नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल भएको बताइएको छ। 

काठमाडौँ– नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ। 

सोमबार काठमाडौँस्थित एक होटलमा भएको सचिवस्तरीय बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासहित मन्त्रालयका कर्मचारीहरू सहभागी थिए।

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल भएको बताइएको छ। परराष्ट्रसचिव पौडेलको निमन्त्रणमा दुईदिने नेपाल भ्रमणका लागि क्वात्रा सोमबार बिहान काठमाडौँ आइपुगेका हुन्। 

क्वात्राले सोमबार परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर क्वात्रा स्वदेश फर्कने छन्।