कुशलको शतकमा नेपालको कीर्तिमानी जित

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ११५ रन बनाए। उनले ११३ बलमा १० चौका र ४ छक्का प्रहार गरे। कुशलको ओडीआईमा यो पहिलो शतक हो।

काठमाडौँ– घरेलु टोली नेपालले आईसीसी विश्वकप लिग २ मा नामिबियालाई पराजित गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले नामिबियामाथि २ विकेटको जित हात पारेको हो।

नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनायो। नेपालले ओडीआईमा दोस्रोपटक सर्वाधिक रन पछ्याउँदै पूरा गरेको यो दोस्रोपटक हो। यसअघि नेपालले सन् २०१९ मा यूएईले घरेलु मैदानमा दिएको २५४ रनको लक्ष्य पछ्याएको थियो। नेपालले ४४. ४ ओभरमा ६ विकेट गुमाएर २५५ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ११५ रन बनाए। उनले ११३ बलमा १० चौका र ४ छक्का प्रहार गरे। कुशलको ओडीआईमा यो पहिलो शतक हो। ओडीआईमा शतक प्रहार गर्ने भने उनी चौथो खेलाडी हुन्। उनीअघि पूर्वकप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले शतक प्रहार गरिसकेका छन्।

कप्तान रोहितले ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाए। कुशल र रोहितले तेस्रो विकेटको लागि १३३ रनको साझेदारी गरेका थिए। नेपालले ओडीआईमा गरेको यो कीर्तिमानी साझेदारी हो। यसअघि कीर्तिपुरमै गत वर्ष पपुवा न्यू गिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटकै लागि १२९ रनको साझेदारी गरेका थिए।

रोहित ३३. १ ओभरमा रूबेल ट्रम्पलम्यानले फ्याँकेको बलमा क्याच आउट भएका थिए। रूबेलले नै रोहितले प्रहार गरेको बल क्याच गरेका थिए। सन्दीप जोराले २४ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए। ज्ञानेन्द्र मल्लले भने ३५ बलमा ४ चौकासहित २५ रन बनाए।

करण केसी २० रनमा अविजित रहे। सोमपाल कामी ४ रनमा अविजित रहे।

नामिबियाका लागि रूबेल ट्राम्पलम्यानले सर्वाधिक ३ विकेट लिए। १०ओभर बलिङ गरेका उनले ४८ रन खर्चिएर ३ विकेट लिए। निकोल लेफ्टीले पनि ३ विकेट नै लिए। उनले ५.३ ओभर बलिङ गर्दै ५० रन खर्चिए।

त्यसअघि माइकल भान लिगेनको शतकप्रेरित नामिबियाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो।

नामिबियाका लागि माइकलले १३३ रनको इनिङ्स खेले। उनले १३७ बलमा ५ छक्का प्रहार गरे।

कप्तान जेरार्ड इरास्मसले ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रन बनाए। यस्तै, जेन ग्रिनले ३४ रन बनाए। नामिबियाका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नामिबियाले दोस्रो ओभर पूरा नहुँदै पहिलो विकेट गुमाएको थियो। ओपनर लो ह्यान्ड्रे ५ रनमा बोल्ड भए। त्यसपछि कार्ल विक्रेनस्ट्रोक पनि १३ रनमा बोल्ड भए। त्यसपछि आएका माइकल र जेरार्डले १३० रनको विशाल साझेदारी गरेका थिए।

जेरार्डलाई ३६.१ ओभरमा कुशल मल्लले सन्दीपबाट क्याच आउट गराए। यता, माइकल ४६औँ ओभरको अन्तिम बलमा करणले फ्याँकेको बलमा दीपेन्द्रबाट क्याच आउट भए।

नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मिडेनसहित ६१ खर्चिए। सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ६६ रन खर्चिएर ३ विकेट लिए। कुशल मल्ल र सोमपाल कामीको नाममा १/१ विकेट रह्यो।

रोहितको एक हजार रन
रोहित एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक हजार रन पूरा गर्ने पहिलो ब्याटर बनेका छन्। सन् २०१८ मा एकदिवसीय मान्यता पाएसँगै नेदरल्यान्डविरुद्धको खेलमा डेब्यू गरेका उनले करिब ५ वर्षपछि एक हजार रन पूरा गरेका हुन्। उनले एक हजार रन पूरा गर्न ३३ खेल खेल्नुपर्‍यो। यसक्रममा उनले एक शतक र ६ अर्धशतक प्रहार गरे।

उनलाई ज्ञानेन्द्र मल्लले पछ्याइरहेका छन्। मल्लले २७ खेलमा ६ अर्धशतकसहित ७३४ रन बनाएका छन्। उनीपछि शेख दाजुभाइ छन्। आशिफले २४ खेलमा ६५५ रन बनाएका छन्। आरिशफले भने ३२ खेलमा ५८२ रन बनाएका छन्।

तेस्रोपटक करणको पाँच विकेट
करण केसी ओडीआईमा तेस्रोपटक पाँच विकेट लिने खेलाडी बनेका छन्। गत जुनमा उनले ओमानविरुद्धको दुई खेलमै पाँच विकेट लिएका थिए। ओमानविरुद्धको पहिलो खेलमा उनले १० ओभर बलिङ गर्दै ३८ रन खर्चिएका थिए। अर्को खेलमा ९ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए। उनीबाहेक सन्दीप लामिछाने र सोमपाल कामीले पनि पाँच विकेट लिइसकेका छन्।

अंक तालिका
नेपालको २५ खेलबाट २० अंक बनाएको छ। नेपालले ९ खेलमा जित र १४ खेलमा पराजय भोगेको छ। नेपाल अंक तालिकामा छैटौँ स्थानमा यथावत् छ।

नामिबिया तेस्रो स्थानमा यथावत् छ। नामिबियाले ३१ खेलमा १८ जित र ११ हार बेहोर्दै ३७ अंक बनाएको छ। अब नेपालले शुक्रबार स्कटल्यान्डसँग दोस्रो खेल खेल्ने छ। शनिबार पुन: नेपालले नामिबियासँग खेल्ने छ।