दिलीप हत्यामा ३ जना दोषी ठहर

धनुषा जिल्ला अदालतले अवैध क्रसर विरोधी धनुषाका दिलीप महतो हत्याका ७ जना आरोपितमध्ये ३ जनालाई दोषी ठहर गरेको छ।

काठमाडौँ- अवैध उत्खनन विरोधी दिलीप महतो हत्याका ७ जना आरोपितमध्ये ३ जना दोषी ठहर भएका छन्। 

धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले महतोको हत्यामा संलग्न विपिन महतो, मुनीन्द्र महतो र जितेन्द्र महतोलाई दोषी ठहर गरेको हो। 

अदालतका श्रेस्तेदार विकास बस्नेतका अनुसार विपिन र मुनीन्द्रले मनसायपूर्वक हत्या गरेको भन्दै अदालतले मुख्य दोषी ठहर गरेको हो। त्यस्तै जितेन्द्रलाई भने कसुरका मतियार रहेको अदालतको ठहर छ। उनीलाई फागुन १२ गते सजाय तोकिने उनले बताए।

के थियो घटना?
धनुषाको मिथिला नगरपालिकास्थित श्रीपुरका दिलीप घर नजिकैको औरही खोलामा हुने अवैध गिट्टीबालुवा उत्खननको विरोधी थिए। उनको विरोधपछि चुरिमाई बालुवा प्रशोधन उद्योगका सञ्चालकले दिलीपलाई धम्की दिँदै आएका थिए। भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका उनी परीक्षा सकेर घर फर्किएको ११ ‍‌‍औँ दिन २०७६ पुस २५ गते उनको हत्या भएको थियो। 

क्रसर व्यवसायीले उनलाई कुटपिट तथा फलामको सुइरो रोपी टिप्परले टाउको समेत कुल्चेर विभत्स ढंगले हत्या गरेका थिए।  दिलीपका बुवा रामजीवन महतोले घटनामा संलग्न क्रसर उद्योगी विपिन कुमार महतो, विनोद महतो, टिप्पर चालक मुनीन्द्र महतो, टिप्परका सहचालक जितेन्द्र महतो (सत्यनारायण), शुत्रधन महतो र रोशनकुमार महतो लगायतविरुद्ध जाहेरी दिएका थिए । 

आरोपितमध्ये उद्योग सञ्चालक विनोद र कामदारहरू जितेन्द्र महतो (सत्यनारायण), शुत्रधन महतो तथा रोशनकुमार महतोले भने सफाइ पाएका छन्।