सहचालकले चलाएको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते

बसमा यात्रु कम भएको र सिधै पानीमा खसेकाले ठूलो क्षति हुन नपाएको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताएका छन्।

तस्वीर : रासस

काठमाडौँ– मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस दुर्घटनामा परेको छ।

थासाङ गाउँपालिका–३ धम्पुस्थित पुलछेउबाट बस कालीगण्डकी नदीमा खस्दा १७ जना घाइते भएको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए। गम्भिर घाइते १४ जनालाई उपचारका लागि पोखरा पठाइएको उनले जानकारी दिए। तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको छ।

घाइतेमध्ये दुई जना भारतीय नागरिक छन्। सहचालकले बस चलाएकाले दुर्घटना भएको अध्यक्ष गौचनको भनाइ छ। “दुर्घटना भएको समयमा बस सहचालकले चलाएको रहेछ,” गौचनले उकालोसँग भने, “बस करिब ५० मिटर तल कालीगण्डकीमा खसेको हो।

यात्रु कम भएको र सिधै पानीमा खसेकाले ठूलो क्षति हुन पाएन।” प्रहरी कार्यालय पनि नजिकै रहेकाले घाइतेलाई छिटो उद्धार गरिएको गौचनले बताए।