बाबुराम भट्टराई भन्छन्– राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ

नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम सरकार पतनजस्ता घटनाले देश अर्को अस्थिरताको दुश्चक्रमा फस्नलागेको भट्टराईले दाबी गरेका छन्। 

फाइल तस्वीर

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्ला घटनाक्रमका कारण देश अर्को अस्थिरताको दुश्चक्रमा फस्न लागेको बताएका छन्।

राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने उनको दाबी छ। “आम चुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन, यी घटनाले देश अर्को अस्थिर ताको दुश्चक्रमा फस्न लागेको संकेत गर्छ,” पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, “राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ।” 

विश्वासको मत नपाएपछि बिहीबार सुदूरपश्चिम सरकार ढलेको थियो। नागरिकता प्रकरणमा दोषि ठहर भएपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले सांसद र मन्त्री पद गुमाएका थिए। त्यसपछि रामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको थियो।

देशलाई थप अस्थिरतातर्फ जान नदिन सहमतिको बाटो रोज्नुपर्नेमा भट्टराईको   जोड छ। “अर्थतन्त्रका गम्भीर संकट छँदै छन्। भूराजनीति अरू तात्दैछ। अब पनि द्वन्द्व कि सहमतिको बाटो?,” उनले भनेका छन्।