। प्रकृतिप्रति मान्छेको श्रद्धा थियो। हाम्रो समाजमा हिजोसम्म पनि वरपीपल, अशोक र कदमजस्ता रुख पूज्य वृक्ष थिए। नदी र देवीको स्वरूप थिइन्। तर अहिले कहिल्यै तृप्त नहुने लोकका सामु कहीँकतै कुनै कुरा पवित्र छैन। फ्रान्सेली राज्य क्रान्तिले समता, स्वतन्त्रता र बन्धुत्वलाई मानव सभ्यताको केन्द्रमा स्थापित गरेको थियो। आज विश्वका यावत प्रक्रिया र पद्धति यस्ता जीवनमूल्यको खिल्ली उडाउँदै छन्। यस दृष्टिले हामी एउटा सिंगो सभ्यता र संस्कृतिको संघारमा अभिएका छौँ।

प्रश्न प्रजातन्त्रमा मात्र सीमित छैन। आज मनुष्य जातिको अस्तित्व नै संकटमा परेको छ। हामीले प्रजातन्त्र र समाजवादलाई लिएर चिन्ता गर्नु संकटको एउटा सानो अनुहारलाई मात्र देख्नु हो। हाम्रा जीवनमूल्य र जीवनशैलीका उपर प्रश्न गर्ने समय आएको छ। सबै राजनीतिक विचारधारा, खास गरेर हिंसामा आधारित विचारधारा आज संकटमा परेका छन्। फेरि मुखले फलाकिएका त्यस्ता विचारधाराको मतलब नै के भयो, जब हाम्रो व्यवहारमा विचारधारा उत्रिएको छैन।

जुगलजीले अनेकौँ ठाउँमा हिंसाको निन्दा गर्नु भएको छ। हिंसाको निन्दा गरिनै पर्छ। त्यो सर्वथा निन्दनीय हो। तर हिंसाको एउटा मात्रै अभिव्यक्ति छैन। हिंसा हाम्रो व्यक्तित्वको रौँ रौँमा छ। हाम्रो सिंगो समाज नै हिंसात्मक छ। मुख्यतः हाम्रो उत्पादन र उपभोग पूर्णरूपेण हिंसामा आधारित छ। पूँजीवादले अहिले प्रतियोगिताको सिद्धान्तलाई सर्वमान्य बनाएको छ। प्रतियोगिताको मान्यता हिंसामा आधारित छ।

जुगल भुर्तेलले आजको संकटको समाधान थोरै मात्र भए पनि उदारवादमा देख्नु भएको छ। अझ उहाँले त नव–उदारवाद नै भन्नु भएको छ। पहिलो कुरो नवउदारवादसँग आजका समस्याहरूको समाधान छँदै छैन। नव उदारवाद स्वयम् नै औद्योगीकरणको प्रमाण हो, पूँजीवादसँगै यो जन्मिएको हो। तर यिनीहरूको सालनाल अहिले काटिन बाँकी छ। विश्वमा पूँजीवादको चकचकी रहँदासम्म उदारवादले उसैलाई सघाउँदै आएको हाम्रो इतिहासमा अंकित छ। भन्नका लागि टोनी ब्लेयर समाजवादी प्रधानमन्त्री थिए तर उनले अमेरिकाको प्रत्येक घृणास्पद कार्यलाई समर्थन गरे। इराक र अफगानिस्तान दुइटा उदाहरण मात्र हुन्।

ब्लेयर कुनै खराब मानिस थिएनन्, वर्तमान उत्पादन प्रणालीका एउटा ऊर्जा मात्र थिए। कांग्रेस पनि त्यस्तै एउटा ऊर्जा मात्र बनेको हो। जुगल भुर्तेलका लेखमा एक होइन, अनेकानेक प्रासंगिक समस्या कोट्याइएका छन्। तर जुगलजीले समस्याको वास्तविक जरो कोट्याउनु भएको छैन। समस्या यो कांग्रेसको र त्यो कांग्रेसको होइन। समस्या माओवादी ठिक कि बहुदलीय जनवाद ठिक भन्ने पनि होइन। यी सब त बोली मात्र हुन्। असली कुरो आचरणको हो, नैतिकताको हो। र, पद र पैसाको लोभमा आकण्ठ डुबेको हाम्रो समाजको व्यक्तिलाई पनि के भन्ने र? एउटा व्यक्तिलाई यसो र त्यसो भन्ने कुरा छैन। सिंगो समाज लोभ, द्वेष र हिंसाको खाडलमा परेको छ। यो मुख्यतः सभ्यताजन्य अपराध हो। अभिशाप हो। अनि के गर्ने त?

समाजवादको नौलो कार्यक्रम बनाएर हामी अगाडि बढ्न सक्दैनौँ। समाजवादले अगाडि सारेका जीवन मूल्य सर्वथा मानवीय थिए। समाजवादीहरूले आविष्कार गरेको नौलो कुरो पनि थिएनन् ती मूल्य। मान्छे र चिम्पान्जीका साझा पुर्खाबाट मानिस हुने क्रममा उपलब्ध भएको शिक्षा थिए ती। प्रारम्भमा धर्म र अध्यात्मले मनुष्यलाई मानवमूल्य सिकायो, कुनै धर्म विशेषले होइन। सबै थरीका धर्मले यो काम गर्‍यो। तर विज्ञानको विकास भएपछि धर्मका प्रस्तावनाहरूका उपर प्रश्न उठ्न थाले। त्यस ऐतिहासिक घडीमा समाजवादको उदय भयो। रोबर्ट बेबेनदेखि वीपी कोइरालासम्म सबै थरीका समाजवादीहरूले केही निश्चित जीवनमूल्य निर्वाह गरे। उनीहरूका बीचमा अनेकानेक राजनीतिक कुरामा मतभेद थिए। तर जीवनमूल्यमा त्यस्तो फरक थिएन। आचरण पनि उस्तै थियो। लेनिनले हिंसाको वकालत गरे। होचिमिन्हले पनि गरे। तर उनीहरूको जीवनशैली बाँच्ने र खाने पिउने तरिका मध्ययुगीन योगीभन्दा भिन्न थिएन।

तर आज हाम्रो समाजमा जीवनमूल्य भन्ने कुरो नै विस्मृत भएको छ। मुख्य कुरो आज समाजवादी परिवर्तनको रणनीति के हो भन्ने छ। समाजवाद त ल्याउने हो। तर कुन रणनीतिबाट ल्याउने हो। फलानो व्यक्ति कांग्रेसको सभापति भयो भने समाजवादको स्थापना हुन्छ अथवा सामाजिक न्यायसम्म भए पनि आउँछ भन्नु एउटा भ्रामक धारणा हुनेछ। अथवा मुलुककै प्रधानमन्त्री भएर पनि जस्तै आदर्श प्रधानमन्त्रीले पनि आमजनताको सुख सुविधामा धेरै तलमाथि गरेको देखिएको छैन। कटु यथार्थ के छ भने सभ्यताको यस घडीमा सुख र सुविधाको परिभाषासमेत विवादमा परेको छ।

प्रिय जुगलजी,
नयाँ पत्रिकाको २०७६ भदौ २४ को अंकमा तपाईंको एउटा लेख छापिएको छ, ‘प्रदीप दाइ विकल्प छ ?’ त्यो लेखमा मलाई सम्बोधित गरिएको खुला पत्र थियो। तत्काल नै धेरैले पढेछन्। तत्काल नै मलाई थुप्राले सोधेका थिए, ‘जवाफ लेख्ने होइन?’ मैले पनि सोच्न थालेँ, ‘जवाफ लेख्ने कि?’ अहिले उक्त लेख छापिएको एक महिना भन्दा बढी समय भइसक्यो। मैले आफैँ पनि फुर्सदमा थप एक दुई खेप त्यस लेखलाई दोहोर्‍याएर पढेँ। मनमा कुरा फू
र्‍यो –लेख्ने हो त?

लेख्न त लेख्ने तर जवाफ कसलाई दिने? प्रिय जुगल भुर्तेललाई दिने कि विश्वप्रकाश शर्मा र गगन थापालाई दिने, वा कांग्रेसका पदाधिकारीलाई दिने? यो सब सोच्दा जवाफ लेख्ने जाँगर आएन। अनि मनमा अर्को तर्कना पलायो। के यी सारा प्रश्न मैले आफूलाई पनि सोधेको होइन त? म स्वयम्ले यी कथित प्रश्नहरूका उपर सोच विचार गरेको छैन त?जुगलजी, तपाईंले उठाउनु भएका प्रश्नहरू मेरा आफ्नै प्रश्नहरू पनि हुन्। आफैँमा लगातार उठेका प्रश्नहरू हुन्, त्यसैले मैले उत्तर त लेख्नै पर्छ।

जुगलजी, झण्डै तीन हजारभन्दा बढी शब्द तपाईंले खर्च गर्नुभएको रहेछ। यस्ता चिठीहरू उमेर छँदा प्रेमको आवेगमा लेखिन्छ। उमेर ढल्कँदा पनि तपाईंको आवेग यथावत् छ। प्रेमको महिमा हुन् यी सब, म तपाईंलाई चिठीका लागि बधाइ एवम् धन्यवाद दिन चाहन्छु। चिठीमा तपाईंले अनेकन् अवधारणाहरू अगाडि सार्नुभएको छ। त्यहाँ पूर्वाग्रह पनि छ तर तड्का प्रस्तावको मगमग वासनाले अन्य सबै कुरालाई उछिनेको छ। मप्रतिको तपाईंको आशा, अपेक्षा र विश्वासमा प्रेम र पूर्वाग्रहको सुगन्ध छ। यसलाई तपाईं र मेरो दुई जनामा सीमित राखे हुन्छ।

तर, आज नेपाली कांग्रेसमा, नेपालमा र अझ भनौँ संसारमा सर्वत्र सुनिँदै आएको टिना युग (विकल्पहरू सकिइसकेको युग) को अन्त्यको बारेमा के गर्ने? यस बारेमा त लेख्नै परेको छ। तर यति मात्रै कहाँ हो र? तपाईंले अगाडि लेख्नु भएको छः आगामी महाधिवेशनसम्म भारतमा घनिभूत हुँदै गएको धार्मिक उन्मादको रोग कांग्रेस पार्टीमा पनि सर्ने सम्भावना प्रबल छ। यस्तो बेला पार्टीभित्र र बाहिर पनि मानवतावादी र उदार लोकतन्त्रको प्राण जोगाउन कांग्रेसका युवालाई एउटा बौद्धिक हस्तक्षेप चाहिएको छ, जसले तिनको हृदयमा परिवर्तनको आगो सल्काओस्, उग्र वामपन्थी रोमाञ्चकता र दक्षिणपन्थी फासिवादसँग जुध्ने शक्ति सञ्चार गरोस्।

यति मात्रै कहाँ हो र? तपाईंले थुप्राथुप्रा कुरा उठाउनु भएको छ। तपाईंलाई भन्नुपर्ने, तपाईंको पुस्तालाई सुनाउनु पर्ने तपाईंभन्दा पछिको पुस्तालाई पनि सम्झाउनु पर्ने। यही एउटा चिठीमा तपाईंको मनमा भएका तर्कविर्तक तुरिएका पक्कै छैनन् होला। मेरो कुरा सिद्धिने त झन् कुरै आएन। तपाईंले उठाउनुभएका सबै प्रश्न र अरू थप प्रश्नको उत्तर यस पत्रमा अटाउने छैनन्। असंख्य पत्रमा पनि अटाउने छैनन्। अरू सबै कुरालाई थाती राखेर एउटा अर्को प्रश्न भने कोट्याउन भ्याउँछु कि? तपाईंले लेख्नु भएको छ, ‘आधा दशकअघि तत्कालीन राजनीतिक दुर्दशाको निदान गर्दै तपाईंले भीमबहादुर दाइलाई लेख्नुभएको छ–एसिया र अफ्रिका सम्पूर्णको नै मौजुदा दुर्दशाको मुख्य जिम्मेवारी त्यहाँको नेतृत्व र बुद्धिजीवी वर्गको टाउकोमा छ। ती सबै यति काहिल (सुस्त), कमजोर र चरित्रहीन नभएका भए सायद हाम्रो अनुहार नै अर्को हुने थियो।’

दुर्भाग्यवश, यी कठोर वाक्यहरू नेपालका सन्दर्भमा आजपर्यन्त कालजयी छन्। संक्षेपमा भन्दा टिना युगको प्रतिकार, मानवतावादी–उदारतावादले निर्वाह र राजनैतिक तथा बौद्धिक नेतृत्वको पतनका कुरा तीनवटा प्रतिपाद्य छन्। यी प्रतिपाद्यहरू सतहका कुराहरू हुन्। सतहभित्र धेरै थोक छन्।

यो पंक्तिकारले आजभन्दा पचास वर्ष अघि नेपाली कांग्रेसका आदर्श नेता भीमबहादुर तामाङलाई एक पत्र लेखेको थियो। म त्यस बेला नख्खु जेलमा थिएँ। वीपी कोइराला झण्डै आठ वर्षपछि कारामुक्त हुनुभएको थियो। यो २०२६/२०२७ साल ताकाको कुरा हो। म नख्खु जेल रहँदा रहँदैमा नेपाल विद्यार्थी संघको गठन भएको थियो। पत्राचार वैशाख २०२७ अघिको हो।

भुर्तेलजीको सिंगो पत्र नेपाली कांग्रेसको वर्तमान लथालिंगे अवस्थाबाट अभिप्रेरित छ। एउटा कांग्रेसीको, अझ भनौँ एउटा प्रजातन्त्रवादीको तिखो पिरको जीवन्त अभिव्यक्ति भएको छ यो चिठी। नख्खु जेलमा बस्दा यस्तै कुनै पिरको क्षणमा मैले ती शब्द कोरेँ। तर त्यस चिठीमा फगत पिर मात्र छैन।

थोरै समय मात्र पनि जेल बस्दा मानिसभित्र जाँगर र उत्साहको भेल उम्लन्छ। यस क्षणमा म बाहिर भएको भए केके न गर्ने थिएँ भन्ने जाँगर पलाउँछ। त्यो जोस र जाँगरभित्र मनज्ञ अहंकार मिसिएको हुन्छ। मपाईंवाद बोलेको हुन्छ तर त्यसतर्फ सम्बन्धित व्यक्तिको ध्यान दृष्टि पुग्दैन।

मैले भीमबहादुर तामाङलाई चिठी लेख्दै गर्दा बाहिरका साथीहरू नेपाल विद्यार्थी संघको स्थापना–सम्मेलनमा व्यस्त थिए। तिनताका नख्खु जेलमा नै कोचिएर रहनु भएका किसुनजीले कारामुक्तिपछि सम्मेलनको उद्घाटन गर्नुभयो।

प्रत्येक व्यक्तिले सत्यलाई आफ्ना ठाउँमा उभिएर मात्र हेरेको हुन्छ। जैन दर्शनले यसै आधारमा अनेकान्तवादलाई महिमामण्डित गरेको छ। गणितले विन्दुको कल्पना मात्र गर्दा पनि ३६० वटा कोणलाई रेखांकित गरेको छ। गान्धी अनेकान्तवादका प्रखर पक्षधर थिए। त्यस दर्शनलाई आफ्नो व्यावहारिक जीवनमा अहिंसाका नामले प्रयोग गरेका थिए। राजनीतिको छिपछिपे बहस जुगलको पीडाको अभ्यन्तरमा पुग्नै सक्दैन। उदारवाद, पूँजीवाद, साम्यवाद र समाजवादको द्वन्द्वात्मक समझदारी पनि पर्याप्त छैन।

नेपाली कांग्रेसको आजको यो दिशाविहीनता तेस्रो विश्वको एउटा राजनैतिक पार्टी विशेषको समस्या होइन। छिमेकको भारतीय राष्ट्रिय कांग्रेसले कुनै समय सिंगो हिन्दुस्तानलाई हत्केलामा खेलाएजस्तो थियो। आज त्यो पार्टी दिशाविहीन छ। कतिपय टिप्पणीकारले पारिवारिक वर्चस्वको कारण त्यो पार्टी नेतृत्वविहीन भएको आकलन गरेका छन्। यसमा सत्यांश छ, तर कुरो यति मात्र होइन। मुख्य कुरो त्यस पार्टीले अगाडिको बाटो पहिल्याउन सकेको छैन। हाम्रो नेपाली कांग्रेस पार्टी जस्तै भारतीय राष्ट्रिय कांग्रेस विचारहीन भएको छ।

नेपाली कांग्रेस र भारतीय राष्ट्रिय कांग्रेसको वैचारिक पृष्ठभूमि 
दुवै पार्टीले लगभग एकै समय आफ्नो समाजवादी लक्ष्यको घोषणा गरे। तर भुर्तेलजीले औँल्याउनु भएझैँ दुवै पार्टीको समाजवाद धमिलो र अस्पष्ट रह्यो। दुवै पार्टी दृढता र तीव्रताका साथ समाजवादी रूपान्तरणमा लम्कन सकेनन्। समाजवादी क्रान्ति असफल भएपछि दुई महायुद्धका बीचमा जर्मनी, इटली र फ्रान्समा फाँसीवादको उदय भएको थियो।

विश्वमा अहिले सर्वत्र दक्षिणपन्थीहरूको चकचकी छ। धार्मिक र जातीय उन्मादलाई चर्काएर भोट लिन खोजिँदै छ। विश्वका सर्वाधिक ठूला र शक्तिशाली गणतन्त्रका नेता डोनाल्ड ट्रम्प, हिन्दुस्तानी मोदी, रुसका पुटिन र चीनका सी जिनपिङ ; यी चारै जनाको अनुहारमा एक अर्काको झझल्को मेट्न सकिन्छ। ‘संसारमा जे हुँदैछ, ठिकै हुँदैछ।हामीभन्दा जान्ने कोही छैन। हामीले नेतृत्व गरेको बाटो एक मात्र सही बाटो हो। हाम्रो नेतृत्वमा विश्वलाई स्वर्ण युगतिर फर्काउँदै छौँ’ भन्ने दावा छ उनीहरूको।

स्वर्णयुग
स्वर्णयुग भन्दै गर्दा श्रीमद्भागवत पुराणमा वर्णित दुई स्वर्ण पुरुषको सम्झना अनिवार्य रूपमा आउँछ। सुनै लगाउने, सुनै ओछ्याउने र सुनै खाने दुई भाइ थिए: हिरण्यकश्यप र हिरण्याक्ष। अन्ततः सर्वव्यापी कुनै सत्यको माध्यमबाट दुवैको विनाश हुन्छ। एउटाले निरीह प्रह्लादलाई थर्काउँदै थियो, अर्कोले सिंगो पृथ्वी हरण गर्न चाहन्थ्यो। अनि उनीहरू नास भए।

संसारमा अमर र शाश्वत केही छैन। पूँजीवाद पनि छैन। विगत दशकहरूमा समाजवादका नाउँमा जे जस्ता प्रयोग भए, ती सबैमा गौरवपूर्ण असफलताका विराम चिन्ह लागे। तर यात्रा रोकिएको छैन। समाजवादको सिद्धान्त भनेको वेदवा पुराण होइन। समाजवाद कुनै आकाशवाणी होइन, अलौकिक विचारधारा पनि होइन। यसै दुनियाँको अनुभवबाट गुज्रिँदै हुर्किने र फक्रिने विचार प्रणाली हो।

कार्ल मार्क्सको देहान्त भएको झण्डै १५० वर्ष पुग्न आँट्यो। रुसमा कम्युनिस्ट क्रान्ति भएको नै एक सय वर्ष कटिसक्यो। वीपी कोइरालाको जन्म शताब्दी मनाएको एक वर्ष बढी भइसक्यो। गान्धीको १५०औँ जन्म शताब्दी जारी छ। यस कालावधिमा वाग्मतीमा धेरै पानी बगिसकेको छ। संसारका विभिन्न कुनामा रगतको आहाल पनि उत्तिकै बने। हामीले त्यो सबै अध्ययन गर्न भ्याएका छैनौँ। ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु राजनीतिको पहिलो आवश्यकता हो। त्यो हामीले हृदयङ्गम गर्न सकेका छैनौँ। फ्रान्सेली राज्य क्रान्ति भएको दिनदेखि विश्वमा क्रान्ति शब्दको प्रयोग दिनदिनै भइरहेको छ। यस शब्दको लोकप्रियता बढी रहेको छ।

फ्रान्सेली राज्य क्रान्तिमा मनज्ञ रक्तपात भएको थियो। सोभियत क्रान्ति पनि अपवाद रहेन। चीनले राष्ट्रिय ऐक्य र स्वाधीनता हासिल गर्नका लागि दीर्घकालीन जनयुद्ध गर्नुपर्‍यो। विश्वको राजनीतिक चिन्तनको नेपालको ऐतिहासिक अनुभव पनि हिंसात्मक क्रान्तिको स्मृतिको सिलसिला छ। सात सालको क्रान्ति, २०१७ सालको सैनिक प्रहार, २०१८ सालको जनप्रतिरोध, झापा काण्ड, ओखलढुंगा काण्ड हुँदै प्रचण्डको नेतृत्वमा लडिएको जनयुद्धको स्मृति जीवित छ। क्रान्ति र हिंसा एक अर्कासँग अविच्छिन्न रूपमा गाँसिएको छ भन्ने मनोदशाबाट हामी सूचित छौँ। के यो सोच र सूचना सही हो?

विकासको वर्तमान अवधारणा पनि हिंसा र दमनमा आधारित छ। यस्तो परिवेशमा टिना झाँगिएको छ। यसको प्रतिउत्तर एउटा चिठीमा सम्भव छैन। कदाचित् एउटा लामो आलेखमा पनि सम्भव छैन। पुस्तक लेखेर पनि पुग्दैन।यथार्थ के हो भने आज हिंसा र क्रान्तिलाई छुट्याउनु परेको छ। राजनीतिक र नैतिकताको नाताको मुद्दा किनारा लगाउनु परेको छ। विचारधारा र आचरणको सम्बन्ध निर्क्योल गर्नुपरेको छ। उपरयुक्त द्वन्द्वलाई समाधान नगरी आजका समस्याको समाधान भेटिँदैनन्। धेरै कुरा, थुप्रा कुरा र अनेकन् कुरा छन्। यो विमर्श बल्ल थालिएको छ। यो पहिलो घण्टी हो। थप कुरा लेख्दै जानेछु।

थप कुरा कांग्रेसको समाजवाद
भारतीय राष्ट्रिय कांग्रेसले समाजवादी बाटोमा हिँड्ने निर्णय गरेको थियो। जवाहरलाल नेहरूको आग्रहमा समाजवादको सपना स्वीकार गरेको थियो। वीपी र नेहरू दुवै नै उच्चकोटीका बौद्धिक थिए। विश्वका कुना–कुनाका हलचलसँग परिचित रहन्थे। ठिक बेठिकको निर्क्योल गर्थे। समाजवाद विषयको दुवैको धारणा पनि एक हदसम्म मिल्दोजुल्दो थियो। तर दुवैले समाजवादका बारेमा स्पष्ट र सिलसिलेवार रूपमा समाजवादका विषयमा आफ्नो विचार व्यवस्थित रूपमा राखेका छैनन्। यो किन होला?बौद्धिक दृष्टिले दुवै अत्यन्त सक्षम थिए र दुवैले समाजवादका विषयमा कतै कुनै गम्भीर प्रश्न गरेनन्। अझ भनौँ, प्रश्न गर्न आवश्यक ठानेनन्।

नेहरू र वीपी दुवैका सहयोगीहरूले यस विषयमा यत्रतत्र टिप्पणी गर्न भ्याएका छन्। योगेन्द्रमान शेरचन कुशाग्र बुद्धिका राजनीतिज्ञ हुनुहुन्थ्यो। सुन्दरीजल जेलमा शेरचन लामो समयसम्म वीपी कोइरालाको सान्निध्यमा रहनु भयो। उहाँका डायरीका केही अंश माथवर सिंह थापाले पुनर्जागरण साप्ताहिकमा बेलैमा प्रकाशित गर्नुभएको थियो। त्यस डायरीमा एउटा मार्मिक टिप्पणी छ। योगेन्द्रमानजीले लेख्नु भएको छः

जवाहरलालजीका विद्वान सहयोगीहरूले पनि यस्तै कुरा लेखेको भेटिन्छ। यस्तो किन भयो भन्ने बुझ्न गाह्रो भने छैन। दुवै राजनेता संसदीय व्यवस्थाप्रति गहिरो रूपमा प्रतिबद्ध थिए। संसदीय व्यवस्था आफैँमा लोककल्याणकारी एवम् गतिशील व्यवस्था हो। यस व्यवस्थालाई जोगाउन मात्र सकियो भने मुलुक समाजवादतर्फ स्वतः अग्रसर हुन्छ भन्नेमा दुवै विश्वस्त थिए। बेलायतको फेबियन समाजवाद र जर्मनीको संशोधनवादले नेहरू र वीपीलाई त्यस चरणमा प्रभावित पारेको प्रभावस्वरूप यो सोचाई उहाँहरूमा थियो। जीवनका आखिरी वर्षमा भने वीपी कोइरालामा ठूलो परिवर्तन आएको देखिन्छ। वीपीमा आएको त्यस परिवर्तनको बाछिटाले कांग्रेसलाई थोर बहुत रुझाएको छ। तर समाजवादी बाटोलाई भने झन् चिप्लो र धमिलो बनाइदिएको छ। एउटा कुरा स्पष्ट छ, नेपाली कांग्रेसले वीपीका ‘सन्दर्भविहीन उद्धरण’का आधारमा आफ्नो कायाकल्प गर्न सक्दैन।

२०३९ सालमा वीपीको देहान्त भयो। ऐतिहासिक दृष्टिले पैँतिस–चालिस वर्ष कुनै लामो कालावधि हैन। तर यस कालावधिमा विश्वमा अचिन्त्य परिवर्तन आएको छ। साम्यवादको विघटन, भूमण्डलीकरणको विश्व विजय र सञ्चार क्रान्ति यस परिवर्तनका केही मुख्य अभिव्यक्ति हुन्। हामीलाई हाम्रो जनजीवनलाई र हाम्रो समाजलाई यस्ता परिघटनाले जरैदेखि, जगैदेखि हल्लाएको छ। हाम्रो सोचविचार प्रभावित भएको छ। हाम्रा जीवनमूल्य फेरिएका छन्। आहार विहार बदलिएको छ। खानपिन र लुगाफाटो समेत अर्कै भएका छन्। यस परिस्थितिमा केको समाजवाद? कस्तो समाजवाद? कसका निमित्त समाजवाद? यी प्रश्नहरूले सूक्ष्मातिसूक्ष्म व्याख्याको माग गरेका छन्। तर हामी यस मागबाट बेखवर छौँ। हामी माझको अलमल र निराशा झन् गहन भएको छ। समाजवाद र सामाजिक परिवर्तन अघिका चुनौती झन् जटिल र कुटिल भएका छन्।

डा. जुगल भुर्तेलको लेखमा उदारवादको रक्षा र विकासको चाहना छ। नभन्दै विश्वको राजनीतिमा आज उदारवादको चाहना बढ्दै गएको छ। डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, सी जिनपिङ र नरेन्द्र मोदीको वर्चस्वका सामुन्ने निरीह बुद्धिजीवीहरूले उदारवादको दुहाई दिइरहेका छन्। तर एउटा कटुसत्य छ, यसै उदारवादमा निहित रहेको अन्तर्विरोधले नवतानाशाहले दक्षिणपन्थी प्रतिक्रियावादलाई सम्भव बनाएको हो।पश्चिमबाट पैँचो लिइएको आयातित आधुनिकता र विकासे दर्शनको आधारमा हाम्रा महावली शासकहरूको इन्द्रजाल टिकेको छ। वीपीको समाजवादको कुरा गर्दा एक थान गाई र एक हल गोरु पाल्नसक्ने गाउँले किसानको विम्ब उहाँको चिन्तनको केन्द्रमा थियो। 

आजका गाउँमा ती किसान बत्ती बालेर खोज्दा पनि भेटिँदैनन्। गाउँको श्रम शक्ति विदेशमा गएर पाखुरा बजार्दै छन्। उनीहरूले अर्जित गरेको विप्रेषणबाट स्मार्टफोनमा सिनेमा हरेर बचेखुचेका गाउँलेहरू माया–लोभमा विचरण गरिरहेका छन्। अंग्रेजीका कवि लर्ड टेनिसनको ‘लोटस इटर्स’ भन्ने प्रसिद्ध कविता छ। परिवर्तनको महाअभियानमा हिँडेको एउटा समूह कुनै द्वीपमा पुग्छ। त्यस द्वीपमा रहेको कुनै मादक खाद्य गिट्ठा–भ्याकुर खाएर रमाउँदै गीत गाउन थाल्छ। दिउँसै सपना देख्न थाल्छ। उनीहरूको गीत पनि उस्तै मोहक छ। तेस्रो विश्वका अधिकांश नागरिकहरू त्यस्तै सपना हेर्दैछन्, त्यस्तै गीत गाउँदै छन्। एउटा सानो फरक छ, नेताको असहमतिका बाबजुद अनुयायीहरू मात्तिएका छन्।

यस खेपमा भने स्वयम् नेताहरू नै मादक पदार्थ पस्किरहेका छन्। नेताहरू आफैँमा मात चढेको छ। समाजवाद वा प्रजातन्त्र कुनै शास्त्र वा पुस्तकको कुरा होइन। जीवनशैलीको कुरा हो। यही बुझेर होला, वीपी, गणेशमानजी र किसुनजीले लेख्नुभन्दा बाँच्नुलाई प्रमुखता दिनुभयो। तर आजको अवस्थाको कुनै पनि पूर्वाभास उहाँहरूलाई थिएन। सपनासम्म पनि थिएन। यसो हुँदा आजको पुस्ताले आफ्नो बाटो आफैँ बनाउनु परेको छ। जस्तै विराट महाअभियान पनि एउटा सानो डेगबाट शुरू हुन्छ, त्यसो हुँदा आज पनि केही न केही थालनी गर्नैपर्छ। त्यसका लागि इतिहास राजनीतिको एक मात्र प्रयोगशाला हो। मार्क्स, लेनिन र वीपीको सफलता तथा असफलतालाई कोट्याउँदै हामी अघि बढ्नुपर्छ। उनीहरूका संघर्षका अनुभवका कतिपय शिक्षा छन्।

ओखलढुंगा काण्डपछिको वीपीको प्रत्यागमनको पहिलो पाठ हो, ‘हिंसामा आधारित कुनै पनि राजनीतिक कार्यक्रमले लोकतन्त्रको स्थापना गर्न सक्दैन।’ तर विकासको प्रचलित मोडल आफैँ नै हिंसाको दर्शनमा आधारित छ। तदनुरूप हाम्रो जीवनको रौँ रौँमा हिंसा घुसेको छ। यस्तो हिंसाको प्रतिकार विचारमा मात्र नभई व्यवहारमा पनि हुनुपर्छ। मार्क्स, माओ, लेनिन या कसैले पनि यो कुरो बुझेका थिएनन्। तर, यति कारणले उनीहरू त्याज्य भए भन्ने छैनन्। गौतम बुद्धले हिंसाको निरर्थकता राम्ररी बुझेका थिए। तर फेरि पुनर्जन्म इत्यादिका कुरा गरेर बुद्धले त्यसको समाधानका सिलसिलामा अलौकिकतालाई प्रतिष्ठित गरेका थिए। फेरि, त्यस कुरालाई उठाएर गौतम बुद्धलाई खारेज गर्न सकिँदैन।


२०७६ भदौ २४ गते लेखक जुगल भुर्तेलले नयाँ पत्रिकामा प्रदीप गिरीका नाममा ‘प्रदीप दाइ, विकल्प छ !’ शीर्षकमा एउटा चिठी–लेख छपाएका थिए। सो लेखको प्रतिउत्तरमा गिरिले यो लेख त्यसको एक महिनापछि लेखेका थिए। तर स्वयम् गिरिकै अरुचिका कारण यो लेख छापिएन। आज गिरिको जन्म दिवसको अवसर पारेर, गिरिले मन्जुरी दिएका व्यक्तिको अनुमतिमा यो लेख प्रकाशन गरेका छौँ। –सम्पादक